नेपाली समाजको अर्को मानसिक रोग – चुरोट र रक्सी !

शनिबार, चैत्र १६, २०७५

loading...

- राजु झल्लु प्रसाद



- राजु झल्लु प्रसाद

अन्य देशहरुमा जस्तै चुरोट र रक्सी पिउनु नेपाली समाजको लागि पनि सामान्य बनिसकेको छ । किशोर किशोरी देखी वयोवृद्धसम्मले चुरोट र रक्सी पिएको देख्न सकिन्छ । रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । त्यसका अलावा उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्ने उनीहरु बताउँछन् ।

चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने चिकित्सक एवं प्रयोगकर्ता दुवैलाई राम्रो जानकारी छ । तर प्रयोगकर्ता घट्नुको साटो दिनानुदिन उकालो लाग्नु मानावजगतको लागि एक प्रकोप नै हो । जब चुरोट वा रक्सीको बानी पर्छ, मानिसहरु त्यो लतलाई त्याग्न चाहन्छन, तर सक्दैनन । केही दिन छोड्छन पनि तर केही समय पछी फेरी शुरु भैहाल्छ ।

रोगको भार:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको ‘मेरो वर्ष’ पुस्तिकाका अनुसार नेपालमा १८.५ प्रतिशत जनसंख्याले धुम्रपान गर्ने गर्दछन् । दक्षिण एसियामै मात्रै १५% महिला धुम्रपानकर्ता रहेका छन् । त्यस्तै नेपालमा १७ प्रतिशत जनसंख्याले मद्यपान गर्ने गर्दछन् ।

उक्त अध्ययनकै अनुसार हरेक वर्ष ८ देखि १० हजार नयाँ बिरामी क्यान्सरबाट प्रताडित हुन्छन् । नसर्ने रोग अर्थात एनसीडी(नन- कमिनिकेबल डिजिज) तर्फ मात्रै ४३ प्रतिशत नागरिक ‘सीयोपीडी’ ले ग्रस्त छन् । Chronic Obstructive Pulmonary Disease अर्थात COPD, श्वासप्रश्वासका दिर्घरोगी छन् । त्यस्तै १२% मा मधुमेह, ५% क्यान्सर तथा ४० % मुटु रोगी रहेको उक्त अनुसन्धानले बताउँछ । यी रोगहरुलाई जीवनशैलीमा आधारित उच्चतम प्रकोपजन्य रोग भन्न सकिन्छ ।

स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व हो । यसवाट कुनै पनि सरकार मुक्त हुन पाउदैन । तर व्यक्ति र परिवार स्वस्थ रहनको लागि सरकारसँगसँगै हरेक व्यक्तिको व्यक्तिगत सचेतना र प्रतिबद्धता पनि उत्तिकै जरूरी छ। जब व्यक्ति र परिवार स्वस्थ रहन सक्छ तब मात्रै देश स्वस्थ हुन सक्छ।

मुख्य कारक तत्व:

अकाल मृत्यु र अपांगताको शिकार हुनुमा अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिनशैली पनि प्रमुख कारण हो । त्यसबाहेक ग्रामीण भेगमा दाउरा-गुइठा आदिको प्रयोग (७४% घरपरिवार) र शहरी क्षेत्रमा घरबाहिरको वायु प्रदुषण पनि हो ।

स्वास्थ्य मन्त्रालय नीतिगत प्रयास:

यस नीतिगत प्रयास अन्तर्गत ‘मेरा ५ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता’ शीर्षकमा स्वस्थ रहन ५ प्रतिबद्धताको आवश्यक रहेको बाताइएको छ । ती यसप्रकार छन्;

  • म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न,
  • म नियमित व्यायाम गर्छु,
  • म स्वस्थ र पोषिलो खाना खान्छु,
  • म नियमित स्वास्थ्य परीक्षण गराउँछु,
  • म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

 

साथै सरकारले सुर्तीजन्य पदार्थमा नियमन तथा नियन्त्रण गर्दै आइरहेको पनि छ । साथै मदिरा, सुर्तीजन्य पदार्थ, चिनीयुक्त पदार्थ प्रयोगमा कमि ल्याउन कर बृद्धिको योजना अविलम्बन गरिरहेको छ । त्यसबाहेक पानीको गुणस्तर सुधार्न विभिन्न प्रयासहरु भईरहेका छन् । वायु प्रदुषण घटाउने कार्ययोजना मन्त्रिपरिषदमा पेश गरिएको साथै नसर्ने रोग (NCD) राष्ट्रिय केन्द्र स्थापना गरि स्वास्थ्य सेवा सुधार गर्न सरकार प्रतिबद्द रहेको कुरा पनि उक्त पुस्तकमा उल्लेख गरीएको छ ।

नेपाल सरकारले ‘मेरो वर्ष: म स्वस्थ, मेरो देश स्वस्थ’अभियान, २०७४ शुभारम्भ गरेको पनि दुई पुग्न लागिसकेको छ । २०७४ बैशाख १ गते उक्त अभियान शुरु गरियो । तर अभियान नाममात्रैको बनेको प्रस्ट देखिन्छ ।

नीतिगत प्रयास, प्रयासमै सिमित;

अन्तः शुल्क ऐन २०५८ अनुसारको नियमावलीमा संसोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मदिरा तथा सुर्तीजन्य बस्तुको उत्पादन तथा विक्रीको अनुमति पत्र (लाइसेन्स) लिन नविरकण गर्न लाग्ने शुल्क १५० प्रतिशतसम्म बढाए । त्यस्तै मदिरा विक्री तर्फ पनि उल्लेख्य मात्रामा शुल्क बढाए । पाँचतारे होटलले ६० हजार, ४ तारेले ४८ हजार, ३ तारेले ३६ हजार, २ तारेले २४ हजार, १ तारेले १२ हजार, स्वदेशी तथा विदेशी मदिरा बोतल खोलेर विक्री गर्ने पर्यटकस्तरको रेष्टुरेन्ट तथा रिसोर्ट, साधारण होटल र बार तथा लजहरुले ४ हजार ५ सय रुपैयाँ रुपैयाँ शुल्क सरकारलाई तिर्नुपर्ने व्यवस्था ल्याए ।

यद्दपी सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रि बढ्दो क्रममा छ । ऐनमा सुर्तीजन्य पदार्थ बिद्यालय कलेज, छात्रबास, अस्पताल छेउछाउमा बेच्न पाइदैन भने सार्वजनिक स्थानमा प्रयोग गर्नु दण्डनिय हो भनेर भनिएको छ । तर विद्यालय, कलेज तथा अस्पताल छेउमा चुरोट, खैनी, रजनीगन्धा तथा गुड्खाहरुको बिक्रि बढ्दो छ, साथै प्रयोगकर्ताहरुले यसलाई फेसनका रुपमा प्रयोग गर्न थालेको स्वयं व्यापारीहरु नै बताउँछन्। त्यसबाहेक विद्यालय तथा कलेज छेउमा हुक्का हाउस खुल्नु, तर यसको अनुगमन अहिले सम्म नहुनु सरकारको लाछारे शिवाय केहि होइन् ।

सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थको विज्ञापन कुनै पनि प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामार्फत प्रकाशन तथा प्रसारण गर्न नपाउने नियम लागु गरेको एक दशक नाघ्यो । तर अहिले पनि शहर एवं गाउँमा यिनै पदार्थको उच्चारण सहितका साइनबोर्डहरु प्रशस्त देख्न सकिन्छ । यसले प्रत्यक्ष रुपमा स- सना बालबच्चालाई सुर्तिजन्य पदार्थ सेवन तर्फ आकर्षित गरिरहेको छ ।

एकातर्फ सरकार रक्सि, वाइन, बियर, चुरोट, पराग आदि पदार्थको बिज्ञापन प्रकाशन तथा प्रसारण रोक लगाउँछ, अर्कोतर्फ नेपाली सिने क्षेत्र सरकारले रोक लगाएको पदार्थको खुलेआम विज्ञापन गर्छ। चुरोट वा रक्सी खाएको देखाइएमा त्यो फिल्मलाई सिधै ‘एडल्ट सर्टिफिकेट’ दिइने प्रावधान बलियुडमा भित्रीइसक्दा पनि नेपाली चलचित्रभने चुरोट/ रक्सिमा  नै अड्किएको छ । भिलेन र हिरोले चुरोट तान्दै फाइट हान्ने, हुक्काबार र डिस्कोका दृश्य नबिराई/नछुटाई राखिनु जस्ता कारण पछिल्लो समय नेपाली समाज अराजकतर्फ उन्मुख भएको छ ।

लागु औषधको बिजारोपण धूमपान र मध्यपानबाटै हुने नागरिक समाजकर्मीहरु बताउँछन् । अभिभावकको आँखा छलेर चुरोट, खैनि, मधु, गुड्खा,जाँडरक्सि तथा हुक्का प्रयोग गर्ने युवापुस्ता बिस्तारै लागूऔषध प्रयोगकर्ता बन्ने हुँदा ऐन कडारुपमा कार्यन्यन्वयनमा आउनुपर्ने आवश्यकता देखिन्छ।

रक्सि, छ्यांग, तुम्बा, जाँड, जस्ता समाजले नामकरण गरिदिएको विभिन्न पेयपदार्थविभिन्न जातजातिहरुले स्वीकारेको पेय पदार्थ हो, जुन पछिल्लो सजिलैसँग किनबेच हुने गर्दछ । कतिपय जातजातिमा अनिवार्य रुपमा नभई नहुने पवित्र वस्तुको रुपमा जाँडरक्सीलाई लिइन्छ, जसका कारण पनि यी पदार्थको स्वीकार्यता नेपाली समाजमा बढेको कुरा अकाट्य होइन । तर यस्ता मान्यता, यसले निम्ताएको समस्या र यसको उचित उपयोगिता बीच कतै तादम्यता मिलाउन सके नेपाली समाज स्वस्थ रहन्थ्यो की ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank