यो समयमा के गर्ने !

सोमवार, चैत्र १७, २०७६

loading...

- प्रज्वल अधिकारी



(यो लेखमा सफा भन्नाले धुलोको एउटा कण पनि नहुनु हो !)

सबैभन्दा पहिले अहिले हामीसँग युद्ध लडिरहेको कोरोनासँग डराएर हैन हिम्मत जुटाएर प्रतिरोध गरौँ । यसकालागी धेरै टिभीका समाचारहरू नहेरौँ । दिनमा एकपटक हेरेर के-के भएछ जानकारी लिऔँ र सतर्क भएर बसौँ । दुश्मनले जहाँ र जताबाट पनि आक्रमण गर्न सक्छ, होसियार होऔँ र आफ्नो शस्त्रमा धार लगाएर बसौँ ।

यो भनेको के ? यो भनेको प्रथमतः आफू मानसिक रुपमा तयार हुने र अन्तिमसम्म पनि यसलाई पराहस्त गर्छु भनेर निर्भयकासाथ उभिने । यो गर्नलाई के गर्ने ? यसका लागि आफ्नो खानपानमा अत्याधिक ध्यान दिने । अदुवा, लसुन, बेसार, ज्वानो, कागतीहरू प्रशस्त खाने । साबुन पानीले मिचीमिची हात धुने । सुग्घर रहने र आफुलाई के गर्दा आनन्द आउँछ त्यो गर्ने । धेरै समाचार हेरियो भने पेनिक हुन सकिन्छ; त्यसैले जानकारीका लागि मात्रै समाचार हेरौँ । यसका लागि टिभीका समाचारहरू धेरै नहेरौँ ।

अब गरौँ कुरा लक डाउनको । लक डाउन भन्नाले जनता आफैले चाहेर सरकारले चाल्ने कदम हो । यो कर्फ्यु भन्दा यो अर्थले फरक छ कि कर्फ्यु सरकारले कुनै पनि आतंक कम गर्न जनतालाई दबाब दिन लगाउछ भने लक डाउन जनता स्वयंले चाहन्छन् । हामी आफैले चाहेको भएर घरबाट बाहिर ननिस्कौँ । सरकारले हामीले भनेको मान्यो भनेर घरभित्रै बसौँ । नत्र फेरि सरकारले बाध्य भएर कर्फ्यु लगाउनु पर्छ । अहिले हामी विपनाको भयंकर विपदमा छौँ; जुन हामीले सपनामा देखे पनि तर्सिन्छौँ ।

अब आयो कुरा “घर बस्दाबस्दै बोर भईयो !” यति बेला पशुपति शर्माको एउट दोहोरी गीत याद आइरहेछ, “सुती सुती खान्छु भन्दा ढाड दुखेर मार्यो,. ऐया ढाड दुखेर मार्यो!” हामीलाई जसो गरे पनि सुख छैन । सधैँ काममा जाँदा एकछिन फुर्सद भएन, एकहप्ता फुर्सद पाए के-के गर्थेँ भन्नेले अहिले यत्रो फुर्सद छ, हो त्यही के-के गर्थें भन्ने काम गर्नुस् ।

अफिस र कामको चटारोले पकाउने खाने गरेर हिँड्दा हिँड्दा तपाईको ग्यास चुल्हो, किचन स्ल्याब/ र्याक हेर्नै नहुने भएको होला, हेर्नू त ! पकाउदा तरकारी झर्यो भने टिपेर कराईमा हाल्न पनि घीन लाग्ने भएको होला । अब तपाईंलाई जत्ती फुर्सद छ, यो समयमा त्यसलाई चम्काउनुहोस् ! कसरी ? भाडा माझ्ने साबन र जाली लिनुस् अनि चम्काउनुहोस्, कति सजिलो ! हतारहतारमा काम गर्दा चिनी, नुन, मसला आदि राख्ने भाँडा हेरि नसक्नु भएका होलान्, तिनलाई पानीमा ढड्याउनु र माझ्नु ! किचनका टायल/फ्लेक्सहरूमा तरकारी र भात टाँसिएर कात्ती परेको होला त्यसलाई पनि साबन र जालीले घोटेर टिलिक्क पार्नुस् ।

तपाईंको लिभिङ रूमको गलैचामा अत्याधिक रौँहरू टाँसिएका हुन्छन्, सोफाका चक्लाहरू फोहोर भएका हुन सक्छन्, लिभिङ रूममा राखिएका सजावटका सामानमा धुलो लागेको हुन सक्छ, टिभिको पछाडि धुलोले डेरा जमाएको हुन सक्छ । किताबको र्याकमा किताबहरू असरल्ल परेका हुन सक्छन् । झुमरमा माकुराले जालो लाएको हुन सक्छ । मिहिन ढंगले त्यसलाई सफा गर्नुहोस् ।

तपाईंको बेडरूममा पनि यसै गरि खाटको कुनामा, खाटमा धुलो टाँसिएको हुन सक्छ । चिसो टालोले त्यसलाई पुछ्नुहोस् । डस्ना, सिरक, सिरानीलाई घाममा सुकाउनुहोस् । ढोका, झ्यालका ह्याण्डिल सफा गर्नुहोस् ।

तपाईंको हतारहतारको जिन्दगीले ट्वाइलेटको जिन्दगी सकिन लागेको हुन सक्छ । पहिला अलिकती हार्पिक, सर्फ र स्याम्पुलाई बाल्टिमा हालेर पानीसँग घोल्नुस । हातमा पञ्जा लगाउनु होला नत्र हार्पिक र सर्फले हात खान सक्छ । अब त्यो घोललाई एउटा चामल ल्याएको बोरा काट्नु र ट्वाइलेटको बेसिन, कमोड/पियान, धारा, बाल टायल, भुइँ टायल, ब्रस राख्ने ग्लास, साबुन राख्ने प्लेट, सावर जताततै सफा गर्नुस् ।

जुत्ता राख्ने र्याकलाई मिलाएर राख्नुस् । बिजुलीका स्वीचहरू कोलिन लगाएर सफा गर्नुस् । झ्याल र ढोकाहरूमा पनि कोलिन लगाएर सफा गर्नुस् । घर/कोठाका कुनाहरूमा माकुराका जालो हुन सक्छ कुचो लगाउनुहोस् । मार्बल/भर्याङलाई टिलिक्क पार्नुस् । भर्याङका रेलिङहरूमा टालोले पुछ्नुहोस् ।

घर बाहिर करेसाबारी छ भने त्यहाँ विभिन्न प्रकारका वर्षे तरकारी लगाउनुहोस् । यो समय वर्षे तरकारीको समय हो । जस्तो- घिरौंला, सिमी, चिचिन्नो, काक्रो, करेला आदि ।

सधैँ एउटै तरिकाले बस्दा झ्याउ लागेको हुन सक्छ त्यसको लागि तपाईंले कोठाको डेकोरेसन परिवर्तन गर्न सक्नु हुन्छ । कार, बाइक, स्कुटरहरूलाई पनि टिलिक्क पारेर राख्नुस् ।

तपाईंको सरसफाई यस्तो हुनुपर्छ कि जहाँ एउटा पनि धुलोको कण नहोस् । किनकी तपाईंलाई कुनै हतार छैन र फुर्सदै फुर्सद छ। कोठाका भित्ताहरू फोहोर भएका हुन सक्छन् सफा गर्नुस् । खाली यस्सो चोक पुगेर हेर्न पाए भन्ने फोहरी सोच हटाउनुहोस् ।

यो समय लक डाउनको हो । त्यसैले विभिन्न परिकारहरू बनाएर नखानुस् । सकेसम्म जोगाउनुहोस्; यो कति लम्बिन्छ थाह छैन । सुरुसुरुमा लक डाउन हुन भन्दा अगाडि ल्याएको खाद्यान्न टन्न देखिन सक्छ तर यो समय लम्बियो भने यसले आपद दिन सक्छ । ख्याल गर्नु !

दराजमा लुगा कोच्चिएका हुन सक्छन्; तिनीहरूलाई सोफोकेसन हुनबाट मुक्त गरिदिनुहोस् । पर्दाहरू फोहरी भएका हुन सक्छ्न्; सफा गरिदिनु जसले मुसुक्क मुस्काउछ तपाईंको हरेक बिहान । डाइनिङ, कुर्सी, टेबलको जताततै सफा गर्नुहोला ।

तपाईंको घर/ कोठाको सरसफाई यस्तो होस् कि यो लकडाउन पछि तपाईंको घरमा आएका पाहुनाहरू प्रभावित होउन् ! अहिले यति सरसफाई गर्नुभयो भने भोलिको भागदौडमा बिहान आधा घण्टा सफा गरे पुग्छ तपाईंलाई ।

हरेक सामान राख्ने एउटा निश्चित बनाउनुहोस् र त्यो सामान चलाएपछि त्यहिराख्ने बानी बसाल्नुहोस् । ल्यापटप, चस्मा, मोबाइल सफा राख्नुस् ।

आफ्ना सन्तानसँग खेल्नुहोस्, गाउँमा बाआमालाई फोन गर्नुहोस्, वाईफाई सम्भव छ भने धित मरुन्जेल गफ गर्नुस् । फुर्सदै नभएर लेख्नै पा’छैन भन्नेले लेख्नुस् । पढ्न पाईएन भन्नेले पढ्नुस् । यो समय सरकारले तपाईंको लागि दिएको अमुल्य समय हो; यसको भरपुर उपयोग गर्नुहोस् ।

पुजा कोठा सफा गर्नुहोस् , पुजाको थाली, दीयो, कलश, शंख, घण्टा तिहारदेखी सफा भएका छैनन् होला राम्ररी सफा गर्नुस् । बिजुलीका बल्ब, ट्युबलाईटलाई टालोले पुछ्नुहोस् ।

यो कोरोना त आउँछ जान्छ तर यो बानीले तपाईंलाई जीवनमा आईपर्ने स्वास्थ्य सम्बन्धी अनेक समस्याबाट जोगाउन ठूलो मद्दत पुर्याउछ । आफुलाई के गर्दा मजा लाग्छ त्यसको मजा लिनुहोस् । मोबाईल धेरै नचलाउनुहोस् । मोबाईल त जति बिजी भएपनि तपाईंले समय निकाल्नुहुन्छ । धेरै नसुत्नुहोस् यसले अल्छी बनाउछ । यो बेला एकदम जाँगरिलो बन्नुहोस् । यसले तपाईंको इम्युनिटी बलियो बनाउछ । व्यायाम गर्ने बानी बसाल्नुस् ।

अब एउटा कुरा के मनन् गर्नु भने यति लामो लेखमा मैले कोरोना एकदुई पटक मात्रै सम्झें ! तपाईं पनि यसै गर्नुस् । पेनिक नहुनुस् !

यति नगरेर कुनै दिन म तपाईंकोमा आउँदा फोहर देखेर “के हो यस्तो ?” भन्दा फुर्सद नभएर नभन्नुहोला !

धन्यवाद !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments