रगत दिन जानियो तर पद माग्न कहिल्यै जानिएन

मङ्लबार, चैत्र ६, २०७४



संविधान संशोधन राष्ट्रियताको पक्षमा छ कि छैन, जनताको पक्षमा छ कि छैन, सिमान्तकृत जनताको पक्षमा छ कि छैन् भनेर हेर्नुपर्छ ।

२०३२ सालमा पार्टी सदस्यता लिएपछि बलराम बाँस्कोटा निरन्तर कम्युनिष्ट आन्दोलनमा छन् । विद्यार्थी, वुद्धिजीवि, सम्पर्क विभाग, पार्टी विभाजनपछि मालेको केन्द्रीय सदस्य, एकतापछि पार्टी कमिटी र किसान महासंघमा क्रियाशील बाँस्कोटा केही समयअघि संघीय संसदको सांसद (राष्ट्रिय सभा सदस्य) निर्वाचित भएका छन् । सांसद बाँस्कोटासँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

कृषिमा तपाईको विषयविज्ञता छ । त्यसलाई अव कसरी प्रयोग गर्नुहुन्छ ?
म एमालेको नेता हुँ । पार्टीले मलाई जनसंगठनमा काम गर्ने जिम्मा दियो । सोही अनुसार अहिले म किसान महासंघको महासचिवको रुपमा कार्यरत छु । राष्ट्रिय सभाको सदस्य पनि छु । कृषि क्षेत्रले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्यो । ग्रामिण क्षेत्रका जनता संगठित भएर, सचेत भएर लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनमा आउनुभयो । २०३२ सालमा पार्टीको सदस्यता प्राप्त गरेदेखि नै लगातार कम्युनिष्ट आन्दोलनमै क्रियाशील छु । राष्ट्रिय सभालाई जसरी परिभाषित गरिएको छ, त्यसरीनै आफ्नो कार्यक्षेत्रमा रहेर कृषिको विकासमा लाग्नेछु । समृद्ध नेपाल, नयाँ नेपालको कुरा गरिरहँदा आय अभिवृद्धि गर्ने नै हो ।

कृषि, जलस्रोत र पर्यटन विकासले त्यो सम्भव हुन्छ । पूर्वाधार बनेको क्षेत्र भनेको स्वभाविक रुपमा कृषि नै हो । उत्पादनको साधनमाथि उत्पादक शक्तिको पहुँचै थिएन । नयाँ संविधानले त्यो विषयलाई सम्बोधन गर्ने प्रयास गरेको छ । सामन्ती भूस्वामित्व अन्त्य गरिने छ भनेर संविधानको निर्देशक सिद्धान्तमै उल्लेख गरिएको छ । मौलिक हकअधिकारमा खान पाउने अधिकारको सुनिश्चितता गरेको छ । किसानका अधिकार सुनिश्चित गरेको छ । तथ्याङकले ६६ प्रतिशत भन्छ तर ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषिसँग सरोकार राख्छन् । अहिले पनि ८० प्रतिशत मानिस ग्रामिण क्षेत्रमा बस्छन् । जीवन निर्वाहमुखी खेती प्रणाली छ । यसलाई हामी जबसम्म व्यावसायिकरण गर्दैनौँ, यान्त्रिकरण गर्दैनौँ, विशिष्टिकरण गर्दैनौँ, तबसम्म कृषिको पछ्यौटेपन यथावत रहन्छ । बहुउत्पादनतिर लाग्नुहुँदैन । खाद्य वाली उत्पादन गर्ने कि पशुपालन भन्ने स्पष्ट हुनुपर्छ । पशुपालनसहित ५८ लाख हेक्टर जमिन कृषियोग्य छ । पशुपालनलाई हटाउने हो भने पनि ४१ हजार हेक्टर जमिन कृषियोग्य छ । तर, अहिले ३१ हजार हेक्टर जमिन मात्रै कृषिका लागि प्रयोग भएको छ । ३१ हजार मध्ये २१ हजार हेक्टर जमिन सुव्यवस्थित ढंगका छन् ।

नेपालमा कृषि विकासका प्रचुर सम्भावनाहरू छन् । तर, हिजोको राजनीतिक परिस्थितिले कृषि विकासका योजना कार्यान्वयनतर्फ सोच्न सकेन । योजनावद्ध आर्थिक विकासको इतिहासलाई हेर्ने हो भने प्रथम पञ्चवर्षीय योजनादेखि अहिलेसम्म कृषिलाई प्राथमिकता दिइएको छ । तर, पनि कृषिले गति लिन सकेको छैन् । यसका ल्याकिङहरू के–के हुन, ग्याप के हो, कानुनभित्र के–के त्रृटिहरू छन् भने कानुन निर्माणमा मेरो भूमिका रहनेछ ।

अहिले त सरकारलाई तीन चौथाई सांसदको समर्थन छ । वाम गठबन्धनको मात्रै बहुमत छ । अवको पाँच वर्षमा हामी खाद्यबस्तुहरू आयात गर्न छाडेर निर्यात गर्ने स्थितिमा पुग्छौँ ?
पुग्दैनौँ । हामीले यस्तो भ्रम पाल्नु हुँदैन । हामीले सोम शर्माको सातुको कल्पना गर्नुहुँदैन । हामीले कृषि विकास रणनीति निर्माण गरेका छौँ । बैदेशिक शक्तिहरूको चाहना हाम्रो कृषि खत्तम होस् भन्नेछ । देशको करिव ३५ प्रतिशत जिडिपी ओगटेको क्षेत्रलाई तहसनहस गर्न सकियो भने असफल राष्ट्रको रुपमा नेपाललाई चिनाएर स्वार्थ पूर्ति गर्न सकिन्छ भन्ने सोच नेपाली जनताको हित नचाहनेहरूको छ । हामीले अहिले पनि २५ अर्वको धान विदेशबाट ल्याउँछौँ । मरमसलादेखि कुनै यस्तो चीज छैन, जुन आत्मनिर्भर भएको होस् । अण्डामा हामी आत्मर्निभर छौँ । कुखुरामा हुन लागेका थियौँ, बल्र्डफ्लुको हल्ला चलाएर त्यो पनि धरायसी अवस्थामा पुग्न लागेको छ ।

दिगो कृषि विकासका कुरालाई अगाडि बढाउँदा व्यावसायिक ढंगले काम ग¥यौँ भने विस्तारै आत्मनिर्भर हुन्छौँ । तर, निर्यात गर्ने ढंगले मात्रै सोच्यौँ भने फेरि पनि बिग्रने, नारामै मात्र सीमित हुने अवस्था आउँछ ।

नीतिगत रुपमा के–के कमजोरी देख्नुभएको छ ?
दैनिक गतिविधिहरू गर्ने माध्यम किसान महासंघ बन्यो । किसान आन्दोलन सशक्त भयो । नवउदारवादी अर्थतन्त्र चरम रुपमा पुगेको, समाजवादी अर्थतन्त्र १९९० पछि रक्षात्मक स्थितिमा पुगेको, बजार अर्थतन्त्र उकालो लागेको परिस्थितिमा अन्तर्राष्ट्रिय रुपमा पनि किसानहरू संगठित हुनुपर्छ भन्ने मान्यता राखेर किसान महासंघ अन्तर्राष्ट्रिय किसान आन्दोनलको एउटा हिस्सा बन्यो । निरङकुश राजतन्त्रलाई अन्त्य गर्ने स्थानसम्म हामी पुग्यौँ ।

नेपालको राजनीतिक परिवर्तनको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका छ । ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि एक–दुई जना गिरफ्तार हुन समेत नसकेको अवस्थामा किसान महासंघले ९ जनाको गिरफ्तारी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध भएकाले बानेश्वारमा भएको आन्दोलनमा हाम्रा अन्तर्राष्ट्रिय मित्रहरूले निरङकुश राजतन्त्रको विरुद्धमा ऐक्यवद्धता जनाउनुभयो ।

किसान आन्दोलन त्यो बेलासम्म उपेक्षित थियो । अन्ततः कतै ठाउँ नभएपछि त्यहाँ लगेर थन्काउने परम्परा तोडियो । त्यसमा दुई कारण छन्–पहिलो पार्टीको उपाध्यक्ष किसान महासंघको अध्यक्ष हुनुभयो । त्यसलाई कार्यान्वनय गर्न हामी लाग्यौँ । समाजवादी मुलुकबाहेक अरुमा खाद्य सम्प्रभुतालाई मौलिक हकमा समावेश गरिएको छैन । त्यो समावेश गर्न हामी सफल भएका छौँ । नेपालको संविधानलाई समाजवाद उन्मुख बनाउन हाम्रो भूमिका छ ।

सिनियर नेताको रुपमा राष्ट्रिय सभाको अध्यक्षमा तपाईको दावेदारी किन रहेन ?
म माक्र्सवाद र लेनिनवादमा विश्वास गर्छु । सुगुरको खोरभित्र गएपनि वर्ग संघर्ष गर्न सकिन्छ भनेर कमरेड लेनिनले भन्नुभएको छ । हामी निरन्तर लागि नै रहेका छौँ । मजदूर किसान आन्दोलन मुहान हो । जब पार्टी खुल्ला भयो तव त्यो वर्ग उपेक्षित जस्तो भयो । मैले अहिलेसम्म कुनै पनि नेताको ढोकामा गएर अनुनय, विनय, अनुरोध गरेको छैन् ।

१७ वर्षको उमेरदेखि कम्युनिष्ट आन्दोलनको झण्डा बोकेँ । अहिले ६१ वर्षको भएँ । रगत दिन जानियो तर पद माग्न कहिल्यै जानिएन । पार्टीले मुल्याङकन गर्ने विषय हो । पार्टीले जिम्मा दिए स्वीकार गरिन्छ । पार्टीले मेरो योग्यता, क्षमता र योगदानको मुल्याङकन गर्न भ्याइसकेको रहेनछ भन्ने लागेको छ । म आत्तिएको छैन, निराश पनि भएको छैन् । एउटा चीज प्राप्त हुँदा एकदम खुशी हुने र एउटा पद गुम्दा एकदम निराश हुने मेरो चरित्र होइन । म भौतिकवादमा विश्वास गर्छु । पार्टी हामी सबैको हो ।

सरकारको पक्षमा यति धेरै माहोल छ । यसलाई निरन्तरता दिन के गर्नुपर्छ ?
सरकारप्रति विश्वास जाहेर गरेर हामी सबै अगाडि बढ्नुपर्छ । हिजो विरोधमा रहेकाहरू पनि अब स्थिर सरकार यही हो, देशको विकास यसले नै गर्न सक्छ भन्ने लाइनमा आएको अवस्था छ । प्रधानमन्त्रीलाई तीन चौथाई बढी विश्वासको मत प्राप्त भएको छ । नेपालको इतिहासमा यस्तो भएको छैन् ।

राष्ट्रियताको पक्षमा ओलीले अडान लिनुभयो, जनताले साथ दिए, राष्ट्रियता विरोधी शक्ति र वैदेशिक शक्ति झुक्न बाध्य भयो । त्यसैको परिणम हो यो । वर्तमान सरकारसँग अर्को परीक्षा छ–हिजोको यो पक्षलाई निरन्तरता दिन सक्दा सक्षम हुन्छ, सरकार इमान्दारिताका साथ, पक्षधरविहीन भएर सम्पूर्ण नेपाली जनताको हकहितमा समर्पित भयो भने वामपन्थीहरूले अर्को ३० वर्ष आँखा चिम्लेर जनताको सेवा गर्ने अवसर प्राप्त गर्नेछन् ।

संविधान संशोधनबारे तपाईको धारणा के छ ?
संविधान गतिशील दस्तावेज हो । बस्तुस्थितिमा फेरबदल आउनासाथ संविधान पनि परिवर्तन हुनैपर्छ । परिस्थिति अनुरुप संशोधन हुने कुरा हो । जस्तोः संविधानकै नाममा प्रतिनिधि सभाको परिणाम आएको लामो समयसम्म नयाँ सरकार बन्ने बाटो बन्द गरियो । के यो लोकतन्त्रको चरित्र हो त ? यस्ता किसिमका चीजहरूलाई संशोधन गर्नुपर्छ । तर, संशोधनको नाममा मात्रै संशोधन हुनुपर्छ भनेर कसैले भन्छ भने त्यो सम्भव छैन । संविधान संशोधन राष्ट्रियताको पक्षमा छ कि छैन, जनताको पक्षमा छ कि छैन, सिमान्तकृत जनताको पक्षमा छ कि छैन् भनेर हेर्नुपर्छ ।

कांग्रेस प्रतिपक्षमा हुँदा सरकारलाई काम गर्न अप्ठ्यारो पर्छ कि पर्दैन ?
कांग्रेस पुरानो इतिहास बोकेको पार्टी हो । लोकतन्त्र स्थापना गर्न उसको योगदान छ । तर, जब जब कांग्रेस सत्तासिन भयो, तबतब जनविरोधी क्रियाकलापमा लिप्त भएको छ । १९९० मा सोभियत संघ विघटन भएपछि उन्मुक्त ढंगले यिनीहरू आए । अन्तर्राष्ट्रिय शक्तिको आड विना सत्ता संचालन गर्न सकिदैन भन्नेमा उनीहरू रहे । उनीहरू त्यही दिशातर्फ अगाडि बढे । उनीहरू हाम्रो देशको वास्तविक धरातलभन्दा बाहिर गए । लोककल्याणकारी राज्यको परिकल्पनाभन्दा बाहिर गए । राज्यको दायित्व के हो भन्ने कुरा उनीहरूले बिर्सिए । नेपालको छालाजुत्ता कारखाना, चिनी कारखाना, चुरोट कारखाना, कृषि औजारकारखाना लगायत सरकारी स्वामित्वको सम्पूर्ण कारखाना निजीकरणमा धकेलिदिए । र त्यसको कमिसनमा आकर्षित भए, त्यहीबाट उनीहरूको दुरदशा सुरु भएको हो । अर्कोपक्ष उनीहरूको नेतृत्व पनि ग्याप भयो । लोकतन्त्रको लागि त्याग गरेको नेतृत्व भन्दा पनि लोकतन्त्रलाई ढाल बनाएर अवसर कसरी लिने भन्ने नेतृत्व आयो । त्यस्तो अवस्थामा कांग्रेस जनताबाट अलग भयो । अहिले त यति विस्थापित भयो कि नेपाली कांग्रेसले २००७ सालमा भूमिका खेलेकै हो त, २०४६ सालमा भूमिका खेलेकै हो त भन्ने स्थिति सिर्जना हुन आएको छ ।

अन्त्यमा ?
तपाईको लोकप्रिय अनलाइन नेपालपाटी डटकममार्फत मेरो विचार जनतासम्म पु¥याउने मौका दिनुभयो । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।

4320 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank