भाग्यलाई दोष दिनु भन्दा सावधान हुनु बेस्, बाजा बजाएर ‘दशा’ आउँदैन !

मङ्लबार, जेष्ठ २७, २०७७

loading...


यो जेठ महिनामा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा काम गर्न थालेको दुई वर्ष बढी भइसके छ। म आफ्नो पेसामा यति धेरै रमाएको थिएकी समय बितेको पत्तो नै भएन । स्पाइनल इन्जरी सङ्घबाट सञ्चालित काभ्रे जिल्ला, साँगा नजिकै मनोरम वातावरणमा रहेको यो पुनर्स्थापना केन्द्रको माहौल अन्य हस्पिटलहरू भन्दा केही भिन्न छ । बालक, युवा, वृद्ध, महिला, पुरुष आदि व्हीलचियरमा विभिन्न क्रियाकलापहरू गरिरहेको देख्न पाइन्छ। ती मध्ये कोही छोटो समयको लागि मात्र व्हीलचियरमा हुन्छन् भने कोही जीवनभरका लागि, जुन कुरा उनीहरूलाई पूर्ण रूपमा स्विकार्न केही समय लाग्न सक्छ ।

दुई वर्षको कार्यकालमा मैले थुप्रै बिरामीहरू हेरेकी रहेछु । एक-एक जनाको आकृति मेरो दिमागमा यसरी बसेको छ कि सायद यो जुनीमा बिर्सन असम्भव छ । सन् २००२ देखि २०१८ सम्मको डाटा हेर्दा लगभग २,८४५ जना बिरामीले मेरुदण्डमा चोट लागेर स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रबाट सेवा लिइसकेका रहेछन् । स्पाइनल कर्ड इन्जरी भएर शारीरिक पक्षघात हुने कारणहरू धेरे छन् जस्तै- लडेर, सडक दुर्घटनामा परेर, मेरुदण्डको रोग जस्तै- टियूमर, टिबी लगेर, शारीरिक यातनाबाट, डाइभ इन्जुरी भएर, गाई, गाेेरुले हानेर आदी । लड्ने बिरामीहरू मध्ये अधिकांश रुख, घर, ईलेकट्रीक पोल, भिर, कान्ला आदि बाट खसेका रहेछन् । नेपालमा गरिएको विभिन्न अनुसन्धान अनुसार मेरुदण्डको पक्षघातको प्रमुख कारण उचाइबाट लडेर पाइएको छ ।

जब म बिरामीहरूसँग कुरा गर्छु ।  सबैको दुःख, भोगाई र कथा-व्यथामा एउटा समानता पाउँछु, र त्यो हो पछुतो ! यदि मैले त्यो काम सावधानीका साथ गरेको भए !  यदि बाइकले हताशमा ओभरटेक नगरेको भए ! रुख ध्यान दिएर चढेको भए, बढी ध्यान पुर्‍याएर गाडी चलाएको भए आदि इत्यादि कुराले उनीहरूलाई हरेक पल पछुतोमा पारी रहेको हुन्छ । यस्तै बिरामीहरू मध्य केही सवारी चालकहरू पनि छन्। उनीहरू भन्छन् कि यत्रो वर्ष ओहोरदोहोर गरेको बाटो कहिले केही भएको थिएन, आजै यस्तो भयो । दशा बाजा बजाएर आउँदैन भनेझैँ दुर्घटना हुने पनि सधैँ हिँड्ने बाटो, सधैँ चढ्ने भर्याङ्ग, सधैँ स्याउला झार्ने रुख मै हो । हाम्रो दैनिकीसँग जोडिएको कुराहरूबाट नै अप्रत्याशित रूपमा हुने घटना नै दुर्घटना हो । दुर्घटना हुनु अघि हामीलाई पत्तो हुँदैन अबको केही मिनेट अथवा केही सेकेन्डमा के हुन्छ भनेर ।

दुर्घटना भएको स्थानबाट हामी दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल पुर्‍याउन हतारोमा हुन्छ्म् । च्याकुल्झ्याइँ गरेर जस्तो पाए त्यस्तै तरिकाले हस्पिटल लग्दा बिरामीलाई झन् जोखिममा पारी रहेका हुन्छौँ। उत्तम विचारले गर्न खोजेको मद्दत उनीहरूको लागि अभिसाप बन्न सक्छ । सही तरिकाले स्ट्रेचरमा शरीर सिधासँग राखेर लैजान अति आवश्यक छ |

उचाइमा चढ्दा, घर बनाउने, रङ्ग लगाउने, बिजुलीको पोलमा काम गर्दा सेफ्टी वेल्टको प्रयोग गर्नुपर्छ । दैनिक क्रियाकलाप जस्तै गाइवस्तुलाई घाँस, पराल हाल्दा, भर्याङ्ग उक्लिदा ओर्लिदा, रुख चढ्दा, चिप्लो ठाउँमा टेक्दा निकै होस् पुराउन जरुरी छ । गाउँ घर, विद्यालयमा जनचेतना फैलाउने, सडक दुर्घटना न्यूनीकरणको उपाय निकाल्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ । भाग्यलाई दोष दिनु, मेरो पुर्पुरो यस्तै रहेछ भनेर बिलौना गर्नुको साटो सतर्कता अपनाएर बिस्तारै काम गर्ने बानी बसाल्ने हो भने दुर्घटनाबाट जोगिन सकिन्छ भन्नुमा दुई मत हुन्न । यसरी आफू पनि बचौँ र आफ्नो छरछिमेकमा पनि चेतना फैलाऊ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments