सम्मानको कुरूप तस्वीर !

मङ्लबार, भदौ १७, २०७६

loading...

- सीता ओझा



- सीता ओझा

अहिले हामी आर्य र मङ्गोल कुलको शक्ति सन्तुलन, पर्यावरण र मानवविधको सम्बन्धसँग जोडिएको तीज/हरितालिका र ऋषि पञ्चमी पर्वको संघारमा छौ । यस्ता पर्वहरू परिवार, निजी सम्पत्तिमा मानिसको स्वामित्व र हिजोका गण, कविलाले राज्यको स्वरूप धारण गर्न लागेको अवस्थामा समाजमा एउटा समूहले अर्को समूह, समूहको शक्ति, क्षमता र उसको सिपलाई अस्वीकार गर्दा, गर्न खोज्दा त्यो समाज या समूहहरूमा बढेको अस्थिरता / तरलताको व्यवस्थापनका लागि गरिएको प्रयासका रूपमा मात्रै लिनुपर्ने हुन्छ । विशेष गरी यो पर्वले शिव र पार्वतीको नामको बिम्बका रूपमा महिला र पुरुषबिचको समानता, सहअस्तित्व, सामाजिक सम्बन्ध, परिवारबिचको विश्वास, पतिपत्नीबिचको शारीरिक सम्बन्धको एकनिष्टता र महत्त्वको बारेमा पौराणिककामा लेखिएको पौराणिक साहित्यको मिथक मात्रै हो ।

वाङमय र साहित्यलाई समाजको यथार्थ, जीवन र भोगाइको ऐना मान्ने गरिन्छ । साहित्यलाई समाजको आवश्यकता अनुसार लेख्ने प्रचार प्रसार गर्ने, महिमा, आदर्श बनाएर समाजमा लागू गर्ने कुरा समाजको विकास क्रम बुझ्ने अगुवाहरूको नै हो । अहिलेसम्म नै यस्ता विषय राज्यसँग नजिक भएका धर्म, संस्कार बुझेका अगुवाहरूले राज्यको आड या समर्थन लिएर नै गर्ने गरेका हुन्छन् । समाजसँग जोडिएका यस्ता विषयहरू विशेष गरि परिवार,समाज र सामाजिक आर्थिक सम्बन्ध, जन्म र जनसंख्यासँग पनि सम्बन्ध जोडिएर आएका हुन्छन् र अझै छन्  । यसरी चलेका चलनहरू नै लामो समय पार गरेपछि संस्कृति बन्ने गर्छन् । यसरी विकास भएका संस्कारहरू संस्कृति हुँदै कतिपय बेलामा धर्मसँग पनि जोडिने गरेको इतिहास हामीले अध्ययन गर्दा भेटाउछौ ।

आदिम काल जङ्गलबाटै विकास भएको हो भनेर हामीले पढ्दै आएका छौ । यो विषय आध्यात्मिक र भौतिकवादी दुवैले मानेको विषय पनि हो । मानिसहरूले यसरी जीविका गर्ने क्रममा जे जति भेटे, देखे, भोगे र अनुभूतिमा राखे ती कतिपय उनीहरूको जीवनभर उपयोगी थिए होलान् । कतिपय कुराहरूलाई तत्काल छोड्नुपर्ने थियो होला । त्यस्तै कतिपय अवस्थामा सजीव र निर्जीव दुवैको सहायताले जीवन जोगिएको कारण अदृश्य शक्ति या निराकार, निरञ्जन परिकल्पना भित्रको ईश्वरीय बिम्ब मानिए होला । वर्ण, भाषा र वस्त्र नै नभएको अवस्थामा विकास गरेका कतिपय कुराहरू पुर्वजहरूले महत्त्वपूर्ण मान्नु र ठान्नु स्वाभाविक थिए होलान् । तर हामीले त हाम्रो जीवनको उपल्लो तहको ज्ञान, विज्ञानका अनेकौँ प्रयोग र अनुसन्धान हेर्न, देख्न पाएका छौ । साथ‌ हामीले मान्ने चाड, पर्व, धर्म, संस्कृतिको सकारात्मक र नकारात्मक पक्षको छलफल बहस गर्न सक्ने र मानवीय हिसाबले व्याख्या गर्ने गरेका पनि छौ ।

यसरी हेर्दा विश्वका सबै जातजाति या धर्म, संस्कृति मान्ने मानिसहरूले गर्दै आएका प्रचलनहरू स्थान फरक पर्दै जाँदा कतिपय लोप हुन्छन् / भए भने कतिपय बेलामा बढेर अतिवादतिर पुग्छन् ।

यस्तै प्रचलन मध्यको पारिवारिक संरचनासँग जोडिएको, राज्य र राज्यको जनसंख्यासँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्वको रूपमा जोडिएको देखिन्छ हरितालिका / तीज पर्व । यस पर्वले महिला र पुरुषको दाम्पत्य जीवनको महत्त्व र प्रेमको दर्शाउछ । महिला र पुरुष बिचको विवाह र सहकार्यको अस्तित्व समान छ भन्ने सिकाउँछ । आर्य कुल र मङ्गोल कुलबिचको जातीय समानता र अन्तरजातीय प्रेम विवाह र दुई कुलबिचको फ्युजन र सामाजिक सद्भाव बुझाउँछ । शिव र पार्वतीको परिवार भित्रको जीव, जन्तु र बहिष्कारमा परेकाहरूको संरक्षण र पतिपत्नी बिचको सहकार्यमा रहेको योग्यता र क्षमताको समायोजन र पर्यावरणीय संरक्षणको आवश्यकता बुझाउँछ ।

त्यसैको प्रतिबिम्बका रूपमा हामीले अर्धनारेश्वर र उमामहेश्वरलाई मान्ने गरेका छौ । यस्तो पवित्र सहकार्यको पारिवारिक जीवन र जगतलाई बुझाउने र चिनाउने सांस्कृतिक पर्व हरितालिका मानिरहँदा आफूलाई लोकतन्त्रको पक्षमा उभ्याउने श्रव्य र दृश्य दुवै मिडियाका पत्रकार ऋषि धमलाले आफ्नी सहयात्री/पत्नीलाई हरितालिकाको व्रतको अन्त्यमा खुट्टा धुवाएर पानी खुवाएको तस्बिर सामाजिक सञ्जाल (फेसबुकमा) देख्दा सारै दु:ख लागेर आयो । यो दृश्यले दास युगको याद गरायो । अनि लाग्यो मानसम्मान, अहमले पुरुषलाई कहाँ पुर्याउदो रहेछ भनेर घिन लाग्यो । आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने कतिपय पुरुषहरूले महिलालाई यस्ता अन्धविश्वासबाट बाहिर ल्याउन श्रीमतीको खुट्टा ढोगेर भए पनि परिवर्तन गरेको यथार्थता पढेकी म जस्ताले यो देख्दा कसरी चुप बस्ने ? यस्तो घृणित कार्य नेपालको संविधान र समानताको हक विरोधी भएकोले कारबाहीको माग साथै खेद प्रकट गर्दै यस्ता पत्रकारलाई बहिष्कार गर्न आव्हान गर्दछु । साथै  पुरुषवादी समाजले बेलाबेलामा विभत्स ढंगले देखाउने  ‘सम्मानको कुरूप तस्वीर !’ नेपाली महिलाहरूले अस्विकार गर्न गम्भीर ढंगले पहल गर्न ढिला भइसकेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata