एकता र सद्भावसँग जोडिएको विषु पर्व

मङ्लबार, बैशाख २, २०७७

loading...

- दिपेन्द्र शाह



विश्वभर कोरोना भाइरसले हलचल मच्चाइरहेको छ । डिसेम्बर महिनाको अन्त्य तिर चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसले महामारीको रूप लिइसकेको छ । कोरोना भाइरसका कारण विश्वका अधिकांश देशहरूमा लकडाउन अपनाइएको छन् । कोरोना कै कारण चीन सरकारले नयाँ वर्ष मनाउन पाएन । त्यस्तै नेपालमा पनि होली पर्व, चैते दशैं  र नयाँ वर्ष लगायतका स्थानीय पर्वहरू निराशाजनक रहे । देशमा विभिन्न स्थानमा मनाइने धार्मिक तथा ऐतिहासिक पर्वहरूमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षको दिन धूमधाम सहित मनाइने विषु पर्व यो वर्ष निराशाजनक बन्न पुग्यो ।

सुदूर अभाव, गरिबी,पछौटेपन जस्ता अन्धविश्वास र कुरूतीले जगडिएकाे रूपमा केन्द्रको आँखामा सजाइयो । तर यहाँको खस भाषा, संस्कृतिले बेग्लै विरासत बनाएको छ । यस क्षेत्रमा थुप्रै एेतिहासिक धरोहर रहेका छन् । सुदूर पश्चिमका प्रदेशका नौ वटा जिल्लामा मनाइने स्थानीय पर्वहरूको आफ्नै मौलिकता र विविधता रहे पनि विसु पर्व भने प्राय नाैं वटै जिल्लामा मनाइने गरिन्छ ।

विषु पर्व नयाँ वर्षको दिन मनाइने विशेष पर्वको रूपमा रहेको छ । नव वर्षको दिन परदेशीएका आफन्तजनहरू घर आउने गर्छन् । उक्त समयमा एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै बिर्सेर हर्ष, दुख कष्टहरू थाती राख्दै उमङ्ग र खुसी साटासाट गर्ने गरिन्छ। महिनाको पहिलो दिन विभिन्न परीकार खाना खाने गरिन्छ । विषु पर्व सांस्कृतिक पर्व भएकाले वल्ला पल्ला तल्ला माथिल्ला गाउँका सबै एकै ठाउँ जम्मा भएर रमाइलो गर्ने गरिन्छ। तर यो वर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सन्त्रासका कारण उक्त पर्व मनाउन बन्देज जस्तै गरियो । जिन्दगी चाहेर पनि घर परिवार साथी सङ्गीबाट टाढा रहेर नै विषु सम्झिनु पर्ने बाध्यता सिर्जना हुन पुग्दा मन खिन्न भएको छ । आजको विषु न्यास्रो र अलि खल्लो लागिरहेको छ ।

विषुकाे अघिल्लो दिन अर्थात् चैत्र महिनाको अन्तिम दिन साथीहरू मिलेर विषुकाे तयारी गर्ने धिल्लाैरी (घंघारु र टिमुरका आगोमा सेकेर बनाइएका बुट्टादार बलिया लौरा) खोजेर बनाएर राख्ने गरिन्थ्यो । बेलुका बाबर ( सेल ,रोटी ) पकाएर खाइन्थ्यो । पोहोर आजकै दिन आज विषु हो ल ल चाँडो उठ नुहाउन जाऊ आमाले घरका सबैलाई पहिलो प्रहर सङ्गैको त्यो मातृत्वले भरिएको आवाज आज फोनमा सुन्दा पनि उहीँ झझल्को आइरह्यो । हामी स परिवार नुहाई सकेर पालै पालो सिस्नुले नाभिमा छोएर चिलाउनु ( पोल्नु ) पर्छ । यसो गर्दा वर्ष भरी विष,अर्थात् रोग लाग्दैन र सधैँ स्फूर्त भइन्छ भन्ने मान्यता छ । पछि देवर भाउजू,साथी सङ्गी आपसमा सिस्नुले एक अर्कालाई हानेर रमाइलो गरेका थियौँ । यसो गर्दा एक अर्कामा भएको प्रेम छछल्किएकाे देखिन्छ ।

विषुकाे अघिल्लो साँझ भिजाएको मासको बोक्रा छोडाएर सिलौटामा मसिनो गरी पिसेको जम्फुले झानेको फाँणाे ( बाक्लो ग्रेवी ) सँगै भात र अन्य परीकार सम्झँदा मुख रसाएर आउँछ । समय पनि बग्दो रहेछ खोला बनेर नजिकैका गह्रा र कान्लाहरूलाई अघाउँजी पानी नै पिउन नदिएर बेतोडले । सायद यही जिन्दगी हो उसले मान्छेलाई सिकाएको । गाउँमा सबै जम्मा भएर देउडा खेल्दै,मागल,फाग गाउँदै मनाएको विषु । धिल्लाेरीमा बाघ र स्याल हुँदै खेलेको,बाघले स्याल समात्न सबै सँग सँगै दौडेको ,अनि बाघलाई काँधमा काँध मिलाएर राखेको धिल्लाैरीकाे बिटो माथि राखेर आकाश तिर हत्याउँदै नचाउँदै रमाएको त्यो उमङ्ग,सौन्दर्य र रमाइलो लेखाइ भित्रेका साँघुर अक्षर भित्र नअटाउँदो रहेछ । यस्ता चाडबाड सम्झँदा हामी बाट टाढा विदेशमा गएको भाइको मन झन् कसो हुँदो हो ।

उसलाई पनि लाउँ खाउन् उमेरमा सात समुन्द्र पारी बस्न रहर कहाँ छ र । तर राजधानी नै बेरोजगारीको जाममा देखेको भएर फेरि आसा मार्दो हो । दियालोले सजाइएको मेरो घर दियालो जलाएर जिन्दगी गुजारी रहेका हामी उज्यालो देश खोज्न सहर निस्किएको देखेर बा आमालाई नमज्जा लाग्दो होला । कोरोना कहरले यो वर्ष विषु मेलाको न्यास्रो गाउँ भरी पोखियो होला । आफ्नालाई आफ्नाको,मान्छेलाई मान्छेको डर लाग्दो समय चलेको छ । म पनि त्यही दौडमा सामेल भएर दौडिरहेछु जो अरू पनि दौडिरहेका छन् । म निर्जन मान्छेको भिडमा हराई रहे छु । सपनाको तलाउमा निस्सासि रहेको छु, सुन्दर गाउँ अनि घर सम्झेर ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments