तपाईं आफ्नी आमालाई चिन्नु हुन्छ ?

बुधबार, चैत्र २०, २०७५

loading...

- अप्सरा केसी



- अप्सरा केसी

कोचाकोच माईक्रोको उल्टो सिटमा बसेर म र मेरी साथी ‘सृजना’ रत्नपार्क जाँदै थियौँ। लैनचौरमा लामो जाममा परियो। उल्टो सिटमा बसेकाले हाम्रो अगाडिपट्टि त आँखा छिराउने/अडाउने ठाउँ पनि बाकि थिएन। यस्तो बेलामा त जाम परेको माइक्रोमा आँखा पनि जाममा पर्ने भन्या   ! हामी दुवैका आँखा अब हात समातेर सङ्गै फनक्क फर्किएर ड्राइभर दाइको लुकिङ ग्लासतिर लागे। लुकिङ ग्लासमा एकजना आन्टी हात समातेर हैन, हात बाधेँर बसिरहनुभएको रहेछ। उहाँको एउटा हातमा चाहिँ घडि बाधिँएको थियो, अर्को हातमा दुई/चारवटा ठूलो मोटो खालको रातो चुरा,  जसलाई मैले हाम्रो घरतिर “कडा “भनेको सुनेकी हुँ।

म अझ केके खोज्दै थिए कुन्नी लुकिङ ग्लासमा, सृजनाले फ्याट्ट भनी-“मेरो मम्मिले पनि यस्तै गरि यस्तै खालको चुरा लगाउनुहुन्छ नि!” उसको यो अभिव्यक्ति पछि मैले उसलाई आन्टिले लगाउनुभएको चुराको वा आफ्नो मम्मिको चुराको वा उसको मम्मिको चुराको बारेमा केही भन्नुपर्ने देखियो। मैले दिमागमा खोजे-के भनुँ? उफ्फ,यतिखेर मलाई मेरो मम्मिले कसरी चुरा लगाउनुहुन्छ यादै भएन। कम्ता औडाहापुर्ण लागेन यो परिस्थिति । मोबाइलको ग्यालरीमा गएर मम्मिको मसँग   भएका सब्बै फोटो हेरे। सब्बै पनि के भन्नू? जम्मा दुईटा रहेछन मेरो ग्यालरीमा मेरो मम्मिको फोटो। अझ बिडम्बना, पूरा हात नदेखिएका क्रप्ड फोटा। मलाई जीवन दिने मेरि आमाको जिवनको यो कुरा अहिलेसम्म मैले ख्याल नगरेकोमा मलाई निकै पछुतो भयो।

एकपटक स्कुलबाट मनकामना टुर जादा मम्मिलाई ‘मायाको चिनो’ भनेर पोते र चुरा लगिदिएकी त थिए। तर यादै गरिनछु कसरी र कहिले कहिले लगाउनुभयो मम्मिले त्यो चुरापोते? फेरि यस्सो लुकिङ ग्लासतिर हेर्छु, आन्टिले हात अन्तै मोड्नुभएछ। कतिखेर जाम खुलिसकेछ। अब चाहिँ म स्मृती, नोस्टाल्जिया, ग्लानीको जाममा फसे।

म ७ वर्षको हुदाँसम्म मात्रै वर्षभरी मम्मिसँगै  बसेकी हुँ। नत्र त “आन्तरिक पर्यटक “जस्तो बनेर आफ्नै घर गैन्थ्यो/गैइन्छ। उसो त घरमा “घर” एक्लै भयो सधैँ। बाजेबज्यैले सधैँ आगँनमा बसेर नातिनातिना, छोराबुहारी, छोरीज्वाईँको कति बाटो हेर्नू हुदोँ हो? सेवा सुविधा केन्द्रीकरण हुँदा हाम्रो राष्ट्र र ग्लोबल भिलेज भै’रहेको विश्वको वर्तमान चित्र यस्तो कहालीलाग्दो छ। यसबारे अर्को कुनै दिन लेखुला।

अहिलेलाई चाहिँ मलाई मेरै मम्मिसम्म पुग्नु छ।’आमा’सम्म पुग्नु छ। संसारमा सबैभन्दा बढी लेखिएको र सबैभन्दा कम लेखिएको/बुझिएको विषय आमा’ नै हो। साहित्य र कलाको क्षेत्रमा ‘आमा’ बिम्बले एउटा कालजयी स्थान नै ओगटेको छ। यो भन्दा पनि अतिसयोक्ति  नहोला कि हरेक कवि/स्रस्टा/व्यक्तिहरुले कुनै न कुनै समयमा आमाबारे लेखेकै छन। यतिखेर मलाई विशेष सम्झना भैरहेछ- म्याक्सिम गोर्कीको “आमा”, गोपालप्रसाद रिमालको “आमाको सपना”, ईश्वरवल्लभको “मेरी आमाले आत्महत्या गरेको देशमा” र हाङ्युङ अज्ञातको “जोकास्टा आमाको सम्झनामा”। यी कविताहरुमा ‘आमा’ विम्ब फरक परिवेश, फरक शैली र फरक अभिष्टका साथ प्रयोग गरीएका छन।यद्यपि “आमा”लाई सम्झिरहदाँ यी आमाहरुलाई बिर्सिन मैले केही गरि सक्दिन।

हरेक क्रान्तिका गुप्त महानायक हुन आमा। हरेक सपनाहरुको सुरुवात आमाको पाठेघरबाट हुन्छ। र, सबैभन्दा चुपचाप छिन आमा। सिमित घेरोमा बाचिरहेकी आमाको जिन्दगीमा सिमितताहिन पिडाहरु छन,घाटिँमा खुकुरीहरु छन। पितृसत्तात्मक सामाजिक संरचनाको पहिलो सिकार हुन-‘आमाहरु’। र जब ‘आमाहरु’हरु सधैँका सिकार हुन्छन, तब सबैका लागि सबै स्त्रीहरु सिकार बन्न थाल्छन् । जब सबै स्त्रीहरु सिकार बन्न थाल्छन, सबै व्यत्तिहरु सिकार बन्छन आफैँआफैँ। र यसरी पुरै समाज सिकार हुन्छ -पृत्तिसत्ताको। यति भनिरहदाँ मैले “पिता”लाई पृत्तिसत्ताका एकमात्र पहरेदार भनिरहेकी छैन।

यतिखेर अरु गन्थन गर्नु भन्दा मलाई माओको भनाई यहाँनेर उल्लेख गर्नु सान्दर्भिक लाग्दछ। “लिटल रेड बुकमा” माओ भन्छन, “पुरुषहरु तीन सत्ताका दास हुन्छन-राज्यसत्ता ,कुलसत्ता र धर्मसत्ता। तर महिलाहरु यी तीन सत्ताहरुका अलावा थप एक सत्ताका दास हुन्छन-पितृसत्ता। हुन त शब्दकोशले “महिला” शब्दलाई “आमा” शब्दको पर्यायवाची नमान्ला। तर हरेक आमाहरु महिला हुन।

मैले यो लेखको सुरुवातमा “आमा” को चित्र उल्लेख गर्न खोज्नुको कारण यो थियो कि आमालाई हामीले जहिल्यै पनि  एउटा ममतामयि र सहानुभूतिपूर्ण पात्रको रुपमा मात्रै हेर्यौ। हाम्रो समाज र राज्यले “आमा”लाई सिर्फ एउटा भावनात्मक कमजोरीको रुपमा हेर्यो। आमाका हातका चुरापोते , आमाको सिउँदोको सिन्दुर , आमाको गुन्युचोलो, मध्यरातमा भोक लाग्दा सम्झना आउने मम्मी , ठेस लाग्दा सम्झना आउने मम्मी, आदि । यी त हाम्री आमाका ममतामयी पाटोहरु हुन। आमाको समाजिक चित्रमा यी सुन्दर आयामहरु हुन।आमाको चित्रलाई यिनिहरुले जिवन्त बनाएका छन। तर यहाँ हरेक सन्तानले बाबुले दिएको आदेश पालना गर्दागर्दै आमा भुलिदिन्छन। परिवारको निर्णायक तहमा आमालाई सामेल गराईदैन । यसरी हरेक घरमा आमाको ममताको दुरुपयोग भएको छ।

ओहो, म कतिसम्म गाजिएछु सो-कल्ड चेतनाले। मलाई मेरी आमा सम्पुर्ण रुपमा याद पनि रहेनछिन । हाम्री आमा सधैं “भिरमा घाँस काट्दै “गरेकी रुपमा मात्रै हाम्रो मस्तिष्कमा आउछिन। हाम्री आमा सधै फाटेको चोली मात्रै लगाउछिन। हामीले आमालाई सधै कमजोर पात्रका रुपमा चित्रण गर्यौ र सहानुभूति दिईरह्यौ। आमालाई सधै “आँसुको मुल”बनाईरह्यौ। तर आमाको पारिवारिक जिम्मेवारी र ममताभित्र लुकेको शक्तीको सहि मुल्यांकन समाज र राज्यले दुवैले गर्न सकेन्।

पोहोर साल दशैँमा घर जादाँ बज्यैले ढिकी कुट्दै गर्दा ड्याडीलाई भन्नुभएको थियो “तुइन जर्माउनुभुन्दा अघिदेखि तुईले छोराछोरी यत्रा बुनाउदा सुम्म मुइले ढिकी कुट्टैछु। आफू खरानी नहुन्जेल त ढिकी कुट्न म आफै सगिहाल्छु। मेरो चिन्ता केई नगर्या तिमिहरुले। बरु आफू क्यागरी सफल होईन्छ, त्यै गर्या।” आँसु लुकाउदै ड्याडी त्यहाँबाट निस्केको मैले देखेकी थिए। अनि मेरी मम्मी मातृवात्सल्य वञ्चित रहनुभयो। उहाँ आमा सम्झिएर यसो भन्नुहुन्छ -“मलाई मेरि आमाले केही सिकाउन पाईनन । न घरधन्दा, न आमाको माया पाएँ मैले।” मैले यी उहादरण दिनुको तात्पर्यता यो हो कि आमा यति अपरिहार्य हुदाहुदै पनि किन हाम्री आमाहरु छायाँमा छन?

अर्को जल्दोबल्दो प्रसङ्ग जोडौँ, आमाको नाममा नागरीकता दिने व्यवस्था। मेरो नागरीकतामा आमाको नामथरमा “××××××”छ।कतिजना होलान, जसको नागरीकतामा आमाको नामथर लेखिएको छ? झन त आमाको मात्रै नामबाट नागरीकता लिने प्रावधानको कुरै गरि साध्य छैन। बलात्कृत आमाबाट जन्मिएका , बाबुको पत्ता नलागेका सन्तानलाई नागरीक बन्नलाई आफ्नो साथै भएकी आमाको अवमुल्यन गर्दै नभएको वुवाको वशंज खोजेर ल्याउ भन्छ। झन सन्तानले स्वेच्छिक रुपले बाबुको नामबाट नागरिकता लिन नचाहेर आमाको नामबाट नागरीकता पनि त लिने अधिकार छ-किनकी सन्तानका लागि बुवा र आमा त बराबर हुन। तर कानुनी नीति किन यस्तो विभेदकारी? किन डराउछ राज्य आमाको नामबाट? देशभक्त सन्तान जन्माउन सक्ने आमाको नाम कसरी राष्ट्रघाती हुँदो  हो? त्यही राष्ट्रले “राष्ट्र आमा हो” भन्ने नारा कसरी घन्काउछ ?

अन्त्यमा एउटा सानो प्रसङ्ग जोड्छु । एकदिन बिनासित्ती मैले एक जोडि आमा र छोराको पिछा गर्दै थिएँ। सानो बाबुले मम्मिका फोहोर छिरेर काला भएका नङ हेर्दै भन्यो-“मम्मी, आज पनि नङपालिस लगाउनुभएको रै;नछ, है?” उसको मम्मीले सजिलै भनिन -“नाई बाबू, लगाईन नि! तिमिलाई स्कुल पुर्याउन ढिला हुन्छ भनेर। भैगो, अब यो कुरा त्यस्तै हो,भोलि लगाउला नि नङपालिस। तिमी चैँ राम्रो पढ्नु ल।राखिदिएको टिफिन सब्बै खानु। खाएनौ भने म हराईदिन्छु नि।” सानो बाबूले लाडे स्वरमा भन्यो-“हराउनुभयो भने पनि म तपाईलाई खोजिहाल्छु नि। मैले मेरो मम्मी चिन्दिन भन्ने ठान्नुभाको?” उक्त अबोध बालकले निकै गहिरो कुरा गरेरको थियो ।

बस, हरेक व्यक्तिले ,समाजले, राज्यले आमालाई चिनिदिए पुग्छ। त्यसपछी माथि उल्लेखित सबै समस्याको हल आफैँ निस्किन्छ। हरेक परिवारमा आमाको अस्तित्वलाई महत्वपूर्ण रुपमा स्विकार्न सकियो भने, पृत्तिसत्ताको जरो नै नास हुन्छ। हरेक आमाहरुलाई समाजिक जिम्मेवारीमा बा सरहको स्थान दिईयो भने समाजिक विभेद सकिन्छ। राज्यले विभेदकारी नितिहरु संसोधन गरि समतामुलक नितिनियमहरु लागू गर्यो भने देखि आमाहरुको/नारीको राजनैतिक अधिकारको पनि सुनिश्चितता हुन्छ। अनि विकासको मुलधारमा प्रत्यक्ष रुपमा सब्बै आमाहरु आए भने देशको विकासले पनि गति समात्छ।

त्यसैले सर्वप्रथम आमालाई चिन्न जरुरी छ। तपाईं आफ्नी आमालाई चिन्नु हुन्छ त?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank