तीजलाई ‘तीज’ जस्तै मनाऔं

आइतवार, भदौ १५, २०७६

loading...

- राजेन्द्र भट्ट



- राजेन्द्र भट्ट

काठमाडौं । आज भाद्र शुक्ल द्धितिया अर्थात दर खाने दिन ।  हरितालिका तीजको अघिल्लो दिन आज हिन्दु नारीहरुले दर खाने प्रचलन छ । विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । भोली बस्ने निराहार व्रतको अघिल्लो रात मिष्ठान्न परिकारका साथ दर खाने परम्परा सदियाै देखी चल्दै आइरहेको छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्त कहाँ आउने र दरको रुपमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । माइती पक्षले आफ्ना चेलीबेटीलाई दर खुवाउने प्रचलन रहेको छ । यसै कारण पनि विवाहितहरुलागि दरको महत्व अझ विशेष छ । माईतीको निम्तोमा दर खान पुगेकाहरु आजको दिन आमा, हजुरआमा, भाउजुहरुको स्नेहमा कुनै सुर्ता नराखि खाने र रमाउने गर्दछन् ।

परापूर्वक कालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रही आएको छ । हिन्दू महिलाहरुको चाड भनिए पनि पछिल्लो समय सबै समुदायका महिलाहरु पनि तीज मनाउन थालेका छन् ।

दर वहस  :

विशेषगरी हिन्दू महिलाहरूले पतिको दीर्घायूको कामना गर्दै मनाउने गरेको सांस्कृतिक पर्व तीज समयसँगै बदलिएको छ । विभिन्न विकृति, विसंगतिहरूले समाजमा जन्मन, हुर्कन पाएका छन् । लुटपाट, झैँ-झगडा, मदिरा सेवन, देखासिखी जस्ता चीजहरुले बढुवा पाइरहेको छ । साथै अर्कोतर्फ एक महिनादेखि घरघरमा मात्र हैन पाटी प्यालेससम्म दरखाने चलन बढ्दै गएको छ ।

तीजको दरलाई विकृतिको भण्डार मान्नेहरु तीजको नाममा लुगा–गहनाको अत्याधिक  एवम् अनावश्यक प्रदर्शनीले सामाजिक विभेद सिर्जना गरेको आरोप लगाइरहेका छन् । एकातर्फ नेपाली पुरुष जमात महिलाहरूको यी यस्तै स्वाभावको निन्दा गर्दै अरूले घोडा चढे भनेर आफू धुरी चढ्न खोज्नु नेपाली चेलीबेटी, दिदीबहिनी, फुपूभाउजुहरुको ईर्ष्यालु, अव्यावहारिक, मूर्ख एवं विवेकहीन हर्कत रहेको संज्ञा दिइरहेका छन् ।

अर्कोतर्फ  महिला अधिकारकर्मी तथा धार्मिक अनुयायीहरू तीजका विरुद्ध भडास पोख्ने नाममा आफ्ना आमा, दिदीबहिनी एवं गृहलक्ष्मीलाई नकारात्मक विश्लेषण गर्नुले हाम्राे संस्कृति र परम्पराको रक्षा नभई उपहास गरेको बताइरहेका छन् ।

तीज गीत :

तीज गीतमा विवाहित दिदीबहिनीलाई दाइ-भाइ लिन आएको र नआएको, दिदीबहिनीबीचका दु:ख-सुखका कुराबारे चर्चा परिचर्चा हुन्थ्यो। गीतको माध्यमबाट मनको वह पोख्थे। तर हिजोआज विदेशी गीतले तीज पिट्न थालेको छ। तीज गीतको सट्टा डिजे चल्न थालेका छन्। घरमा होइन होटलमा दर पाक्न थालेको छ। मौलिक पर्व तीजमा पश्चिमा शैलीका गीतले स्थान पाउनु चिन्ताको विषय हो।  चाडपर्व बाध्यताले नभइ रहरले मनाउनुपर्छ। यसरी संस्कृति भित्र विकृति विसंगति भित्रिदै जाने हो भने तीज मात्र नभएर तिहारको देउसी भैंलोका गीतहरु पनि ओझेलमा पर्दै जानेछन्।

यसैबीच ,स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ ।

दर कति खाने ?

नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । पछिल्लो समय साउन महिना लागेदेखि नै तीजको दरको रुपमा भेला हुने र रमाइलो गरेर दर खाँदै नाचगान गर्ने चलन शहरी क्षेत्रमा बढेको छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान स्वास्थ्यकर्मीले सल्लाह दिदै आइरहेका छन ।  शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ ।

स्वच्छतामा ध्यान दिउँ :

यो वर्षातको मौसम हो । यस मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानु स्वस्थपरक रहने खाद्द विज्ञहरु सुझाव दिन्छन्। वासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या निम्तिन सक्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

भारी खाना नखाऔं :

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम  भएकै राम्रो । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्छ। नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

पोषिलो खाना खाऔं :

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिकहरु बताउँछन् ।  शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा खानु फलदायी हुने स्वास्थ्यविदहरु बताउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।

मदिराजन्य पदार्थलाई निरुत्साहित गरौँ :

पछिल्लो समय साउन महिना लागेदेखि नै तीजको दरको रुपमा भेला हुने र रमाइलो गरेर दर खाँदै नाचगान गर्ने चलन शहरी क्षेत्रमा बढेको छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata