निरज र महेश जो कमजोर उसैको पक्षमा लाग्ने महाभारतको बर्बरिकजस्तो…

शनिबार, माघ २०, २०७४

loading...

- सरोजदिलु विश्वकर्मा



- सरोजदिलु विश्वकर्मा

युवासंघका साँढेसात वर्षः भाग पाँच
सातौ महाधिवेशन, लहानबाट मलगायत ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित भइ काठमाडौं फर्कियौं । निर्वाचनमा जीत्नेहरु कार्यालयमा खुला छाती लिएर आउन थाले, पराजित हुनेहरु अव बागवजार टु खशीवजारको गल्लीसमेत हिड्न छोडेका थिए । ती साथीहरु कोही बुड्यौली लागेर विदा भए कोही जितेर केही गर्ने सपना देख्दादेख्दै हारका कारण टाढिए । हामी करिव ७० प्रतिशत साथीहरु नयाँ थियौ, नयाँ सपना बोकेर आएका थियौं । त्यसमध्ये महेशजीको टीमबाट जित्नेहरु मात्र ११ जना (दोहोरो लिष्टमा परि जित्नेहरु समेत १८ जना) अनि निरजजीको टीममा ८८(८३)जना अर्थात ८६ प्रतिशतले वहुमत निरजको पक्षमा थियो ।

युद्धको पनि आफ्नै परम्परागत र मौलिक नियम हुन्छ– मैदानमा रहुन्जेल जस्तोसुकै वार गर्ने, जव हारजीत हुन्छ, जित्नेहरुको अधिपत्यलाई सवैले स्वीकार्नु पर्दछ । अर्थात युद्धको नियमलाई स्वीकारेर मैदानमा गएपछि जसले जित्यो, त्यसलाई नेता मान्नैपर्छ । किनकी जीत भनेको निष्कर्षको लागि हुन्छ, हार भनेको पनि निष्कर्षकै लागि हुन्छ । महेश बस्नेतले अध्यक्ष जित्नुभयो, हामी जे–जताबाट जिते वा हारे पनि उनको नेतृत्वमा उपरान्त अघि बढ्नु नै निष्कर्ष थियो । तर हामीलाई पार्टीका उपल्ला नेताहरुले नै सिकाएका थिए कि हारेपछि पनि जित्नेहरुको जीतलाई अस्वीकार गर्नु अर्थात् युद्ध–मैदान खाली भइसकेपछि पनि जित्नेहरुलाई हराउन खोज्नु । सो अभ्यास युवा संघमा पनि भयो । हामीले आआफनो जीतलाई सहर्ष स्वीकार्यौं तर महेश बस्नेतको जीतलाई सहजसंग स्वीकार्न सकिरहेका थिएनौ । लहानबाट काठमाडौं फर्किनासाथ लहानकै मैदानमा जस्तो पक्ष–प्रतिपक्षको भावना र ब्यवहार हामीसँग अझै थियो । हामी आआफूमा संस्थापन र विस्थापन पक्ष अथवा खनाल र ओली समूह भनेर एकआपसमा इगो लिइरहेका थियौं । महेशजीले पनि आफ्नो टीममा जित्नेहरुसँग छुट्टै बसेर सरसल्लाह गर्नथाल्नु भयो । निरजजीले पनि जम्बो टीम लिएर अलग्ग बैठक बस्न थाल्नुभयो । आआफू नजिकका नेताहरुले पनि सोहीअनुसारको सल्लाह र परामर्श दिइरहेका थिए । चुनाव जितेर आएलगतै महेशजीको सानो टिम बानेश्वरतिर कतै बस्यो भने हाम्रो टीमलाई सिनामंगलको एउटा पोलिक्लिनिकको हलमा भेला गराई अव के–कसरी अगाडि बढ्ने विषयमा निर्देशन दिइयो ।
पत्रपत्रिका र टिभीमा समेत हाम्रो जीत–हारको समाचारले ठूलै ठाउँ लिइरहेको थियो । राजनीतिक सवालमा ती पत्रिकाहरुले मेरो नाम पनि छापिरहेका थिए । त्यसैक्रममा स्थायी कमिटीको पहिलो वैठकले महेश बस्नेतको अध्यक्षतामा २०६६ साल माघ ६ र ७ गते पार्टी कार्यालय बल्खुमा पहिलो केन्द्रिय कमिटी वैठक बस्ने निर्णय गरेको थियो । तर महेशजीको टीमबाट जितेका रमेश पौडेलको सल्लाहमा उद्घाट सत्र खुलासभाको रुपमा गर्ने र सो सभा सुकुम्वासी बस्ती मनहरामा गर्ने मौखिक निर्णय सो टीमले गरेछ । एक किसिमले निर्णयविपरित खुलासभाको निर्णय गरिनु गलत थियो भने अर्कोतिर सुकुम्वासी बस्तीबाट युवासंघ उदाएको देखाउनु स्वभाविक थियो । किनकी हामीले दलित, जनजाति, गरिव, सुकुम्वासीहरुका अगाडि उनीहरुका मित्र हौं भनि देखाउनु थियो भने गरिव, दलित र उत्पीडितलाई माओवादी वा वाईसियलले मात्र हित चिताउँछ भन्ने कथनलाई तोड्नु पनि थियो । भक्तपुर मनोहरा महेशजीको निर्वाचन क्षेत्र र रमेश पौडेल बसोवास गर्ने स्थान, कालान्तरमा त्यसले वास्तवमा उनीहरु दुवैलाई नै फायदा पुर्याउँथ्यो । तथापि, सुकुम्वासीहरु एमालेका पनि हुन्, त्यहाँ रहेका दलित उत्पीडितहरु हाम्रा पनि हुन् भन्ने हेक्का नराखी हामी पार्टी संस्थापन पक्षबाट जित्नेहरुले यसलाई महेश र रमेशको ब्यक्तिगत लाभको सवाल बनाएर नीति विरुद्धको कदम भन्यौं । त्यति ठुलो सोधनीय विषय पनि थिएन, अध्यक्ष भनेर महाधिवेशनले अनुमोदन गरेपछि कतिपय विषयमा उनको ब्यक्तिगत नै निणर््ाय भएपनि हामीले मान्दा हुन्थ्यो, वरु यसलाई मिटिंग हलमा विषय बनाउन सकिन्थ्यो, । तर संघभित्र महेश विरुद्धमा बलियो शक्ति छ भनेर देखाउन निरज नेतृत्वका धेरैले उद्घाटन सभा वहिस्कार गरे । भगवती विष्ट र प्रमिला विडारी,लगायतका साथीहरुले मलाई पनि बल्खु हिड् भनेर तानिरहेका थिए । म नवप्रवशेशी हुनाले कुरो त्यति बुझिन, के गर्न पर्ने नपर्ने थाहा पनि थिएन । म अलमलिदाअलमलिदै सुकुम्वासी बस्तीमै छोडिएछु । किरण पौडेल पनि सुकुम्वासी बस्तीमै छोडिएछन् । अनि हामी दुईभाई महेशजीतिर मिसिएर उद्घाटनको समिक्षा गर्यौं ।

युथफोर्सको ख्यातीका कारण युवासंघको सानो खबर पनि मिडियामा आइहाल्थ्यो । अझ मिडियाले हामी एकआर्कालाई लडाउनका लागि पनि तथ्य वा मिथ्य समाचारहरु छापिहाल्थे । मनोहराको उद्घाटनमै युवासंघ विभाजित भएको खवरले ठूलाठूला पत्रिकाहरु रंगिए । महेश बस्नेतको समुहमा जोडेर मेरो नामसमेत सवैजस्तो पत्रपत्रिकामा छ्यापछ्याप्ती छापियो । म युनडिपीको जागिरे । २००९ सकेर २०१० का लागि जागीर रिन्यु हुनेछ भनेर पर्खिरहेको थिएँ । तर त्यहाँका सहकर्मीहरुले पत्रपत्रिका पढी त्यसमा रेजा लगाई सिनियर अफिसर्ससंग मेरो विषयमा छलफल गरिसकेका रहेछन् । म पुग्नासाथ, मेरा हाकिम मान सरले युवासंघको केन्द्रीय सदस्य भएको बधाई दिदैं नयाँ वर्षको लागि नविकरण हुननसक्ने संकेत दिनुभयो । उहाँले घुमाउरो पाराले ‘तपाईजत्तिको योग्य मानिस जतासुकै टिकीहाल्नु हुन्छ नि, राजनीति पनि राम्रै बाटो हो’ भन्दै कि राजनीति छोड्न पर्ने कि जागिर छोड्न पर्ने युएन्को नियमको बोध गराउनु भयो । जनयुद्धपछिको शान्तिप्रकृया अनि राजनीतिक पार्टीलाई सहयोग र सभासदहरुलाई सशक्तिकरण गर्ने उदेश्यका लागि हाम्रो परियोजना थियो तर हामी कर्मचारीलाई राजनीति गर्न निषेध नै थियो ।

भोलीपल्ट पहिलो केन्द्रीय कमिटी वैठकको बन्दशत्र साविककै बल्खु पार्टी कार्यालयको हलमा बस्यो । अध्यक्ष निर्वाचित भएका महेश बस्नेत त्यतिवेला वास्तवमै निरीह देखिनुभयो । कतिदिन ननिदाएको जस्तो उनको अनुहार मलिनो, अलि डराएजस्तो, हतोत्साही भएजस्तो थियो । वैठकको सभापतित्व गर्दा नै उहाँले आफूले महासचिव हुन खोज्दाखोज्दै एकअर्का विरुद्धको इगोका कारण अध्यक्ष बन्न पुगेको भन्दै हिजो के थियौं, हिजो नै बिर्सौ, अव एकढिक्का भएर युवासंघलाई बलियो बनाउनु पर्छ भनि आब्हान गर्नुभयो । आफ्नो पक्षले थोरै संख्यामा जितेको भएपनि आफू सवैको अध्यक्ष भएको र संगठनलाई बलियो बनाउन हिजो आफूविरुद्ध लाग्नेहरुसमेत अव आफ्नै भएको भन्दै सवैप्रति विनम्र हुनुभयो । अझ उहाँले ‘म आफू तपाईहरुले खोजेजस्तो अध्यक्ष नहौला, तर सवैले चाहेजस्तो युवासंघ चलाउन तपाईहरुको गाली, ताली र थप्पड खान पनि तयार रहेको, मैले गल्ती गरेँ भने म तपाईहरुको अध्यक्ष हुँ त्यसैले गालामा थप्पड हान्नुस्, म सच्याउँछु’ भनेर सार्वजनिक प्रतिवद्धतासमेत जनाउदा हिजोका युथफोर्सका कठोर कमाण्डरको त्यो करुणताले सवैको भावनालाई छोयो । तथापि हलले उहाँलाई अघिल्लो दिनको उद्घाटन सत्रका विषयमा माफी दिएन । उनका विरुद्धमा करिवकरिव हल नै खनियो । मञ्चमा बसेका हाम्रा समुहका साथीहरुले त उनलाई आच्छुआच्छु बनाउने गरी विरोध गरे । महेशजीमाथि भएको एकोहोरो विरोधसंगै कति साथीहरुले पेलेर जानुपर्छ भनिरहेका थिए भने कति चै यत्रो वहुमतले त त्यसलाई ‘फू’ गरेर फाल्नसकिन्छ भनिरहेका थिए । अनि महेश समुहका कतिपय साथीहरु बाहिर चिल्ला कुरा गर्ने भित्रभित्र निरज समुहलाई कसरी फसाउदै जाने योजनामा पनि थिए ।

म त महाभारतको बर्बरिकजस्तो ः युद्धमा शत्रु वा मित्र जो कमजोर पर्यो त्यसको पक्षमा लाग्ने । अर्थात निरजजीलाई कमजोर बनाउदै जाँदा निरजजीकै पक्षमा लागेर महेशविरुद्ध लड्ने, महेशजी एक्लो पर्दा उनकै पक्षमा लाग्ने । भावनात्मकरुपमा निरज समुहकै भएपनि महेशजीको करुणता, लचिलोपन र विपक्षीहरुको एकोहोरो पेलाईले मेरो अन्तर्आत्माले महेशलाई सहयोग गर्न निर्देशन दिइरहेको थियो । अध्यक्ष भएर आइसकेपछि अव हामी अध्यक्षकै मातहतमा र उनकै निर्देशनमा सांगनाकि कार्यमा लाग्नुपर्ने हाम्रो मौलिक धर्म हो । त्यसैले महेशजीलाई कमजोर बनाउनेभन्दा अझ बलियो बनाई युवासंघलाई युवा आन्दोलनको महत्वपूर्ण अंगको रुपमा स्थापित गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । तर गुटगत भावनाबाट स्वयंम् इन्चाज कमरेड पनि मुक्त भइसक्नुभएको थिएन । उहाँले महेश हिजोजस्तै आरम्भमै गलत बाटोमा हिडेको र सिंगो संघको अध्यक्ष हुने हो भने सच्चिनु पर्ने निर्देशन दिनुभयो । महेशजी माथि लगातार बर्सिरहेको शब्दवाणहरु अन्ततः मित्र रमेश पौडेलतर्फ फर्कियो । अनि सुकुम्बासी बस्तीमा उद्घाटन सत्र गर्नुपरेको सम्पुर्ण जिम्मा आफूले लिने बताउँदा हलले रमेशलाई करिवकरिव हलबाट बाहिरिनुपर्ने अवस्थामा पुर्यायो । त्यो विरोध विषयगत नभइकन पुर्वाग्रही थियो । महेशले जितेकोमा हार्नेहरुले रीस पोख्ने थलो जस्तो भयो । अन्ततः इन्चार्जले रमेशलाई माफी मगाउदै वैठक अन्य एजेण्डामा प्रवेश गर्यो ।

999 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank