युवा जागरण किन ?

बिहिबार, भदौ १२, २०७६

loading...

- ई-द्वारिका अधिकारी



- ई-द्वारिका अधिकारी

सामान्यतया नेपालमा १६-४० वर्ष बीचको उमेरवर्गलाई युवावर्गमा परिभाषित गरिएको छ । करिब ४० प्रतिशत जनसङ्ख्या युवा भएको मुलुकमा युवाको परिभाषा राजनीतिमा लागू भएको पाइदैन । विकसित र विकासशील देशहरूमा युवालाई देशको आँखा, अर्थतन्त्रको धड्कन, विकास र प्रविधिको मगज समेत भनिन्छ, तर नेपाल यो अवस्थाभन्दा धेरै पछाडि छ किनकि अर्थतन्त्रको बागडोर हाँक्न पर्ने युवाहरूमध्ये २० प्रतिशत बेरोजगार छन् । शारीरिक र मानिसिक रुपले तन्दुरुस्त युवाहरू खाडी मुलुकमा, शैक्षिकस्तरले तुलनात्मक रुपमा खारिएकाहरू अमेरिका र युरोपमा खपत भइरहेको मुलुकले बुझेर पनि बुझ पचाएको कटु यथार्थता विप्रेषण(रेमिटेन्स)को तथ्यांकले प्रस्तुत गरिरहेका छन् । राज्य र समाज रेमिटेन्सकै भरमा भविष्य देख्दै मोजमस्तीमा रमिरहेको छ । नितान्त वर्तमानमा रमिरहेको सुविधा भोगी नेपाली समाज र नेपाली अर्थतन्त्र कहालीलाग्दो र अकल्पनीय संकट कुरेर बस्दै छ । देश बनाउने जिम्मा युवाहरूको काँधमा छ भनेर भनिरहँदा हामी नेपाली युवामा पनि केही त्यस्ता कमीकमजोरी छन् जुन नसच्याई अगाडी बढे हामी कहीँ पनि पुग्दैनौ ।

युवाहरूमाझ कुनै पनि विषयवस्तुको बारेमा उच्च प्राविधिक ज्ञान हुँदाहुँदै पनि दैनिक जीवनमा प्रयोग हुने सम्वादकला, सकारात्मक एवम् श्रीजनात्मक सोच, नेतृत्व क्षमताको कमीले गर्दा लाखको भिडमा युवा गुमनाम हुन पुग्छन्। चाहे औपचारिक शिक्षा होस्, चाहे अनौपचारिक शिक्षा नेपाली युवाहरू अराएको भन्दा बाहिर आफ्नो दिमाग र आइडिया खर्च गर्न खोज्दैनन् जसले गर्दा विश्व जगतमा भएका अद्यावधि सीप र ज्ञानबाट शिक्षित र दीक्षित युवाको अगाडी बिलाउछन् । युवाहरूले उद्यमशीलताको व्यावहारिक अर्थ पनि नबुझेको देखिन्छ किनकि उद्यमी बन्नु भनेको हाकिम बनेर अरूलाई कज्याउनु हैन, उद्यमीले त अरूभन्दा बढी मिहेनत गरेर जवाफदेहिता निर्वाह गर्दै आलोचनालाई सकारात्मक सोचका साथ् ग्रहण गरी सुधार गर्दै लैजानु हो । अल्पज्ञानी भए पनि आफूलाई सर्वज्ञानी ठान्ने युवा जमातको उन्मादको कारण युवाको उत्पादकत्व र क्षमतामा ह्रास आएको देख्न सकिन्छ।

माथि उल्लेखित कमीकमजोरीलाई अझ मलजल गर्ने थुप्रो समस्या नेपालमा रहेका छन् । प्रत्येक वर्ष ४ लाख युवा श्रमबजारमा आउँछन्, जसमध्ये १० प्रतिशत मात्र बजारमा समाहित हुने गर्दछन् भने बाकीले विदेसिनु बाहेक दोस्रो विकल्प छैन किनकि नेपालमा व्यावसायिक सीप बिनाको डिग्रीले साथ दिँदैन र युवाको मनस्थितिमा सानो काम गर्ने हुँदैन भन्ने अहमता घुसेको छ । राज्यले व्यापार गर्दैन भन्दै देशमा भएका प्राय सबै उद्योग बेचेर खाएको परिणामस्वरूप विदेसिन बाध्य भएका युवा नेपालीको मात्र करिब ३० प्रतिशत भन्दा बढी योगदान कुल गार्हस्थ उत्पादनमा छ । अझसम्म पनि कुल गार्हस्थ उत्पादन योगदानमा अग्रणी रहेको कृषि क्षेत्रमा युवाहरू आकर्षित हुन सकिरहेको छैन, किनकि ५५ प्रतिशत युवा सक्रिय रहेको कृषि क्षेत्रमा अद्यावधिक कृषि नीति र कृषि प्रणाली अवलम्बन गर्न नसक्नुले युवाले आफ्नो श्रम र लगानी कृषिमा हात हाल्न डराइरहेको अवस्था छ । यद्दपी यो क्षेत्रमा केही सकारात्मक प्रयास भने पक्कै भएको छ।

नेपाली राजनीतिमा युवाहरूको ठुलो मूल्य छ तर योगदान छैन। राणाशासन फ्याँक्ने देखि लिएर पञ्चायत ढाल्ने, सशस्त्र द्वन्द्व, जनआन्दोलन सबै युवा शक्तिको आडमा भएका आन्दोलन हुन् । सकारात्मक कार्यहरूको लागि गरिने राष्ट्र सेवाको अर्को नाम राजनीति हो । यस्तो पुण्य कर्ममा असल युवाहरूलाई प्रोत्साहन गर्नु पर्नेमा उल्टै राजनीति भनेको फोहोरी खेल हो भन्ने भावना जागृत गराइएको छ । युवाहरूलाई राजनीतिमा प्रवेश गर्न दुरुत्साहन गर्ने र नितान्त अनपयुक्त भावनाहरूमा अल्झिन विविश बनाउँदै परम्परागत शासन र सत्ता चलाउने एउटा बुढो जमात नेपालमा शक्तिशाली छ । तर जागरूक अनि शिक्षित भनिएका युवाहरूले पनि स्वार्थ, नातावाद, कृपावाद, धुपौरेवादमा अल्झिएर  तिनै विचार अनि व्यक्ति विशेषको भेडा समर्थन गर्दै सहिलाई सही र गलतलाई गलत भन्न सक्ने विवेक समेत गुमाएको युवा जमात मुख र विचारमा राजनीतिक स्वार्थको बुझो कोचेर बसेका छन्। धेरैले भन्ने गरेको भ्रष्टाचारको अखडा अनि शिक्षा क्षेत्रलाई अहिलेको हरिबिजोग अवस्थामा पुर्‍याउन अतुलनीय योगदान गर्ने विद्यार्थी सङ्गठनले माउ पार्टीको राजनीतिक स्थितिलाई दर्बिलो बनाउन युवा विद्यार्थीको ऊर्जा र भविष्य दाउमा लगाउँछन् र अन्त्यमा घर न घाटको बनाएर छोड्छन् । Youth bulge सिद्धान्तको आधारमा बढ्दो युवा जनसङ्ख्या, सामाजिक अशान्ति, बढ्दो हिंसा, बेरोजगारी, गरिबी र भ्रष्टाचार जसलाई राजनीतिक विरक्तताले नेपालमा मलजल गरिदिएको छ । सामाजिक सञ्जाल क्रान्ति भनेर चिनिए पनि सन् २०११ मा उत्तरी अफ्रिकी राष्ट्रहरूमा भएको अरब क्रान्ति यही थेउरी चरितार्थ गर्दै भएको हो। यस्तै ऐतिहासिक नजिर देखेर नेपालमा प्रायश: सबै राजनीतिक पार्टीहरूको दाउ नै यो छ कि देशमा कमभन्दा कम सक्रिय युवा बसुन्, जो बस्छन् कार्यकर्ता मात्र बसुन्, ताकी चरम लुट अनि विकृतिको बाबजुद पनि विरोधको आवाज नउठोस्।

नेपाली युवाहरूले सरकारको क्रियाकलापमा र नेपाली सरकारले अन्तर्राष्ट्रिय मञ्चमा कस्तो प्रदर्शन गरिरहेको छ भन्ने कुरामा चासो नदिनु कमजोरी हो। प्रत्यक्ष  वा परोक्ष रूपमा विदेशीको स्वार्थमा सञ्चालित संस्थाहरूले देशमा कसरी ब्रह्म लुट मच्चाएर हाम्रो सूचना, हाम्रो गोपनीयता, हाम्रो धर्म, संस्कृति, सामाजिक सदभाव, भाषा, शिक्षा, साहित्यमा साङ्घातिक अतिक्रमण गरे र गर्ने प्रयासमा छन् भन्ने कुरा नबुझी तिनीहरूले फ्याकेको २/४ वटा जागिर नामक छ्याकनमा भुल्दै उनीहरूको विचार र विज्ञानमा लडीबुडी गरेर आफूलाई दासमा परिवर्तन गर्दै उद्देलित छौ। दश रुपियाँ भन्दा नबुझ्ने तर टेन रुपिज भन्दा गौरव अनुभव गर्ने दास मानसिकता जुन दिन सम्म युवाहरूमा रहन्छ, जतिसुकै देश स्वतन्त्र भए पनि अघोषित दासत्व प्रवृत्ति रहिरहने छ।

अझ नेपाली नागरिकता त्यागिसकेपछी पनि दौरा सुरुवाल लगाएर सामाजिक सञ्जालमा राष्ट्रियता देखाउने एक हुल पी. आर. र ग्रिनकार्डका भोका युवा जमातको कुरा गरी साध्य छैन। सबभन्दा दुखलाग्दो कुरा तब हुन्छ, जब नेपाली युवाहरू भारतीय नागरिकता भएको मान्छेले नेपालीको सेन्टिमेन्ट जित्न नेपाली टोपी लगाएर भारतीय टेलिभिजनको स्टेजमा उत्रिन्छ र नेपाली युवाहरूले त्यसलाई आफ्नो पैसा खर्च गरी गरी जिताउन भोटिङ गर्छन्, तर छिमेकमा बसेको तराईवासी नेपाली, जो यो देशमा जन्म्यो, हुर्क्यो, आफ्नो श्रमसीप, कौशल अनि योगदानमार्फत अर्थतन्त्रलाई टेवा पुर्यायो, त्यसैलाई अत्यन्त क्षुद्र, क्रूर, अभद्र अनि अश्लील गाली गर्छन्। नेपाली युवामाझ अहिले पनि व्यापक रूपमा धोती र टोपीको बहस, वैचारिक द्वन्द्व र व्यवहारमा खासै फरक परिवर्तन आएको छैन, जुन देश र समाजको लागि प्रत्युपादक भइरहेको छ ।

आजको प्राथमिकता अनि आवश्यकता भनेको आधारभूत शिक्षामा सबैको पहुँच, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा सशक्तीकरण, नेतृत्व क्षमताको विकास, सहभागिता, आफ्नो धर्म, संस्कृति, कला, साहित्य, भाषा, मनोरञ्जनमा मौलिकता, लागुऔषधको प्रयोगमा दुरुत्साहन, मानवबेचबिखन, दिगो विकास र विज्ञान र प्रविधिको क्षेत्रमा युवालाई प्रोत्साहन हुन हो। तर यो भन्दैमा, युवालाई कुनै पनि विदेशी र NGO/INGO को पैसामा शिक्षित, दीक्षित र प्रशिक्षित गर्न गराउन हुँदैन। नेपालको लागि UNDP ले Nepal Youth Strategy 2018-2022 बनाउनुले के सन्देश दिन खोजेको हो ? उनीहरूको strategy मा हाम्रो देशका युवा चल्नु पर्ने हो कि हाम्रो युवाहरूको strategy मा यी NGO/INGO चल्न पर्ने हो ? यो एउटा प्रतिनिधि उदाहरण मात्र हो तर विदेशीहरूको strategy मा चलेर देश विकास हुनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्ने उखान जस्तै हो। युवाहरूको भविष्यप्रति यस्ता विदेशी संस्थाको प्रभाव बन्द गरिनै पर्छ। बरु, हामीले विदेशमा सफल भएका युवा कार्यक्रमहरूलाई आफ्नो माटो र सन्दर्भ सुहाउँदो तरिकाले प्रयोग गर्नु नै हितकर हुन्छ। जस्तैसँग इजिप्ट र तान्जानियाले आफ्नो देशका अन्य समस्याको बाबजुद पनि पूर्व व्यावसायिक कार्यक्रमहरूको विकास र कार्यान्वयनबाट युवा बेरोजगार हटाउन सफल भएका कथाहरू छन्।

युवाहरू सुध्रिने पर्ने ठाउँ धेरै छन्। व्यक्ति र पार्टीभन्दा देश र समाज सर्वोच्च हुन्छ भन्ने साधारण सिद्धान्त युवाहरूले बुझ्नु पर्दछ। राष्ट्रियता भन्ने चिज सामाजिक सञ्जालको भित्तामा भन्दा पनि आफ्नो कर्तव्य र व्यवहारमा हुने हुँदा भावनामा बहकिएर आरोप प्रत्यारोप र रिसको खेती छाडेर युवा एकता, युवा सहकार्य गर्नु पर्छ। देश विकास निर्माणमा पछाडि परेको छ। आयोजना अलअपत्र छन् । युवाहरू मिलेर यस्तोमा आवाज उठाउनु पर्छ। आज युवा नतातेरै साँखु(जोरपाटी सडकखण्ड)मा राज्य उदासीन छ, मेलम्ची आयोजनामा भ्रष्टाचार मौलाएको छ र स्वार्थले जकडिएको अकर्मण्यता, अदूरदर्शी र अराष्ट्रिय (कु)तत्वहरुले प्रशासन, अर्थतन्त्र, विकास, धर्म, संस्कृति, कला, साहित्यमा पुर्याएको खती समेत पुनर्स्थापना गर्न अग्रसर हुन ढिलो गर्ने हुँदैन।

अन्त्यमा, देशलाई सुधार गर्ने मौका र चुनौती अब नेपाली युवाहरूमा आएको छ। अब कि युवा सुध्रिन पर्छ, कि बुढाहरूले देश बिगारे भनेर रोइलो मच्चाउन पाइँदैन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata