टाटेको तिहार

तिहार विशेष कथा

बिहिबार, कार्तिक २, २०७४

loading...


उसले आँखा चिम्लिएर गन्धको भेउ पाउने कोसिस गर्यो, तर के हो छुट्याउनै सकेन। अब, ऊ यो के को गन्ध हो छाडेर, के को गन्ध होइन, निधार खुम्च्याएर सोच्न थाल्यो। भर्खर धान काटेर उठाइ छाडिएको खेतको गन्ध थिएन त्यो। जहाँ ऊ अहिले अल्छी मानेर पल्टिएको छ। धानका बोटका ठुटा (पाँजा) जमिनमाथि मुस्किलले दुई इन्च छाडिएका थिए। परालको लोभमा होला, फेदै लगाएर काटिएको। जमिनमाथि रहेको रहल–पहल पराल बिहानीको शितमा लफ्रक्कै भिजेको हुन्थ्यो र जब घाम बिस्तारै तात्तै जान्थ्यो, शित बाफिएर जमिनमाथि उठ्थ्यो। भिजेको परालको गन्धमा मट्यैलो गन्ध घोलिएको एक किसिमको छुट्टै गन्ध हुन्थ्यो त्यो। ऊ भएको परिवेशमा त्यस्तो गन्ध त थियो, तर त्यो लगातारसँग उसको नाकमा ठोकिइरहेको गन्ध थिएन।

ऊ पल्टिएको ठाउँमा अल्छी मान्दै उठ्यो। आँखा आकाशतिर उचालेर र भुँडीले जमिन छोउँला झै गरेर पारिलो घाममा ढाड सेकिने गरी जिउ तन्कायो र लामो हाइ काड्यो। ऊ खेत छाडेर खेत मालिक मोहनको आँगनतिर लम्कियो। मोहनकी स्वास्नीले आँगनको छेउमा मिहिनतले फूलबारी बनाएकी थिई।

बीचमा अग्लो धुपीको रुख थियो र छेउको कुनामा थियो तुलसीको मोठ। ऊ सरासर गएर एउटा खुट्टा उचालेर लघुशङ्का गर्न थाल्यो। पिढीमा बसेर सयपत्रीको माला उनिरहेकी मोहनकी आमा सीताले त्यो देखि सहिनन्, छेउको कुचो उठाएर झटारो हानिन्। उसले झर्दाझर्दैको रोकेर बाटो तातायो। सिता बज्यैले गन्गनाउँदै आएर कुचो उठाइन् र फेरि माला उन्ने काममा फर्किन्। “आज कुकुर तिहार के हिर्काउनु भन्यो कात्तिके पड्केलाई सँधै तुलसीको मोठमै खुट्टो उठाउनु पर्ने।” उसले सुरक्षित दुरी राखेर परैबाट सिता बज्यै पिरोलिएको हेर्यो। ऊ फेरि फर्केर जाने नजाने दोधारमा पर्यो। तुलसीको मोठमा खुट्टा उचालेकोमा उसलाई नरमाइलो लागेर आयो। हुनलाई यो उसको रहरको बिषय थिएन। यसको लागि उसको सम्पूर्ण जातिनै बदनाम जो थियो। बाधेर नराखे पनि मोहनको घर उसको घर थियो। मोहनले सानैदेखि पालेको थियो उसलाई। उसको घाँटीमा, कात्तुके र सयपत्री मिसिएको माला लर्किएको थियो। आजै बिहान मोहनले पहिर्यालइदिएको।

गन्धले अझै लखेटिनै रहेको थियो। त्यो उसको घाँटीको मालाको गन्ध होइन भन्ने उसलाई पक्का थियो। सिता बज्यैको “कात्तिके“ सम्बोधन सम्झेर एकाएक उसको दिमागको बत्ति बल्यो। उसले टाउको घुमाएर आफ्नै टाङ्ग मुनी सुँघ्यो। त्यो अनौठो गन्ध आफैबाट पो आइरहेको रहेछ। उसलाई पक्का भयो, कार्तिक लागेछ। उसका नि दिन आएछन् अब। कुकुरका नि दिन आउँछन् भन्ने उखान सुनेको थियो, सायद यसैलाई भनेका होलान्, उसले आफैलाई अथ्र्यायो।

अब ऊ पुलुकित थियो। शरिर भरी अनौठो उर्जा भरिएर आयो। बिस्तारै हिड्दा उकुस मुकुस भएर ऊ दौडिन थाल्यो। उसका चारै पाइला जोशका साथ लम्किए। फलामको ठुलो ढोका भएको दिननाथ साहुँको घर कम्पाउन्डको मुल गेट छेऊ पुगे पछि उसलाई फेरि सकसक लागेर आयो। ढोकै मुन्तिर पुगेपछि उसले खुट्टो उचालेर तुलसीको मोठमा गर्दागर्दै बाकी रहेको कर्म सकायो। तर यहाँ पनि उसले सुबिस्ताले गर्न भने पाएको होइन। गन्ध थाह पाएर गेट पछाडि भएको टोनी जोड जोडले भुक्न सुरु गर्यो। ऊ एक छिन टक्क रोकियो तर के सोच्यो कुन्नी, टोनीको भुकाइ बास्तै नगरी आफ्नो काम सकायो। ऊ गेट छाडेर धेरै अघि पुगि सक्दा पनि टोनी जोडसँग भुकिनै रहेको थियो।

त्यो गाँउमा त्यही एउटा मात्र पर्खालले घेरिएको घर थिए। गाउँमा दिननाथको माइलो छोराको किराना पसल थियो। शहरमा पसलका लागि होलसेलबाट सामान उठाउन जाँदा उतै बाट किनेर ल्याएको थियो टोनीलाई। नाम अनुसार उसको ब्रिड पनि बिदेशी थियो। पसलका सरजाम किन्न पठाएको पैसा कटाएर कुकुरको छाउरो किनेर ल्याएको दिननाथलाई कतै चित्त बुझेको थिएन। तर एक रात कम्पाउन्डको गेट नागेर घर भित्र छिरेको चोरलाई समाउन टोनीले खेलेको भूमिकापछि दिननाथले छोराको लगानीमा चित्त बुझाएका थिए। दिननाथ बिहान–बेलुका साङ्गलो हातमा लिएर टोनीलाई डुलाउन निस्कन्थे। घरको पर्खाल भित्र त्यही साङ्गलोले बाधिएको हुन्थ्यो टोनी। रात परे पछि भने मुल गेटमा ताला लाग्थ्यो र टोनीको साङ्गलो फुस्काइन्थ्यो। अघि टोनी भुके पनि उसले वास्ता नगरेको कारण त्यही थियो। साङ्गलोले बाधिएको टोनीे जति जोडले भुके पनि उसलाई टोक्न–दपेट्न आउने सम्भावना थिएन।

ऊ ढल्किदै–ढम्किदै र भेटिएका चिने जानेका सबैलाई पुच्छर हल्लाउँदै स्कुलको चौउरमा पुग्यो। चौउर बिचको लिङ्गे पिङ्गमा साना ठुला सबैको झुत्ती थियो। खेल्ने पालो आयोकी स्मार्ट फोन भएकाहरु सेल्फी खिच्न रोकिन्थे र फोन अर्कोलाई दिएर आफु मच्चिन थाल्थे। मच्चाएर लिङ्गो कटाउँदा नकटाउँदै तल बसेकाले कोण कोण बाट फोटो खिचिदिनु पर्ने अघोषित नियम थियो। कोही कोही ठिटाहरु फ्रक लगाएर पिङ्गमा मच्चिने तरुनीहरुको लो–एङ्गलबाट थाह नपाए जस्तो गरी फोटो–भिडियो लिने दाउमा पिङ्ग छेऊ भन्किरहेका थिए। नकचराहरु। तर उसलाई यो सबमा कुनै रस थिएन।

उसले चौउरको एक कुनामा रानी पेपर टपरो चाटीरहेकी देख्यो र त्यतै तिर हानियो। चौउर पारीको राई ठुलेको घर रानीको पनि घर थियो। राई ठुलेले दिएको तिहारको भाग बोकेर चौउरमा बसेर आनन्दले खान आएकी होली रानी। ऊ छेऊ पुगेर रानीको शरिर घुमी–घुमी सुँघ्दै लुट–पुटिन खोज्यो। रानीले झन्झट माने जस्तो गरेर पन्सिदै आफुलाई टपरो चाट्नैमा व्यस्त राखी। उसलाई थाह थियो “नो मिन्स नो”। उसले मान्छेले जस्तो जबरजस्ति गर्न जानेको थिएन। त्यस्तो गर्ने मान्छेलाई कस्तो नरपशु रहेछ, कुकुर जस्तो, भनेको सुन्थ्यो। त्यो सम्पुर्ण प्रजातीकै लागि फोकटको आरोप थियो, जुन उसलाई साह्रै चित्त बुझेको थिएन। तर रोक लगाउन, उसले गर्न सक्ने, के नै पो थियो र।

ऊ पुच्छर हल्लाउदै रानीसँगै टपरो चाट्न थाल्यो। उसले कुरो बुझ्यो आज दिन भरि रानीको अघि पछि दगुर्न पर्ने भयो। “यसपाली टोलका को–कोसँग लाप्पा खेल्न पर्ने हो ?” मन–मनै गन्न थाल्यो। कोही भुकेर तर्साउदैमा लुरुक्क परेर छेउ लाग्थे तर कोही भने फर्कि–फर्कि झम्टिन आउँथे। हुनलाई यो दशैंमा राम्रैसँग हड्डी चपाउन पाएको थियो उसले। दशैंको फुलपातीका दिन राई ठुलेले राँगो ढालेका थिए रानीको भागमा सिङ्गै कान परेछ। घुम्दै–सुङ्दै ऊ पनि त्यही पुगेको थियो। रानीले आधा कान उसलाई खान दिएकी थिई। विगत सम्झिएर ऊ मख्ख पर्यो। “रानीले पनि त पक्कै सम्झेकी होली।” ऊ रानीसँग ढेपिदै अगाडी लाग्यो। अब रानी पुच्छर हल्लाउदै पछ्याउन थाली।

दशैं त मान्छे भन्दा पनि उनीहरुका लागि पो हो की क्या हो। टन्न हड्डी र मासु भात खाएर बलियो भए पछि सुरु हुन्छ। अनौठो तर्कनामा डुबेको ऊ घुमी फिरी फेरि स्कुलकै चौउरमा आइपुग्यो। पिङ्ग तिर नगएर ऊ चौउरको कुनामा भएको बर–पिपलको बोट तिर लम्कियो। पिपलको फेदमा खुट्टो उठाएर फेरि एक राउन्ड तुर्रक्याए पछि ऊ भुइमा पल्टियो। रानी पनि उसैको छेउमा उत्तानो पल्टिएर डाड दल्दै कुइकिन थाली। ऊ रिल्याक्स मुडमा रानीको चर्तिकला हेर्न थाल्यो। उसलाई एउटै डर टोनीकोसँग थियो। टोनी हुनेखाने घर खलकको। दशैं बाहेकका महिनामा पनि लगभग हप्तैपिछे दिननाथकोमा मासु पाक्थ्यो। दिननाथको भन्छाबाट आएको मासुको हरक, कम्पाउन्ड गेट बाहिरै बसेर र्याल चुहाउदै त्यसमा लटपटिएको भातको डल्लो र रहल पहल हड्डीको मिठास कल्पिदै उसले धेरै पटक टोनीको भाग्यको इष्र्या गरेको थियो। सधै मासु–मसिनो खान पाएको टोनी ऊ भन्दा बलियो देखिन्थ्यो। “टोनीको फेला परियो भने नसकिने पो हो की”, उसलाई हल्का चिसो पस्यो।

धनी गरिबको बिभेदले अवसरमा ल्याउने असर सम्झेर उसमा भएको बर्गिय चेत एकाएक उर्लिएर आयो र ऊ जोडसँग भुक्यो। रानी तर्सिएका आँखाले ऊ तिर हेर्दै के भएको छुट्याउन खोज्दै थिई। ऊ बसेको ठाउँबाट उठ्यो र रानीलाई आफ्नो थुतुनोले हल्का ढकेल्दै बरको रुखको आड तिर जान कर गर्न थाल्यो। रानी लुट्पुटीदै उसैलाई ढकेल्न थाली। केही हुन लाग्दा लाग्दै पिङ्ग छेउका केही ठिटाहरुले हानेको डुङ्गो उनीहरुको बिचैमा आएर बजारियो। पिङ्ग खेलीरहेका तरुनीको लोएङ्गलबाट फोट खिच्न तम्सिने मध्येकै एउटा ठिटो खेल्दा खेल्दैको पिङ्गको काम्रो निकाली उनिहरु भएतिर सोझिएर आयो। हतारमा भाग्दा चौउरको एक कुनो तिर ऊ पुग्यो। रानी अर्को कुनो तिर छुट्टिइ। अघि आफैले झट्याएको काम्रो ठुलो बहादुरी गरेको भावमा उठाएर खित्किदै ठिटो पिङ्ग तिर फर्कियो। “यी कुकुरलाई कार्तिक लागेर हैरान, लाजै नलाग्ने भनेको जहाँ मान्छेको भिड त्यही आएर गासिनु पर्ने।”

साँझ पर्न पर्न लागेको थियो। राई ठुले “च्यो च्यो” गर्दै चिच्याएर रानीलाई डाक्दै थिए। तास खेल्न जाने हतारमा बेलुकाको भात चाडै खाएर बुढियाको काम सकिदिएका होलान्। रानीले एक पटक पारीबाट फर्केर उसलाई हेरी र राई ठुलेका हातमा अहिले भएको भातको डल्लो सम्झेर घर तिर दगुरी। उसले पारी देखिन्जेल रानीलाई हेर्यो।

आफ्नै तिहारको दिन उसको मुड बिग्रियो र अघिका भिलेन ठिटाहरुलाई सराप्न थाल्यो। “मलाई गरि खान दिएनन् असती बाह्रमासेहरुले। देउसी–भैलोको खोल ओढेर को–को कस–कसका पछि लागेका छौ यसपाली म सबको खबरदारी गर्छु।” ऊ फन्किदै घर तिर फर्कियो।
झमक्कै साझ परे पछि ऊ फेरि फर्केर स्कुलको चौउरमा पुग्यो। तर रानीको छनक कतै थिएन। पिङ्ग पनि खाली थियो। राई ठुलेका पछि लागेर कुन् तास अड्डा पुगी होली। खोज्दै प्रधान कान्छाको तास खल सम्म पुगेको ऊ, मोहन भएकाले त्यतै अड्कियो। खलमा राई ठुलेको स्वर सुनिएन न उसले रानीको गन्धनै चाल पायो। उसले लख काट्यो, “बुढा पारी लिम्बु गाउँ तिर गए होलान्।”

लक्ष्मिपुजाको रात भैली–नाच लिएर हिडेको मोहनको टोलीसँगै ऊ पनि दिननाथको घर कम्पाउन्डको गेटबाट भित्र डराइ–डराइ छिर्यो। भित्र टोनीको बासी गन्ध मात्र थियो, ऊ नडराइ घरको आँगन तिर लाग्यो। गेट छिर्ने बित्तिकै टोलीको कसैले सोध्यो, “घरको कुकुर कता छ हौ, बाधेको त छ नी।” चोर समात्न टोनीले खेलेको आक्रमक भुमिका गाउँ भरिका सबैलाई दिननाथले फुलबुट्टा भरेर सुनाएका थिए। त्यसले दिननाथको घरमा छिर्ने जो कोहीमा एउटा भय सिर्जना गरिदिएको थियो। दिननाथको नाती गेटमा खैलाबैला सुनेर अघिनै तल आँगनमा झरेका रहेछन् भन्दै थिए, “यो महिना त कुकुरालाई साङ्गलोले बाधेर राख्यो भने त पापै लाग्ला नी हौ। कुकुर तिहारको साँझ फुकाएर छाडिदिएको थिए अहिले सम्म फर्केको छैन। तल स्कुल चौउर तिर रल्लिदै थियो दिउँसो।” स्कुलको चौर तिर, उसका कान टाठा भए।

आशिष सकेर टोली चिया रोटी खादै थियो। आजको अन्तिम घर भनेकाले दिननाथले बुहारीलाई चिया पकाएर दिन अह्राएका थिए। दिननाथको नाती एउटा कुनामा आफ्ना दामलीहरुसँग फेसबुक हेर्न मस्त थियो। उसले छिल्लिदै आफ्नो लेटेस्ट पोस्ट सुनायो, “माई पेट, विथ् हिज् मेट। ऐभ्री डग हयाज् हिज् डे।”। क्याप्सन मुनी टोनी र रानीको नन–अपत्तिजनक तर सँगै रहेको फोटो थियो। “३३३ कमेन्ट सबै, एल् ओ एल्।” कमेन्ट गन्नु थिएन उसलाई। उसलाई भाउन्न भएर आयो र एक्कासी जोडसँग चिच्याउन थाल्यो। “ए यसलाई धपावो कि केही खान देओ। कुकुर रोएको अलछ्क्षिनी भन्छन्।” दिननाथ माथि बरन्डाबाटै कराए। कसैले हानेको सेल रोटीको झट्टी उसको कानैमा सिउरिन आइपुग्यो। उसले झट्कारेर रोटी झार्यो र गेट बाहिर हुत्तियो।

” क्लाइमेक्समा”, ऊ बेतमाससँग ठुले राईको घर तिर दौडिदै थियो, पछाडि दिननाथको घर कम्पाउन्ड बाहिर उभिएर मोहन चिच्याउदै थियो, “च्यो टाटे च्यो च्यो, आइज है घर जाउँ अब।”

384 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv