नारी दिवस र पुरुषवादी चिन्तन

आइतवार, फाल्गुन २५, २०७६

loading...

- श्रीषादेवी शाही



राज्यले संविधानमै ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेको भए पनि त्यो कार्यान्वयन भन्दा पनि कागजी खोस्टामा मात्र सीमित बन्न पुगेको छ । महिला सहभागिताको नाममा केही पहुँचवाला र नेतृत्व वर्गका आसेपासे बाहेक लक्षित वर्गले त्यसको आभास गर्न पाएका छैनन् । पढे लेखेका व्यक्तिहरूको मानसिकता नै पितृसत्तात्मक  भएका कारण कागजी कुराहरू व्यवहारिक रूपमा लागू हुन सकिरहेको देखिँदैन ।

अधिकार वा दिवस एक दिनका लागि सामाजिक सञ्जालका भित्ताहरू रङ्गाउनु भन्दा पनि यसको वास्तविक मर्म र भावना के हो ? भन्ने बारे बुझ्न र सोच्न जरुरी देखिन्छ । यो सवाल कुनै व्यक्ति विशेषको नभएर सार्वजनिक चासोको विषय हुनुपर्दछ ।  नारी आफैमा सृष्टिकर्ता हुन । मातृत्वको विषयमा पुरुषहरूको सोच किन सकारात्मक हुन सकिरहेको छैन ? बारम्बार यो सवालहरू मनमा उब्जने गर्छ । महिलाकै कोखबाट जन्म लिएर पुरुषवादी चिन्तनले भरिएको हाम्रो समाजमा तर्कको आधारमा नभई हेला, उपहास गर्नु मानवीयता भन्दा बाहिरको कुरा हैन र ? महिलाहरूलाई अहिले पनि मनोरञ्जनको साधन ठान्ने, उनीहरूको शरीरलाई कामुकतासँग तुलना गर्दै चित्र र चरित्रको व्याख्या गर्न सिपालु हाम्रो समाजमा कानुनी कुरा गर्दा त अझै उपहासको पात्र बनाउन पछि पर्दैन ।

सानैदेखि छोरा मान्छेलाई रुन हुन्न भनेर आएको समाजले यो कहिल्यै सिकाउँदैन कि छोरी मान्छेलाई रुवाउन हुँदैन भनेर । छोरीलाई संस्कार सिकाउने हाम्रो घर परिवारले छोरालाई किन संस्कार सिकाउन चाहँदैन ? महिलाहरू पढे लेखे पनि छोरा मान्छेहरूको अधीनमा बस्न पर्छ भनेर अनि छोरीहरू रुनुपर्छ भनेर सिकाउने समाज यही हो । के त्यसो भए महिलाहरू खुलेर बोल्न,हाँस्न नपाउने हाे त ? महिलाहरू कोमल र संवेदनशील हुन्छन् । थोरै खुसीमा पनि जीवनको अर्थ भेट्ने हुँदा र पुरुषहरूको सानो सहानुभूतिमा पनि सन्तुष्टि र खुसी हुने हुनाले नै पुरुषवादी चिन्तनले महिलाहरूको खुला आकाशलाई साँघुरो बनाउँदै लगेको देखिन्छ ।  हाम्राे समाजमा कतै छोरा मान्छे रोएको देखे भने  बाबु केटी मान्छे झैँ रुन हुँदैन भन्छन् । मानौँ भावुक हुनु दयालु हुनु महिलाकै कमजोरी हो । यो भनेको पुरुषको हकमा त कायर हुनु हो ।  कसैको अघाडि निश्चल मन प्रस्तुत गरेर महिला मुसुक्क हाँस्यो भने उसको व्यक्तिगत चरित्रबारे प्रश्न उठाउँछन् । यही त हो हाम्रो समाजको स्तर भनेको । श्रृङगार गरे उत्ताउली नगरे पाखे भन्ने यही समाजको मान्छे होइन र ?  २१ औ शताब्दीमा पनि महिला र पुरुष फरक ग्रहबाट आएको बेग्लाबेग्लै प्राणी जस्तै किन विभेद गरिन्छ ?

विश्व सूचना र प्रविधिमा अघि बढिरहेको समयमा नेपाली नारीहरूले भने अझै  अधिकारबाट बञ्चित गराइनु विडम्बनाको कुरा हो । संविधान र कानूनले महिलालाई  आंशिक रुपले उनीहरुको अधिकारलाई स्थापित गर्न जमर्काे गरेपनि व्यवहारमा त्यसको कार्यान्वयन भने पुरुषहरुको निगाहामा भर पर्दै गरेको कटु सत्य हाम्रो समाजले टुलु टुलु हेरेर बसेको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा पनि महिलाहरू हरेक कुरामा हिंसामा परेका देखिन्छन् । निजामती महिला कर्मचारी र पुरुष कर्मचारीमा हेर्ने दृष्ट्रिकोणमा समेत परिवर्तन हुन सकेको देखिँदैन ।  अफिसमा कार्यालय प्रमुखलाई रिझाउन सके सम्म त्यो ठाउँमा महिलाहरू राम्रै गरी टिक्छन् तर उनीहरू बराबरको बिचार राख्न थाल्यो भने उनीहरुलाई त्यो ठाउँमा टिक्न मुस्किल हुने गर्दछ ।  पोथी बासेको सुहाउँदैन भन्ने गलत उखानका कारण महिला प्रति विभेद मात्र नभएर दमन र अत्याचार हो भन्ने मेराे बुझाइ छ ।  नारीले आफ्नो अस्मिताबारे बोल्दा नि उसका बिचारलाई  गलत साबित गर्ने  समाज भने लागिरहन्छ । नारीले अधिकार माग्दा  उसको आवाजलाई दबाइन्छ । उसको भावनाकाे  कदर हुँदैन । महिलाहरूको हरेक पक्ष कमजोर हुन्छ भन्ने मानसिकतामा पुरुषहरु रहँदै आएका छन ।  महिलाहरूको शृङ्गार र उसको चालसँग उत्साहित हुने पुरुषवादी चिन्तनको उपजलाई कहिले सुधार्न सकिन्छ ? मनोरञ्जनको नाममा नारीलाई अर्धनग्न देखाउँदै विज्ञापन गर्ने रक्सी पसलेको होडिङ बोर्डमा नारीका फोटा झुन्डाइन्छ । पुरुषहरूलाई भने बहादुरीको क्षेत्रमा मात्र विज्ञापन गर्नु भनेको के यो समानता हो त ? कुनै पनि फिल्मको पर्दामा होस् वा सामान्य कार्यक्रममा महिलाको उपस्थितिलाई निकै कमजोर बनाइदिन्छन् । महिलाको संवेदनशील अङ्गको प्रदर्शन गरेर धेरै संघसस्थाहरुले दैनिकी चलाएका छन् । पर्दामा रहेको महिला पात्रको लवाईको र उसको मुस्कानको मूल्य तोक्छन् । के महिलाहरू विकाउको सामान हो ? जसलाई खुद्रा पसलको सस्तो दर भाउमा बेच्ने ? महिलाहरूलाई कोमल छन् भनेर जिम्मेवारीबाट बञ्चित गर्नु  पुरुषवादी चिन्तन होइन ।

मेरो भनाइलाई महिलावादी र डलरवादीहरूले विरोध गर्लान् । तर हामी हाम्रो स्थान हामीलाई नमिल्नुको पछाडि पितृसत्तात्मक सोच नै हो । यही सोचको कारण हरेक कुराको सामना गर्नु परेको छ । अझै पनि हामी समाजले तोकिदिएको सीमित क्षेत्रमा के साँच्चीकै खुसी हुन सक्छौ त ? के कसैले अड्कलेको सिमाले हाम्रा चाहनाहरू पुरा हुन्छन् । हो मलाई थाहा छ, अलिकति यर्थाथ कुरा भन्यो भने सबैको मनमा एक किसिमको हुटहुटी नै चल्छ । तर सत्य निकै तितो हुन्छ । जागिरे महिला घरबाट हिँडेदेखि घर नपुग्दासम्म कति मान्छेको नजरबाट तिरस्कृत हुन्छिन ।  छोरी घर भन्दा बाहिर गई भने बाबु, दाइ,काका र  भाइ, सबैलाई असुरक्षित भएकाे महशुस हुने गर्दछ।  किनभने उनीहरूले अर्काको घरको छोरीलाई त्यस्तै गलत सोच राख्छन् ।

सकारात्मक विभेद मार्फत राज्यले महिलाहरूलाई अघि बढाउने रणनीति कागजको खोस्टामा सीमित नभई कार्यान्वयनमा अघि बढाउन सक्नु पर्दछ। राज्यका हरेक निकायमा महिलाको सुनिश्चित सहभागिता हुन नसक्नुको कारण पत्ता लगाइ नयाँ शिराबाट महिला मैत्री कार्यक्रम थालनी गर्नुपर्छ । दूर दराजमा समेत आवश्यकता अनुसार  महिला शिक्षा अघि बढाउन राज्यले विशेष पहल कदमी गर्नुपर्छ । सकारात्मक सोच र विचारका साथ महिलाको सम्मान, आदर र इज्जत गर्न सके मात्र समाज संस्कारयुक्त बन्न सक्छ । तसर्थ महिला र पुरुषहरुबीच परम्परावादी चिन्तन नभई सकारात्मक सोच राख्न सक्नुपर्छ । ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा महिलालाई मात्र हैन पुरुषलाई पनि   शुभकामना !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments