विवाह हाउगुजी !

बुधबार, बैशाख ३१, २०७७

loading...

- यमुना थापा(नीला)



हाम्रो नेपाली समाजमा जब छोरीहरूको उमेरले बिसौँ वसन्त पार गर्छन।अनि सुरु हुन्छ छरछिमेक, आफन्त नातागोता सबैको चियो चर्चो।हिजोसम्म को हो ? के हो रु कसको छोरी हो रु भन्ने केही थाहा नहुने छरछिमेकलाई सुरु हुन्छ खसखस।भन्न थाल्छन् “हेर हेर फलानोको छोरी कस्ती हल्लक बढेकी ! बिहे गर्ने उमेर पनि ठिक्क भएको रहेछ”।उता केटीलाई भने यसको बारेमा केही थाहा हुँदैन।न उसलाई यो थाहा हुन्छ कि अब उसको बिहे हुने उमेर भएको छ। उ त आफ्नै दुनियाँमा मस्त हुन्छे, उड्न चाहन्छे, उड्नलाई पखेटा फिजाएकि हुन्छे। तर उसलाई के थाहा यता समाज उसका पखेटा काट्नलाई तयार भएर बसेको छ भनेर।आफन्तहरू, छिमेकीहरू घरमा आएर बाबुआमासँग कुरा गर्न थाल्छन्।“यो मेरो फलानोको छोरा हेर्नू त कस्तो राम्रो छ । अमेरिकामा बस्छ।फेरि अर्को भन्न थाल्छे हैन यो राम्रो छ यो अस्ट्रेलियामा बस्छ यो सँग बिहे भयो भने त हजुरकी छोरीको त भाग्य नै चम्किछ” भन्दै धमाधम बिहेको कुरा ल्याउन थाल्छन्।केटीका बाउ आमालाई दबाब दिन थाल्छन्।अनि केटीका बाबुआमा केटीलाई दबाब दिन थाल्छन् र यसरी एउटा केटी दबाब नै दबाबमा आएर बिहेको आगोमा आहुति हुन पुग्छे।

हाम्रै समाजले, हाम्रा आफन्तले हामीलाई यतिसम्म विवश बनाई दिन्छन् कि मान्नौ हामीलाई नै लाग्न थाल्छ बिस वर्षको उमेर भनेको छोरीको बिहेको मापदण्डको परिधि हो । यदि त्यो उमेर ढल्क्यो भने फेरि विवाह कहिल्यै हुन सक्दैन र हुने पनि छैन। बिस्तारै बिस्तारै त्यो उमेर नै छोरीहरूको लागि अभिशाप जस्तै बन्न जान्छ। अझ पढ्छु, केही गर्छु भन्ने छोरीहरूका लागि त यो साह्रै सकसको कुरा बनिदिन्छ ।

यस्तो समाज,यस्ता आफन्तलाई देखिरहँदा, भोगिरहँदा कहिलेकाहीँ सोच्छु के साँच्चै विवाहलाई उमेरले नै हो त निर्धारण गर्ने ? के साँच्चै विवाहको उमेर नै हुन्छ त ? फेरि यस्तो बेला झट्ट याद आउँछ सीमोन द बोउवार कुरा बिहेलाई उमेरले नै आत्मनिर्भरताले निर्धारण गर्छ। उनी भन्छिन् विवाह यस्तो बन्धन हो, जसले सब थोक दिए जस्तो गरी हामी महिलाको जीवनबाट सबै थोक बिस्तारै बिस्तारै खोस्दै जान्छ।र त्यो खोसिने कुरामध्ये प्रमुख कुरा हो  । हाम्रो व्यक्तिगत स्वतन्त्रता, यदि हामी बिहेपछि पनि आफ्नो स्वतन्त्रतालाई जिउँदो राख्न चाहन्छौ भने पहिला हामी आत्मनिर्भर बन्नुपर्छ। तर हाम्रो समाजले कहाँ दिन्छ र आत्मनिर्भर हुनलाई ! समय जति सक्दो छिटो बाबुआमालाई हतार हुन्छ छोरी अन्माएर, बुहारी भित्राउन।अझ समाज र आफन्तको त कुरै नगरौँ कुरा काटेरै हैरान पार्छन्।

हुन त मैले नदेखेकी पनि हैन मेरा कयौँ साथीहरूले आफै कति प्रेम विवाह गरेका छन्।बोल्दा हाँस्दा खुसी नै देखिन्छन्, आफू जति स्वतन्त्र कोही छैनन् झैँ कुरा गर्छन्।तर वास्तवमा कति खुसी छन्, कति स्वतन्त्र छन् । त्यो उनीहरू नै जानुन्।मैले कहिल्यै गहिरिएर सोधेकी पनि छैन। एक पटक प्रेम विवाह गरेर गएकी एक जना साथीलाई भनेकी थिएँ, किन हतारमा बिहे गरेको ? समय थियो पढ्दै थियौ पढाइ सकेर आत्मनिर्भर भएर बिहे गरे अझ राम्रो हुन्थ्यो।थाहा छ नि रहरले भान्सामा काम गर्नु र बाध्यताले काम गर्नु फरक हुन्छ भन्दा उनिले भनिन्।“ जागिर खानेले पनि भाडा माझे कै हुन्छन् ।यस्तै यस्तै” !! त्यसपछि मैले उनिलाई केही भनिन।तर रहर बाध्यता अहिले उनिले कति बुझिनन् थाहा छैन त्यसपछि उनीसँग मेरो भेट पनि भएको छैन।

हाम्रो समाजमा एकतर्फी केटीहरू यस्ता छन् जसले जान्दाजान्दै पनि बुझ पचाएर दुख पाइरहेका छन् भने अर्को थरी यस्ता छन् जो घरपरिवार र समाजको दबाबमा आएर दुख पाइरहेका छन् । बिहेलाई चुनौती दिँदै समाजको सामना गर्ने केटीहरू पनि नभएका हैनन् समाजमा तर बिहेको क्षणिक प्रलोभनमा परेर पारेर आफूलाई बर्बाद गर्ने केटीहरू मैले धेरै देखेकी छु समाजमा।अनि केटीहरूलाई यस्तो प्रलोभनमा पार्ने धेरै त उनीहरू कै आफन्त र घरपरिवार हुन्छन् । सोची आउँदा लाग्छ छोरीलाई डाक्टर इन्जिनियर मास्टर्ससम्म पढाउन सक्ने त्यो उमेर सम्म पर्खन सक्ने बाबुआमाले किन छोरी आत्मनिर्भर हुन्जेल सम्म कुर्न सक्दैनन् किन हतार हुन्छ । उनीहरूलाई छोरीको बिहे गर्नलाई, ज्वाइँ खोज्नलाई।के छोराको विषयमा कहिल्यै बाबुआमा समाज यसरी चिन्तित देखिन्छन् ?, हात धोएरै उनीहरूको पछाडि पर्छ त खै मैले त आजसम्म यस्तो देखेकी छैन।

हुन त हाम्रो समाज पितृ सत्ताको भुक्तभोगी भएर होला केटीहरू बिहे पछिको जीवनलाई आरामदायी मान्छन्। यतिसम्म कि उनीहरू आफ्नो स्वतन्त्रताको बाजी लगाएर पुँजीको दास बन्न पनि हासि हासि स्वीकार गरी दिन्छिन्। सिमोन फेरि पनि भन्छिन् – “विवाह यस्तो हतियार हो जसले पुरुषको लागि फ्रीमा सन्तान उत्पादन गर्ने मेसिन दिन्छ, उसलाई रात बिताउनलाई बाहिर पैसा खर्च गर्नु पर्दैन बस त्यसको बदलामा विवाह गरे पुग्छ।अनि महिलाहरूलाई सुनचाँदीले जडित गहना अनि ऐस आराम भए पुग्छ । तर जब महिलाले यो बुझ्छिन् कि विवाह आफूलाई हार्ने बाजी रहेछ तब धेरै ढिला भइसकेको हुन्छ। के यस्तै भइहरेको छैन र हाम्रो समाजमा यसको प्रमाण खोज्न किन टाढा जानू पर्‍यो अदालतमा लाइन लागेर बसेका डिभोर्सका केशहरू हेरे पुग्दैन र ? अझ सम्पन्न शाली महिलाहरू जसलाई हेर्दा सब थोक पुगे झैँ लाग्छ तर उनीहरू नै आफ्ना श्रीमानबाट डिभोर्स खोजिरहेका हुन्छन्।

कहिल्यै सोच्नु भएको छ जब “हजुर बिरामी हुनुहुन्छ अस्पतालमा हुनुहुन्छ। हजुरलाई धेरै डाक्टर नर्सहरूले सेवा दिइरहेका छन् र हजुरको श्रीमतीले पनि हजुरलाई उत्तिकै सेवा दिइरहेकी छिन् । तर जब हजुर ठिक भएर घर फर्किनु हुन्छ हजुरले अस्पतालका तमाम डाक्टर नर्सलाई धन्यवाद भन्नू हुन्छ तर के त्यसैले गरी हजुरलाई माया र सेवा दिने आफ्नो श्रीमतीलाई कहिले धन्यवाद भन्नू भएको छ”।छैन भने अब भन्ने गर्नु होला। किनकि उनको पनि भावना हुन्छ।बिहे गर्दैमा हासिल गरेको हुँदैन।बिहेमा त समझदारी, विश्वास, माया प्रेम र एका अर्काप्रति समर्पण हुन्छ र चाहिन्छ।

हुन त म आफै पनि जिन्दगीको चौबिसै वसन्तमा छु।भाग्यवश भनौ या समय  विवाहलाई लिएर मैले जति आफन्त र समाजबाट दबाब झेलेकी छु त्यति दबाब घरपरिवारबाट महसुस गर्नुपरेको छैन।सायद म घरबाट टाढा भएर पनि होला। घर गएको बेला यस्तो कुरा नसुने भने दिन हुँदैन।कोही न कोहीले त सुनाए कै हुन्छन् सोधिरहेकै हुन्छन्।“हामीले भोज कहिले खाने।अब उमेर पनि ढल्किने बेला भइसक्यो ।।यस्तै यस्तै”।ओहो ! यस्तो लाग्छ मेरो बिहे मेरो भन्दा धेरै मेराको आफ्नहरुको व्यक्तिगत कुरा हो झैँ उनीहरूको चासोको विषय बनिरहेको हुन्छ।
यस्तै बेला एक पटक नजिकको आफन्तले सोध्दा आमाले भन्नू भएछ- “भर्खर त पढाइ सक्दै छे”।

अनि सुरु भयो आफन्तको चासो “के पढ्छे, कति पढ्छे। आमाबाबुको ख्याल छैन त्यसलाई  उमेर ढल्केपछि कहाँ भनेको जस्तो केटा पाइन्छ र? बिहे भनेको त उमेरमा नै हुनुपर्छ।बरु केटा नपाइए हामी खोज्छौ”।उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ उनीहरूको बस चल्थ्यो भने त मलाई अहिले नै डोली चढाएर पठाउँथे होला । पहिला पहिला यस्तो कुरा सुन्दा म पनि दिक्क हुन्थे अहिले बानी हुँदै गयो।अन्टिले पनि भन्नू भयो सबै कुरा सुन्नी पर्छ तर मनमा लिनु हुँदैन। त्यसपछि मैले पनि सुन्ने मात्र गरेकी छु।

मलाई लाग्छ यी र यस्ता कुरा मेरा मात्र पक्कै हैनन् होला। समाजको दबाबलाई मेरा आमाबाबुसम्म पुग्न दिनु भएको छैन । यो बेग्लै कुरा हो तर हाम्रो समाजमा सबै आमाबाबुले सबै दबादलाई आफूसम्म राख्न सक्छन् भन्ने हुँदैन ।तर आमाबाबुले छोरीहरूको विषय अलिकति लचक भएर सोच्नु पर्छ।उनीहरूको ढाल भएर उभिनुपर्छ।छोरीलाई छोरीजस्तै बनेर बाच्नु दिनुपर्छ।भन्छन् आमाबाबु भगवान् हुन्। छोरीको विषयमा सबै आमाबुबालाई आग्रह भगवान् बनेर देखाउनुहोस् ।

विवाह बोझ हैन, जिम्मेवार बन्नु पर्छ।आदर र सम्मान बन्नु पर्छ तब मात्र म त म जस्ता तमाम केटीहरू विवाहलाई हाउगुजी मानेर बस्ने छैनन्।विवाहको नामसँग पर भाग्ने छैनन् बरु विवाहको लागि शारीरिक र मानसिक दुवै रूपले तयार हुनेछन् र आफूलाई त्यही अनुरूप तयार गर्दै जानेछन्।र यो पनि बुझ्नेछन् कि विवाहले जीवन सकिँदैन बरु यसले जीवनलाई नयाँ आरम्भतर्फ डोहोराउछ जसको वर्तमान र भविष्य साँच्चै नै सोचेजस्तै सुनौलो हुन्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments