युवा संघका साढे सात वर्ष-भाग : ४

शनिबार, माघ ६, २०७४

loading...


भोलीपल्ट विहानैदेखि नयाँ नेतृत्वको वहस र चहलपहल शुरु भयो । वन्दशत्रका प्रतिनिधिहरु हलभित्र प्रवेश गर्दै र एकआर्कासंग भोट माग्न थालिसकेका थिए । म त यस विषयमा अनभिज्ञ । कुनै कमिटीमा यसरी चुनाव नलडेको हुनाले मलाई सवै कुरा नौलो नै थियो । देशभरीबाट आएका साथीहरुसंगको भेटघाट, घनिष्ठताले मलाई अव त केन्द्रीय सदस्य बन्नैपर्ने उत्प्रेरणा दिइरहेको थियो ।

म त अझसम्म प्रतिनिधि भइसकेको थिईन । तथापि, संगठनको उच्चस्तरीय कमिटीले केही ब्यक्ति प्रतिनिधिकोरुपमा मनोनित गर्ने प्रावधान हुँदोरहेछ । अध्यक्ष र उपाध्यक्षको नजरमा म परेकैले मैले सहजै प्रतिनिधि कार्ड पाएँ । तर बिडम्वना काठमाडौंदेखि लहानसम्म संगै यात्रा गरेका ती मित्र केशव श्रेष्ठ, जो केन्द्रीय सदस्य बन्ने अठोटसहित त्यहाँ पुगेका थिए, तिनले प्रतिनिधि हुन सकेनन् । कति कोषिस गर्दा पनि उनीजस्तो जुझारु र लगनशील युवालाई प्रतिनिधि नै बनाइएन ।

भोलीपल्ट अपरान्हबाट बन्दशस्त्र शुरुभयो । विधान सम्वोधन भयो । महासचिवको राजनीतिक र सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा गम्भिर वादप्रतिवाद हुँदै पारित भयो । अध्यक्षका दुई उमेदवारहरुका कार्यकर्ताहरुले एकआर्का उमेदवारका प्रतिवेदनहरुमाथि आपत्ती जाहेर गरे । प्रतिवेदन राम्रै भए पनि विरोधीले ल्याएको हुनाले त्यसको प्रतिवाद गर्नैपर्ने धर्म निभाउनकै लागि आपत्ती जनाए । ती प्रतिवेदनहरुमा कतिपयले उदण्ड ढंगबाट विरोध गरे त कतीपय प्रतिनिधिहरु बौद्धिक पनि थिए, तिनीहरु गलत कुराहरुमा आफ्नो गुटको भनेर मौन बसे । यही नै राजनीतिक धर्म रहेछ ।

आवश्यक–अनावश्यक दुवै किसिमका प्रतिवादले प्रतिवाद गर्ने ब्यक्तिको पहिचान समेत गराउँदो रहेछ । मैले आफूलाई पनि चिनाउनु थियो । तसर्थ विधान संसोधन प्रस्तावउपर भएको सामुहिक छलफलमा मैले शालीन ढंगले आफ्ना कुरा राख्दा धेरैले ममाथि हेक्का राखे । हलभित्र आआफ्ना पक्षका नेताहरुले भाषण गर्दा तरररर ताली बज्थ्यो, तर विरोधी उमेदवारको भाषणमा ज्यादै हल्ला । म तर्क, विश्लेष्ण, तथ्यांङ्क, मिथ्याङ्क र रिफेरेन्समा बोल्दै र लेख्दै आएको तर यहाँ त मैले जसको ठूलो स्वर, कुतर्कै सही जसले विरोधीलाई गाली गर्नसक्यो त्यसको जयजयकार हुने नौलो पद्धती सिकेँ ।

भोलीपल्ट प्रतिनिधिको अन्तिम नामावली प्रकासित भइ उमेदवारहरुको मनोनयन दर्ता शुरु भयो । तर कुनै प्यानलले मलाई पत्याइरहेको थिएन । मेरो पहुँच पुग्ने स्थान गरिमा शाहसम्म थियो, त्यो पनि धन सुनारमार्फत नै जानुपर्ने । तर धन दिदीले पनि मेरो आग्रह सुन्नेभन्दा तपाईले कति योगदान गरेको छ र, केन्द्रीय सदस्य बनिहाल्नु पर्ने ? भन्दै उल्टै हतोत्साहित बनाइन् । हुन त एउटा मास्टर डिग्री लिएर अर्को शुरु गदैगरेको, साहित्यमा २।४ वटा पुस्तक लेखेको, १०।१२ वटा अध्ययन अनुसन्धान गरेको । आइन्जीओतिर हाकिम तहकै कुर्सी हल्लाइ विदेशी गाडीघोडा चढेको, दलित आन्दोलनको लडाकु युवा, म । वरु केन्द्रीय सदस्य लड्न आउनेहरु धेरैजसो भरखर इन्टरमिडियट पास गरेका, कलेजमा २।४ जनासंग वाईसियल र युथफोर्सका नाममा लाप्पा खेलेर आएकाहरु थिए । राजनीतिको नाममा चियापसलमा गफै मात्र लगाउनेहरु समेत केन्द्रीय सदस्य लड्दै थिए । हरेक किसिमको योग्यताको हिसावले तिनीहरुभन्दा ममा कहीँकतै कमी थिएन । तर धेरैले म केन्द्रीय सदस्य लड्छु भन्दा हासोमा उडाए ।

अनि हाम्रो संस्थापनका पक्षका अध्यक्षका उमेदवार इन्द्रलाल सापकोटालाई केन्द्रीय सदस्य हुने इच्छा राख्दै लिष्टमा नाम राखिदिन अनुरोध गरेँ । तर उहाँले पनि सार्वजनिकरुपमै मेरो अनुनय–अनुरोधलाई हासोमा उडाउदै भन्नुभयो – हँ, तपाई पनि केन्द्रिय सदस्य लड्ने ?’ उनका वरीपरीका सवै हाँसे । त्यतिवेला मलाई नराइलो अनुभूति भयो । म वेकारमा लहान आएछु जस्तो लाग्यो । मैले पनि इन्द्रलाल कमरेडलाई अध्यक्षमा योग्य देखिन । अन्त्यमा उहाँले आफूलाई भोट हाल्ने प्रतिनिधिलाई किन निराश बनाउने भन्ने सोचले होला ‘यसो कोटासोटा कहाँ मिल्छ वैकल्पिकतिर हालिराख्नुस् न’ भनेर सान्त्वना दिनुभयो ।

मलाई उहाँको सान्त्वनाले चित्त बुझेन । त्यसैवेला साह्रै आँटिला अर्जुन गुरुंगले हात समाएर “महेश बस्नेतलाई जिताउनु पर्छ, ल तपाई दलित कोटाबाट केन्द्रीय सदस्य’ भन्दै उनको क्याम्पतिर लान फकाएँ । प्रतिपक्षका उमेदवार महेश बस्नेतसंग भेट् गराए पनि । महेशले सुने मात्र । त्यसैवेला पार्टी केन्द्रबाट अतिथी भइ गएका सस्थापन पक्षकै नेताहरुले समेत मलाई ‘युवासंघमा त अलि लडाकु पो चाहिन्छ…, महेशको टीममा बसेर उसलाई सहयोग गर’ भनेर सल्लाह पनि दिइरहेका थिए । हामीले जिताउन मरिमेटेको नेताको ममाथिको हासो, केन्द्रीय नेताहरुको निर्देशन र महेशजीको सहमतीले झण्डै मलाई बिचलित नबनाएको होईन । तर मेरो नैतिकताले आवेगमा त्यसो गरिहाल्न मान्दैमानेन । म गरिमा कमरेडको सल्लाहअनुसार आएको, उनीहरुको टीमलाई बलियो बनाउनका लागि नै मलाई प्रतिनिधि बनाइएको थियो । लिष्टमा नराखे स्वतन्त्र भएपनि उमेदवारी दिएर हारौंला बरु तर नैतिकता बेच्दिन भन्ने सोचले खुला केन्द्रीय सदस्यमै उमेदवारी दर्ता गराएँ । अन्ततः विशेषतः निवर्तमान अध्यक्ष अजम्वरको निर्देशनले इन्द्रलालको टीममै मेरो उमेदवारी कायम भएर आएछ ।

भोट माग्ने आआफ्ना तरिका थिए । कोही पर्चा–पम्प्लेट र ठूलाठूला ब्यानरले चौर, पर्खाल रंग्याएर, कोही हात जोडेर, कोही भित्ताभित्तामा फोटोसहितको आआफ्नो वायोडाटा टंग्याएर भोट मागिरहेका थिए । कोही युवतीहरु भने केटाहरुसंग छातीमा छाती जोडेर, अंगालो हालेर, गालामा गाला जोडेर पनि भोट मागिरहेका थिए । कति उमेदवारले यो गालामा त्यो गाला जोडेर फोटो खिचे, केहीले झण्डैझण्डै म्वाई पनि खाए, केवल भोटको लागि ।

चुनाव खर्चका लागि मसंग यथेष्ट पैसा पनि थिएन, अनि भाषण गर्दै हिड्ने कला पनि थिएन । भोट मागिदिन पछि लाग्ने कोही कार्यकर्ताहरु पनि थिएनन् । थियो त केवल हसिलो अनुहार, विनम्रतासहितको दुई हात र नाच्ने कला । सीतलहरसहितको मधेशको जाडोमा जहाँजहाँ आगो ताप्दै गीत गाइरहेका साथीहरु भेटिन्छन्, त्यही चिनाजान गर्ने, नाच्ने नचाउने कलासहित भोट मागियो ।
सुनिन्थो– युथफोर्सका महेश बस्नेत, उनका हातहतियार चलाउने लडाकु दस्ता: उनलाई जिताउन, पेस्तोल राइफल, खुँडा, तरवार नै लिएर लहान पुगेका थिए रे ।

एउटा जमात कतिवेला काटाकाट् र गोली हानाहान होला भनेर डराइरहेको थियो । तर निर्वाचन शान्तिपुर्ण रुपमै सम्पन्न भयो । कोहीकसैले कसैमाथि भनाभन वा धम्की दिएको पनि सुनिएन, देखिएन । म पार्टी संगठनमा पहिलोचोटी चुनाव लड्दै थिएँ, पहिलोचोटी नै भोट हाल्दैथिएँ । भोट हाल्नेवेलामा मेरा हात काँपे । इन्द्रलाल कमरेडले मलाई नपत्याएको हेर्दा उनीभन्दा महेश बस्नेत पो ठिक होकि भन्ने नलागेको होइन । तर मलाई मेरा इमान र नैतिकताले इन्द्रलाल नै ठिक भन्ने नै लाग्यो । अन्ततः आफ्नै टीममा भोट हालियो । यद्यपि, महेशजीका टीममा रहेका केही साथीहरु, जस्तो झपट रावल, रमेश पौडेल, महेश विष्ट र अर्जुन गुरुंङलगायतका मेरा पहिचानका मित्रहरु थिए, तिनलाई भने भोट हालियो ।

एउटा अन्तर्राष्ट्रिय संस्था– सेसीमा हाकिम हुँदा हाम्रो परियोजना अन्तर्गतको १६ जिल्लाका युवा साथीहरु समेत प्रतिनिधि भइआएका थिए । तिनीहरुबाट मात्रै मलाई जितिहाल्छु कि भन्ने झिनो आशा थियो । नत्र म नयाँ थिएँ, अनुभव पनि थिएन, धेरैले विश्वास गरेकै थिएनन् । फेरी कोटामा चुनाव नलडी खुला प्रतिष्पर्धामा उमेदवारी दिएको, आफ्नै मानिस र आफैले विश्वास गरेका अग्रजहरुले समेत मेरो उमेदवारीमा हसिमजाक गरेका हुनाले म विस्वस्थ छदैथिइन । अन्ततः मतगणना शुरु हुँदैगर्दा धन सुनार, प्रमिला बिँडारी र म काठमाडौंतिर लाग्यौं ।

महिला आयोगको गाडी, सुमन अधिकारी भाईको सानदार ड्राइभिंग र हसिमजाकले बाटोभरी चुनाव हार्नसक्ने मनोवैज्ञानिक पीडालाई कम पार्दै र निर्वाचनको परिणाम सुन्दै काठमाडौंतिर आइरहेका थियौं । प्रमिला र म रेडियोबाट अध्यक्षमा महेश बस्नेतको अग्रता सुनेपछि त झनै निराश भइरहेका थियौं । धन दिदीले चुनाव यस्तै हो, एउटा सिकाई त भयो भनेर सान्त्वना दिइरहेकी थिइन् । प्रमिलाको अनुहार निहाउरो भइरहेको थियो, मैले सकेसम्म हसाउने, निर्वाचनलाई बिर्साउने कोशिष गरिरहेको थिएँ । अन्तिमपल्ट सोधौं न त भनेर मैले अञ्जना अधिकारीलाई फोन गरेँ । उनले लहानबाट दुवैले चुनाव जितेको सूचना दिइन् । प्रमिलाले पत्याइनन्, अझ मलाई त उनले जिस्क्याएको जस्तो लाग्यो । फेरी प्रमिला आफैंले फोन गरिन् । नभन्दै सूचना सही रहेछ– हामी दुवैले चुनाव जित्यौं ।

497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank