मर्ने बेला अन्तिम प्राण आफ्नै भूमिमा त्याग्न पाउँ

शनिबार, चैत्र २२, २०७६

loading...

- गणेश बोगटी



यति बेला विश्व कोरोना भाइरसका कारण आक्रान्त बन्दै गइरहेको छ । सबै जनालाई आफ्नो ज्यानको जोगाउने पिर पनि उत्तिकै छ । विश्वमा कोरोना भाइरसको सङ्कट चुलिँदै गर्दा बिदेसिएका हामी नेपालीहरूमा थप पिडा र वेदनाका साथै थुप्रै अभावले गुज्रिँदै छौँ । एक छाक खान र एक फाटो लगाउन कै लागि आफ्नो कयौँ नेपाली दाजु,भाइ तथा दिदीबहिनीहरू अहिले कोही खाडी छौँ ।  कोही छिमेकी देश भारतमा छौँ । हामी सूदुरपश्चिमेलीहरुको भारतसँगको नाता छाक बासका साथै रोजीरोटीका लागि वर्षाै पहिले देखी रहँदै आएको छ ।

ज्यानको कुनै प्रवाह नै नगरी भारतीयहरूको जिउ धनको रक्षा गर्ने नेपालीहरू इतिहासमा पहिलो पटक भारतका गल्ली गल्लीमा त्रास पूर्ण वातावरणमा बाँचिरहेका छौँ । त्रास मात्र हैन कोरोनाका कारण हाम्रो छाक बास लुटिएको छ । कयौँ नेपालीहरू अलपत्र परेका छन् । कोही घर परिवार सम्झिदैं रोइरहेका छन् भने कोही डिप्रेसनमा समेत परिसकेका छन् । भोको पेट सहित भारतका सडक पेटीमा रात बिताउनु परेको पीडा छ ।

एकातिर यस्तो विषम परिस्थितिमा कसरी छाक टार्ने भन्ने चिन्ता छ भने अर्को तिर बाँचेर सिमानासम्म पुगेका सयौँ नेपालीहरूले स्वदेश फर्किन पाएका छैनन् । कोरोनाका भाइरसको कारण विशेष गरी होटेल रेस्टुरेन्ट, गेस्टहाउस तथा बजारमा डिउटी गर्नेहरू प्रत्यक्ष मारमा परेका छन्।

भएको रासन पानी सकिँदै छ । हुँदाहुँदै अब त नेपालीहरूमा पनि कोरोना सङ्क्रमणको सुरुवात भैसकेको छ। ब्याँग्लाेर हिजो मात्रै दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। अधिकांश नेपालीहरू कोरोना जोखिम पूर्ण वातावरणमा रहेकाले सङ्क्रमित सङ्ख्या बढ्ने सम्भावना पनि छ। त्रासमा बाँचिरहेका नेपालहरू अब कोसँग आसा राख्ने उता नेपाल सरकार बोर्डर बन्द गरेर बसेको छ। मानौँ हामी भारतमा बस्ने नेपालीलाई जेसुकै होस जस्तो सबैको मनमा सल्केको आगो समयमै निभाउने कोसिस गरियोस् हैन भने भारतमा रहेका ४० लाख नेपालीहरूको श्राप सामान्य हुने छैन।

अन्य राष्ट्रहरूले विदेशमा रहेका आफ्नो नागरिक प्रति देखाएको व्यवहार र हामी प्रति हाम्रो सरकारले गरेको व्यवहारहरू देख्दा सर्वव्यापी रूपमा सरकार प्रति आक्रोश देखिनु स्वाभाविक नै हो। साँच्चै नै हामी प्रवासी नेपालीहरूको पनि सरकार हो भने,अलपत्र परेकाहरूलाई सिमानामा विशेष चेक जाँच सहित क्वारेन्टाइनको व्यवस्था गरी स्वस्थ भैसकेको अवस्थामा आफ्नो घरमा फिर्ता गराइयोस्। तुरुन्त भारत सरकारसँग छलफल अघि बढाइ भारतमा रहेका नेपालीहरुको लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गरी पीडित नेपालीहरूलाई
निम्नलिखित अत्यावश्यक राहतको घोषणा गरी उचित राहत प्रदानको लागि नेपाल सरकार समक्ष जोरदार माग गर्दछु।

१) सर्वप्रथम भारतका प्रत्येक राज्यहरुमा  हेल्प डेस्कको स्थापना गरी अलपत्र परेकाहरूको विवरण सङ्कलन गरियोस्। जसले निष्पक्ष ढङ्गले विभिन्न प्रवासी सङ्गठन हरुको समन्वय मा वास्तविक डाटा सङ्कलन गर्नेछ।

२) अलपत्र परेकाहरूलाई तुरुन्त स्वास्थ्य चेक जाँचको व्यवस्था गरी स्वदेश फिर्ता लिन पहल गरियाेस।

३) कोरोना सङ्क्रमितहरूको भारतीय नागरिक सरह उचित ढङ्गले उपचार गराइयोस्।

४) भारत सरकारले भारतीय मजदुर हरुलाइ दिने आर्थिक अनुदान सरह नेपालीहरूलाई पनि प्रदान गराइयोस्।

५) कोरोना वाट मृत्यु भएको खण्डमा भारतीय नागरिक ले पाउने सरहको क्षतिपूर्तिको सुविधा उपलब्ध गराइयोस्।

यो प्रवासीको निवेदन नेपाल सरकार समक्ष पुर्‍याइ सहयाेग गर्न सहयाेग गरिदिएकाेमा लाेकप्रिय नेपालपाटी डटकम परिवार प्रति खुसी व्यक्त गर्दै  सम्पूर्ण  नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।

गणेश बाेगटी

शायल गाउँपालिका डोटी

सचिव- सुदूर पश्चिमेली नेपाली समाज भारत
तमिलनाडु
हाल भारतको चेन्नई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments