युवा संघको त्यो दरिलो प्रतिकार

युवा संघको साँढे सात वर्ष–भागः आठ

शनिबार, फाल्गुन १९, २०७४

loading...

- सरोजदिलु विश्वकर्मा



- सरोजदिलु विश्वकर्मा

रुक्माङगद कटुवाललाई हटाउने विषयमा पार्टी हाइकमाण्डमा छलफल भएरै कदम चालिएको थियो, जसका साक्षी उपपानमन्त्री वामदेव स्वयंम् हुन् । तदनुरुप प्रचण्ड सरकारले रुकमांगलाई हटाएपछि पार्टीमा एकाएक कुरा फेरियो ।

माओवादीलाई वेइमान देखाउने कुरामा उपप्रधानमन्त्री वामदेव पहिलो सिकार बने । वामदेवले हजार सत्य बोले पनि शेषनागहरुका हजार जिव्राहरुले एकोहोरो उनलाई झुठ सावित गर्न थालियो । तर म त कमजोर पारिएको मानिसको साथ दिने मानिस र युवा संघमा वामदेवको कुरा गर्ने करिवकरिव एक्लो म नै थिएँ भने पनि हुन्छ । यसलाई राम्ररी विश्लेषण गरेरै वामदेव ठिक छन् भनेर लेख्दा र संगठनमा कुरा गर्दा मलाई पटकपटक माओवादी भनेर आरोप लगाउन थालियो । पार्टीमा वामदेव कमरेड र युवा संघमा म माओवादीको एजेण्टको रुपमा दरिन थालेका थियौँ ।

पार्टीमा त कति नेताले वामदेवलाई ढोका खुल्ला छ, माओवादीमा गइहाल् नभनेका पनि होईनन् । वामदेवको पक्ष लागेकोमा युवा संघमा मलाई माओवादीमा गए भइहाल्यो नि भनेर परैबाट दुत्कार्ने मेरै साथीहरु थिए । युवासंघमा समेत वामदेवको नाम सुन्नै नचाहनेहरु अधिकांश थिए । वामदेवलाई कार्यक्रममा बोलाउने कुरासम्म निकाल्न पाइन्न्थ्यो । अझ युवासंघमा कहिलेकाही आउने सुत्रधार तथा सल्लाहकारहरु र आफूलाई अलि पढेलेखेका भनाउदाहरुका अगाडि वामदेवको नाम उच्चाहरण गर्न पनि डरमर्दो थियो ।

माओवादी सरकारबाट वाहिरिएपछि माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्नासाथ माओवादी उग्ररुपमा सडकमा आयो । सिंहदरवारको कुर्सीबाटै सरकारलाई गलहत्याउने घोषणासहित उसले ६ दिने सिंहदरवार घेराऊ कार्यक्रम गर्यो । उनीहरुको आन्दोलनले उपत्यका त्राहीत्राही भएको थियो । भरखरै जंगलबाट हतियार बिसाएर शान्तिप्रकृयामा आएको माओवादीले साच्चै सिंंहदरवारको शासन विद्रोहले नै खोस्नेछ भन्ने राजनीतिक दलहरुले समेत ठानिरहेका थिए । स्वयं एमाले पनि डराइरहेको थियो । हामी युवासंघका अधिकांशलाई अव सिंहरदरवारमा रगतको खोला बग्ने भो, सयौं मानिस ढल्ने भए भन्ने लागिरहेको थियो । उस्तै प्रधानमन्त्री भए साच्चै त्यो आन्दोलनको डरबाट कुर्सी छोडेर भाग्थे होला तर प्रधानमन्त्री माधव नेपाल रतिभर पनि गल्नुभएन । केपी ओलीको हौसला र सल्लाहले माओवादी विद्रोह सिथिल बनाउन ठूलै काम गर्यो । अझ युवा संघको आँट र प्रतिकारले ६ दिने सिंहदरवार घेराऊविरुद्ध उपत्यकाका जनतालाई जागृत गराउन सकियो । युवासंघको तर्फबाट सतुङ्गलबाट माओवादी लखेट्ने अभियान शुरु भयो । अनिता लामाको पहलमा महाराजगञ्जमा आन्दोलनकारीविरुद्ध प्रतिकार भयो । हामीले बानेश्वर आसपासमा माओवादीलाई सिंहदरवार जान नदिने प्रयाश गर्यौं । महेश बस्नेत आफै भक्तपुर क्षेत्रमा भिड्नु भयो । त्यसक्रममा उहाँको ज्यानसमेत जानसक्ने सम्भावना थियो । तर अर्जुन गुरुंगको चलाखी र फायरिंगले उनीविरुद्ध आइलागेका वाईसियल आक्रमणकारीहरु तित्तरवित्तर भए । क्रमशः युवासंघको प्रतिकारसंगै उपत्यका आमजनताहरु पनि माओवादीहरुको प्रतिकार गर्न सडकमा आए । माओवादीहरुको खाने–बस्ने श्रोतहरु सकिदै गएको थियो । मौषमले समेत उनीहरुलाई काठमाडौं बसि आन्दोलन गर्न साथ दिइरहेको थिएन । अन्ततः प्रचण्डले उपत्यकाका सुकिलामुकिलाहरुको कारण गाउंका सोझासिधा जनता यहाँ टिक्नसकेनन् भन्दै आम हडताल स्थगित भएको घोषणा गरे ।

युवा संघको यो साहसिलो विद्रोहले नेकपा एमाले चुनावमा सानो हुन पुगे पनि राजनीतिक शक्तिमा माओवादीभन्दा अब्बल छ भन्ने प्रमाणित गरि पार्टीको प्राण भर्यो । जनताहरु माओवादीभन्दा एमाले नै ठिक रहेछ भन्ने मानसिकतामा फर्किन थाले । युवासंघको यो दरिलो प्रतिकारका समाचारहरु मिडियाहरुमा छ्यापछ्याप्ती आउन थाल्यो । यसले संघको गरिमा मात्र होईन, महेश बस्नेतको उचाईसमेत अझ बढायो ।

युवासंघको नेता भएर मैले पहिलोपल्ट हेटौडाको ३ नं क्षेत्रीय कमिटीको सम्मेलनलाई सम्वोधन गर्ने मौका पाएँ । पहिले कसरी भाषण गर्ने, के भन्ने भनेर शरीर कापिरहेको थियो । तर बोल्दै जाँदा शब्दहरुको कमी भएन । भाषण राम्रै भएको भनि महासचिव निरज आचार्यले ढाडस् दिएपछि त्यसले मलाई अझ उत्साह जगायो । कार्यक्रमको समाप्तीपछि निरजजीसंग संगठनका विषयमा गम्भिर छलफल भयो । उहाँलाई मैले हाम्रो विचारसमुह (गुटलाई) आर्थिकरुपमा सुदृढ बनाई कार्यक्रम दिन नसक्ने हो भने हामी कमजोर हुने सल्लाह दिएँ । उहाँले भूमिगत हुँदा जसरी अनौपचारिक सेवाकेन्द इन्सेक बनाएर पार्टीले आर्थिक जोहो गर्यो सोहीअनुसार संगठनको श्रोतलाई ब्यवस्थापन गर्न एउटा सशक्त संस्था बनाउन मलाई निर्देशन दिनुभयो । त्यसले मलाई संगठनमा लागी पर्न अझ उत्साह प्रदान गर्यो ।

सायद केन्द्रीय कमिटीको पहिलो वैठकपछि नै होला, वाईसियलसंग सिन्धुलीको झांगाझोलीमा भिडन्त हुँदा महेशजीको झण्डैझण्डै ज्यान गुमेको साथीहरुले बताएका थिए । एमाले केन्द्रीय सदस्य केशव देवकोटालाई माओवादीका राजन दहालले घेरावन्दीमा पारेपछि उनको रिहाइ गर्न एउटा बस नै रिजर्व लिएर हातहतियारसहित झांगाझोली पुगेको युवासंघका कमाण्डरलाई बचाउने २ योद्धाको ठूलो योगदान छ– अर्जुन गुरुंग र शेरवहादुर तमांग । ब्यक्तिगतरुपमा दुवै अपरिपब्व, अराजक र उदण्ड भएपनि संगठनका लागि मरिमेट्ने निडर र अथक लडाकु हुन्, यिनीहरु । यिनी दुवै नभइदिएको भए युथफोर्स यति सायदै जम्दैथ्यो होला, न त महेश बस्नेतको नाम नै लडाकु नेताका रुपमा आउनसक्थ्यो । राजनीतिक आन्दोलनमा शेरबहादुरजी अझ अगाडि । महेशजीले मात्र वाईसियलविरुद्ध यिनीहरुलाई खह्रो उभ्याएर आफू चर्चामा आउनुभयो । तर समाजको चरित्र बदलिएको थिएन, मानिसका स्वार्थ, लालचहरुमा परिवर्तन हुनसकेको थिएन । माओवादी उदण्डता भित्र केही मानिसहरु परिवर्तनलाई मौकामा चौका हान्ने अवसरका रुपमा प्रयोग गरिररहेका थिए । माओवादीभित्र पनि खाओवादीहरुको चलखेल ज्यादा थियो ।

माओवादीको प्रवेशसंगै खुला राजनीतिमा ती खाओवादीकै रुपमा आइनजीओ–एनजीओहरू र विदेशी शक्तिहरु तथा तिनीहरुबाट पालितपोषित सामन्तवादका अवेशषहरु मोटामोटा रकम लिएर चलखेल गर्न थालेका थिए । तिनको पैसाको आड्मा नेपाली सुकिलामुकिलाहरु र अझ आफूलाई विद्धान भनाउने डिग्रीधारीहरु विदेशीका स्टन्टमेनका रुपमा यहाँ भूमिका निर्वाह गरिदिइरहेका थिए ।

ती विरुद्ध युथफोर्स जसरी नै युवासंघलाई उतार्ने सोच मैले बनाएको थिएँ । त्यसैले शेरवहादुर तामाङ र अर्जुन गुरुंगजस्ता लडाकुहरु मलाई पनि आवश्यकता थियो ।
काठमाडौं फर्किएपछि संस्था चलाउने विषयमा मनमिल्दा कमरेडहरुसंग गम्भिर छलफल भयो । निरजजीकै सल्लाहमा किरण पौडेल, भगवती विष्ट, प्रमिला बिडारी, अञ्जन भट्ट, महेश विष्टहरु युवासंघभित्र युथमिशन नेपाल गठन गर्ने मेरो प्रस्तावमा सहमत भए । महेशजीले शुरुमा हाम्रो प्रस्तावलाई अस्वीकार गर्दै अजम्वर कमरेडहरुले सञ्चालन गरेको लाइफसेभर सोसाइटीलाई नै पुनर्गठन गर्न सल्लाह दिनुभयो । तर किरण र महेश विष्टले उहाँलाई कन्भिन्स गरेपछि उहाँले पनि स्वीकृती दिनुभयो । अन्ततः हामीले संस्था दर्ता गरी युवासंघभित्र अर्को समावेशी गुटको आरम्भ गर्यौं । नभन्दै संस्थाको औपचारिक गठनको लगत्तै श्रोतका लागि केही दातृसंस्थाहरुमा पहल गर्यौं, जसमा मैले अर्जुन गुरुंग र शेरवहादुरलाई नै परिचालन गरेँ । जवकि डिग्रीधारी दाताहरु आवरणमा जति सफा र सुन्दर देखिन्छन्, भित्री मनमा भने लोभीपापी र भ्रष्ट र कुरुप नै हुन्छन् । तिनलाई चलाउन विनम्रता र बौद्धिक अनुरोधले हुदैहुन्न भन्ने तितोसत्य मलाई १० वर्षको एन्जीओ–आईन्जीओको अनुभवले सिकाएको थियो । यसर्थ युथफोर्सका उदण्ड र अपरिपक्व लडाकुहरु नै तिनलाई बशीभूत गराउने पात्र हुनसक्थे ।

यसक्रमममा हामीले सेभ द चिल्ड्रेनमा छलफल गर्यौं । तिनले एक महिना झुल्याएपछि शेरवहादुर कमरेडले टेवल ठोक्दै धम्की दिनुभयो – ‘अवको एक हप्तामा  तिमीहरुले हामीलाई फाइनल डिसिजन दिएनौ भने तिमीलाई यो कुर्सीसमेत झ्यालबाट फालिदिन्छु ।’ यसरी धम्की दिएपछि विचरा त्यहाँका हाकीम उदय मानन्धर एक महिनासम्म विदामा बसे । हामीसंग छलफल गर्ने एकजना विडारी थरका हाकिम जागीर छोडेर भागे । त्यसैगरी हामीले द एशिया फाउण्डेशनमा पहल गर्यौं, त्यहाँकी मोना थापाले पनि उसैगरी मिठा कुरागर्दै पन्छाउने प्रयाश गरेपछि अर्जुनले उनकै अगाडि अश्लिल शब्द प्रयोग गर्दै ‘तलाई यहीँबाट उठाएर लगी बलात्कार गर्छु’ सम्म भनेपछि यो कुरा गृहमन्त्रालयसम्म पुग्यो । गृहमन्त्रीका पिए तथा संगठनका उपाध्यक्ष झपट रावलले हाम्रो पक्ष नलिएको भए हामीलाई गाह्रै पर्ने थियो । अन्ततः एशिया फाउण्डेश हामीसंग झुक्यो । मोना थापाले जागीर छोडिन् भने कन्ट्री डाईरेक्टर डाक्टर सागर प्रसाईले बोलाई हामीलाई राम्रो श्रोत ब्यवस्थापन गरि सहयोग गर्न बाध्य भए ।

407 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank