युवा संघमा मध्यरातको त्यो निर्णय

शनिबार, फाल्गुन ५, २०७४

loading...

- सरोजदिलु विश्वकर्मा



- सरोजदिलु विश्वकर्मा

युवा संघको साँढे सात वर्षः भाग– सात
सरोजदिलु विश्वकर्मा
रणनीतिक निर्माण कार्यशालाले संगठनलाई साच्चै नै तत्काललाई नयाँ उर्जा दिएकै हो । अध्यक्षको कार्यकक्षको फर्निचर फेरिए । उनको बोली र कृयाशिलतामा समेत रुपान्तरण देखिनथाल्यो । तालीका लागि हचुवामा भाषण ठोक्ने र अरुको सल्लाहमा बोल्नेभन्दा अध्ययन गरेर गम्भिर भइ बोल्नथाल्नु भयो । उनका भनाइहरुमा जीवनपयोगी उद्धरणहरु आउन थाले, माक्र्सवादका दर्शनहरु मिसिन थाले । महासचिव निरज कमरेड र महेश कमरेडमा तथा स्थायी कमिटीका फरक गुटका कमरेडहरुमा मित्रवत् ब्यवहार र एकआर्काप्रतिको सम्मान देखिनथाल्यो । स्थायी कमिटीका नेताहरु कार्यालयमा आएर साथी भाईसंग भेटघाट गर्ने र कार्ययोजना बनाई त्यसलाई त्यसलाई नेतृत्व गर्न थाल्नुभयो । हामी कार्यकर्ताहरु पनि स्थायी कमिटी बाहिर बसी संगठनको निर्देशनलाई शीरोपर गर्न तत्पर भइरहन्थ्यौं । नभन्दै कहिले सविधानसभा सम्वन्धी खवरदारी, कहिले हस्ताक्षर संकलन त कहिले जनताको वहुदलीय जनवाद र पार्टी नेताहरुको एकता त कहिले मासर्याली, सडकजाम, मुल्यवृद्धि, भ्रष्टाचार र कालावजारी विरुद्धको प्रदर्शनजस्ता कार्यक्रमहरुले सडकदेखि पत्रपत्रिका र रेडियो टेलिभिजनहरुमा दिनेपिच्छे छाउन थाले । राजधानीबाट निस्कन पत्रपत्रिकाहरुका फ्रन्टपेजमा सानो भए पनि युवासंघको समाचारहरु आइरह्यो । यसमध्ये उपाध्यक्ष झपट रावलको संयोजकत्वमा भएको राष्ट्रियसभाको कार्यक्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले संविधान समयमा जारी हुने प्रतिबद्धता जनाउनु भयो । युवासंघ भित्रको यो एकता र तदारुकताले पार्टीमा पनि हारजीतबाट श्रृजना भएको गुटको विर्सजन गरी एकमना एकताका साथ पार्टी संचालन हुन सन्देश दियो ।

म त सुकिलो लुगा लगाएर विदेशी प्रोजेक्टको गाडी चड्दै आएको, आफ्नो अनुहार देखिने गरी मार्वल ओछयाइएको कोठामा बसेर डिजिटल प्रविधिमा काम गर्ने बानी बसिसकेको र संगै उभिदा इज्जत जाला कि भन्ने डरले प्रहरीबाट परै बस्दै आएको शोखिन युवा । तर अव युवासंघको राजनीतिले मलाई प्रहरीको डण्डा र बुट सहन पनि सिकाइसकेको थियो । माझ सडकको धुलेभुईंमा बसेर आवगमन बन्द गर्दा गाडीका डाइभर–खलासी र प्यासेन्जरहरुले ‘देश बिगार्ने नेताहरुका हनुमाने हो, बाटो बन्द गर्छौ ?’ भनि हप्काउने शब्दहरु पनि प्रीय लाग्न थालेको थियो । जवकि मलाई लाग्थ्यो– म युनाइटेड नेशनको जागीरभन्दा महान अभियानमा लागेको छु ।

हामी विभागीय प्रमुखहरु जिम्मेवारी वहन गर्न जतिसक्दो धेरै र प्रभावकारी कार्यक्रम दिने होडवाजीमा दौड्यौं र मलाई पनि आफ्नो क्षमता अझ बढी प्रदर्शन गरेर अरुभन्दा अघिल्लो पंंतिमा देखिनु थियो । अनि युवालाई रोजगारीसंग जोड्ने पहलस्वरुप उपाध्यक्ष हरी राई र म केशव स्थापित (संघका पुर्व अध्यक्ष) लाई भेट्न गयौं । हामीले उहाँलाई सम्झि गएकोमा बढो खुशी हुनुभयो र युवासंघका योजनाहरुमा जतिसुकैवेला हाजिर हुने आस्वासन दिनुभयो । युवासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केही सुझावहरु समेत दिनुभयो । यसैगरी मेरो नेतृत्वमा गरिवी निवारण कोषका कार्यकारी निर्देशकसंग डेलिगेशन गइ युवालाई वेरोजगारीबाट मुक्त गर्न आग्रह गरियो भने लगतै योजना आयोगका युवाफाँट हेर्ने सदस्यलाई भेटी युवाको हकहितको स्थापना र वेरोजगारी हटाउने योजनालाई प्राथमिकता दिन निवेदन गरियो । जिम्मेवारीको उत्साहले जोशिलो बनाइरहँदा समाज कल्याण परिषदका उपाध्यक्ष दाताराम खनालसंग भेटी गैरसरकारी संस्थाका श्रोतहरु एकिकृत रुपमा परिचालन गर्न र उनीहरुले संचालन गर्ने वजेटको ७० प्रतिशत भौतिक पुर्वाधारमा खर्च गर्ने कानुन ज्ञापनपत्र दिइयो ।
वाईसियल सेलाएर जानेक्रममा थियो । अलिअलि समाचार आएपनि उनीहरुका वारेमा नकारात्मक समाचारहरु मात्र आउँथे । माओवादी सरकारबाट वाहिरिएपछि अन्तर्कलहमा भासिदै गएको थियो भने वाइृसियल अनिर्णयको वन्दी भएकैले होला उसका गतिविधिहरु सीमित हुँदैथिए । वरु उनीहरु ब्यक्तिगत र सामुहिक समृद्धिका लागि कोही विदेशतिर, कोही कृषी फाम चलाउनतिर त कोही गाईपालनतर्फ आर्कषित भइरहेका थिए । यही मौकामा हामी रचनात्मक कामतिर उन्मुख भयौँ । परिणामत : करिवकरिव मृत अवस्थामा पार्टी पुग्दैगएको अवस्थामा देशैभरीका पत्रपत्रिकाहरुमा पार्टीका कम तर युवासंंघको नाम उच्च चर्चामा आउनथाल्यो ।

सायद सोही उत्साहले होला स्यायी कमिटीले २ महिना पनि नपुगी नेपालगञ्जमा संघको दोश्रो केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियो । हामी काठमाडौंबाट अध्यक्षसहितको टोली नेपालगञ्च पुग्यौं । बसको यात्राभरी गाउंदै र नााच्दै जाँदा हामीले गुट भन्ने शब्द नै बिस्र्यौ । ओली गुट भनेर तर्साउने लाग्ने महेशजीको अनुहार अझ प्रीय लाग्न थाल्यो । सायद उनीहरुले पनि खनाल गुट भनेर तिरस्कार गरिरहेका हाम्रा निरज कमरेडलाई पनि त्यस्तै माने होलान् ।

सायद चैत्र ४ र ५ हुनुपर्छ : पुष्पलाल चौकबाट र्याली आरम्भ गरी माथि विरेन्द्र शालिकसम्म एकफन्का घुमी पुनः पुष्पलाल चौक नजिकै रहेको एउटा सानो बगैचामा वैठकको उद्घाटनसभा भएको थियो । प्रमुख अतिथि पार्टी उपाध्यक्ष वामदेव गौतमले दोश्रो केन्द्रीय कमिटी वैठकको सो उद्घाटन गर्नुभयो । भोलीपल्ट कमरेड वामदेवले नै प्रशिक्षणमूलक सम्वोधन गरिसकेपछि वैठकको वन्दसत्र शुरु भयो । आरम्भमा रिर्पोटिंग हुँदा भूगोलका केही कमरेडहरुले यो साढे दुईमहिनाको अवधीमा स्थानीयस्तरमा भब्यभब्य कार्यक्रम गरेर संगठनलाई बृहत र चलायमान बनाएको रिपोटिंंग गरे । तिनका रिपोर्टिंगले हामी केही गरौं भन्ने नवप्रवेशीलाई हतोत्साहित बनायो । तर पछि थाहा पाईयो, जेजति जसरी उनीहरुले रिपोटिंग गरे, ती प्राय गफ हुँदारहेछन् । अर्थात कतिपय साथीहरु घरमा सुतेर बस्छन् या आफ्नो धन्दामा सीमित हुन्छन्, तिनीहरु गफैमात्र लगाएर जिल्ला वा अञ्चल वा क्षेत्र आफैले मात्र चलाउन सकेको गफ दिँदारहेछन् । अर्थात १० जनाको भेटघाट भयो भने १००० जना कार्यकर्तासंग छलफल गरी कार्यक्रम सम्पन्न गरेको भनि झुठो कुरा गर्नेहरु पनि हुँदारहेछन् ।

अन्नतः इन्चार्ज नपुगेको र आयोजकले हामीलाई धेरैदिन पाल्न नसक्ने संकेत दिएपछि वैठक विषय प्रवेश गरेर स्थगन भइ हामी काठामाडौं फर्कियौं । त्यस वैठकले युवा सहकारी सञ्चालन गर्ने, एकघर एकयुवा १० रुपैंया अभियान चलाई संघलाई आर्थिकरुपमा वलियो बनाउने, युवासंघले आजसम्म सम्पन्न गरेका कामहरुको डकुमेन्ट्री बनाउने, सदस्यता वितरणलाई अझ ब्यापक बनाउने आदि एजेण्डामा छलफल गरी यसलाई काठमाडौंमै वैठक आयोजना गरी पूर्ण बनाउने निर्णयसहित समापान भयो ।

माथिदेखि तल्लसम्म काँक्रो झैं पार्टी चिरिए पनि नेपालगञ्ज वैठकपछि युवासंघले भने गुटलाई नै चिर्न सकेको थियो । हामी जागँरिला र केही गरेर देखाऔं भन्ने युवाहरुले कुन गुटबाट जितेर आएका हौं भनेर पनि बिर्सिसकेका थियौं । किरण पौडेल, रमेश पौडल, भगवती विष्ट, प्रमिला विडारी, अञ्जन भट्ट, महेश विष्ट, चन्द्र बुढा, हरेन्द्र यादव, अञ्जना अधिकारी आदि युवासंघमा नवप्रवेशी साथीहरुको चिन्तन नयाँ थियो, संगठनप्रतिको भावना विशुद्ध थियो । त्यसैले कामका लागि मात्र आफूलाई उतार्ने प्रयाशमा थियौंं । तर हामीवीचको एकतालाई केही साथीहरुले पचाइरहेका थिएनन् । अझ, तिमीहरु हाम्रो गुटका पात्र हौ भनेर हामीलाई खटाउनेलाई नै हामी एक अर्काविचको घुलमिल मन परिरहेको थिएन । यसैवीचमा किरणजीको पहलमा महेश बस्नेत, चन्द्र बुढा र म नयाँ बानेश्वर चोकको सुर्यटप रेष्टुरेन्टमा केही प्याग चुस्कीसंगै राती अवेरसम्म बसि संगठनमा भएमा गुटवन्दीलाई अन्त्य गरी अध्यक्षलाई बलियो बनाउने विषयमा छलफल गर्यौं । मैले संगठनलाई कुनै आग्रह–पुर्वाग्रह नराखी गतीशीलरुपमा सञ्चालन गुर्नभएकोमा अध्यक्षलाई धन्यवाद दिएँ । अझ ‘पहिलो केन्द्रीय कमिटी वैठक र रणनीतिक कार्यशालामा जुन भूमिका निर्वाह गर्नुभयो, केहीले महेश डराएर झुकेको भनेपनि त्यसले तपाईंको गरिमा बढाएको छ’ भनेर उनको तारिफ गरेँ । महेशजीले पनि ‘मैले त एक कार्यकाल खाएर संगठनलाई गतिमान बनाई निरजीहरुलाई हस्तान्तरण गरी विदा लिने हो, त्यसैले मप्रति कुनै पुर्वाग्रह नराखी सहयोग गर्नुस्’ भनेर याचना गर्नुभएको थियो । अन्ततः त्यो मध्येरातसंगै हामीले संगठनमा रहेको गुटवन्दीको जरै उखेली युवा संघलाई एकमना एकताको गतिशील संगठन बनाउने अठोट गर्यौं ।

483 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank