शहीद रत्न कुमार बान्तवालाई सम्झँदा …..!!

बिहिबार, चैत्र २७, २०७६

loading...

- संजीप राई



आज चैत्र २७ गते अर्थात् ६९ औं जन्म जयन्ती र ४१ औं रत्न स्मृति दिवस ! नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन । पूर्वको लाल तारा अर्थात् नेपाली बाम आन्दोलनका क्रान्तिकारी योद्धा शहीद रत्न कुमार बान्तवाले साहदत प्राप्त गरेको दिन । कमरेड रत्न कुमार बान्तवा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रगतिशील समाज निर्माणमा पुर्‍याउनुभएको योगदान प्रति उच्च कदर गर्दै, एक अविचलित, निडर र महान् नेताको रूपमा उहाँलाई हृदय देखी नै श्रद्धासुमन अर्पण गर्दछु ।

नेपालमा रहेको जहानीय निरङ्कुश राजतन्त्र मासेर जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ २०३२ सालमा गठित अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी कोअर्डिनेशन इलाम जिल्ला कमिटीको सदस्य र सचिव हुँदै २०३५ सालमा स्थापित नेकपा (माले) को केन्द्रीय कमिटीको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ नेपालको सुदूर–पूर्व क्षेत्रका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको पार्टी सङ्गठनको भूमिकामा हुनुहुन्थ्यो । समाजमा रहेको कुरीति, कुसंस्कारको र अन्धविश्वाससँग जुध्दै, विभिन्न लेख रचना मार्फत मार्क्सवादी विचार पस्कँदै साथै आफ्नो घरको मतान कोठाबाट सुरुङ खनी सुरुङ भित्र बैठक कक्ष निर्माण गर्नु भएको थियो । आज हेर्दा उहाँ कुशल एक संगठक, सृजनशील, चमत्कारकर्ता साथै उहाँका चतुर हातले निर्माण भएको सुरुङ हेर्दा सम्पूर्ण प्राकृतिक शक्तिहरूको खानी र आफ्नो विशेषताले युक्त क्रान्तिकारी योद्धा हुनुहुन्छ । कमरेड रत्न तपाई न्यायप्रेमी नेपाली जनताका बीच आदरणीय बन्नु भएको छ र अमर रहनु भएको छ ।

नेपाली बामपन्थी आन्दोलनका योद्धा शहीद रत्न कुमार बान्तवाले सामन्ती राज्य व्यवस्थाको अन्त्य र गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा पार्टी सङ्गठनको सिलसिलामा वि.संं. २०३५ चैत्र २७ गते इलाम जिल्लाको इभाङमा तत्कालीन पञ्चायत सत्ताधारी पुलिसहरूले गोली हानी हत्या गर्‍यो । एउटा संयोग २००८ साल चैत्र २७ गते जन्मिएर २०३५ साल चैत्र २७ गतेका दिन २७ वर्षको उमेरमा साहदत प्राप्त गर्नु भयो । भनिन्छ– “संसारका महान् मानवहरूको जन्म र मृत्युको संयोग सँगै जुरेको हुन्छ ।”

उहाँले आफ्नो मूल्यमान्यता र सिद्धान्त प्रति निष्ठा राख्दै बलिदान दिनु भयो । आज हामी लोकतान्त्रिक आन्दोलनलाई जुन उचाइबाट व्याख्या गर्दछौँ, त्यसको सबै भन्दा ठुलो प्रेरणाको श्रोत कमरेड रत्न कुमार बान्तवा जस्ता शहीदहरूको त्याग, बलिदान र समर्पण नै हुन् । उहाँको आदर्शलाई अङ्गीकार गर्दै बलिदान दिने थुप्रै शहीदहरूलाई सधैँ सम्मान गर्नु पर्दछ, कहिल्यै बिर्सनु हुँदैन ।

आज नेपालको लोकतान्त्रिक र बामपन्थी आन्दोलनले जुन उचाइ प्राप्त गरेको छ, त्यसलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको शक्तिशाली बामपन्थी सरकारले जनतालाई आत्मनिर्भर, सुखी र बनाई प्रत्येक नेपालीहरूको अनुहारमा खुसी तुल्याउनु नै कमरेड रत्न जस्ता शहीदहरूको सपना साकार पार्नु हो । त्यही हुनेछ –कमरेड रत्न कुमार बान्तवा प्रति साँचो श्रद्धाञ्जली !!

संजीप राई
केन्द्रीय सदस्य, राष्ट्रिय युवा सङ्घ, नेपाल तथा
अध्यक्ष, रत्न कुमार बान्तवा खेलकुद तथा अध्ययन केन्द्र ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments