पिताको सम्झनामा दुइचार शब्द !

आइतवार, साउन १९, २०७६

loading...


“सानो छँदा सोच्थेँ, धनि हुनु भनेको पक्की घर हुनु हो । प्रशस्त खेतबारी हुनु हो । ठूलो टौवा र मकैको सूली हुनु हो । गोठभरि गाईभैँसी हुनु हो ।

अलि ठूलो भएपछि सोच्थेँ, धनि हुनु भनेको ठूलो र प्रतिष्ठित जागिर हुनु हो । प्रशस्त बैँक ब्यालेन्स हुनु हो ।  गाडी र बंगला हुनु हो ।

अझै ठूलो भएपछि सोच्थेँ, धनि हुनु भनेको विद्वान हुनु हो । देशविदेश घुम्नु हो । नाम कमाउनु हो ।

अहिले लाग्छ, धनि हुनु भनेको बाआमा हुनु हो । बाआमा भएको मानिसजस्तो धनी मानिस कोही हुँदो रहेनछ ।”

सामाजिक सञ्जालमा भेटेको यी शब्दहरूले अहिले मलाई गरिबी महसुस भइरहेको छ । मसगँ सबचिज हुँदाहुँदै पनि अभिभाकत्वको अभाव छ ।  त्यसलैले माथिका हरफहरूलाई साभार गर्दै पिताजीको स्मरण गर्दैछु ।

हुन त साहित्यमा हामीहरू जस्ताको जीवन नै  हुन्छ । त्यहि छाँया साहित्यिक दर्पणबाट उतारेर हामीले हाम्रो जीवनसँग जोड्ने गर्छौ । मैले पनि त्यहि सत्य या जीवनको वास्तविकता सामाजिक सञ्जालमा भटेँ । वि.स. २०६३ सालको नागपन्चमीको दिनमा परेको पितृ वियोगको चोटले मन मस्तिष्कलाई पीडा महसुस भयो ।

परिवारको आधा संख्याको काठमाडौमा बसाइले पिताजीको अस्वस्थता र आपतकालीन उपचारमा पुग्न सकिएन । मध्यान्हतिर अपरझट बेहोस भएका पिताको उपचारका लागि माता तथा घरमा बसेको भाइ र छिमेकीहरूको सहयोगले महिनौको बन्द( हडताल )का बाबजुत एम्बुलेन्सको सहायताले मेचीअञ्चल अस्पताल पुर्याइयो ।  यस्ता कुरामा माताजीको महत्त्वपूर्ण भुमिका थियो । ढिलै भएपनि अस्पतालले पनि उपचारमा कुनै कमि हुन दिएन । मोबाइल( प्रविधि) भएको कारण हामीसँग  दोहोरो संवाद भइ नै रहन्थ्यो ।  डाक्टर र हामी सबैको प्रयत्न भन्दा पिताजीलाई लागेको रोग बलियो भयो र हामीबाट सदाका लागि पिताजी टाढिनु भयो ।  मातापिताको जेष्ठ सन्तान भएका नाताले पिताप्रति पूरा गर्नुपर्ने  सबै कर्तव्यहरू मैले  पुरा गरें ।  त्यो वर्षको १५ श्रावण कन्काई नदिको किनारमा एक अन्जुली पानी, रङ्गिन अक्षता फुल र श्रीखण्डको चन्दनसहित प्रिय माता र भाइहरूको आग्रहमा पितालाई आफ्नै हातले दागबत्ती दिएँ र  पिताजीको भौतिक शरीर सधैकालागि बिदा  गरेँ । प्रकृतीको नियम र अप्रत्याशित सदाका लागि बिदाइ क्षणभरमा पिताजीको भौतिक शरीर समाप्ति मेरालागि सधै अप्रिय बनिरहेका छन ।

शसस्त्र द्वन्द्को प्रभावमा परेको मेरो परिवार दशौं वर्षदेखि आर्थिक सामाजिक रूपमा एक्लिएको थियो । द्वन्द्वको घाउको मलमपटी हुन नपाइ पिताजीको हाम्रा लागि समय सकियो । पिताले हामीलाई छोड्दा कतिपय राजनीतिक सर-सल्लाह र परिवारिक आवश्यकताका कुराहरूको चाँजोपाँजो पनि अधुरै रह्यो, त्यो अझै पूरा गर्न सकिएको छैन । शान्ति प्रकृया पछिको विजयादशमीको भेटघाट सायद निकै सुखद हुन्थ्यो होला तर सोचे जस्तो हुन्न रहेछ जीवन ……..!

कतिपय यथार्थता देख्न नसकिने, भावनामा पोलिरहने र अद्श्य रूपमा मानसपटलमा नामेट हुनेरहेछन् । मुलुकको अस्थिरतासँग  जोडिएका बन्द हडताल जे भएपनि पिताको निधनले हजारौं जनलाई मर्माहत पर्यो । अन्त्येष्टिको समयमा हजारौंले श्रद्धाञ्जली दिँदा मन थाम्न निकै कठिन भयो । तर पनि दाहसंस्कारमा कुनै कमि रहेन । हिजो सम्म परिवारको सम्पुर्ण जिम्मेवारी लिएर दायित्व पूरा गरिरहेको व्यक्ति एकाएक सदाका लागि अनुपस्थित  हुने कुरा भन्न सजिलो तर  सहन गर्न निकै गाह्रो हुदोरहेछ भन्ने अनुभूति मैले पिताको अनुपस्थितीको भोलिपल्ट नै महसुस गरें ।

इमानको सानमा बाचेका मेरा पिताले जीवनमा कहिल्यै लोभ, लालच गर्दै गरेनन् । सामाजिक न्याय विरूद्धका कुनै गतिविधिमा कहिल्यै सामेल भएनन् । स्वाभिमान र न्यायका पक्षमा रहेर समाजका  हरेकलाई परेका समस्याको समाधान या निकासकालागि सदा समर्पित भइरहे । त्यस्ता स्वाभिमानी समाजसेवी  प्रति शसस्त्र द्वन्द्वको छिटोले नराम्रैसँग छोयो आफू त्यो आन्दोलनमा नहुँदा नहुँदै प्रशासनको दमनमा परेर १७ दिन कस्टडीमा बिताउनु पर्यो  । युद्धरत पक्षहरूको अन्तरविरोध र सुराकीको कारण धेरै गिरफ्तारीमा परे भने केहिको ज्यान गयो । अझै कतिपय बेपत्ता छन । प्रशासनको दमन सहेका  पिताजी आन्दोलनरत पक्षको अपरहणमा परि अनाहकमा यातना सहनु पर्यो । त्यसको  अप्रत्यक्ष तर मनोवैज्ञानिक असर पिताजीको मानसिकतामा पर्यो । पिडाले सयौं दिन निदाउनु भएन । उच्च रक्तचाप र चिनी रोगको बिरामीलाई परेको मनोवैज्ञानिक असरले केही महिना पछि हृदयघात हुन पुग्यो । यस्ता अपराधको छानबिन र  कारवाही नहुदा सयौं अपराधका घटना मौलाए । यस्तो अराजकताको कारण अनाहकमा निर्दोष मानिसको ज्यान गयो र परिवार विचल्लीमा पर्यो ।

पिताजीले अपहरणपछि तुरुन्तै सुचना सहित निकासका लागि पहल गर्न आग्रह गर्नु भएको थियो । शसस्त्र  द्वन्द भन्दा फरक राजनीतिक समूह र त्यो भुगोलबाट निकै टाढा भएको मैले निकासका लागि केहि गर्नसक्ने  अवस्था थिएन । यी सब समस्याको निकासका लागि द्वन्दरत पक्षको सस्थापनपक्षमा पहुँच हुनपर्थ्यो । निकासको त्यो गहिराइका बारेमा मैले पितालाई केहि  भन्न सकिन् । त्यही आन्दोलनमा भएका भाइहरूले पनि दिन सक्ने अवस्थामा थिएनन् । सन्तानप्रति अधिक विश्वास भएका मेरा पिताजीलाई  हाम्रो त्यो मौनताले पनि मनोवैज्ञानिक रूपमा अझै पीडा दियो ।

पिताजीको स्मरणसँगै अहिले पनि त्यहि मौनता भित्र हामी बाँचिरहेका छौ । पिताजीको आत्मसम्मानमा परेको मनोवैज्ञानिक चोटको खोट जति पुरानो भए पनि दुखिरहन्छ । हुन त यस्ता विक्षिप्तता अनेकौं परिवारले सहन पर्यो तर पनि द्वन्द्वले कप्लक निलेका परिवार र व्यक्तिहरूलाई त  यस्ता घाउँहरूले  दुख्ने र पोल्ने मात्रै होइन जिवनभर मन्द  बिष झै सताइ रहने रहेछ भन्ने अनुभुतिले म निकै छट्पटाउने गर्छु ।  मेरो पिताजी आन्दोलनमा सामेल नभएको व्यक्ति  विना अपराध अपहरणमा पर्नु पर्यो । अपरहणमा परेपछि कारण खोज्नु नै  हृदयघातको हुने अवस्था बन्यो । त्यो राजनीति आग्रहका कारण  नियोजित तरीकाले शान्ति प्रक्रिया शुरू हुनु भन्दा एकदुई महिना अघि घटेको ज्यादतीपुर्ण घटना थियो । आग्रह राख्ने, नगद असुल्ने, अनाहकमा सामान्य जनतालाई दुख दिने जस्ता अवसर केन्द्रीकृत व्यवहारहरू राजनीति भित्र हावी भएपछि यस्ता आन्दोलनमा अनाहकमा आमजनताले दु:ख, पीडा र यातना पाउने गर्छन् । त्यहि र त्यस्ता चोटको शिकार भएर जीवन गुमाउन बाध्य व्यक्तिको  उदाहरण हो मेरो पिताजी ।

वि.स. २०६२/०६३ सालको आन्दोलन र शान्ति प्रक्रियाले गणतन्त्रको घोषण गर्यो । गणतन्त्रकै पक्षमा रहेका पिताजीले  ०३५/०३६ सालतिको जनमतसंग्रहको प्रचारप्रसारको क्रममा गणतन्त्रको कल्पना गरेको क्षणलाइ म यसरी सम्झन्छु ।
कहिले छेउमा त कहिले काखमै  राखेर निकै खुसी हुँदै  पिताजी भन्ने गर्नु हुन्थ्यो- ” छोरी हेर ! अब विस्तारै यो देशमा गणतन्त्र आउँछ, दलहरू स्वतन्त्र हुन्छन, राजा रहन्नन्, राष्ट्रपतिले देश चलाउछन, अनि हामी रैती होइन नागरिक हुनेछौं ।”

अहिले पनि मलाई लाग्छ,  प्रजातन्त्र या गणतन्त्रको महत्त्व जसले बुझेको छ त्यसले मात्रै महिमाको कथा भन्नसक्छ जस्तो अहिले पनि मलाई लागिरहन्छ ।

निकै सानी मलाई त्यसबेला  यस्ता कुराको खासै महत्व पनि थिएन  । अरूका पिताले यस्तो भनेको कहिल्यै नसुनेकी मैले  मेरा पिताले किन यसो भनेको होला ? भनेर उधेक मान्ने गर्थें । गणतन्त्रको चाहाना राख्ने पिताले वि.स. २०६३ सालमा लोकतन्त्र, गणतन्त्रको  घोषणा र राजा हटेको राजनीति दृश्य मात्रै देख्नु भयो । संविधानसभा र राष्ट्रपति निर्वाचन देख्न पाउनु भएन । गणतन्त्र प्राप्तिको समाचारले निकै खुसी भएर पटकपटक मसँग कुरा पनि गर्नुभएको थियो । अझै राष्ट्रपतिको निर्वाचित प्रक्रिया र पदबहाली दृश्य देख्नुभएको भए अझै हर्षित हुनुहुन्थ्यो । पिताजीले  कल्पना गरेको गणतन्त्र पछिको संविधान सभाको निर्वाचन, संविधानको घोषणाको खुसी अनि भूकम्प र नाकाबन्दीको पीडा त खप्नु परेन । संविधानको घोषण, संविधानको कार्यन्वयनबाट जन निर्वाचित स्थानिय सरकार, संघिय राज्य, प्रान्तीय सरकार  सहितको नेपालको भुगोलको राजनीतिक विभाजनको संरचना देख्न र रम्न पाउनु भएन भन्ने कुराले अहिले पनि मलाई नरमाइलो लाग्ने गर्छ ।

वि.स. ०३६ साल देखि अनेकौं बहानामा राजनीति द्वन्द्वको  भएको हाम्रो परिवाले पञ्चायतव्यवस्थाको विरोध गरे बापत व्यवस्थाका समर्थकहरूले माता र पितालाई दिएका यातनाका कुरा म अलिअलि सम्झन्छु र आतिन्छु । त्यसबेला दिएका ती मानसिक र शारीरिक यातना भन्दा कयौं गुणा पिडादायी रहे- पछिल्लोपटक द्वन्द्वका पक्षधरहरूले आन्तरिक घात प्रतिघातका कारण दिएका निर्मम यातना र पीडा । पिताजीको आत्मसम्मानमा परेको चोटले जन्माएको नदेखिने घाउको दुखाइका कारण श्रृजित  घाउले पितालाई निकै पिरोल्यो । त्यहि अदृश्य घाउको पिडाले मेरा पिता  भित्रभित्रै चोइटिएका थिए ।  त्यस्ता अपराधीक घटनाका कारण कतिले मैले जस्तै  पिता, पति, सन्तान र अभिभाक गुमाउनु पर्यो होला।  अझै पनि म शसस्त्र द्वन्द्वका अनेकौं घटनाहरू सम्झेर  विछिप्त हुनेगर्छु । अस्ति भर्खरै विप्लव समुहको बन्दको नाममा भएको बम विष्फोट र सर्वसाधारणको ज्यान जाने घटनाको समाचार पढिरहदा पनि म निकै समय भावविहल भएँ र रोएँ । अझै पनि यस्ता बन्दका कुरा सुन्दा कहिँ कतै कसैलाई केही भइहाल्यो कि जस्तो लाग्ने गर्छ । यस्ता प्रकृतिका घटनाहरूको अन्त्य र  स्थायी शान्तिको प्राप्तिको लागि सयौं पटक म स्तब्ध भएर मरै आत्मालाई  भन्ने गर्छु , ” म जिवितै हुँदा मैले शान्ति देख्न पाउनु पर्छ ” भनेर म सुस्केरा हाल्ने गर्छु अनि प्रतिक्षामा पनि छु । सायद मेरो पिताजीले पनि त्यहि खोजिरहनु भएको होला ।
यो पटक पिताजीको सम्झनामा यीनै शब्दहरूले श्रद्धाञ्जली अर्पण गर्न चाँहे  ।

पिता भइ घरमा जमेर बस्ने, स्वामित्व दर्शाउने,
जँगार तरन, थेगेर टेकन, औंला समाई दिने ,

शत्ता हो घरको, पद हो नवको, नौका खियाई दिने ,
शक्ति हो घरको, रथ हो सबको मौका जुटाइ दिने,

सागर हो जगतभरको सत्य र मिथ्या छुट्टाई दिने,
पिता हो मनको हलुँगो रसको व्यथा छुट्टाई दिने,

नाता हो सबको रगतसँगको निकट सम्झाई दिने
पिता हो पौरखको पृथ्वी भरमा तथ्य बुझाई दिने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata