वैचारिक युवाहरुले अब राजनीतिमा हस्तक्षेप बढाउनुपर्छ – गोल्ड मेडलिस्ट ज्ञवाली

बुधबार, कार्तिक १०, २०७३



विकास ज्ञवाली राम्रो अङक ल्याएर बिद्यालय तह देखी स्नातकोत्तर सम्मको पढाई पुरा गर्ने एकजना आशावादी युवा हुन । ज्ञवाली समाज परिवर्तनका हरेक जस्तो मोर्चामा आफुलाई अग्रपङक्तीमा उभ्याउँदै अध्ययनमा उत्कृष्टता हाँसिल गर्ने युवाहरुका रोल मोडल पनि हुन । हालै मात्र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको रवैया विरुद्ध सुरु भएको नागरिकस्तरको आन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेले । उत्कृष्ट डिग्री र नेपालको कम्युनिष्ट आन्दोलनका एक ईमान्दार नेताका पुत्र उनी समाज परिवर्तनको बागडोर अब युवाहरुको हातमा नआए देशको अवस्था झन बिग्रिने दावी गर्छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीको छोरा भएर पनि उनले युवा सङघ नेपालको नेतृत्वमा पुग्न तल्लो तहदेखी आफ्नो राजनीति सुरु गरेका छन् । प्रस्तुत छ उनै ज्ञवालीसंग नेपालपाटीका लागि सम्पादक दीपेन्द्र खड्काले गरेको कुराकानी ।

तपाईको जन्म कस्तो परिवारमा भयो ?
मेरो पारिवारिक पृष्ठभूमी पुर्णतयाः कम्युनिष्ट हो । पुख्र्यौली थात थलो गुल्मी भएपनि म दाङको मानपुर गाविसको बनकट्टीमा जन्मिएको हुँ । बनकट्टी गाउँ संस्कृत विश्वविद्यालयसंगै रहेको छ । जसको कारण त्यस वरपर प्राज्ञिक वातावरण रहेको छ । मेरो परिवारको कम्युनिष्ट राजनीतिक पृष्ठभूमीले मलाई सानै देखी राजनीतिक वातावरणमा परिचित गरायो ।

तपाईको शिक्षा –दिक्षा कहाँ र कसरी भयो ?
मैले प्रारम्भिक शिक्षा दाङको विजौरी, बेलझुण्डी र दुधरास स्कुलमा आर्जन गरेँ । त्यसपछिवुवाको राजनीतिक व्यस्तताका कारण हाम्रो परिवार काठमाडौमा बस्न थाल्यो । बुवाकै साथी एमालेका नेता प्रदीप नेपालकै सल्लाहमा काठमाण्डौको कञ्चनजङघा सेकेन्डरी स्कुलमा भर्ना भएँ । मैले एसएसली त्यही स्कुलबाट पास गरेको हुँ ।

त्यसपछी उच्च माध्यमिक शिक्षा डिल्लीबजार स्थित नेश्नल इन्टिग्रेटेड कलेजबाट पुरा गरेँ । त्यसपछी म स्नातक पढ्न त्रिचन्द्र कलेजमा भर्ना भएँ । त्यहाँ अली बढी राजनीतिमा लागियो । त्रिचन्द्रबाट म स्नातकोत्तर पढ्न केन्द्रीय क्याम्पस कीर्तिपुर गएँ । सानैदेखीको रुची अनुसार समाजशास्त्र-मानवशास्त्र केन्द्रीय विभागमा भर्ना भएर अध्ययन पुरा गरेँ ।

तपाईले त्रिभुवन विश्वबिद्यालय अन्र्तगतको मानविकी सङकायको स्नातक र स्नातकोत्तर तहमा मानवशास्त्र विषयमा सर्वोत्कृष्ठ अङक प्राप्त गर्दै नेपाल विद्याभुषण ग र ख प्राप्त गर्नुभयो । यी उपलब्धी प्राप्त गर्नुमा के कुराको बढी भूमिका देख्नु हुन्छ ?
शैक्षिक उपलब्धिका लागि सवैभन्दा महत्वपुर्ण कुरा स्वअध्ययन नै हो । स्वअध्ययनबिना कुनै पनि मानिसले पुर्ण शिक्षा आर्जन गर्न सक्दैन । अझ भनौं सफल हुन सक्दैन । पढाइ व्यक्तिगत सम्पन्नताको लागि मात्र नभै समाजिक उत्तरदायित्व पुरा गर्ने दिशामा केन्द्रीत भएमा अझ बढी गहन हुन सक्दछ । मेरो विचारमा गहन अध्ययनको लागि घरको वातावरण प्राज्ञिक हुनु पर्दछ । सौभाग्यवश त्यो अवसर मलाई प्राप्त भयो । त्यो प्राज्ञिक वातावरण सबैलाई नमिल्न पनि सक्छ । तर परिश्रम गर्ने बानी भने अवश्य चाहिन्छ ।

यस्तै, विषयवस्तुको राम्रो ज्ञान हाँसील गर्न त्यसमा निरन्तर तार्किक छलफलहरु गर्नुपर्दछ । त्यस्ता तार्किक छलफल गर्न सक्षम साथिहरु मैले निरन्तर पाइनै रहेँ । विषयवस्तुमा पकड राख्ने गुरुहरु संगको सङगतले पनि आफ्नो शैक्षिक स्तरलाई सुधार्न ठुलो सहयोग मिल्दछ । मेरो एउटा बुझाई छ, स्वअध्ययनलाई ‘फिनिसिङ’ गर्न प्राज्ञिक व्यक्तिको सहयोग अपरिहार्य हुन्छ ।

राम्रो बिद्यार्थी बन्न चाहानेहरुलाई तपाईको सुझाव के छन् ?
राम्रो बिद्यार्थी हुनका लागि त निरन्तर पढ्ने नै हो । तर पढेर मात्र पनि हुदैन । विद्यार्थीको प्रमुख दायित्व निरन्तर लगनशिल भएर पढ्ने हो । पढ्दा पनि विद्यार्थीले आफुले कस्तो लेखकको लेखाई पढ्दैछु भन्ने कुरामा ध्यान दिनु पर्दछ । स्तरहिन लेखकका लेखाइ धेरै पढ्नु भन्दा स्तरिय लेखकको लेखाइहरु थोरै पढ्दा ज्ञानको दायरा फराकिलो बन्न सक्दछ । नेपालमा घोक्ने प्रचलन बढी छ ।

म त्यसको पहिले देखी नै विरोधी हुँ । पढ्दाएउटै सामग्रीलाई बारम्बार नपढी फरकफरक पढ्दा आफ्नो चेतनास्तर सम्बृद्ध हुन्छ । त्यसबाटनतिजा पनि राम्रो प्राप्त हुन सक्दछ भन्ने मेरो विश्वास हो । अर्को, हाम्रो पढाई बढी विषयगत हुन्छ । तर, बस्तुगत पढाइले उत्कृष्ट नतिजा ल्याउन बढी सहयोगी हुने अनुभव मैले गरेको छु । आफुले कुन विषय पढ्ने हो त्यसको छनौट विद्यार्थीले आफ्नो रुचि र क्षमतालाई आधार मानेर गर्नु पर्दछ । सवै विषयहरु आफैमा उत्कृष्ट हुन्छन् ।

हाम्रा धेरै विद्यार्थीले परिवारको र सामाजको प्रभाव र दवावमा गलत विषय छनौट गरेर पछि असफलता प्राप्त गर्ने गरेका छन् । पढ्ने बेलामा प्रत्येक विद्यार्थीले आफ्नो समाजिक, राष्ट्रिय र मानविय उत्तरदायित्व के हो भन्ने विषयमा सधै सजग र जिम्मेवार हुनु पर्दछ । ज्ञान बाँड्दा बढ्ने कुरा हो । तसर्थ आफुले प्राप्त गरेको शिक्षा अन्यलाई पनि बाँड्दा सिङगो समाजप्रतीको उत्तरदायित्व पुरा गरिरहेको जस्तो महशुस हुन्छ ।

तपाई एकजना शीर्ष कम्युनिष्ट नेताको छोरा भएर पनि पार्टीका अन्य कार्यकर्ताहरु सरह देखिन रुचाउनुहुन्छ । किन ?
म आफु जस्तो छु त्यस्तै देखिएको छु । (हाँस्दै ) म यसैमा खुशी छु । अरु जस्तो रातदिन बुवाकै कुरा गरेर बिताउने मेरो बानी छैन । समयले बुवालाई संस्कारयुक्त राजनीति गर्न सिकायो । आज त्यो मेरा लागि आदर्श बनेको छ । यसले एउटा साधारण जीवन जिउन त सहयोग गरेको छ नै, संस्कारयुक्त समाज निर्माणको परिकल्पना गर्न पनि सिकाएको छ ।

अर्को, मान्छेको प्रमुख कुरा उसको आफ्नो व्यक्तिगत स्वभाव, चाहना र व्यवहार प्रमुख कुराहो । एउटा विद्यार्थी सधै सरल जीवन बाच्नु पर्दछ भन्ने मेरो बुझाई आजसम्म पनि क्रियाशिल छ । एउटा कम्युनिष्ट नेता सधैभरी साधारण र सरल हुनु पर्दछ । उसले आफ्नो परिवारिक वातावरण पनि आम जनताको जस्तै साधारण बनाउनु पर्दछ ।

मेरो बुवा अहिलेसम्म पनि त्यसैमा अडिग हुनुहुन्छ । बुवाबाट पाएको यो आदर्शलाई म कायम राख्न कोशिस गरिरहेको छु । अरुले के गरिरहेका छन् भन्ने कुरा मेरो प्राथमिकतामा छैन । म विश्वास दिलाउँछु त्यो भोली सम्म पनि कायम रहन्छ । बुर्जुवा, सम्भ्रान्त, जमिन्दारी जिवनस्तर बाँचिरहेको नेता कदापी असल कम्युनिष्टहुन सक्दैन ।

तपाई धेरै यती क्षमतावान मान्छे । तर किन राजनीतिमा आकर्षित हुनुभएको ?
राजनीति भनेको समाज र आम जनतालाई पार्ने प्रभावको दृष्टिकोणले सवैभन्दा महत्वपुर्ण क्षेत्र हो । राजनीति विना देश र जनताको मुक्ती र सम्बृद्धिको बाटो अरु छैन । त्यसैले मैले भन्ने गरेको छु, राजनीतिमा समाजका सवैभन्दा क्षमतावान, इमान्दार र वैचारीक मानिसहरुको नेतृत्व रहनु पर्दछ ।

जुन समाजमा उत्कृष्ट युवाहरु राजनीतिमा सामेल हुन्छन् त्यो समाज विकसित अवश्य हुन्छ । जुन समाजको राजनीति क्षमताहिन व्यक्तिहरुको नियन्त्रणमा रहन्छ, त्यो समाज सकारात्मक दिशामा अगाडी बढ्न सक्दैन ।

केही समय यता हाम्रो राजनीति पनि क्षमताहिन व्यक्तिहरुको नियन्त्रणमा फस्दै गईरहेको छ । त्यसैले हामी स्रोत र साधनमा सम्पन्न भएपनि आर्थिक रुपले संसारकै सवैभन्दा दरिद्र मुलुकको सुचिमा सुचिवद्ध छौँ । यो कुराले मेरो युवा मन मस्तीष्कलाई बारम्बार झस्काइरहन्छ । यो नै मलाई राजनीतिमा अग्रसर हुन प्रेरित गर्ने तत्व हो । राजनीतिलाई सहि दिशा प्रदान गर्न समाजका उत्कृष्ट र क्षमतावान युवाहरु राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न हुनु अनिवार्य छ ।

युवाहरु नै राजनीतिमा आउनु पर्छ भन्नुका पछाडीको कारण चाँही के हो?
सानै देखि मेरो एउटा बुझाई छ, प्रौढ मानिसहरु मानसिक रुपले नै यथास्थितिवादी हुन्छन् । उनिहरुमा रिस्क लिएर निर्णय गर्नसक्ने क्षमताको अभाव हुन्छ । प्रौढ व्यक्तिलाई विभिन्न पारिवारिक सामाजिक दायित्वहरुले अनावश्यक दवावमा राखिरहेका हुन्छन् ।

जुन देशको राजनीति प्रौढहरुको नियन्त्रणमा हुन्छ, त्यो देश द्रुततर गतिमा विकासको दिशामा अगाडी बढ्न सक्दैन । संसारमा कुनै मुलुकको तिव्रतर प्रगतिको लागि युवा नेतृत्वको भुमिका रहने गरेको छ । युवाहरु परिवर्तनशील हुन्छन् । स्वभावैले उनीहरु महत्वकाङक्षीहुन्छन् । आफ्नो समाजको भविष्यको चिन्ता युवाहरुलाई अन्य उमेर समुहकाहरुलाई भन्दा बढी हुन्छ ।

युवाहरुको मस्तीष्कले नयाँ नयाँ विषयवस्तु तथा आयामहरुलाई सजिलै ग्रहण गर्न सक्दछन् । यसले उनीहरुको मानसिकतालाई फराकिलो बनाउँछ । स्वभाविक रुपले भन्दा युवाहरु प्रविधि मैत्री पनि हुन्छन् । युवाहरुमा रिस्क लिएर काम गर्न सक्ने क्षमता प्राकृतिक रुपले पनि बढी हुने भएकोले युवा नेतृत्व आवश्यक छ । तसर्थ, समाजलाई समुन्नतिको दिशामा तिव्र रुपले अगाडी बढाउने हो भने युवाहरुको नेतृत्व स्थापित गर्नु पर्दछ ।

अब नेपालको राजनीतिमा क्षमतावान युवाहरुलाई आकर्षित गर्न के गर्नुपर्ला ?
यो निकै ज्वलन्त प्रश्न हो ।क्षमता भएका युवाहरु आज युरोप र अमेरिक तिर बरालिदै छन् । केहीकठिन आर्थिक समस्याका कारण खाडीमा पसिना चुहाउँदै छन् । नेपालमै रहेका केही साथिहरु पनि विदेशको चक्करमा भौतारी रहेको देख्छु । यो नेपाली युवाहरुका लागि ठुलो बिडम्वना हो ।

यसको सिधा अर्थ हो, नेपालको राजनीति अत्यन्त गलत व्यक्तिहरुको नियन्त्रणमा जादैछ र यसले देशलाई अझ अस्तव्यस्त मात्र होईन अनियन्त्रित बनाउने निश्चित छ ।गलत नेतृत्वको हातमा राजनीति पुग्दा देशको हविगत कस्तो होला ? तपाईले कहिल्यै कल्पना गर्नु भएको छ ?हाम्रो पाठ्यक्रम अत्यन्त अराजनीतिक र उपभोक्तावादी बन्दैछ । राजनीतिमा नागरिक सहभागिताको महत्वको बारेका विषयवस्तुहरु पाठ्यसामग्रीहरुमा समावेश गरे त्यसको दीर्घकालिन लाभ मुलुकले उठान सक्छ भन्ने मेरो विश्वास हो ।

अब प्रत्येक राजनैतिक दलहरुले आफ्ना युवा कार्यकर्ताहरुलाई नेतृत्वमा स्थापित गर्दै समाजका अन्य युवाहरुलाई पनि राजनीतिमा आकर्षित गर्न सके यसप्रतिको वितृष्ण पालेर विदेशीने दर घट्न सक्छ । राजनीतिलाई अपराधिक मनोवृत्तिका युवाहरुको प्रभावबाट मुक्त गर्नु पर्दछ । मेरो विचारमा राजनीतिमा विचारको महत्वलाई पुर्नस्थापित गर्नु पर्ने आवश्यकता तत्काल देखिएको छ । जहाँ स्वच्छ प्रतिस्पर्धा हुन्छ, त्यहाँ मात्र क्षमतावान मानिसहरु सहभागी हुन सक्दछन् । राजनीतिमा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सक्यो भने क्षमतावान युवाहरुलाई पनि राजनीतिमा आकर्षित गर्न सकिन्छ ।

तपाईहरु जस्ता युवाहरु युरोप, अष्ट्रेलिया र अमेरिका जान चाहान्छन् । तर तपाई चाँही किन नेपालमै राजनीति गर्न तम्सिनु भएको ?
विदेश जाने वा स्वदेशमै केही गर्ने, यो मानिसको स्वतन्त्रताको कुरा हो । विदेश जाने कुरालाई धेरै घृणा गर्नु भन्दा बरु विदेश जाने वातावरण नै सिर्जना नगर्ने तर्फ लागे त्यसबाट राष्ट्रलाई फाईदा हुन्छ । कोही विदेश गएर आफ्नो आर्थिक अवस्था अलिकती भएपनि उकास्छु, सीप र ज्ञान लिएर आउँछु भन्छ भने त्यो स्वागतयोग्य कुरा हो । तर पछिल्लो समय नेपालमा एउटा प्रवृक्ती मौलाएको छ ।

उमेर, जोश जाँगर हुँदासम्म विदेशमा रमाउने तर वृद्धभक्ता खान चाँही नेपाल आईपुग्ने । अब यसलाई परिवर्तन नगरी अघि बढ्न सकिन्न । तर मानिसलाई जहाँ बस्दा आत्मसन्तुष्टी मिल्छ त्यहि बस्ने हो । जे गर्दा आत्मसन्तुष्टि मिल्छ त्यही गर्ने हो ।

तर, मेरो जिवनमा धेरै ठुला ठुला व्यक्तिगत महत्वकाङक्षाहरु छैनन् । आम नेपाली युवाहरुको तुलनामा व्यक्तिगत रुपमा म धेरै नै सम्पन्न छु । यदि यो सम्पन्नताले मलाई सन्तुष्टी दिन सक्दैन भने जति ठुलो सम्पन्नताले पर्ने सन्तुष्ट गर्न सक्ने छैन । म आफ्ना धेरै इच्छा तथा आकाङक्षाहरुलाई तत्काल पुरा गर्न सक्ने हैसियतमा छु ।

मलाई थाहा छ, जो मानिसले व्यक्तिगत स्वार्थपुर्तिको लागि मात्र काम गर्दछ त्यो कहिल्यै सुखी हुन सक्दैन । मेरो धेरैजसो व्यक्तिगत स्वार्थहरु पुरा गर्ने क्षमता मैले आफुमा विकसित गरिसकेको छु। अव एक कदम अगाडी बढेर यो समाजका र राष्ट्रका समस्या समाधानमा आफ्नो क्षमतालाई प्रयोग गर्ने दिशामा अगाडी बढ्ने प्रयास गर्दैछु ।

तपाईलाई एमाले उपाध्यक्ष युवराज ज्ञवालीको छोरा भन्दा बढी गर्व महशुस हुन्छ की आफ्नो नाम लिँदा ?
(हाँस्दै) व्यक्तिगत रुपमा मलाई पार्टी उपाध्यक्षको छोरा भन्दा गौरवको अनुभुति नै हुन्छ । तर, राजनैतिक क्षेत्रमा आफ्नो नाम लिदा बढी खुशी हुन्छु ।

तपाईको परिवारमा को को हुनुहुन्छ ?
म बुवा, आमा, दाई, भाउजु, दीदी, भिनाजु, बहिनी, भाई, भतिज, भान्जिहरु छौं ।

वुवाको आदर्शलाई मैले कायम राख्न सक्छु जस्तो लाग्छ ?
यो निकै कठिन काम हो । बदलिएको समाज र परिस्थिति हेर्दा वुवाले कायम गरेको अत्यन्त कठीन छ । तर, वुवाले कायम गरेको आदर्शलाई बचाई राख्न मेरो प्रयास जारी रहने छ ।

तपाईको विचारमा नेपाली युवाहरुका प्रमुख समस्याहरु के हुन?
युवाहरुको सवैभन्दा प्रमुख समस्या बेरोजगारी हो । हाम्रो गतिहिन समाजमा प्राप्त सवै अवसरहरुमा स्वच्छ प्रतिस्पर्धाको अभाव छ । नातागोता र चिनजानका भरमा मात्र काम पाउने परिपाटी छ । अर्को कारण अत्यन्त अव्यवहारीक पाठ्य सामग्री पनि हो । यदीप्राविधिक र व्यवहारिक शिक्षा भई दिएको भए नेपाल आज यो अवस्थामा हुने थिएन ।

नेपालका गाउँहरुमा वृद्ध–वृद्धा, महिला र बालबालिकाहरु मात्र हुने थिएनन् । त्यहाँ जोश र जाँगरले भरिएका युवाहरु हुन्थे होला । हाम्रा पाखाबारीहरुमा हरियाली छाउँथ्यो होला । बाँझो खेतमा धानका बाला झुल्थे होला ।

अर्को, स्रोत र साधनको वितरण र उपयोगका सवालमा युवाहरुलाई बञ्चित गरिएको छ । भाग्यवादी संस्कृतिले युवाहरुलाई प्रभावमा पारेको छ । उपभोक्तावादी संस्कृतिले युवाहरुलाई आफ्नो नियन्त्रणमा लिदैछ । स्वयम् राज्यले राजनीति र युवाहरु बीचको दुरी बढाउदै लगेको छ । सरकारका नीति तथा कार्यक्रमहरु युवामैत्री छैनन् । युवाहरुमा रहेको सृजनात्मक सोचहरुको प्रवद्र्धन गर्न सकिएको छैन । समग्रमा भन्नु पर्दा नेपाली युवाहरु निराशा र दिशाहिनताको अवस्थाबाट गुज्रीरहेका छन् ।

अहिले राजनीतिमा अलावा के गर्दै हुनुहुन्छ ?
अहिले राजनीतिको अलावा आफ्नो गुजाराका लागि काम गरिरहेको छु । अहिले नेपालमा नागरिक आन्दोलन निष्कृय प्रायः छ । कुनैपनि समाजको विकासमा नागरिक आन्दोलनको खवरदारी अपरिहार्य छ । अख्तियार प्रमुख लोकमानका अलोकतान्त्रिक र निरङकुश गतिविधि विरुद्धको हाम्रो अभियान जारी छ ।

हालै मात्र म एउटा परोपकारी काममा संलग्न भएको छु । हामी केही साथिहरु मिलेर कालिकोटको कालिकोट जुविधा, बालिचौरकोसत्यदेवी उच्च माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्नको लागि हामीहरुले पुस्तकहरु संकलन गरिरहेका छौँ ।

अर्को,युवाहरु उत्पादनसंग जोडिनु पर्दछ । आर्थिक आम्दानी तथा पेशागत विकासको लागि विभिन्न संघ सस्थाहरुमा तालिम तथा अनुसन्धान परामर्शदाताको रुपमा कार्यरत छु । त्यस बाहेक अध्ययन र लेखनको नियमित कार्य त चलि नै रहेकोछ ।

तपाईलाई सबैभन्दा छिटो मन छुने कुराहरुका के के हुन ?
मार्मिक प्रश्न गर्नुभयो । मेरो मन कष्टकर जीवन विताइरहेका मानिसहरु, सडकमा बेवारिसे बृद्ध बृद्धा र उपचारको अभावमा जीवन विताई रहेका विरामीहरुले मलाई धेरै ठुलो पीडा हुन्छ ।मलाई कुनै समाजको चित्रण गर्दै लेखिएका सजिव लेखन तथा सजिव तस्वीर तथा कला सामग्रीहरुले अत्यन्त प्रभावित पार्दछन् । अर्को, आदर्शवान व्यक्तिका जीवनगाथाहरुले चाँडै प्रभावित गर्दछन् ।

तपाईले अहिलेसम्म पढेका कृतिहरु मध्य कुन कृतिले बढी मन जित्यो ?
कार्ल माक्र्सको कम्युनिष्ट मेनुफेस्टो, डार्विनको ओरीजिन अफ द स्फिसिज, बाबा रामदासको वि हेयर नाउ र नेपाली लेखकको कृतिहरुमा डोरबहादुर विष्टको फेटालिज्म एण्ड डेभलपमेन्ट र नेपालीमा लेखिएकोमा आहुतिको नेपालमा वर्ण व्यवस्था र बर्ग संघर्ष सवैभन्दा मन छुने कृति हुन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेशीने युवाहरुको ग्राफ दिनप्रतिदिन उकालो लागिरहेको अवस्थामा तपाइले स्वदेश मै अध्ययन गरेर आफुलाई उत्कृष्ट सावित गर्नुभयो । अव, विदेश जान लालायित तपाई जस्तै युवाहरुलाई के सुझाब दिनुहुन्छ ?
नयाँ कुरा सिक्न विदेश जाने कुरा सकरात्मक छ । तर, स्वदेशमा पढ्दा नराम्रो हुने र विदेशमा पढ्ने वित्तिकै भविष्य सुनिश्चित हुने हुदैन । पढ्नविदेश जानु राम्रो हो तर, आफ्नो जवानी नै पिआर र ग्रिनकार्डको सपनामा व्यत्तित गर्नु अर्थहिन हुन्छ । अव विदेशमा अध्ययन गरेका युवाहरुले पनि स्वदेशमा आएर आ–आफ्नो क्षेत्रमा कार्य गर्नु भयो भने नेपाल चाँडै नै अगाडी बढ्न सक्दछ ।

अन्त्यमा, तपाईको भावी योजना के छ ?
उच्चतम चेतनायुक्त कुराहरु पढ्नु मेरो सोख हो । कहिलेकाँही राजनीतिको कारण पढाईमा कमी आउने हो कि भनेर चिन्ता लाग्छ । तर, राजनीति छाड्न सकिन्न । यो लत बनिसकेको छ । जीवनमा परिवार, राजनीति, पढाइ÷लेखाई र पेशालाई संगसगै अगाडी बढाउदैलाने योजना छ ।

695 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv