‘कमरेड ! मैले छोएको सिन्दूर चल्दैन…।’

सोमवार, मंसिर २७, २०७३

- सरोज दिलु



काम्रेड्नीसँगको भेटघाट मेरो पुरानै हो । त्यतिवेला उसले मेरो जात वारेमा थाहा पाएकी थिईन । त्यसैहुनाले लहान महाधिवेशनको पहिलो भेट्घाटदेखि नै उसले ममाथि नजर लगाउँन थालेकी थिई, मुस्कान बाढ्न थालेकी थिई । साथी–सँगीनीहरुसँग मस्किन्थी, रमाउथी, अलि उत्ताउली देखिन्थी अनि जवानीलाई मेरा अगाडि अभिब्यक्त गर्न थालेकी थिई ।

म पाजीलाई पनि ऊ मन नपरेको कहाँ न होर ! सुन्दरतालाई प्राप्त गर्ने अनि त्यसको अनुभूति गर्ने ममा पनि रहर छ । तर म तल्लो जातमा जन्मिएको, ऊ चैं मल्लो जातकी रे । एकदिन वरिष्ठ नेता कमरेड्को भाषणमा ताली ठोक्ने क्रममा हामीसँगै बस्यौं । दाँया ऊ नै थिई, बाँया म । अलि लजाएकी, सर्माएकी, हसीली, रसीली, केही बोल्न खोजिरहेकी । त्यसपछि मैलै ऊसँग माया गास्ने साहस गरेँ । ऊ पनि उत्तिकै उत्सुक र आतुर थिई, सायद । तर दुवैले कसरी कहाँबाट शुरु गर्ने ? दिनानुदिनको भेटघाटको क्रममा हामी कुम जोडेर जुठोपीरो मिसाई खाने खुवाउनेसम्मको तहमा पुग्यौं ।

भेटघाट बाक्लिदैं जाँदा तिनका पुर्खाले मेरो निधारमा लेखिदिएको ‘दलित’ जाति भनेर थाहा पाएपछि उसका अनुहार क्रमशः ओईलाउन थालेका थिए । साथीसंगिनी र नातागोताले सोधखोज गर्न थालेपछि उसका नाक–मुक खुम्चिदै गएका थिए । उसको दोष कहाँ थियो र ? दोष त धुर्तताका माहिर, जसका पुर्खाले धुत्र्यार्इँ गरेरै यो मुलुकलाई कहिल्यै अगाडि बढ्न दिएन, आफ्नो स्वार्थका लागि सकेसम्म अहंकारले जित्ने, नसके चिप्लोचाप्लो बनिदिने, अर्काको स्वार्थको लागि पत्थर गलेर पानी होला तर उनीहरु एक अंश गल्न नजान्ने, भाषणमा, लेखाईमा, पढ्न र पढाउनमा कुशल तर ब्यवहारमा पुरातनाबाट रति सच्चिन नजान्ने जातिको कोखमा जन्मनु अनि त्यो समुदायमा हुर्कनु उसको दोष थियो ।

तरपनि उसले नाटकीय हाँसोमा म तिर हेर्दै भनेकि थिई–’ ….ए, के फरक पर्छ र ! अहिलेको जमानामा पनि यो कथित जातपात….! हामी साम्यवादको महान लक्ष्य बोकेर एउटै यात्रामा सामेल भएका, तपार्इं हामी त फराकिलो हुनुपर्दछ । हाम्रो फेमिलीमा त यस्तो जातपात मानिदैन…।’ उसका रसिला र कसिला वाक्यांशले ममा झिनो उर्जा भरिदियो– ऊसँग माया लाउने र जुनी काट्ने । अनि प्रेम क्रमशः गहिरिदैं गयो ।

ऊ त महिला आन्दोलनकर्मी र श्रृजनाकार पनि हो, राजनीतिक नेता पनि, सामाजिक–सांस्कृतिक रुपान्तरणको पक्षमा भाषण पनि ठोक्न जानेकी । सामाजिक संस्थामा सँगै काम गरेका हामी नागरिक समाजका अगुवा कार्यकर्ता पनि । जातपात र धनी–गरिव नमान्ने साम्यवादको अग्रपथमा लम्रिहेको हाम्रो गौरवशाली पार्टीकी कार्यकर्ता, काम्रेड्हरुकै छोरीचेली ! सामाजिक परिवर्तनका लागि सँगसँगै लड्दै गरेका हामी सहयात्री । म पनि सानो–मसिनो लेख्ने मान्छे, थोरवहुत राजनीतिमा लागेको । अनि हामीवीचमा विचार, पार्टी अनि एउटै सँगठनका कार्यकर्ताको साईनो पनि गाँसियो ।

म पनि के कम्– दलित अधिकारवादी, एन्जीओ, आईन्जीओ सवै खाएको । अनि शुरु भयो– यी मल्लो जातकी मेमसाहवसँगको चक्कर । हामीवीच च्याट्, एस्एम्एस्, फोन र रेष्टुरेन्टको क्याविन, चियागफ धेरैपल्ट भए । एकदुईटा कार्यक्रममा त उसले जातीय विभेद, सामन्तवाद र दलालहरुकाविरुद्ध अति सान्दार भाषण पनि नदिएकी होईन । एकदुईवटा अनौपचारिक गफमा हामीले ठट्यौली गलफ्रेण्ड बोईपे्रुण्डको साईनो नलगाएको पनि होईन । कतिपय होटल, सेमिनारमा सँगैरहँदा साथीहरुले लोग्नेस्वास्नीको पगरी पनि लगाइदिएकै हुन् । कहिलेकाँही त भन्थी– ‘सरोजजी ! दलितभित्र तपाईहरुजस्ता होनहार योद्धाहरु जन्मिसकेका छन्, अव त यो मुलुक हाँक्ने तपाईहरुको पालो हो…। हामी साथमा छौं ।’ यस्तै यस्तै । वाऽऊ, मैले खोजेकै सहयात्री !

समान र सहअस्तित्वमूलक आधुनिक समाज निर्माणको मार्ग बुझ्ने यस्ती पो त, मेरी जीवनसाथी ! मधेसी र जनजातिहरुले आआफ्नै राज्य मागिरहँदा हामी दुवै मिलेर अखण्डताको विरासत किन नबनाऊँ ! झन्, उस्का उसका मुखारविन्दबाट र भाषण–श्रृंखलाहरुमा जातीय विभेदविरुद्धका शब्दहरु प्रष्फुटन हुँदा म त उप्रति चुर्लुम्मै डुबिसकेछु । राजनीतिक आस्था पनि एउटै ः उसका काका–बढा त सर्वहाराका पक्षमा दुइचारपल्ट जेल परेका, पञ्चायती पुलिसका डण्डा खेपेकै काम्रेडहरु हुन् रे । पार्टीका मान्यगन्ने सर्वमान्य नेताहरु नै उसका जातगोत्र अनि मामा, फुपुचेला । उसको घरको आर्थिक स्थितीसमेत पहिलेपहिले उनका बाबुवाजेले नकुम्ल्याएका भए मेरै जस्तो हो, सायद । शारीरिक रुपरंग र ब्यक्तित्वमा पनि म ऊभन्दा कम चैं होईन, फिल्ममा हुने हो भने दुइचारवटी रेखा थापाहरु पनि मसँग छम्छम् नाच्दा हुन् । अतः म सत्प्रतिशतः विश्वस्त थिएँ– उसलाई जीवनसाथी बनाउन ।

मलाई उसको मन जितिसकेको झैं लाग्थ्यो । उसले ईच्छाएका तजवीजहरु खुवाउने वहानामा उसलाई रेष्टुराँमा बोलाएँ र आग्रह गरेँ । शहरीया र आधुनिक संस्कृति यस्तै होः उसले आग्रह स्वीकारी । चिकेनचिल्ली, रोष्ट, मःमः, चाउमिन, चिसोतातो सवै आए । मैले कुरा शुरु गरेँ– ‘विवाह कहिले गर्ने हो त ?’ उसले भनी– ‘खै कोसँग विहा गर्ने र ! हेरीदिनु न त एउटा ।’ ठट्यौली गरी– ‘ठिकै छ, मलाई राम्रै होस् भन्ने चाहेको हो भने राम्रै त होला नी ।’ त्यसपछि हिम्मत गरेरै उथलपुथल् भएका मनभित्र मेरा वहहरु उस्का अगाडि राखेँ– ‘ख्यालख्यालैमा हामी कति नजिक भयौं हो की ?… साथीहरुले हामीलाई धेरै अगाडि बुझ्न थाले ।

अँम्ऽऽऽ …. हुन त तिम्रो लागि लायक हुँला या नहुँला, म त भन्छु यो निकटतालाई अव फरमल् बनाऔं ।” “अहँ, मैले बुझिन…” पुलुक्क हेर्दै ऊ अलि भयभित देखिई । “…साथीहरुले भनेजस्तै हुने हो भने म साच्चै भाग्यमानी हुनेछु, …।’ महिनौदेखिको सपनाहरुको धेर्येताको बाँध टुट्यो र प्रेम बनेर पोखियो– “अव हामी विवाह गरौं…। उसका हात समाउन खोजेँ । तर ऊ एक्कासी रोकिई, खाइरहेका उसका काँटा–चम्चा प्लेट्मा खसे । एकोहोरो हेरिरही । अनि हात हटाएर सम्हालिदै बहाना बनाई– ‘मेरो त अल्रेडी वोईफ्रेण्ड छ ।’ उसको धुर्ततालाई नबुझ्ने म लाटो थिईन । फेरीे नम्र निवेदन गरेँ– ‘दिसइज् नट फनी, आइएम् भेरी सिरियस्…।’

गम्भिर भएर फेरी उसको हात समाएँ । तर मेरा हातहरु झट्कार्दै ऊसले प्रतिवाद गरी– ‘अहिल्यै यसरी सोचि नहालौं ।’ मैले फेरि भने– ‘कसैलाई मनमा सोच्नु, मलाई श्रद्धा गर्नेसँग माया गर्नु गल्ती जस्तो त लाग्दैन मलाई । तिमी पनि त मलाई माया गर्छौ, मैले पनि आफूलाई तिमीप्रति समर्पण गरिदिइसकेको छु ।” “…हाम्रो नयाँजीवन विवाह मात्र होईन, समानताको छलाङ् मार्ने कडी मात्र हुने होईन, यसले नयाँ नेपाल निर्माणमा नयाँ पुस्तालाईसमेत नयाँ उर्जा थप्नेछ । त्यसैले प्लीज…!’ विनम्र शब्दभावले फेरिपनि छाती खोलेर उसलाई आव्हान गरेँ– आई लभ यू ! आई लभ यू…! ’ ‘नो, नाउ इम्पोसिवल् । तपाई र मेरो विवाह अहिल्यै सम्भव छैन…।’ उसले सिधै नकारी ।

उसको अस्वीरोक्ती अझै मलाई पत्यार लागेको छैन । ‘किन, के भो फेरी तिमीलाई ?” मैले सोधेँ । “यही भन्नलाई मलाई बोलाएको ? नमिल्दो कुरा नगर्नुस्” ऊ रुन खोजी । “कहाँनेर नमिल्दो छ ? तिम्रा लागि म कहाँनेर अयोग्य भए ? एउटै वर्ग, विचार र बाटोका सहयात्री, एउटै आस्थाका वन्दी हामी, अव केले रोक्छ हामीलाई…?’ मैले उसलाई यस्ता धेरै प्रश्नहरु सोधीरहें । “इम्पोसिवल इम्पोसीवल इम्पोसीवल ।” अन्नतः उसले पुरै अस्वीकार गरी ।

सम्मानको वदलामा विभिन्न वहानामा वारम्वार तिरस्कार मात्र हुन्छ भने अभिलाशीको धैर्यता टुट्छ र उसले आफ्नो अस्तित्वको लागि हिंसालाई रोज्नैपर्ने हुँदोरैछ । “चट्याङ्गऽऽऽ…” अनि उसको गालामा एक थप्पड हिर्काएँ र भने– ‘तिम्रो नजरमा म आज एक्कासी कसरी वेइमान भएँ…? कहाँ छु त म तिमीभन्दा कम् ? मसँग कुन अयोग्यता छ ? हामीविचमा केको विषमता ?” ऊ उत्तर दिन सक्दिन । “समाजवाद हुँदै साम्यवादको लक्ष्य बोकेको हाम्रो पार्टी, तिमी पनि हामी त्यो लक्ष्यका सहयात्री । जातिवाद् र रुढीवाद्को जरो काट्दै समानतामूलक समाज स्थापना गर्नै हिडेका हौं भने कहाँ छ त दुरी ?

…के आफ्ना विचारहरुलाई राजनीतिक पद प्राप्त गर्ने भोट बैंक मात्रै बनाउन खोज्दैछौ ?’ म सोधीरहेँथे, तर उ चुपचाप चुपचाप थिई । ‘त्यसोभए सिधै भनन– जातपात मिल्दैन । तिम्रा काम्रेड् बाबु–आमाले दलितको छोरोसँग सँगै कुम् जोडेर खाँदा–पिउँदा हुन्छ, तर घरभित्र चैं नल्याएस्, जात जाला है भनेकाछन् की ? खुश परे दिल वहलाए हुन्छ, तर विवाह चैं नगर्नु, हामी मरेपछि स्वर्ग जान्नौ पो भनेकाछन् कि…?” म फेरी शान्त भएर उसलाई सम्झाउन थालेँ– “…के हामीलाई कसैलाई मन पराउने र मन पराएकोलाई माया दिने अधिकार हुन्न ? माया गरेकोलाई विवाह गर्ने, ऊसँग जीवन जिउने हक रहन्न हामीलाई ?

…हामीमा पनि मन छ, भावना छ, माया छ कमरेड ! हामी सँगठनलाई जीवन समर्पित गरेर साम्यावादको लक्ष्य बोकेर हिडेका छौं । प्रत्येक पाईलापाईलामा समानतामूलक र विभेदरहित समाजको खाका बोकेर हिडेका हौं । तिमीले पनि समानताको धेरैपल्ट भाषण ठोकेकी छौ, कविता बकेकी छौ । अतः जाति र वर्गविहिन समाजको निर्माण तिमी–हामी अन्तरघुलन हुने हाम्रो साझा अभियान हो भने मेरो प्रस्ताव तिमीले स्वीकार्नै पर्दछ ।” “हेर, हाम्रो प्रेमले नयाँ र श्रृजनशील उर्जावान पुस्ता जन्माउने छ, यो विज्ञानको नियम पनि हो । त्यो नयाँ पुस्ताले यो समाजको सांस्कृतिक विकृती बढार्दै सामाजिक दुरीलाई अझ घटाउनेछ ।

त्यसपछि हामी स्वतन्त्र, मानवसम्मानको स्वर्णिम युगतिर प्रवेश गर्नेछौं । के तिमी–हामीले खोजेको रुपान्तरण पनि यही होईन र ? तिमी–हामीले भन्दै र लेख्दै आएको यथार्थ संसार यही होईन र ? त्यसोभए त्यो स्वर्णिम युगको थालनी गर्न हामीवीचमा केको दरार….? अनि यो दरारैदरार भरिएको मानसिकताले कसरी हुन्छ वर्गीय विभेदको अन्त्य ? कसरी हुन्छ समाजवादको स्थापना ? कसरी साम्यवादमा पुगिन्छ कमरेड ?”

ती आवेगहरुलाई थेग्न बल्ल एक वाक्य बोली उसले– “द्याट्स आर पोलिटिकस्, वट इट्इज् रियालिटी । इन रियालिटी, …इम्पोसिवल राइट् नाउ सरोजजी !” ऊ नाजवाफ भएर शुण्यतामा हराइसकेकी थिई । जवाफ दिने उस्का ओठहरु नीलानीला भइसकेका थिए । दाँतहरु हरिया हुँदै र काँप्दै थिए । कम्युनिष्टको शिक्षा ग्रहण गरेको उसको मस्तिस्कमा पुराना पण्डितहरु सलवलाएको वाहिरै देखिनथालेका थिए । म बोलिरहेकै थिएँ, ऊ जुरुक्क उठी र अन्तिम वाक्यांशमा भनि– ‘समानता भन्दैमा विवाह नै हुनुपर्छ भन्ने होईन नी ।

मेरा पनि बाबुआमा छन्, समाज छ, छुट्टै इच्छा–आकांक्षाहरु छन् । परिवर्तन भनेको बिस्तारै हुने हो, तपाईंले भन्नासाथ हुँदैन । सो, आई कान्ट…., द्याट्स अल…।’ अनि फटाफट् बाहिरिई उँधोमुन्टो लगाएर । उसलाई रोक्नखोज्दै मप्रति अझ विवश बनाउने प्रयाश गरेँ । किनकी म उसलाई सच्चा मनले माया गर्थेँ । “अनि त्यो मध्येरातमा मेरा छातीमा लपेटिएर तिमीले गरेको प्रण…?” ऊसले पुलुक्क हेरी र मुस्कुराउँदै भनि– फरगेट द्याट्, द्याटीज् एन् एक्सीडेन्ट….।” अनि कुलेलाम कसी ।

म त्यहीनेर परसम्म हेर्दै घोरिइरहेँ– ‘विभेद… । फेरि पनि विभेद ! महान लक्ष्य बोकेको हाम्रो गौरवशाली पार्टीभित्र पनि विभेद ! ओफ्, ! समाजवादको यात्रामा स्कुलिङ् कहाँनेर पुगेन ? कि त मास्टरहरु नै गलत हुन् ? परिवर्तनका लागि राजनीतिमा होमिएका हामी युवा, अझै किन पुरातनाको वन्दी भइरहेका छौं ? अनि उत्तर भेट्छु– समाजमा श्रम, शीप र रगत चल्छ तर पानी चल्दैन ।

हामी परिवर्तनका अभियन्तामा पानी, नानी, चिकेन, मटन सवै चल्छ, तर सिन्दूर चल्दैन । मैले धेरैवेर गम् खाएँ– ‘विभेद सर्वसाधारणमा होइन, हामीमै छ । सानामा होईन ठूलामा छ । वालवालिकामा होईन युवामा छ, युवामा होइन युवालाई आदेश दिने नेतामा छ । गरिवमा होईन, धनिमा छ । पढेलेखेकै पिटी–वुर्जुवाहरुमा छ ।’ अझ धेरै हाम्रै कमरेड्हरुमा छ । अनि म आफैलाई उत्तर दिन्छु– कमरेड् ! मैले छोएको सिन्दूर चल्दैन ।

247 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv