कोरोनालाई धन्यवाद

आइतवार, बैशाख २८, २०७७

loading...

- विशाल बजगाइ



विश्व कोरोनाको महामारीले आक्रान्त भइरहेको अवस्था छ तर यो नौलो कुरा भने होइन। विभिन्न कालखण्डमा यस्ता महामारीहरू आएका नै छन् जसले पुर्‍याएको भौतिक साथसाथै मानसिक क्षति गणितीय रूपमा एकदम धेरै छ । सबैलाई कोरोनाको महामारीले आश्चर्यचकित बनाउनु स्वाभाविक नै हो । विज्ञानका अनेकन् आविष्कारले मानव जातिलाई नै उछिन्न सक्ने अवस्थामा यस महामारीले विश्वलाई नै थर्कमान बनाएको छ। प्राकृतिक शक्तिका अगाडि जस्तासुकै आविष्कारले माथ खानुपर्ने तितो यथार्थ सबैमाझ उदाङ्गो भएको छ तर यो महामारी मूर्त होइन, ढिलो होला तर अन्त्य अवश्य नै छ । समाज कोरोना महामारीको सामना गरी रहँदा वर्षौँ देखि जरा गाडेर बसेको महामारीलाई भने नजरअन्दाज गरिरहेको छ । चेत हुँदाहुँदै नजरअन्दाज गर्नुलाई लम्पसारवादको उपमा दिँदा केही फरक नपर्ला। यस महामारीको विभिन्न नाम उपनाम छ किनकि यो महामारी बहुरुपी छ ।

यो महामारी हो भोकमरीको महामारी, वर्गीय तथा जातीय विभेदको महामारी, दरिद्रताको महामारी, देहातीहरुको रोदन क्रन्दनको महामारी, असमानताको महामारी, कुशासनको महामारी, सामन्तवादको महामारी । मान्छेको बुताले गनी नसक्ने महामारी छन् र यथार्थ सबैलाई थाहा छ। विश्वका आधा भन्दा बढी जनसङ्ख्या यस महामारीले सङ्क्रमित छन् । तुलनात्मक रूपमा कोरोना, प्लेग, इबोला भन्दा कयौँ गुना शक्तिशाली, ज्याद्रो र ज्यानमारा छ यो रोग । यसको भ्याक्सिन कसले बनाइदिने ? यो विरुद्ध लड्न एकरूपता कहिले देखाउने ? सरकारले यसको लागि जनतालाई पूर्व सावधानी अपनाउन किन नभनेको ? न त यसको लागि थाल नै ठटाउन लगाइयो, न त दियो बाल्न नै ? के यो महामारी दीप जलाएर जाँदैन हो ? सबैलाई साबुन पानीले हात धुन आग्रह गर्दा विश्वका कयौँ व्यक्ति सँग साबुन नै छैन, न त साबुन किन्ने पैसा नै । वर्षौँदेखिको छुवाछुतको र जातीय भेदभावको जालोलाई उन्मुलन नगरेर जनतालाई ‘सोसल डिस्ट्यान्सिङमा’ मदत गरेकोमा जनता कृतज्ञ छन् ।

जलवायु परिवर्तनको समस्या वेगमा दै छ, वर्षात समयमै भइराखेको छैन, माटोको उर्वरता घट्दै छ र यसको प्रत्यक्ष मार श्रमजीवी किसानलाई पर्दै छ । प्रदूषणले विभिन्न रोगहरू निम्त्याइरहेको छ, दूषित हावाकै कारण कयौँले ज्यान गुमाइराखेका छन् । न त वातावरण नै स्वच्छ रहन सकेको छ न त समाज नै । महिला हिंसा बढ्दै छ, बेरोजगारको सङ्ख्या आकासिँदै छ, महँगी बढ्दो छ, विकासको गति कछुवाको चालमा हिँडेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र मेडिकल माफियाको मुठ्ठीमा पिल्सिएको अवस्था छ । कोरोना भाइरसले विश्वकै विकसित राष्ट्रमा पनि स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउनुपर्ने सन्देश दिएको छ । जनस्वास्थ्यलाई मूल प्राथमिकतामा राखिएन भने भविष्यमा विश्वले यो भन्दा विकराल स्थितिको सामना गर्नु पर्ने हुन सक्छ।

समय आउनेछ जब कोरोनाको रोकथाम हुनेछ किनकि सारा विश्व नै डटेर सामना गरिरहेको छ , जुक्ति खोज्दै छ, तर समाजमा विभेद निम्त्याउने, नागरिक स्वतन्त्रतामाथि हमला गर्ने, गरिब वर्गलाई लाद्ने तथा प्रदूषणले निम्त्याइरहेको विभिन्न रोगहरू जस्ता यावत समस्याको महामारी विरुद्ध कहिले लड्ने ? एकजुट कहिले हुने ? विश्वका शक्तिशाली राष्ट्रहरूले यस महामारीलाई उन्मुलन गराउन अभिभावकिय भूमिका खेल्नु जरुरी छ । यसो भनिरहँदा चीन, अमेरिका, रुस, बेलायत जस्ता अगुवा राष्ट्रहरू उग्र राष्ट्रवादको बिगुल फुकेर आफ्नो दुनो सोझ्याउन मग्न छन् । जब राज्य संयन्त्र पद्धतिलाई लत्त्याएर स्वेच्छाचारी ढङ्गले अगाडि बढ्दछ तब अस्थिरता र अराजकता जन्मन्छ अनि बज्न थाल्छ गैर राजनीतिक र गैर संवैधानिक बे मौसमी बाजा । कुनै पनि राजनीतिक दल होस् या निजी स्वामित्वमा खुलेको कुनै निकाय वा संस्था, खोक्रो आडम्बर र फोस्रा आश्वासनको भरमा कुर्सी सम्हाल्नेको बहिर्गमन हुनु जरुरी छ । हुटिट्याउँ आकाश थेग्छु भन्ने जस्तै घमन्ड हरेक प्रशासन र सरकारी निकायमा देखिन्छ त्यस कारण यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

समाज आधुनिकताको वेगमा दौडिरहेको छ। प्रविधि र विभिन्न आविष्कारले समयलाई माथ दिएको अवस्थामा हामीले हाम्रो समाजलाई नियाल्नु पर्दछ । विकासको सन्दर्भमा विश्व धेरै अगाडि पुगिसकेको छ र हामीले हाम्रो समाजको आन्द्राभुँडी केलाउनु जरुरी छ। समाजसँग मानव जोडिएको हुन्छ र मानवसँग चेतना । मानवीय चेतनाको आडमा समाज बनेको हुन्छ त्यसैले यस मानेमा मानव समाजको विकासको गति नाप्ने यन्त्र चेतना हो । नेपाल र भारत जस्ता मुलुक जसलाई पूर्वीय दर्शन र सभ्यताको मूल थलो मानिन्छ, त्यस्ता मुलुकमा चेतना र चेतनशीलताको पाठ यत्र तत्र पढाइन्छ । तर के पूर्वीय सभ्यताको प्रभाव हाम्रो चेतनामा परेको छ त ? हाम्रो नेपाली समाज कति चेतनशील छ भन्ने कुरा हाम्रो जीवनशैली, आचरण, दायित्व बहन र जीवनलाई हेर्ने दृष्टिकोणमा झल्किन्छ। चेतना समाजको सफा एेना हो । स्पष्टता र सत्यताको विम्ब देखिन्छ एेनामा, त्यस कारण हामी जनता कति चेतनशील र कर्तव्यनिष्ठ छौँ भन्ने कुराले पनि हाम्रो समाज कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्छ ।
यो समस्या एक हातले बज्ने ताली हैन । राज्यसत्ताको बेथितिको स प्रसङ्ग गरिरहँदा आम जनताको आङको मैलोको पनि चर्चा गर्नु आवश्यक छ । जातीय विभेद पैदा गर्ने को ? – जनता, श्रमजीवी वर्गको थिचोमिचो गर्ने को ? पुँजीपति वर्ग, हरियो वन नेपालको धन भन्ने नारा घन्काएर जङ्गल फडानी गर्ने को ? जनता । जनता सबै दूधले नुहाएका होइनन् , भ्रष्टाचारीलाई भ्रष्टाचार गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने धेरै मनुवाहरू चोक चोकमा भेटिन्छन् । भ्रष्ट आचार जनतामा नि छ त्यस कारण जनताले आफ्नो आङको मैलो सफा गर्ने समय आएको छ । यसमा नागरिक समाजले पनि तदारुकता देखाउनु पर्ने हुन्छ, त्यसका लागी पहिला स्वतन्त्र नागरिकका नाममा पार्टीको खोल लड्नेको पत्ता साफ गर्नु पर्ने हुन्छ । पर्यावरण चक्रको अनियमित उतारचडाप ले वातावरणको कमजोर अवस्थाको साउती गरी सकेको छ । वातावरणको संरक्षण गर्नु राज्यको मात्र हैन जनताको पनि दायित्व हो । भविष्यमा आइपर्न सक्ने अनिष्टलाई रोक्न ग्रेटा थनबर्ग ले मात्र पर्याप्त हुँदैन, उनी जस्ता हजारौँ व्यक्तिको आवश्यकता पर्दछ । त्यस कारण जनताको तर्फबाट आफ्नो दायित्व पुरा गर्नु पर्छ नै किनकि समाजप्रति जति उत्तरदायी राज्यसत्ता हुन्छ त्यति नै उत्तरदायी जनता पनि हुन्छ, र हुनुपर्छ।

गाँस,बास र कपासको लागि सङ्घर्ष गर्ने वर्गका समस्याको वकालत गरिरहँदा उच्च ओहोदामा आसीन पुँजीपति वर्गको पोल्टोबाट समाजको मन्थन आवश्यक छ । कोरोनाले के कुराको पुर्पक्ष गरिदियो भन्दा, हुने खाने वर्ग हुन् या हुँदा खाने वर्ग हुन्, महामारी कसैको दाहिने हुँदैन । यस महामारीले समाजमा यथावत् वर्गीय तथा आर्थिक खाडललाई सबैमाझ प्रकाश पारेको छ । जस्तासुकै पुँजीपति वर्गको अथाह सम्पत्ति पनि अहिले अचल अवस्थामा छ । अहिले विश्व दुई ध्रुवमा विभाजित छ जसमा एउटा ध्रुव पुँजीपति वर्गले सम्हालेको छ भने अर्को खेमा गरिब निमुखा वर्गले कठिन रूपमा सम्हालेका छन् र सङ्ख्यात्मक रूपमा सोही वर्ग धेरै छन् । विश्व अर्थतन्त्र मानै अल्पविराम लागेको अवस्थामा हाम्रो ब्रह्मले के बुझ्नुपर्छ भन्दा पुँजी धेरै थोक हो तर सब थोक होइन । बलियो अर्थतन्त्र भएका मुलुकहरूमा नै आज यस कोरोना भाइरसको ज्यादा सङ्क्रमण देखिएको छ, उदाहरणका लागी अमेरिकालाई लिन सकिन्छ तसर्थ यस्ता राष्ट्रहरूले समाज कल्याणको नीतिलाई अङ्गीकार गरेर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई मजबुत बनाउनुपर्छ । क्युबा, स्पेन जस्ता राष्ट्रहरूले सो नीतिलाई अवलम्बन गरेका कारण आज कोरोनालाई रोक्न सफल भए । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकता दिएर लोक कल्याणकारी राज्यको स्थापना गर्नु नै अहिलेको मूल आवश्यकता हो । त्यस कारण विश्व अब समाजवाद तर्फ लम्कनुपर्छ भन्ने पाठ सिकाएकोमा कोरोनालाई धन्यवाद । साथसाथै जलवायु परिवर्तनको समस्या हल गर्न, कुशासन विरुद्ध लड्न, गरिबी निवारण गर्न, जातीय तथा वर्गीय विभेद उन्मुलन गर्न, भ्रष्टाचार र महिला हिंसा विरुद्ध लड्न र लोक कल्याणकारी समाज स्थापना गर्न अझै बाँकी छ भनेर यो जगतलाइनै झकझकाएकोमा कोरोनालाई धन्यवाद । त्यसैले कोरोना पश्चात्ताप विश्व समाजमा वर्षौँदेखि किल्ला गाडेर बसेको यो भयानक बेथितिको महामारीलाई बिदा गर्न लागिपर्नु पर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments