‘ए ! मुला ठिक छस् नि तँ ?’

शनिबार, अशोज १८, २०७६

loading...

- राजु झल्लु प्रसाद



- राजु झल्लु प्रसाद

आज फूलपाती हो । सहरमा सहर र म छौँ । मलाई चिन्ने र मैले चिन्नेहरू हिजो अस्ति, अझ अस्ति तिर नै गाउँ लागे । मलाई पनि लाग्नुछ । भोलि नभए पर्सि साँझसम्म घर पुग्छु ।

ममीले हिजो साँझ फोन गरेर भन्नुभयो, -‘भैँसी ब्यायो । पाडी पायो ओठे ।’ मैले सोधे – ‘तारा सारा भएको त जन्मेन नि ?’

ममी एकसुरमा भन्दै जानुभो- ‘ चाडै आँ घर । बेउती तँ आउँदा सम्म पँधेलो भइसक्छ । जम्न छोड्छ ।’
‘दशैंमासमा भैँसी ब्यायो । सुत्केरो परि’गो । घर के आइँ भो र ?’- ममी, बहिनी र मेरो त्रिकोणात्मक हाँसो । अनि एकतमासको सामसुम केही बेर ।

‘तँ खुरुक्क आउँछस् कि तेरो जम्मै कुरा ममीलाई ल्याइदिम् ?’- बहिनीले साँख झार्ने सुर कसेर एकतमासले हपारी ।
मसँग हाँस्नुको विकल्प थिएन । उसले ल्याइदिने कुरा भनेको मेरो अल्छाइँ र भात नखाने कुरा थियो ।

ममी भनिरहनु’भो – ‘भाइको नि आउने मेलोमेसो छैन जस्तो छ । तँ पनि काम काम गरी रँ ।’ सुनिरहेँ- ‘चाडको माड भनेकै तिमारू हो । तिमारू नै नभएसी हर्ष आउन्न ।’
‘वर्ष दिनमा आ’को दशैं । तिमारू चाहिँ आउन्नौ । ..वर्षभरी त बोलाको छोइन केरे ।’ – आँखा भरी आँसु भरिएछन् । झिकें । परेला निचोरें । गाला पुछें ।
दरिलो स्वरमा भने- ‘आउँछु । आउँदा पुर्नेसम्म बस्ने छुट्टी ले’र आउँछु ।’

ममीको फोन काटिएसँगै एक्लोपनाले मेरो घाँटी अठ्ठायो । छट्पटीए । चकमन्नताले लखेट्यो । लखेटिए । निराशताले दबार्यो । ठाउँ ठाउँमा दबारिए । कोतारिए ।

ममीले हृदयमा चिमोठटनु भयो । मसँग यतिखेर ‘आत्थो आत्थो’ गर्नु बाहेक विकल्प छैन । घर पुगेर ममीको आँखाले मलाई नियाल्दै ‘दारी काटेर आइजो भनेको, यसपालि पनि जोगी जस्तै बनेर आएछ’ नभनेसम्म मलाई दुखीरहने पक्का छ ।

ममीले हृदयमा चिमोठटनु भयो । मसँग यतिखेर ‘आत्थो आत्थो’ गर्नु बाहेक विकल्प छैन । घर पुगेर ममीको आँखाले मलाई नियाल्दै ‘दारी काटेर आइजो भनेको, यसपालि पनि जोगी जस्तै बनेर आएछ’ नभनेसम्म मलाई दुखीरहने पक्का छ ।


रुम रित्तो छ । छन् उसो त – पाँच भित्ता र 12*15 फिटको एक सिमेन्टेड जमिन । तर यी जण छन्, निरस छन् । यो कोठाले बहिनी हुँदा श्वास फेर्थ्यो । अस्तिसम्म पल्लो खाटमा बहिनी उसको सिरियलमा झुमिरहेकी हुन्थी । बेलाबेला हाँसोको खित्का छुटाइ रहन्थी । र, मैले पुर्लुक्क हेरिदिएपछी ओठ फुलाएर किताब निकाल्थी । ऊ अस्ति गैई- घर । रुमले सास फेर्न बिर्सेको छ । र, म निसास्सीरहेको छु ।

जाने बेला भनेकी थिई- ‘मैले जस्तो छोड्या त्यस्तै रै’छ किचन भने मर्छस् ।’ उसले जस्तो भन्या त्यस्तै छ । ऊ गएदेखिन किचनको एउटा चीज पनि वर देखि पर या पर देखि वर सरेको छैन । ढ्यापढुप ढोका र झ्याल ल्याएर राखिदिएको  छु । मानौँ हावा पस्न पनि मनाही छ ।

किचन छिरेको छैन भन्दा अस्ति पानी सकिएकाले रित्तो जार उठाउन छिरेको थिएँ । गएर पानी लेराएँ । घण्टा/दुई घन्टामा एक बोतल पानी निलीरहन पर्ने भएर जार नै बोकेर सुत्ने पलङ नेरै ल्याएर टाँसेर राखेको छु । तिर्खा लाग्यो कि खाटबाटै पानी सार्यो ।

घरबेटीले हिजो रुद्र पाठ गरेछन् । एक रूप्पे जाने खाममा पचास रुप्पे दक्षिणा सहित एक छाक मीठो खाना टक्राए । यो महिनाको भाडा अलिकति बुझाउन बाँकी नै थियो । भात पस्किदै त्यो कुरा झिक्लान् भन्ने डर कम्ता होइन म मा । उनले भात पस्कनुजेल उनको हातसँगसँगै मेरो आँखा पनि कुकुर-थाल, थाल-कराई-थाल, थाल- अचारको बट्टा- थाल, थाल- घिउको सिसा-थाल, थाल-पानीको अम्खोरा- थाल, थाल-बाटा- थाल गरिरह्यो ।

पस्केर दिईहाले । उसैपनि भात बनाउने जाँगर त छैन नै । मनमा पिर मानेर भुँडी सुकाउनु भन्दा दबाउनु बेस् । घरबेटी बाले पस्केको एक थाल भात ग्वाम्म ग्वाम्म दबाउन थाले ।.. सुड्डो बारबार थुक निलिरहेथे । भन्नलाई त भात खाइसक्या हुँ भन्थे, फेरि यो बारबार थुक निलेर कुन हदसम्म हन्तकालीपन देखाइँरहेका हुन् यिनले ? लगभग अन्तिम गाँस ‘ग्वाम्म ग्वाम्म’ गर्दासम्म उनको बेहोरा चेन्ज भएन । मैले बुझे- घाँटीसम्म  घर भाडाको कुरा ल्याएर थुकको मद्दतले आफ्नो बोली घुटुक्क घुटुक्क निलिरहेका रहेछन् । पातकी बुढा ! बडो फ्यान्टसीपरक हर्कत देखाएँ यार । भात खाएर तल झरेसी पौने तीन मिनेट बङ्गारा उछिट्टिने गरी हाँसे ।

मैले बुझे- घाँटीसम्म  घर भाडाको कुरा ल्याएर थुकको मद्दतले आफ्नो बोली घुटुक्क घुटुक्क निलिरहेका रहेछन् । पातकी बुढा ! बडो फ्यान्टसीपरक हर्कत देखाएँ यार । भात खाएर तल झरेसी पौने तीन मिनेट बङ्गारा उछिट्टिने गरी हाँसे ।


हाँस्दा थिए, हाँसो रोकियो । मन हुँडलियो । रुममा बसिरहन मन लागेन । पौने आठ हुँदै थियो । बिहान उठेदेखि बाहिरफेर निस्केको थिइन । निस्के ।

लगभग खाली भएको – सहर । दिनहुँ डेढ लाखको दरले सहर गाउँ पुग्दा सहर उदाङ्गो परेको छ । रित्तो भएको छ । सुकेको छ । कक्रक्क परेको छ ।

अँध्यारोले च्याप्प अठ्ठाएको छ- सहरलाई । १२ वटा कोठा भएका एउटा घरका मुस्किलले ४ वटा झ्यालमा बत्ती बलेको छ । त्यो पनि मधुरो । कुनै स्वर छैन । मानौँ मसानघाट हो यो सहर । हो पनि, गाउँको चिहान नै त हो सहर । तर यस सहरले जिउँदै लास बनाएका सासहरू यतिखेर चिहान छाडेर घर पुगेका छन् । बरै ! यो सहरको बिजोग । ..लास पोल्न छाडिएको उराठ घाट जस्तो देखिएको छ ।

कुकुरसम्म देखिन्न सडकमा । उसो त मान्छे नभएसी कुकुर भुक्न जान्दैनन् । सक्दैनन् । उनीहरू चाल नै पाउँदैन – उनीहरू कहाँ छन् यत्तिखेर ? उनीहरूलाई ख्याल रहन्न – मान्छे बिना पनि उनीहरूको अस्तित्व छ । उनीहरू बाच्न सक्छन् । तर अहँ…!  परजीवी बनिसकेका यिनीहरू । मान्छेको स्वास सुँघेर रमाउने आदत बसीसकेको छ । मान्छे पातलिएसँगै यिनीहरूको खान्की पनि पातलिएछ । सुकेका छन् पेट- यिनका ।

मलाई यो पनि थाहा छ- अहिले लुते देखिएका यी कुकुरहरू तिहार पछि सहर फिर्दा  निकै फुर्तिला हुने गर्छन् । हट्टाकट्टा देखिन्छन् । यौन क्रिडामा लिप्त यी कुकुरहरूको अनुहारमा त्यति बेला उमङ्ग हुन्छ । खुसीले पुच्छर हल्लाइहल्लाई नाचिरहेका हुन्छन् । दौडिरहेका हुन्छन् । मान्छे कम भएको मौका छोपी उनीहरू हरेक वर्ष यतै यसै गरी दशैं तिहार मनाउँछन् । मान्छेलाई कहाँ आउँछ दशैं तिहार ? कुकुरहरूलाई आउँछ यार ।  सायद यसैले पनि भनिएको हुँदो हो- ‘कार्तिक महिना कुकुरको हो ।’ नहोस् पनि किन ? वर्षभर कुना र काप्चामा चेपिएका यी बिचराहरूले यसै समय त आफ्नो आङ तन्काउन पाउँछन् । अनुहार उठाएर कराउन पाउँछन् ।

सडकमा गाडी कम छन् । मानिसका पैतालाहरू पनि कम छन् । प्रायशः सटरहरू बन्द छन् । तीन’टा पसल छाडेसी एउटा खुलेको छ । मलाई कसोकसो बेलुका खानलाई चाउचाउ लिन मन लाग्यो ।

छिरे एउटा दोकान। -‘एउटा चाउचाउ । एउटा मुला । अनि एक पाउ दालमोठ ।’
चाउचाउ र दालमोठ दिँदै साहुनी बोलिन- मुला छैन, सकियो ।’
‘सकियो ?’ – मेरो ठाडो प्रश्न ।
‘अब मान्छे भए पो तरकारी ल्याउनु । हिजो ल्याएको । अलिकति पनि गएन । ल्यायो कुहिएर जान्छ ।’
आ-आफ्नो दुःख आफैँसँग राख्यौँ- हामीले । मैले मुला टोक्ने चाहना मारे, उनले कल्लाई सुनाऊँ भनेर मनमा गाँठो पारिराखेकी कुरा फुकाइनँ ।

आज फूलपाती । आजै यस्तो छ सहर । मनमा नचाहिँदा कुराहरू खेलिरहेछन् । आकाश तिर मुन्टो उचाल्छु । आकाश पनि उस्तै छ- अँध्यारो । मानौँ सहरको आकाशमा पनि दशैं छैन, उज्यालो छैन । के दशैं गाउँलाई मात्रै आउँछ ? गाउँमा मात्रै आउँछ दशैं ?

आफैँसँग बातचित गर्ने आदत छुटिसकेछ-मेरो । हिम्मत नै आउन्न- आफूलाई नियाल्ने । आफूलाई छाम्ने । आफू नेर बसेर आफैँलाई कोट्याउने, चिमोट्ने । आफ्नै कपाल मुसार्ने । आफ्नै हात समाउने । आफ्नै हृदयसँग लम्बेतान बात गर्ने । अहँ..आँट छैन ।


रुम छिरे । फेरि उहीँ सन्नाटा ।
एक्लो त होइन तर बोल्ने र बोलाउने कोही छैनन् । आफैँसँग बातचित गर्ने आदत छुटिसकेछ-मेरो । हिम्मत नै आउन्न- आफूलाई नियाल्ने । आफूलाई छाम्ने । आफू नेर बसेर आफैँलाई कोट्याउने, चिमोट्ने । आफ्नै कपाल मुसार्ने । आफ्नै हात समाउने । आफ्नै हृदयसँग लम्बेतान बात गर्ने । अहँ..आँट छैन । डर लागिरहेछ- आफैँसँग कुरा गर्न । सक्दिन आफैंलाई आफैं सोध्न – ‘ए ! मुला ठिक छस् नि तँ ?’

मुखमा साहिँली औँलाको नङ छ, हिजो साँझ टोकेर जकेटको देब्रे खल्तीमा राखेको रहेछु । खल्ती छाम्दा हिजो टोकेको सोही नङ भेटियो । त्यसैलाई जिब्रोले ओल्टाइपल्टाइ गरिरहेछु । एक्कासि जिब्रो टोकिन्छ ।
‘जिब्रो टोकियो भने मासु खान पाइन्छ !’ – सानामा रोटेपिङ खेल्दा सुदिपेले भनेको एक्कासि सम्झिएँ ।

अब एकछिनलाई आनन्दै भयो – त्यतिबेलाका दशैंहरूले हृदयभरी बुर्कुसी मार्ने भएँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata