लकडाउनमा पठन अनुभव

बुधबार, जेष्ठ १४, २०७७

loading...

- सुरेश श्रेष्ठ



घुम्न नरुचाउने मानिस सायद कमै होलान् । म पनि तिनै मध्येको एक हुँ । नयाँ ठाउँहरू विशेष गरी प्राकृतिक रूपले सुन्दर ठाउँहरू घुम्न एकदम रुचि लाग्छ । घुम्नका अलावा मलाई साहित्यिक कृतिहरू पढ्न र सुन्न पनि उत्तिकै रमाइलो लाग्छ ।

पेसाले सिभिल इन्जिनियर भए तापनि साहित्यप्रति पनि मेरो रुचि रहेको छ । साहित्य विधाहरू मध्ये पनि नेपाली उपन्यासहरू विशेष गरेर पढ्न र सुन्न मलाई औधी रुचि लाग्छ । कोरोना भाइरसको महामारीका कारण विश्व नै अहिले घर भित्र बन्द प्राय छ । विशेष गरी स्वास्थ्य सेवा त्यति धेरै सबल नभइसकेको हाम्रो जस्तो देशमा त झन् सम्भावित भावी जोखिमसँग डराई–डराई घर बाहिरका गतिविधिलाई सक्दो कम गर्न बाध्य छौँ हामी नेपालीहरू ।

हामीसँग भएको विकल्प पनि लगभग त्यही नै हो । भौतिक शरीर घरभित्र बाँधिएर बस्न बाध्य भए तापनि मन र दिमागले भने समयलाई सहजताका साथ कटाउन कुनै न कुनै माध्यम खोजिनै रहन्छ । लामो समयको लकडाउनसँगै बन्द घरभित्र रहेर सामाजिक सञ्जाल, चलचित्र, भिडियो गेम लगायतका सबै विकल्पहरू एकपछि अर्को गर्दै सकाउँदै जाँदा आफूलाई रुचि रहेको र साबिक रूपमा त्यति समय दिन नसकेको उपन्यास अध्ययनले भने साहित्यिक ज्ञानका साथ–साथै थकाई नलाग्ने गरी जीवनलाई अनेक कोण र आखाँहरुबाट नियाल्ने अवसर समेत दिएको अनुभव रह्यो ।

कुनै राम्रो कथा सहितको चलचित्रमा निश्चित समयभित्र दर्शकले रुचाउने गरी कथालाई पस्कन पर्ने हुँदा धेरै कुराहरू समावेश गर्न सम्भव हुँदैन । त्यसो त चलचित्र निर्माण गर्दा सीमित बजेटलाई समेत ध्यानमा राख्नुपर्ने र केही विषयलाई प्रस्तुत गर्न जटिलताका कारण असम्भव हुने हुँदा निश्चित सीमा भित्र रहेर चलचित्र निर्माण गर्नुपर्ने बाध्यता रहन्छ । तर, साहित्य यी सबै बाध्यताबाट विमुख रहन्छ । र त लेखिन्छन् मान्छेका भोगाइ, दुःख, पीडा र आनन्दका अनुभूतिहरू ।एउटा राम्रो स्रष्टाले चाहेको खण्डमा पाठकलाई शब्द जालभित्र खेलाइ–खेलाइ कल्पनाको संसारमा डुबाउने हैसियत राख्छ । त्यसो त पढ्दा पढ्दै थाहै नपाई कैंयाै पल्ट आँखाबाट तरक्क आँसु चुहिएको र खुसीले जुरमुराएको अनुभवहरू पनि रहेको छ म सँग !

उपन्यासहरू पढ्दा यस्तो लाग्छ सर्जकले त्यो विषयवस्तुलाई कति नजिकबाट, कति गम्भीरता पूर्वक नियालेका रहेछन् भन्ने भान हुन्छ । सामान्य घटनाक्रमलाई पनि सुन्दर ढङ्गबाट प्रस्तुत गर्न सक्नु साहित्यकारको खुबी हो । उपन्यास पढ्दै गर्दा उपन्यासभित्रको घटनाक्रमसँगै म पनि उपन्यास भित्रै बग्ने गर्छु र उपन्यासका शब्द–शब्दले मलाई यसरी बेर्छ कि म सबै पात्र, सबै घटनाक्रमको कल्पना गर्न थाल्छु र त्यसै भित्र हराउँछु ।

उपन्यासका घटनाक्रमले मभित्र भावी घटनाहरूको उत्सुकता बढाउँदै लान्छ र उपन्यासको अन्त्य नभएसम्म डो¥याउँदै लान्छ । कथाको अन्त्यसँगै कथाले कहिले लामो सोचमा डुबाइदिन्छ त कहिले नभोगेको जीवनको अनेक नदेखिएको सत्यको अनुभव गराई दिन्छ । कहिले मनलाई हर्षित बनाएर छाड्छ त कहिले मनलाई लामो समयसम्म कुँडिने गरी अमिलो बनाइदिन्छ । सायद यही अनुभूतिले होला मलाई उपन्यासहरू पढ्नमा रुचि बढाएको ।

मेरो पट्यार लाग्दा लकडाउनका दिनहरूमा बिहानी चियाको चुस्किले दिएको ताजकी झैँ मैले काट्दै गरेको समयमा उपन्यासहरूले मिठास थप्न निकै सहयोग पुगेको अनुभव गर्दै छु । मलाई महान् व्यक्तिहरूको जीवनको भोगाइमा आधारित पुस्तकहरू पनि पढ्न मन लाग्छ । उनीहरूको सफलता अघिको सङ्घर्ष र भोगाइहरूले जीवनमा केही गर्न थप ऊर्जा दिन्छ र आफैँले अनुभव नगरे तापनि पढेरै धेरै पाठ सिक्ने मौका मिल्छ ।

नेपाली जगतमा महान् हास्य कलाकार एवं युगकै महान् जोडी मह जोडीको जीवन भोगाइमा आधारित हरिवंश आचार्यको “चिना हराएको मान्छे”, मदनकृष्ण श्रेष्ठको “महभित्रको म”, सफल पर्यटन व्यवसायी कर्ण शाक्यको “सोच”, सफल व्यवसायी विनोद चौधरीको अटो बायोग्राफी, चर्चित मिडिया पर्सन विजय कुमार पाण्डेको “खुसी”, सफल व्यवसायी रोबर्ट कियोसाकीको “रिच ड्याड, पोर ड्याड”, झमक घिमिरेको “जीवन काँडा कि फुल” मन परेका किताबहरू हुन ।

यस्तै लकडाउन बिच मैले पढेको उपन्यासहरूमा बुद्धि सागरको “कर्णाली ब्लुज”, अमर न्यौपानेको “सेतो धरती”, रमेश दियालीको “छाप्रो नं. ५५” पर्छन् । पछिल्लो समयमा सकाएको उपन्यास रमेश दियालीको छाप्रो नं. ५५ ले आफूले बाल्यकालमा सुनेको र कल्पनाहरूमा सीमित रहेको भुटानी शरणार्थी क्याम्प र भोगाइहरू भित्र चुप्लुङ्ग डुबायो । भुटानबाट सानो छँदै बाबुसहित लखेटिएका दलित महिलालाई म पात्रको रूपमा प्रस्तुत गरिएको उपन्यासले समाजमा महिला त्यसमाथि दलित, गरिब र शरणार्थीले भोगेको पीडालाई पाठकको मन छुने गरी प्रस्तुत गरेका छन् ।
भुटानी शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका शिक्षकहरूसँगको बाल्यकाल भोगाइले होला सायद घटनाक्रमले मलाई झन् मज्जाले छोयो ।

त्यस्तै बुद्धि सागरको कर्णाली ब्लुजले माओवादी द्वन्द्व कालका घटनाक्रमलाई याद दिलाउनुका साथै नेपालको विकट स्थानमा बसोबास गर्ने एउटा साधारण परिवारको जीवन सङ्घर्ष भित्र मजाले डुबायो । लकडाउनको पठन अनुभवले म पनि होरेर म्यानको यो भनाइसँग सहमत भए “पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ” । र, कल्पना गर्छु यो लकडाउनमा यी पुस्तक मसँग नहुँदो हो त लकडाउन कस्तो हुँदो हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments