नाम जस्तै अमृत-अग्लो राजनीतिक कद, सामान्य जीवनशैली

निष्ठा र त्यागको राजनीति—४

बिहिबार, फाल्गुन १९, २०७३

loading...


नेपालपाटी डट कमले अहिलेको एमाले पार्टी निर्माण गर्न र नेपालमा समतामूलक लोकतन्त्र स्थापना गर्नको लागि कष्टप्रद लामो संघर्ष गरेका बरिष्ट नेताहरुको जीवनको प्रारम्भिक कालदेखि हालसम्मको अबस्थाको बारेमा सकेसम्म विस्तृत रुपमा जानकारी लिई पाठकहरु समक्ष प्रस्तुत गर्ने अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गतको चौथो प्रस्तुतीको रुपमा यस पटक हामीले अत्यन्त जोखिमपूर्ण र साहसिक लामो संघर्षको ईतिहास भएका कमरेड अमृत कुमार बोहरालाई प्रस्तुत गरेका छौं । यस अघिका तीन प्रस्तुतीलाई पाठकहरुले औधि मन पराई दिनु भएकेले त्यसवाट हामी ज्यादै उत्शाहित भएका छौं । कमरेड अमृत कुमार बोहराको संघर्ष पनि उत्तिकै प्रेरणादायी रहेको कुरा पाठकहरुले यो अन्तर्वार्ता पढने क्रममा थाहा पाउनु हुनेछ । यस्ता त्यागी र निष्ठावान नेताहरु एमालेमा अरु पनि धेरै हुनुहुन्छ । हामी क्रमिकरुपमा उहाँहरुलाई पनि प्रस्तुत गर्दै जानेछौं । नेपालपाटी डट कमको लागि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहरासंग डा. गोबिन्द बहादुर थापा र निरज आचार्यले लिएको अन्तर्बार्ता

मलाई खोज्दा नभेटे पछि बुवालाई, दाई, भाउजुहरुलाई कुटपिट गरे । पञ्चायतकालमा भान्जाहरुले पनि धेरै दुख पाउनु भयो । कुटपिट गरियो , घर छोड्नु प¥यो । यस्ता घटना हाम्रो परिवारमा धेरै घटे ।

आफ्नो जन्म र जन्म स्थानबारे केही बताई दिनु होस न ?
मेरो जन्म मिति २००६ साल बैशाख १५ गते सिन्धुपाल्चोक जिल्लाको पिस्कर गा.वि.स. वडा नम्बर ४ मा भएको हो ।

तपाईको पारिवारिक पृष्ठभुमीका बारेमा पनि केही जानकारी दिनु हुन्छ कि ?
मेरो बुवा उत्तर ध्वज वोहरा र आमा इन्द्र कुमारी बोहरा । हामी चार भाई र तीन दिदी बहिनी हौं । जेठा दाई वीरबहादुर बोहरा, माइला दाई कृष्ण बहादुर बोहरा, जो भारतको उत्तराञ्चलमा परिवार सहित बस्नु हुन्थ्यो, अहिले उहाँ हुनु हुन्न । भाउजु उतै हुनु हुन्छ । साईला दाजु छत्र बहादुर बोहरा राजनीतिक कार्यकर्ता हु्नुहुन्छ । म मेरा आमा बुवाको कान्छो सन्तान अमृत कुमार बोहरा । अहिले त कान्छि दिदी मात्रै हुनुहुन्छ । जेठी दिदी कृष्ण कुमारी कार्की र माईली दिदी पहिले नै बितिसक्नु भयो । जेठा दाई किसान हुनु हुन्छ । माईला दाई घरको अवस्थाले गर्दा भारत तिर लाग्नु भयो । उहाँ धेरै बर्ष सम्म सम्पर्कमा हुनु हुन्थेन, पछि साईला दाईले खोजेर ल्याउनु भयो । दाईका छोरा, बुहारी पनि पार्टिका (एमाले) कार्यकर्ता हुन् । मेरी श्रीमती अष्टलक्ष्मी शाक्य, उहाँको बारेमा त मैले केही भन्न परेन । छोरी आस्था बोहरा र छोरा बिश्वास बोहरा हुन् । छोरीको बिवाह दाङ्ग निवासी रविन्द्र रजौरेसंग भएको हो । नातिनी आरभी रजौरै हामी साथैे छन् ।

तपाईको परिवार कुन वर्गको थियो ?
हाम्रो पारिवारिक अवस्था पहिलेदेखि नै गाउँको मध्यमवर्गीय किसान परिवार हो । खान लगाउन कुनै समस्या थिएन । गाउँमा अलि टाठोबाठोमा गनिने परिवार हो । बुवा सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । हजुर बुवा त्यो भेगको अलि चर्चित नै व्यक्ति हुनुहुन्थ्यो । मानध्वज बेहरा सिन्धुपाल्चोकको टेकानपुरमा बस्नु हुन्थ्यो । मेरी आमा धेरै दयालु हुनुहुन्थ्यो । यतीसम्मकी गाउँमा कोही विरामी प¥यो भने खानासम्म लगेर खुवाउनु हुन्थ्यो, हेरविचार गर्ने गर्नु हुन्थ्यो । तर म सानै छँदा आमा वित्नु भयो । बुवा पनि म भूमिगत हुँदा २०४५ सालमा वित्नुभयो । दाई छत्र बहादुर बोहरा जेलबाट भर्खर छुट्नु भएको थियो । दाजुका छोरा, छोरी, नाति, नातिना, पनाति, पनातिनासम्म भैसके । भतिजा बुहारी समेत सबै आफ्—आफ्नै पेशामा सक्रिय छन् ।

तपाईले लामो समयसम्म भुमिगत राजनीति गर्नु भयो । त्यो कालमा सरकारले परिवारलाई कत्तिको दुख दिएको थियो ?
पन्चायत कालिन दुखको कुरा गरी सध्य छैन । मलाई खोज्दा नभेटे पछि बुवालाई, दाई, भाउजुहरुलाई कुटपिट गरे । पञ्चायतकालमा भान्जाहरुले पनि धेरै दुख पाउनु भयो । कुटपिट गरियो , घर छोड्नु प¥यो । यस्ता घटना हाम्रो परिवारमा धेरै घटे । कान्छा भिनाजु लाल बहादुर कार्कीलाई जेल हाले । छत्र बहादुर दाई नेपाली सेनामा हुनुहुन्थ्यो । उहाँ नेपाली सेनामा हुँदाहुँदै गाउँमा वर्गीय राजनीति हुन थाल्यो, गाउँमा सामन्तहरुको हालिमुहाली थियो । त्यसताका उहाँ वर्गीय राजनीतिबाट सचेत भई सक्नु भएको थियो । त्यसवेला उहाँलाई जागिर छोडाएर नेपाल कम्युनिष्ट पार्टिको नीति अनुरुप तत्कालीन गाउँ पञ्चायतको प्रधानपञ्चको जनपक्षीय उम्मेदवार बनाएर चुनाव लडाईयो र उहाँले जित्नु पनि भयो तर उहाँलाई पुरा कार्यकाल काम गर्न दिइएन । उहाँलाई पञ्चहरुले पदबाट फिर्ता (प्रत्याव्हान) गरे । यो अराष्ट्रिय तत्व हो, घुसपैठ गराईएको तत्व हो र योे किल्ला भित्रै पसेर यो व्यवस्थालाई भङ्ग गर्न पठाइएको मान्छे हो भनेर उहाँलाई पदबाट फिर्ता गरियो । २०४० सालको बहुचर्चित हत्याकाण्ड पछि लामै समय वहाँलाई जेल हालियो ।

परिबारको शिक्षा दिक्षाको बारेमा पनि केही बताई दिनुहोस् न ?
हाम्रो मामा जनक बहादुर खड्का पिस्कर बासी नै हो । उहाँ दोश्रो विश्वयुद्ध कालमा सेनाको लेफ्टिनेन्ट हुनुहुन्थ्यो । संसारको धेरै भाग घुमेर आउनु भएकोले उहाँले शिक्षाको महत्व बुझ्नु भएको थियो । उहाँ जग्गा बेचेर भएपनि छोरा छेरीलाई पढाउनु पर्छ, स्कुल खोल्नु पर्छ भन्ने मान्छे हुनुहुन्थ्यो । त्यसबेला पिस्करमा स्कुलको कुनै व्यवस्था थिएन । तर उहाँले काठमाडौबाट शिक्षक ल्याएर पढाउने व्यवस्था गर्नु भएको थियो । त्यसैले हामीले प्रारम्भिक शिक्षा गाउँमै पाएका थियौ । पछि मेरो मामा र बुवाको पहलमा गाउँमै प्राथमिक बिद्यालय खोलियो । मैले पाँच कक्षासम्म त्यही पढेको थिएँ । अँग्रेजीको केही ज्ञान मैले दोलखाको मकैवारीमा पाएको हुँ ।

तपाईका नातागोताहरु पनि कोही राजनीतिमा छन् ?
म र मेरो श्रीमती बाहेक मेरो एक जना दाई स्थानीय नेता हुनुहुन्छ । उहाँ हाम्रै गा.बि.स.को जनपक्षीय प्रधान पन्च हुनु भएको थियो । पहिला उहाँ पार्टीको जिल्ला सल्लाहकार र हाल उहाँ जेष्ट कम्युनिष्ट मन्चको सदस्य हुनुहुन्छ । कान्छा बुवाका छोरा जगत बहादुर बोहरा पार्टीका पुराना मान्छे हुनुहुन्छ । भतिजा भतिजीहरु हाम्रै पार्टीका स्थानीय कार्यकर्ता छन् । अरु नातेदारमा धेरै कार्यकर्ताहरु छन् । सबैको नाम लिन सम्भब छैन । नाता गोता, आफन्तहरुको हाम्रो ठुलो समाज छ । बिबिधतामा एकता पनि छ । प्रसङ्ग वा संयोग नै भनौ, मेरो बुवाको मावली घर र पूर्व प्रधान मन्त्री सूर्य बहादुर थापाको ससुराली घर एउटै पर्यो । त्यो नाताले वहाँलाई मैले फुपाजु भन्नु पर्ने हुन्छ । कहिले काँही नाताको पनि काम हुने रहेछ । तर उहाँले मलाई नाताको हिसावले कहिल्यै ब्यबहार गर्नु भएन । उहाँले सधैं राजनीतिक कर्मिकै रुपमा व्यवहार गर्नु भयो । कहिल्यै नाताका हिसावले हामीवीच सम्बन्ध र व्यवहार भएन । सुर्य बहादुर थापा प्रधानमन्त्री भएको बेला मलाई राजा र पन्चायत विरोधिको आरोप लागेर मार्ने वारेन्ट गरेको छ भनेर कता कताबाट मेरा बुवाले सुन्नु भएछ । त्यो सुनेर उहाँलाई चिन्ता लागेछ । अरुलाई भनेर जाउँभन्दा जान दिँदैनन् भनेर सुटुक्क काठमाडौं आउनु भएछ र सूर्य बहादुर थापालाई भेट गर्दा उहाँले चाँही बावुले बुझेरै रजनीतिमा लाग्नु भएको होला । बुझेरै पार्टीमा लागेको मान्छेलाई फर्काउन गाह्रो हुन्छ । यदी भेट भयो र मान्नु भयो भने राजातन्त्र र पञ्चायती व्यवस्थाको समर्थन गरेर वक्तव्य दिनु भयो भने राजनीतिक रुपबाट चिन्ता लिनु पर्दैन, त्यो सबै हामी रद्द गरिदिन्छौ, त्यो गर्न सक्नु हुन्छ कि हुदैंन भनेर उहाँले बुवालाई प्रस्ताव राख्नु भएछ । अनि बुवाले त्यही कुरा लिएर गाउँ जानु भएछ र दाईहरुसंग त्यो कुरा राख्नु भएछ । दाईहरुले हामीले माफी माग भन्नु हुदैन भन्ने राय दिएपछि बुवा पनि चुप लाग्नु भएछ । पछि म खुला राजनीतिमा आएपछि सूर्य बहादुर थापाले यो कुरा मलाई भन्नु भयो ।

amrit 01सिन्धुपाल्चोकको पनि पिस्कर जस्तो दुर्गम ठाउँमा बाम राजनीति कसरी सुरु भयो ?
पहिलो कुरा त हाम्रो गाउँ भौगोलिक दृष्टिले विकट र आर्थिक रुपमा पनि निकै विपन्न क्षेत्र हो । त्यस्तो ठाउँमा सामन्तिहरुको चरम शोषणमा हामी बस्थ्यौं । त्यहाँका सामन्तहरुको दरवारियाहरुसंग, राणाहरुसंग सम्वन्ध थियो, उनीहरु अलि शिक्षित पनि थिए तर आफु र आफ्ना परिवारलाई वाहेक अरुलाई पढाउनु पर्छ भन्ने भावना उनिहरुमा रत्तिभर थिएन । त्यहाँ सामन्ती शोषणको पराकाष्ठा नै थियो, उनीहरुको काम सित्तैमा गरी दिनु पर्ने, असारमा धान रोप्न गई दिनु पर्ने, मंसिरमा धान थन्क्याउन गई दनु पर्ने, प्रत्यक घरधुरीबाट एक÷एक अनिवार्य रुपमा जानु पर्ने चलन थियो । उनिहरुको घरमा कोही पाहुना आए भने चामल, तेल, मसला, कुखुरा लगिदिनु पर्ने, काजीको घरमा पाहुना आए भनेपछि जसरी पनि यस्ता कुरा पु¥याई दिनु पर्ने अवस्था थियो । उनीहरुसंग असहमत व्यक्तिलाई मुद्दा मामिलामा फँसाउने, राम्रा चेलीवेटी देखे पछि आँखा लगाई हाल्ने, हातपात गर्न खोज्ने, यस्ता पीडा र अपमान सहेर बस्न बाध्य हुनु पर्ने अवस्था थियो । यदी उजुर ग¥यो भने मुद्दा लागि हाल्ने भन्ने डर पनि उत्तिकै थियो ।

त्यहाँ सामन्तहरुले यतिसम्मको अत्याचार गर्दथे कि एउटा कुखुराको चल्ला दिएर घरवारसम्म हडप्ने गर्दथे । त्यो अत्याचार सहि नसक्नु भएको थियो । त्यही समयमा २०१५ सालमा कम्युनिष्ट पार्टीको छिटा कता कताबाट त्यहाँ पनि पुगेको थियो । कम्युनिष्टले राम्रो गर्छ भन्ने चर्चा चल्न थालेको थियो । बुवा, मामाहरुले प्रत्यक्ष सम्पर्क पाउनु भएको भए त कम्युनिष्ट पार्टीमा लाग्नु हुन्थ्यो होला तर त्यो समयमा त्यहाँ त्यो सम्भव थिएन । २०१५ सालको चुनावमा भरत सम्शेरको पार्टी गोरखा परिषदको हर्कजित लामा नाम गरेका व्यक्ति त्यहाँ पुगेका थिए । त्यो पार्टिमा लाग्योे भने नेता बनाई दिन्छु, पत्रिकामा नाम आउँछ भनेर मेरा दाई विर बहादुरलाई धेरै फकाईएको थियो । दोलखाका बेनी बहादुर कार्की त्यतिखेर गोरखा परिषदका नेता थिए । उहाँ पनि त्यहाँ आउनुभएको थियो । भरत शमशेर पनि त्यहाँ आई काजीहरुकोमा बसेर गोरखा परिषदको मुख पत्रमा एउटा नाम देखाएर उहाँनै हो वेनी बहादुर कार्की भनेर चिन्हाए र तपाईहरु पनि हाम्रो पार्टीमा लाग्नु भयो भने तपाईको नाम पनि यसरी नै पत्रिकामा आउँछ वीर बहादुर जी भने । तर दाईले त्यस्तो अत्याचारीको घरमा बसेर यस्तो कुरा गर्ने, हुँदैन भनेर अस्वीकार गर्नु भयो । म सानै थिएँ । त्यसैले ती कुरा मलाई अलि अलि थाहा छ । त्यसपछि हाम्रा बुवाहरु के.आई. सिंहको पार्टिमा लाग्नु भयो । के.आई.ंिसहको पार्टीले जनताको पक्षमा काम गर्छ भन्ने उहाँहरुलाई परेछ । चुनावमा भोट के.आई. सिंहको पार्टीका उमेदवारलाई हाल्नु भयो । तर त्यहाँबाट गोरखा परिषदले जित्यो । त्यो चुनावमा हाम्रो जिल्ला सिल्धुपाल्चोक पश्चिम क्षेत्रबाट कम्युनिष्ट पार्टीबाट पनि उमेदवार उठेका थिए तर उनको धेरै भोट आएन ।

म केही ठुलो भएपछि त्यहाँको वर्गीय राजनीतिक विषमता, आर्थिक असमानता र सामन्तहरुको अत्याचार र उत्पीडनको कारणले हामीमा स्वतःस्फुर्त रुपमा विद्रोहको भावना जन्मिएको थियो । पछि गएर राजाले ल्याएको भूमिसुधार कार्यक्रम लागु गर्नेे क्रममा काठमाण्डौबाट नयाँ नयाँ मान्छेहरु त्यहाँ पुग्न थाले । कर्मचारीकै रुपमा भएपनि प्रगतिशील बिचारका मानिसहरु पनि पुग्ने गर्दथे । तिनिहरुसंग सम्पर्क हुन्थ्यो । तर म पढ्नका लागि चौतार गएँ । चौतारामा श्रीकृष्ण माध्यमिक बिद्यालय थियो । त्यो विद्यालयमा शसिकला शर्मा नाम गरेकी हेड मिस हुनुहुन्थ्यो । उहाँ जनबादी लेखक श्याम प्रसाद शर्माको श्रीमती हुनुहुन्थ्यो । उहाँहरु कम्युनिष्ट पार्टीको प्रचार गर्ने उदेश्यले योजनाबद्ध रुपमा त्यहाँ आउनु भएको रहेछ । श्याम प्रसाद नेकपाकै एउटा समुहमा हुनुहुँदो रहेछ । त्यहाँ पुगिसकेपछि हामीले प्रगतिशिल राजनीतिको बारेमा जान्ने मौका पायौं, शिक्षा पायौं । श्यामप्रसाद शर्माले लेखेका साथि कसरि बनाउने, शत्रु—मित्र कसरी छुट्याउने जस्ता पुस्तकहरु लुकाएर पढिन्थ्यो । प्रत्येक जसो शनिवार राम्रा विद्यार्थीहरुलाई प्रगशिल राजनीतिका कुराहरु सिकाईन्थ्यो ।

कमरेड इली थामी र बीर बहादुर थामी दुई जनाले घटनास्थलमै सहादत प्राप्त गरे । तर कोही पनि पछि हटेनन्, भागेनन् । त्यसपछि पटक पटक साथीहरु जेल परे, जेल प्रशासनले माफि माग्न भन्थ्यो तर पार्टीमा यस्तो अनुशासन थियो कि उनीहरु कसैले पनि कहिल्यै माफी मागेनन् । पिस्कर घटनाको लगत्तै पार्टीको पोलिटव्युरो बैठक बसेर यो आन्दोलनलाई देशव्यापी बनाउनु पर्छ भन्ने निर्णय गरियो ।

पार्टीको सम्पर्कमा कसरी आउनुभयो ?
पार्टी कामकै आबश्यकताले पार्टिको सम्पर्कमा आइयो । पहिला शशिकला त्यसपछि पाटनका सुशिल चन्द्र अमात्य पनि त्यहाँ पुग्नु भयो । तर उहाँले हामीलाई क्लास चाहि लिनु भएन । किनकि त्यसपछि म बाह्रबिसेको शारदा मा.बि.मा आईसकेको थिएँ । त्यही क्रममा त्यहाँ खिल वहादुर भाबुक, जनक राज गिरि, जयराम शर्मा, शंकर नेपाल (हाम्रो पार्टीका हालका पोलिटव्युरो सदस्य अरुण नेपालका पिता) आदिसंग सम्पर्क भयो । शंकर नेपाल कलकत्तादेखि नै बामपन्थि विचारबाट प्रभावित भएर आएको मान्छे हुनुहुन्थ्यो । नारायण बहादुर गुरुङ, जो मेरै छिमेकी गाउँमा हुनु हुन्थ्यो र उहाँ पहिला ओखलढुङ्गाको क्षेत्रबाट कम्युनिष्ट पार्टीको उम्मेदवार हुनु भएको थियो । त्यस्ता व्यक्तिहरुको प्रेरणाले म कम्युनिष्ट भएको हुँ । दुई वर्षको प्रशिक्षण पछि २०२२ सालमा १६ बर्षको उमेरमा नै मैले पार्टिको सदस्यता पाएको थिएँ । प्रारम्भिक चरणमा सेलमा संगठित भईयो । त्यसपछि एरिया कमिटिमा आइयो । ०२५ सालमा पार्टीको जिल्ला कमिटिमा आवद्ध भएँ । उत्साहित थिएँ, इमान्दार थिएँ र धेरै सक्रिय पनि थिएँ । त्यसकारणले पनि परिक्षण कालबाटै जिल्ला कमिटिमा ल्याइयो । २०२६ सालमा भूमिगत हिसावले पाङ्ग्रेटार गा.वि.स.मा शंकर नेपालको घरमा नेपाल कम्युनिष्ट पार्टिको पुष्पलाल समुहको जिल्ला सम्मेलन भयो र फेरी पनि म जिल्ला कमिटिमा निर्वाचित भएँ ।

त्यतिबेला पार्टी कसरी चलेको थियो ?
जिल्ला कमिटिका मुख्य नेता जयराम शर्मा हुनुहुन्थ्यो । उहाँ पार्टिको सेक्रेटरी हुनुहुन्थ्यो । राजनीतिमा म सिधै कम्युनिष्ट पार्टिमा लागेर आएँ । २०२६ सालबाट व्यवस्थित ढङ्गले जिल्ला कमिटि विस्तार गरियो । पार्टीलाई बलियो बनाउन पार्टी हेडक्वार्टरसंग सम्पर्क स्थापित गर्न हामी विष्णुदास डङ्गोल, जयराम शर्मा, लक्ष्मण सुन्दर सैजु, म लगाएत ५/६ जना दर्भङ्गा गएर कमरेड पुष्पलाललाई भेटे पछि उहाँले अत्यन्त फलदायी राजनीतिक प्रशिक्षण दिनु भयो । राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने विषयमा गम्भिर छलफल भयो । हामीलाई किसान माझ केन्द्रित भएर राजनीति र संगठन गर्ने महत्वपूर्ण प्रशिक्षण दिईयो । त्यसवेला हामी सबैलाई पुष्पलालले सोध्नु भएको थियो के के गर्नु हुन्छ भनेर म स्कुल पढ्दै छु र राजनीति पनि गर्छु भने । अनि मैतिर केन्द्रित भएर उहाँले तपाई पढ्नु हुँदैन त म भन्दिन तर राजनीतिक काम अहिलेको प्राथमिक काम हो ।

पार्टी निर्माणको काम अहिलेको आवश्यकता हो । तपाईले पढेर जागिर खानु होला, आफ्नो परिवार पाल्नु होला । तर सबैले त्यसो गर्दा आम जनताले मुक्ति कसरी पाउछन् भन्नु भयो । मैले त्यसको खण्डन गर्दै पढ्दै राजनीति पनि गर्छु भने । मैले त्यो भनिरहँदा उहाँले एउटा झोलाबाट एउटा किताव झिकेर देखाउनु भयो । त्यो चिनिया क्रान्तिको बारेमा लेखिएको पुस्तक थियो । अंग्रेजी धेरै नपढेको भएपनि मैले बुझेँ कि त्यो इल Chinese Revolution भन्ने किताव थियो । उहाँले वीच वीचमा अण्डरलाईन गरेका हरपहरु राम्ररी नेपालीमा रुपान्तरण गरेर सुनाउनु भयो र भन्नु भयो औपचारिक शिक्षाले मात्र हुँदैन, अभ्यास र अनुभव दुबैको अवश्यकता हुन्छ । सिक्दै पढ्दै पनि जान सकिन्छ । उहाँको कुराले ममा गहिरो प्रभाव पर्यो । अनि उहाँले सोध्नु भयो अव तपाई के गर्नु हुन्छ भन्दा मैले आजबाट पूर्णकालिक भएर पर्टीमा काम गर्छु भनेर मुट्ठि उचालेर प्रतिवद्धता जनाएँ । त्यो बेलादेखि आजसम्म म पार्टीको पूर्णकालिक सदस्य नै छु । सरकारले ज्यादै कडा नजर लगाएर दुख दिन थालेपछि पार्टीको आबश्यकताले ०३१ सालबाट म पूर्णरुपमा भूमिगत भएँ ।

कमरेड पुष्पलालले कम्युनिष्टको राजनीति भनेको जनताको राजनीति हो, पदको निम्ति हैन भन्नु भयो । त्यो कुराको छाप ममा अहिले पनि छ । हामी उहाँलाई त्यतिखेर माईला दाई भन्ने गर्दथ्यौं । म त्यही कुरालाई अहिले पनि सम्झिरहन्छु । म पहिल्यैदेखि नै पार्टीमा टुटफुट र गुटवन्दिको विरुद्धमा थिए । गाउँमा नजान्दा नजान्दै वर्गीय चेतना जगाउदै यहाँसम्म आइयो । गाँउ गाउँ जाने, विद्यालय स्थापना गर्न प्रेरित गर्ने, विद्यालयमा श्रमदान गर्ने क्रममा राम्रा राम्रा विद्यार्थीहरुलाई भेला गराउने गर्यौं । पञ्चायती व्यवस्था भएका कारणले त्यतिखेर राजनीति गर्न धेरै गाह्रो थियो । त्यसैले पुस्तकालय खोल्ने, मानिसहरु भेला गराउने, साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने गर्दथ्यौं । हाम्रा गतिविधि बढ्दै गएपछि प्रशासनको नजर हामीमाथि पर्न थाल्यो ।

प्रशासनले यिनिहरु खतरनाक हुँदैछन् राजा बिरोधि काममा लाग्दै छन् भन्न थालिसकेको थियो । तर हामीले हाम्रो सञ्जाल धेरै फैलाईसकेका थियांै । हामीले गाउँ गाउँ गएर नाटक प्रदर्शन गर्न थाल्यौ । हामीलाई यो राजनीतिमा अझ सक्रिय भएर लाग्न कोदारी राजमार्गको निमार्णले पनि सहयोग गर्यो । चिनियाहरुले उदाहरण बनेर त्यो राजमार्ग निर्माणमा काम गरेको हामीले देखिरहेका थियौं । तिनिहरु साना ठुला नभनी सबैले काम गर्दथे, साह्रै परिश्रमि थिए । त्यतिखेर उनिहरुसंग माओको रातो किताव (रेड बुक) र सचित्र चीन भन्ने रङ्गिन पत्रिका हुन्थे । हामी त्यो मागेर पढ्थ्यौं । त्यसले पनि हामीलाई सैद्धान्तिक ज्ञान बढाउन धेरै मदत गर्यो । राजमार्ग निर्माणका क्रममा चिनिया क्रान्ति ताकाका धेरै राम्रा क्रान्तिकारी सिनेमाहरु प्रदर्शन गरिन्थ्यो । त्यसले जनतालाई स्थानीय अत्याचार बिरुद्ध लड्न प्रेरित गर्दथ्यो ।
त्यस्तो जोखिमपूर्ण राजनीति गर्न कहिल्यै पारिवारिक अवरोध भयो कि भएन ?
हामीले राजा र पञ्चायतको विरोध गर्ने हुनाले आफन्तहरुले यो अव विग्रियो, पार लाग्ने बाटोमा लागेन भन्ने कुरा त गर्दथे । तर म घरका सबैलाई मन लगाएर सहयोग गर्ने भएकाले बुवा र घरका अरु सदस्यले चाँही यो ठिकै होला भन्नु हुन्थ्यो । तर मेरा भाउजुहरुको कतिपय आफन्त ठुलै ठाउँमा भएका कारणले मलाई नियन्त्रणमा राख्न चाँही खोजेका थिए ।

त्यहाँ पन्चहरुको राजनीति कस्तो थियो ?
त्यो समय त्यहाँ नेत्र विक्रम थापाको हैकमको विरोध कसैले गर्न सक्दैनथे । उनको सहनै नसकिने अत्याचार चलिरहेको अवस्थामा पशुपति शमशेर काठ्माण्डौबाट सिन्धुपाल्चोकमा चुनाव लड्न पुगे । त्यसवेला प्रगतिशिल भन्ने गिरि बहादुर केसी, जगदिश खड्का, माधव आचार्य, खड्ग बहादुर जिसि लगायतका साथीहरु युनिभर्सिटीमा थिए । पशुपति शमशेर पनि त्यतिखेर युनिभर्सिटी अन्तर्गतको सेडामा निर्देशक थिए । नेत्र विक्रमको विरुद्धमा प्रगतिशील राजनीतिमा लागेका युवाहरुलाई परिचालन गर्न सके सिन्धुपाल्चोकबाट चुनाव जित्न सकिन्छ भन्ने पशुपति शम्शेरहरुले निष्कर्ष निकालेका रहेछन् । पशुपति शमशेरले नेत्र विक्रमले जस्तो शोषण गर्दैनन् भन्ने कुरा प्रचारमा ल्याईयो । उनि भविष्यको प्रधानमन्त्री हुन्, त्यसैले उनलाई साथ दिनु पर्छ भनेर नेत्रविक्रमको विरुद्धमा पशुपति शमशेरलाई अगाडि सारियो । त्यस काममा प्रयोग गर्न प्रगतिशील नाताले माधव आचार्यहरुले हाम्रा सेक्रेटरी जयरामजीलाई सम्पर्क गरे ।

तर एउटा सामन्तिको विरुद्धमा अर्काे सामन्तिलाई किन खडा गर्ने भनेर मैले बिरोध गरें । त्यो कुरा पशुपति शमशेरको कानसम्म पुगेछ । र, उनले मलाई भेटघाट गर्नका लागि बोलाए । पशुपति शमसेरले म प्रगतिशिल विचारधाराकै मान्छे हो नेत्रविक्रम जस्तो शोसकलाई पराजित गर्न मलाई सहयोग गर्नुस् भने । मैले उँहालाई सोझै तपाईलाई सहयोग गर्न सक्दिन भने । तपाई एकजना बौद्धिक मान्छे काठमाण्डौबाट चुनाव लड्नु राम्रो । सिन्धुपाल्चोकको समस्या हामी आफै हल गर्छौ । मेरा कुरा उहाँलाई त्यति मन परेन । त्यसपछि उहाँसंग भेट भएन ।
पशुपतिलाई जिल्लामा सहयोग गर्ने कि नगर्ने भन्ने सवालमा पार्टीमा बिबाद भयो ।

२०४० सालमा पिस्कर घटना पछि पार्टिले मलाई मेचि अन्चल खटायो । त्यो बेलामा पूर्वाञ्चल व्युरो ईन्चार्ज कमरेड मदन भण्डारी हुनुहुन्थ्यो । त्यस वेला बिराटनगरमा एउटा सी.आई.डी. काण्ड भयो । त्यो काण्डपछि मदन भण्डारीलाई अचानक हेर्डक्वाटर बोलाइयो । त्यसपछि पुर्वाञ्चल व्युरोको प्रमुख मलाई बनाईयो ।

हामी केही थोरै मान्छे मात्र सहयोग नगर्ने अडानमा रह्यौं । काठमाण्डौबाट आएका प्रगतिशील भनिने साथीहरु सहयोगको लागि पछिसम्म कोशिश गर्दै थिए । त्यसपछि ममाथि प्रशासनको निगरानि बढ्यो । त्यस वेला म स्थानीय पार्टी कमिटीमा अल्पमतमा परेँ । पार्टी दुई खेमामा विभाजित भयो र धेरै साथीहरुले पशुपति शमशेरलाई सहयोग गर्ने भए । चुनावमा पशुपति शमशेर उपप्रधान पन्चमा निर्वाचित भए । किनभने त्यस बेला गाउँमा चुनाव नजिति जिल्ला र राष्ट्रिय पन्चायतमा चुनाव लड्न पाईदैनथ्यो । उनी जिल्ला पञ्चायतको उपसभापतिमा चुनाव लड्दा हामीले उनको बिरोधमा उम्मेदवारी दिने निर्णय ग¥यौं ।

त्यसपछि हामी बिरुद्धको निगरानी अरु आक्रामक हुँदै गयो । बजार, बाटोघाटो कतै पनि खुलेआम हिड्न नसक्ने अवस्था आयो । पार्टी हेर्डक्वाटरमा पनि सम्पर्कको गडबढी भयो । त्यसले गर्दा म नेपाल कम्युनिष्ट पार्टिको चौथो सम्मेलनमा जानु पर्ने मान्छे जान सकिन । त्यतिबेला मिलन तुलाधरसंग मिलेर ‘वर्ग चेतना’ नामक भूमिगत पत्रिका निकाल्न थाल्यौं । कम्युनिष्ट पार्टीलाई माथि उठाउने हिसावले पहिलो अंक निकाल्यौ र वितरण ग¥यौं । त्यसले गर्दा सत्ताले र आफ्नै पार्टीको गुटले हामीलाई यती लखेट्यो कि खान, वस्न र ज्यान जोगाउन समेत नसक्ने अवस्था सिर्जना भयो । तर जस्तोसुकै प्रतिकूल अबस्था ब्यहोर्नु परे पनि हामीले हिम्मत हारेनौं कम्युनिष्ट पार्टीको निर्माण र आन्दोलनको बिस्तारमा जुटी रह्यौं ।

त्यसपछी के गर्नु भयो ?
हामीहरुले आफ्ना भएका साथीहरुलाई संगठित गरेर बाह्रबिसेमा भोकमरी विरोधि आन्दोलन ग¥यौं । पत्रिका निकाल्यौ । पुष्पलालको पार्टीमा नारायणमान विजुक्छे पुर्वाञ्चल व्यूरो ईन्चार्ज हुनुहुन्थ्यो । पुष्पलालसंगको सम्पर्क टुटेपछि हामी दर्भङ्गामा रहेका नारायणमान विजुक्छेको सम्पर्कमा गयौं । तर थाहा थिएन नारायणमान, पुष्पलालसंग असन्तुष्ट भैसकेका रहेछन् । अनि उनलाई मैले चौथो सम्मेलनमा के भयो भनेर सोध्दा उनले सम्मेलन भयो भन्छन् भन्ने जवाफ दिए । उनले अव यो पुष्पलालको नेतृत्वबाट काम चल्दैन, पुष्पलालले क्रान्ति गर्दैन, त्यसैले अव नयाँ नेतृत्वको निर्माण गर्नु पर्छ भनेर आफै परोक्षरुपबाट अगाडी बढ्न खोजेका रहेछन् ।

अनि उनले भूमिगत रुपमै एउटा जनमत बनाउने अभियान सञ्चालन गरिहेका रहेछन् । उनले हामीलाई एउटा ठुलो कापीमा सम्मति लेखेर देखाउनु भयो र पढ्न भन्नु भयो । अनि मैले पनि सम्मति लेख्दा बास्तवमा हामीले साँचो जनवादी क्रान्ति गर्न चाहान्छौ भने यो गुटफुठ भएर छरिएर बसेका बामपन्थिहरु एक ठाउँमा आउनु पर्छ र एउटै पार्टी बनाउनु पर्छ, अनि मात्रै हामी राजतन्त्र र पञ्चायत फाल्न सक्छौं भनेर लेखि दिएँ । म भूमिगत भैसकेको थिए । प्रशासनले कुनै पनि बेला पक्राउ गर्ने सम्भावना थियो । कडा वारण्ट जारि गरिसकेको थियो । २०३० साल तिर म लगभग एक्लो भै सकेको थिएँ । कमजोर अवस्था थियो, सहयोग र साथ कसैको थिएन, गुटका साथीहरु र सत्ताले खेदिरहेको थियो । त्यस्तो समयमा पिस्करमा अकस्मात माधव नेपाल पुग्नु भयो पार्टी एकताको कुरा लिएर ।

उहाँले झापा र मोरङ्गको तर्फबाट निकालिएका अपिल लिएर आउनु भएको थियो । त्यसमा नयाँ पार्टी खोल्ने कुरा थियो । उहाँका कति कुरा चित्त नबुझ्दा नबुझदै पनि त्यतातिर लागियो । २०३२ सालमा को—अर्डिनेशन कमिटी बन्यो । त्यो वेलामा मेचीबाट झलनाथ खनाल, नारायणीबाट मुकुन्द न्यौपाने, माधव नेपाल, सगरमाथाबाट मणीलाल राई र बाग्मतिबाट म थिएँ । त्यस्तै सिपि मैनाली पनि हुनुहुन्थ्यो । विराटनगरमा भेला आयोजना भयो, सिपि मैनालीलाई सचिव बनाएर को—अर्डिनेशन कमिटि (माले) बनायौं । र, एक डेढ वर्ष भित्रै नयाँ माक्र्सवादी—लेलिनवादी पार्टी निर्माण गर्ने उद्देश्यकासाथ हामी अघि बढ्यौं । त्यसको मुख्य उदेश्य भनेको छरिएर बसेका कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने र पन्चायतको अन्त्य र गणतन्त्र हुदै समाजबादी बाटोमा जाने थियो । त्यसैले हामी कोही पूर्व, कोही पश्चिम चारैतिर खटिएर एक वर्षभित्रमा नयाँ माक्र्सवादी पार्टि बनाउन मेहनत गर्यौं र २०३५ साल पुसमा माओत्सेतुङको जन्मदिन पारेर मोरङको इटहरामा एउटा भव्य राष्ट्रिय सम्मेलन गरी माक्र्सवादी लेलिनवादी पार्टी स्थापना ग¥यौं । त्यतिखेर कमरेड मदन भण्डारी पनि हुनुहुन्थ्यो ।

यत्रो लामो जोखिमपूर्ण राजनीतिमा लाग्दा तपाई जेल पर्नु भयो होला ?
२०४० सालमा पिस्कर घटना पछि पार्टिले मलाई मेचि अन्चल खटायो । त्यो बेलामा पूर्वाञ्चल व्युरो ईन्चार्ज कमरेड मदन भण्डारी हुनुहुन्थ्यो । त्यस वेला बिराटनगरमा एउटा सी.आई.डी. काण्ड भयो । त्यो काण्डपछि मदन भण्डारीलाई अचानक हेर्डक्वाटर बोलाइयो । त्यसपछि पुर्वाञ्चल व्युरोको प्रमुख मलाई बनाईयो । त्यस बेला सी.आई.डी. लाई घुसपैठ गराएर हामीलाई झण्डै सिध्याईयो । मोरङ्ग र झापामा काम गर्ने जिम्मेवार भूमिगत मान्छेहरुको सकेसम्म बास्तबिक नाम पत्ता लगाएर सी.आई.डी. ले दरबारमा रिपोर्ट गर्दो रहेछ । त्यतिखेर मेरो नाम श्याम थियो । त्यसैले अमृत बोहरा भनेर उसले मलाई चिन्न सकेन । कठोर किसिमको भूमिगत बसेको कारणले म जेल परिन । तर धरपकड गर्ने र घेराउ गर्ने प्रयाश धेरै पटक भए । तर मलाई पक्रन सकेनन् । उनिहरुसंग मेरो तस्बिर पनि थिएन । यस्तो भयो की पढाइकै सिलसिलामा चौतारा हुँदै बाह्रविसेसम्म गइयो । त्यो वेलामा स्कुलमा रजिष्ट्रेशन फर्मका लागि फोटो आवश्यक पथ्र्यो । त्यो वेलामा फेटो खिच्न काठमाडौं आउनु पथ्र्याे । फोटो खिचेर त लिएर गईयो, चार पाँच वटा फोटो थियो, पछि त्यो फोटो स्कुलबाट जफत गरे र त्यस्लाई ईन्लार्ज गरी देशैभरी बाँडियो र जिउँदो या मुर्दा जसरी पनि समातेर ल्याउन आदेश दिईएको थियो । तर सानोमा खिचेका तस्बिरहरु केही ठुलो भएपछि रुपरङ्ग फेरिनु स्वभाविक थियो । त्यसमा सत्ताभित्र पनि हाम्रा केही मित्रहरु भएको कारणले त्यो खवर हामीसम्म आइपुग्यो । अनि सतर्क हुन आग्रह पनि गरिएको थियो । त्यसैले म जेल परिन । जेल पर्नु नपर्नु ठुलो कुरा भएन । तर म अनेकौं प्रकारका खतरा र अप्ठ्याराहरुको सामना गर्दै पार्टी काममा जुटी रहें ।


भूमिगत नै भएर पार्टीको काम कहिलेदेखखि सुरु गर्नु भयो ?

२०३१ साल देखि २०४० सालसम्म नै पुर्णरुपमा भूमिगत भएर काम गरियो । बागमती केन्द्र विन्दु बनाएर काम गरँे । २०३३ सालमा कार्यबाहक महासचिव भएँ । त्यो वेलामा नै नक्खु जेल तोडिएको थियो । जेलमा रहेका साथीहरुसंग राम्ररी पत्राचार गरिन्थ्यो । सूचना आदान प्रदान गर्न कहिले मासुको हड्डि प्रयोग गरियो, कहिले थर्मसको भित्री पत्रको प्रयोग गरेर जानकारी लिने दिने गरियो । अनि पञ्चायती व्यवस्थामा जेलभित्र लगी पढ्न पाईने कितावहरुको खाली पानामा अदृश्य मसिले लेखेर पार्टीको उदेश्य, पार्टीको अवधारणा आदान प्रदान गर्ने गथ्र्याैं । नक्खु जेल ब्रेक भयो भन्दा त्यसमा इतिहास पनि जोडिन्छ । मकवानपुर एउटा ऐतिहासिक क्षेत्र हो । जेल ब्रेक गरेर गएका नेताहरुलाई संरक्षण दिएर राखेको क्षेत्र । त्यो क्षेत्रको धेरै ठुलो योगदान छ पर्टी बिस्तारमा । हामी त्यहाँका किसान कमरेडहरुले गरेको योगदानलाई कहिल्यै बिर्सन सक्दैनौं ।

अष्टलक्ष्मी कमरेडसंग कहाँ र कसरि भेट भयो ?
माथि पनि भनियो कि नेकपा श्यामप्रसाद समुह भन्ने पार्टीको एउटा समुह थियो । कामकै दौरानमा श्याम प्रसाद शर्माको टोलीसंग एउटा असाध्यै क्रियाशिल महिलाहरुको टोली छ भन्ने सुनिएको थियो त्यसमा अष्टलक्ष्मी पनि हुनुहुन्थ्यो । तर हामीले देखेका, भेटेका थिएनौ । पछि उहाँहरुले श्याम प्रसाद शर्माको समुहसंग नाता तोडेर नेकपा मालेमा औपचारिक रुपमा आवद्ध हुनु भयो । त्यसपछि अष्टजी घरमा बस्न सक्ने अवस्था रहेन । उहाँको घर न्युरोड झोंछें हो । उहाँलाई पार्टीले संरक्षण दिनु पर्ने अवस्था आयो । त्यतिबेला म बागमती क्षेत्रको प्रमुख थिएँ । प्रमुखको हैसियतले उहाँलाई सिन्धुपाल्चोक खटाइयो । त्यही क्रममा उहाँसंग भेट भएको होे । अनि विबाह २०३७ सालमा माघ ४ गते भुमिगत रुपमा सानो कार्यक्रम आयोजना गरी भएको थियो । त्यतिखेर मन मिल्नासाथ बिबाह हुने स्थिति थिएन । पार्टीमा निबेदन दिनु पर्दथ्यो । पार्टीले सबैकुरा बुझेर स्वीकृति दिएपछि मात्र बिबाह गर्न पाईन्थ्यो । हाम्रो पनि त्यसरी नै बिबाह भएके हो ।

अत्यन्त जोखिमपूर्ण राजनीति गरेर यहाँ सम्म आइपुग्दा कहिल्यै निरास हुनु पर्ने अवश्था आयो कि आएन ?
व्यक्तिगत रुपमा मलाई त्यस्तो कहिल्यै भएन । तर यती दुख खपियो कि चार तिरको घेरा वन्दि, खानै नपाउने स्थिती, ओडार र जङ्गलको बास, अनि साथी भाईले छोड्दै गएको बेलामा कतै न कतै निरास त बनाएको थियो । तर आन्दोलनबाटै पलाएन हुने स्थितिसम्म कहिल्यै पुगिन । किनकि हामी माक्र्सबाद जस्तो बैज्ञानिक बिचारका ईमान्दार बिद्यार्थी थियौं । समाजलाई बदल्नु पर्दछ भन्ने क्रान्तिकारी चेत हामीमा थियो । त्यसैले भविष्यप्रति आशाबादी भएर अघि बढियो ।

जिन्दगी अव सकियो भन्ने अवस्था आयो कि आएन ?
त्यस्तो त कति आयो कति, पिस्करमै त्यस्तो भएको छ, खाना खाँदै गर्दा सेल्टरमै घेरिएको छु । काठ्माण्डौमा कैयन पटक, कहिले घरमा, कहिले बाटोमा । तर पुलिस भित्रकै मान्छेको सहयोगले बाँचेको छु । पछि खुला भएपछि उनिहरुलाई मैले धन्यवाद पनि दिएको छु । मेचीमा हुँदा गुप्तचर घुसाएर हत्या गर्नेसम्मको योजना भएको थियो । अति नै सचेतताको कारणले मात्र त्यतिखेर म बाँचेको हुँ । पार्टी काम गर्दा अनेकौं जोखिमयुक्त कामहरु पनि गरियो । पार्टीको आबश्यकताले अनेकौं हिमाली श्रृङ्खला पार गरियो । अहिले ती सबै कुरा आफैलाई दन्त्यकथा जस्तो लाग्दछ । बाह्रबिसे पढ्दा मैले बिद्यार्थी युनियनमा पनि काम गरे । अन्याय, अत्याचारको बिरोध गर्दा विद्यार्थी भएर पनि यस्तोे राजनीतिमा लाग्ने भनेर मलाई पेस्तोलसम्म देखाइयो । छुरा प्रहार गरियो । एक पटक हामी बाह्रविसे बजारको एउटा पसल भित्र बसेर छलफल गरिरहेका थियौं । त्यो पसलमा माकर््स, लेलिन र माओत्सेतुङ्गको फोटो रहेछ । त्यो वेला पञ्चहरुको हुल आएर मलाई ताकेर छुरा प्रहार गरे तर संयोग वस त्यो छुरा काठमा गएर गाडियो र म बाँचें । त्यसबाट म पटक्कै हतोत्शाही भईन । उल्टै बर्गीय भावना उत्प्रेरित भयो र झन सक्रिय भएर लाग्नु पर्छ भन्ने आँट र जाँगर बढेर आयो । उनिहरुले हामीलाई आरोप लगाए कि माक्र्सदेखि माओसम्मको तस्बिर राखेर राजा र पन्चायत मास्ने बैठक गरेको भनेर । त्यहाँ हामीहरु ईन्द्रलाल श्रेष्ट, शंकर नेपाल, तारा बहादुर लामा आदि थियौं ।

DSC0205-848x478आफुलाई अत्यन्त खुशी र दुख लागेको क्षण वा घटना पनि होलान नि ?
पञ्चायत ढली सकेपछि त्यस्तो खुशी लागेको थियोे । अनि पार्टी एकता भएपछि पनि निकै सन्तोष मिलेको थियो । दुख चिन्ता चाँही, साना छोरा छोरीहरुलाई अलपत्र छोडेर रात, साँझ लुकिलुकी हिड्नु पर्दा धेरै लाग्थ्यो । दुवै जनाले घर छाडेको, फर्केर फेरी भेट हुन्छ, हुदैन ठेगान हुदैनथ्यो । हिडेर कहाँ पुगिन्छ थाहा छैन, जिउँदो रहिन्छ कि रहिन्न थाहा नहुने त्यस्तो वेला धेरै दुख लाग्थ्यो । कस्तो भने अष्टलक्ष्मीले पनि छोडेर हिँड्नु पर्ने । नानीहरु आमा आमा भनेर कराउँथे । हाम्रो र नानीहरुको लागि त्यो धेरै दुखद कालखण्ड थियो । अष्टलक्ष्मी दुई पटक जेल पर्नु भयो । झापामा जेल पर्दा उनलाई प्रशासनले यती यातना दियो कि भनी साद्य छैन । जेलबाट छुटेर आउँदा धेरै खुशी लाग्यो । अर्को पनि बिर्सन नसकिने खुशीको कुरा छ —भूमिगत कालमा अनेकौं अप्ठ्याराहरु पार गर्दै चिनिया कम्युनिष्ट पार्टीसंग टुटेको सम्बन्ध जोड्न चीनसम्म पुगेको घटना । त्यो पनि एउटा रमाईलो र खुशिलाग्दो कुरा छ । अर्को खुशीको दिन २०६२÷६३ को जन आन्दोलन पछि नेपालमा गणतन्त्र घोषणा भएको दिन पनि हो । किनकी हामीले त्यो दिन ल्याउन धेरै नै दुख र मेहनत गरेका थियौं । शाही शासन कालमा नजरबन्द पनि बसियो । भूमिगत बसेर पनि आन्दोलन संगठित गर्ने काम गरियो । अलि दुखको कुरा गणतन्त्र आएर नयाँ सम्बिधान बनेपछि पनि आम जनताको सुख र आर्थिक समृद्धिको निमित्त जसरी काम गरिनु पर्दथ्यो त्यसरी भएको छैन ।

पिस्कर घटना कसरी भएकोे थियो र घटना कस्तो थियो ?
पिस्कर सिन्धुपाल्चोक जिल्लाको एउटा बिकट गाउँ हो । निरंकुशताको बिरुद्ध र कम्युनिष्ट आन्दोलनको दृष्टिले धेरै संघर्ष गरेको गाउँ हो । पिस्कर घटना भनेको वर्गीय आन्दोलनको सिल्सिलामा घटेको घटना हो । पञ्चायत र राजतन्त्रको विरुद्धमा गरिएको आन्दोलन थियो । त्यो घटनामा डेढ दुई सय जना जति पक्राउ परे, कतिलाई वारेन्ट जारी गरियो । पिस्करमा सामन्ती शोषण विरुद्ध साहै्र ठुलो संघर्ष गरे त्यहाँका किसानहरुले । धुस्कुन, टेकानपुर, वाह्रविसे नै त्यस्तो क्षेत्र हो जस्लाई पञ्चहरुले बामपन्थिहरुको आधार भूमि भन्थे । २०४० सालको त्यो घटना त्यही क्रमको एउटा बृहत् घटना हो । पिस्करको महादेब स्थानमा माघेसंक्रान्तिमा त्यहाँका मान्छेले पर्व मनाउँछन् । त्यहाँका प्रत्यक ठाउँमा जात्रा लाग्थ्यो र ती जात्रामा सांस्कृतिक कार्यक्रम मार्फत राजतन्त्र विरोधि गीत, नाटक मार्फत जनचेतना जगाउने उदेश्यले नै त्यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिन्थ्यो । त्यतिबेला पञ्चायती सत्ताको के ठहर रहेछ भने त्यहाँ मालेका सबै कार्यकर्ता आउँछन्, त्यहि वेलामा सबैलाई एउटै चिहान बनाउनु पर्छ ।

हामी दुबै पति, पत्नी पार्टिमा सक्रिय छौ । म भन्दा पनि अष्टलक्ष्मी अलि बढी सक्रिय हुनुहुन्छ । हामीहरु एक अर्कालाई अत्यन्त माया र सम्मान गर्दछौं । मिलेर घरको काम गर्दछौं । मिलेर खाना बनाउछौं, भाँडा माझ्दछौं ।

माथिबाट जिल्लाको प्रशासनलाई त्यस्तै आदेश जारी गरिएको रहेछ । सोहि बमोजिम मालेले कार्यक्रम गरिरहेको स्थानमा प्रहरीहरुले अकस्मात चारैतिरबाट घेरा हालेर आक्रमण गरे । तर त्यहाँ उपस्थित सबै प्रहरीहरुसंग भिड्न थाले । कमरेड इली थामी र बीर बहादुर थामी दुई जनाले घटनास्थलमै सहादत प्राप्त गरे । तर कोही पनि पछि हटेनन्, भागेनन् । त्यसपछि पटक पटक साथीहरु जेल परे, जेल प्रशासनले माफि माग्न भन्थ्यो तर पार्टीमा यस्तो अनुशासन थियो कि उनीहरु कसैले पनि कहिल्यै माफी मागेनन् । पिस्कर घटनाको लगत्तै पार्टीको पोलिटव्युरो बैठक बसेर यो आन्दोलनलाई देशव्यापी बनाउनु पर्छ भन्ने निर्णय गरियो । त्यतिखेर पिस्करमा यति ठुलो दमन भयो की सयौं मान्छेलाई घाईते बनाईयो । चारैतिरबाट घेरा वन्दिमा पारेर आक्रमण गरियो । सबै तिर नाकावन्दि लगईयोे । त्यसवेला मातृभूमि साप्ताहिकका प्रधान सम्पादक गोविन्द वियोगिले साह्रै ठुलो गुन लगाएका थिए । उनको राजनीतिक आस्था जे भएपनि अञ्चलाधीेस संग जुधेर उहाँ २०÷२५ जना पत्रकारहरु लिएर पिस्कर जानु भयो र त्यहाँको स्थिति अध्ययन गरेर फर्केपछि त्यो घटनालाई उहाँले राष्ट्रिय मात्र होईन अन्तराष्ट्रियकरण गरि दिनु भयो । त्यस पछि पञ्चायती सरकार केही पछि हट्न बाध्य भयो ।

बाम आन्दोलनको अहिलेको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ?
बाम आन्दोलन भित्र अहिले समस्या छन् । हामीले बैचारिक, सैद्धान्तिकरुपमा अघि बढेर पार्टी निर्माण ग¥यौ तर अहिले बैचारिक रुपमा आन्दोलन कमजोर भएको छ । निष्ठाको राजनीति कता कता पातलिएको छ । हामीले यत्रो दुख गरेर जनताको हितका लागि पार्टी स्थापना गरेका हौ । हामीले नामका लागि र पदका लागि कहिल्यै राजनीति गरेनौं । तर अहिले नाम, पद र आफ्नो क्षेत्रको मात्र कुरा हुन्छ । त्यस्तै अनुशासन पनि फितलो भएको छ । हामीले त्यसबेला नैतिकरुपमा खोट लाग्ने काम कहिल्यै हुन दिएनौ । तर अहिले त्यो पक्षपनि फितलो भएको छ । हामीले कहिल्यै मुल्य खोजेनौ, आफुसंग भएका कुराहरु सबै पार्टीलाई नै समर्पित गरेर हिडेयौं । तर अहिले सम्पत्ति भनेपछि हुरुक्कै हुने प्रबृत्ति छ । अहिलेका नेता कार्यकर्ताहरुलाई हिजो यो पार्टी बनाउन कस्तो त्याग, कस्तो वलिदान भयो भन्ने कुरा थाहा नै छैन । हिजो यो पार्टीको सदस्य बन्दा जीवन वलिदान दिन तयार भएर हिड्नु पथ्र्याे । तर अहिले पार्टी सदस्यता लिँदा त्यस्ता केही कुरा हुदैनन् । म माओत्सेतुङका— तीन गर, तीन नगर भन्ने भनाई कहिल्यै बिर्सन्न, ती कुराको म संधै अवलम्वन गर्छु । त्यो के भने माक्र्सवादको अवलम्वन गर, अवसरवाद होईन । खुला र खुलस्त हौ, जाल झेल र छलकपट होईन । एकतावद्ध होउ, नफुट । कम्युनिष्टहरु सादा जीवन बाँच्नु पर्छ, निश्वार्थि हुनु पर्छ, त्यागी हुनु पर्छ भन्ने छ । हामी त्यही मान्यतामा चल्दै आयौं तर अहिले स्थिति त्यस्तो छैन । २०६४ सालमा मेरो नाम समानुपातिक सांसदमा पहिलो नम्वरमा राखिएको थियो तर मैले अरु साथीहरुलाई मौका दिउँ भन्ने कुरा राखेर मेरो नाम झिक्न लगाँए । तर पहिला पनि नाम झिकेको हुनाले अव चाँही जानै पर्छ भनेर साथीहरुले प्रस्ताव राखेपछि २०७० सालमा मैले नाई भनिन । ईमान्दार भएर सकेको काम गरेको छु । अहिलेको अबस्था देख्दा मन कताकता खिन्न हुन्छ । तर पनि कम्युनिष्ट आन्दोलनको भविष्य अहिले पनि उज्ज्वल छ । बिकृतिहरु छन् । हामीले त्यसलाई सफा गरेर माक्र्सबादी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

पार्टीमा आफ्नो मुल्याङ्कन कसरी भईरहेको छ भन्ने कुरा कहिल्यै मनमा आएको छ ?
मैले त्यो कहिल्यै सोचिन । म पार्टिको सेलदेखि कार्यबाहक महासचिवसम्म हुदै, पछि सांसद र मन्त्रीसम्म भएँ । तर मैले यसको मुल्याङ्कन चाही कहिल्यै खोजिन । किनभने म पदको निम्ति कहिल्यै लडिन । मेरो मान्यता के छ भने अरुसंग तुलना गरेर असन्तुष्ठ बन्नु हुन्न । कस्तो जीवनशैलीमा बाँच्ने भन्ने निर्णय आफु स्वयम्ले गर्ने कुरा हो । जति दिन गर्न सकिन्छ पार्टीको ईमान्दार सदस्य भएर गर्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

16779928_1301417486579243_215721790_nवर्तमानमा पारिवारिक अवस्थो कस्तो छ ?
हामी दुबै पति, पत्नी पार्टिमा सक्रिय छौ । म भन्दा पनि अष्टलक्ष्मी अलि बढी सक्रिय हुनुहुन्छ । हामीहरु एक अर्कालाई अत्यन्त माया र सम्मान गर्दछौं । मिलेर घरको काम गर्दछौं । मिलेर खाना बनाउछौं, भाँडा माझ्दछौं । घरपरिवारमा छोराछोरी भाई भतिजाहरुले मसंग त्यस्तो ठुलो अपेक्षा राख्दैनन्, जे छ त्यतिमै सन्तुष्ठ छन् । हाम्रा एउटा छोरा, एउटी छोरी छन् । छोराको विवाह भएको छैन । छोरीको भयो, एउटा नातिनी छ । छोरीको पढाई प्राविधिक लाइन तिरको भएकोले रोजगारीको खासै खाँचो हुन्न उनलाई । हामी संगै बस्छौ । खुल्ला जीवन पछि हामी दुई÷दुई पटक सांसद र दुई÷दुर्ई पटक मन्त्री भै सक्यौं । जसो, तसो गरेर अहिले पारिबारिक स्थिति ठिकैसंग चलिरहेको छ । असन्तुष्ट हुनु पर्ने त्यस्तो कुनै कुरा छैन । हामी सादा जीवनशैलीका मान्छे हौं । सार्वजनिक यातायातमा नै यात्रा गर्दछौं । अहिले पैसा र तडकभडकको जमाना छ । हामीलाई त्यस्तो मन पर्दैन । कम्युनिष्ट पार्टीको आचरण र शैली पनि त्यो होईन । समानतापूर्ण समाजबादी समाज निर्माण गर्ने हाम्रो लक्ष हो । जनसमुदायबाट अलग थलग भएर वा तडक भडक गरेर समाजबादी लक्षमा पुग्न सकिदैन । सादा जीवनशैलीका साथ पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु हामी सबैको कर्तव्य हो । मेरो सबैसंग यही आग्रह छ ।

—000—

6435 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv