कोरोना प्रभावसँगै छायामा परे आत्महत्याका घटना

आइतवार, जेष्ठ २५, २०७७

loading...

- पूर्णिमा रेग्मी



जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहँदा चाहँदै पनि जीवनको कुनै मोडमा मानसिक तनाव थेग्न गाह्रो भएर मानिस आफैले आफ्नो सिकार गर्न पुग्छ । मृत्यु स्वभाबिक हो र यथार्थ पनि । यसलाई कसैले नकार्न सक्दैन र सकिँदैन पनि । तर मृत्युलाई सबै पिडाको समाधान सोच्नु मूर्खता हो । अक्सर मानिसहरू जीवनलाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्ने सवालमा उपाय खोजी गरिरहेका हुन्छन् । तर पनि कुनै खास परिस्थितिले मानिसहरूलाई मर्नु बाहेकको कुनै विकल्प छैन । भन्ने मोडमा उपस्थित गराउँदछ । यही अवस्था नै आत्महत्याको उत्प्रेरणा मानिन्छ ।

आत्महत्या आफैमा रोग नभएर मनोरोगको परिणाम हो । प्राय: मानसिक तनाव तथा पिडा सहन नसकी बाँच्नु भन्दा मर्न ठिक ठानेर मानिसले आत्महत्या गर्ने गर्छन्। कतिपय देशहरूमा आत्महत्या तथा आत्महत्याको कोसिस गर्नु सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

संसारभर बढी आत्महत्या हुने मुलुकमध्ये नेपाल आठौं स्थानमा पर्ने र आत्महत्याको दर २४.९ प्रतिशत रहेको स्वास्थ्य सङ्गठनको आँकडाले देखाउँछ । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट करिब चार लाख मानिसको मृत्यु भइसकेको अवस्था छ। पछिल्लो समयमा लकडाउन लम्बिँदै जाँदा आत्महत्याको घटनामा पनि उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।

नेपालको परिवेशमा हेर्ने हो भने प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७६/७७ को सुरुवातको आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । लकडाउन सुरु भएको दिन चैत ११ देखि ज्येष्ठ २० गतेसम्म ९६३ जनाले आत्महत्या गरेको देखिन्छ । ९० प्रतिशत भन्दा धेरै आत्महत्याका घटनाको कारण डिप्रेसनसँग सम्बन्धित रहेकोमा,अहिले लकडाउनको कारण आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको डा.पशुपति महतको भनाई छ। लकडाउनको दुई महिनामा आत्महत्या गर्ने मध्ये ४९९ जना पुरुष र ३५३ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी प्रदेश ५ का २२५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ जना रहेका छन् ।

कोरोनाको कारणबाट प्रत्यक्ष रूपमा बढी प्रभावित हुनेहरूमा निम्न तथा मध्यम वर्गीय परिवार रहेका छन् । काम गरेर खाने तथा जीविको पार्जन गर्दै आएका परिवारलाई कोरोनाले हायल कायल बनाएको छ । जसका कारण नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि आत्महत्याको दर बढ्दो क्रममा रहेको छ ।

आर्थिक अवस्था कमजोर भएका मानिस हरूलाई गरी खाने परिस्थिति अहिले नरहेकोले उनीहरूमा दैनिकी चलाउने चिन्ता तथा रोग लाग्दा समेत रोग पालेर घरमै दुःख सहनु पर्ने लगायतका समस्याका कारण आत्महत्याको बढ्दो क्रम जारी छ । लकडाउनको समयमा सरकारले कमजोर अवस्था भएका मानिसहरूको पहिचान गर्न नसक्नु तथा राष्ट्रिय नीति तथा योजनामा समेट्न नसक्नुले पनि आत्महत्यालाई बढुवा दिएको हो भन्ने आम बुझाइ रहेको छ ।

आत्महत्याका विभिन्न कारण हुन सक्छन् । जसमध्ये कोरोना अहिले मुख्य कारणको रूपमा देखा परेको छ । कोरोनाको कारणबाट श्रमजीवी वर्ग श्रम गर्नबाट वञ्चित भएका छन् । जागिर छुट्नुको पिडा र नयाँ रोगको कारण घरभित्रको क्वारेनटाइनमा बस्न बाध्य भएका छन् । मुख्य रूपमा घर परिवारको जीविकोपार्जनका लागी आमा बुबा तथा परिवारका अग्रजहरू चिन्तित छन् भने किशोर किशोरीहरू आफ्नो भविष्यको पिडालाई लिएर मानसिक रूपमा कमजोर तथा शिथिल भएका छन् ।

उनीहरूको स्वभावमा आएको परिवर्तनले कस्तो भविष्यको निर्माण हुने हो भनेर भन्न सकिने अवस्था छैन । निराशाका भावनाहरू बढ्दै जाने प्रवृत्तिलाई समयमै पहिचान गरी समस्याको निदान गरिनुको विकल्प छैन । भविष्यका कर्णधारका रूपमा चिनिने युवाहरूमा छाएको वितृष्णालाई सम्बोधन गर्नु हामी सबैको नैतिक जिम्मेवारी तथा दायित्व हो । यो समस्यालाई कम गर्न तथा पीडितहरूको सङ्ख्यालाई कम गर्न परिवारको भित्रको वातावरणलाई थप सशक्त बनाउन विभिन्न मनोचिकित्सक वा परामर्शलाई बढोत्तरी गर्नु नितान्त आवश्यक भइसकेको देखिन्छ । जसलाई विभिन्न वैज्ञानिकहरूले पनि महत्त्वपूर्ण विकल्पको रूपमा सुझाएको पाइन्छ । परिवारको साथ सहयोग तथा मनोभावनाको पहिचानले पनि ठुलो दुर्घटनाबाट बचाउन सकिन्छ । अथवा मानिसहरू को स्वभाव तथा व्यवहारमा परिवर्तन आउन सक्दछ ।

आजसम्मको दिनहरूलाई मध्यनजर गर्दा लकडाउन तथा कोरोनाले जन्माएको आत्महत्याको खेल अझै डरलाग्दो स्वरूप देखा पर्ने वा बढ्दै जाने सम्भावना उच्च देखिन्छ । र पनि सरकार गुपचुप तथा मौन छ । जसलाई ठुलो आँधी तथा तुफान आउनु भन्दा पहिलेको सन्नाटाको रूपमा बुझ्दा अनर्थ नहोला । कोरोनाको मार सँगै सुरु भएको आत्महत्याको चक्रलाई तोड्न राज्यले कुनै प्रकारको नीति तथा योजना समेत नल्याएको देख्दा “आत्महत्याले भयङ्कर रूप नलेला भन्न सकिँदैन”।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments