महामारी, एकान्तवास र दैनिक जनजीवन

बिहिबार, चैत्र १३, २०७६

loading...

- सीता ओझा



सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

जब कुनै पनि रोग प्रकोपको अवस्था पार गरेर अनपेक्षित रूपमा  संक्रमित हुँदै ठूलो जनसंख्यालाई प्रभाव पार्दै त्यसको संक्रमणले धेरैको ज्यान लिने अवस्था भयो भने त्यसलाई महामारीको संज्ञा दिने गरिन्छ ।

अहिले  एसियाली राष्ट्र चिनको वुहानबाट  संक्रमण फैलिएको कोभिड-१९ नामक कोरोना भाइरसका कारण  संसारभर आतंक छाएको छ ।  यसले मानिसको दैनिक जनजीवनमा त प्रभाव पार्यो नै सँगै खानपान, बस उठ र रहनसहनमा व्यापक परिवर्तन ल्याइदिएको छ। साथै संसारको अर्थव्यवस्थामा मन्दी मात्रै होइन ठप्प भई विश्व अर्थतन्त्रमा गिरावटती थकेलेको छ । यो र यस्ता महामारी र विपत्तहरू मानवजातीका लागि निकै ठूलो चुनौतीपुर्ण भएर आउने गर्छन् ।

विश्व बजारमा  मै हुँ भन्ने अमेरिका, बेलायत, अनेकौं युरोपेली राष्ट्र, अष्ट्रेलिया, क्यानाडा, नर्वे, जापन र चिन जस्ता मुलुकलाई कोभिड – १९ ले  अत्याएको मात्रै छैन, अहिले यसको संक्रमणबाट आफ्ना नागरिकलाई कसरी जोगाउने भन्ने बाहेक अन्य चिन्ता गर्ने फुर्सद  नै छैन । यसको सामाना गरिसकेको चीन बाहेक कुनै शक्ति राष्ट्रले अन्य देशका नागरिकको स्वास्थ्य रक्षाका लागि सोच्ने स्थिति देखिन्न । विश्व इतिहासलाई अध्ययन गर्ने हो भने यस्ता अनेकौ प्रकारका विपत्त र महामारी विभिन्न समयमा विभिन मुलुकहरूले निकै पटक सहनु परेको अवस्थामा छ । त्यस्तै  यस्ता घटनाले  अनेकौं पटक विश्व अर्थ व्यवस्था तथा शक्ति नेतृत्वको भुमिकामा बदलाव ल्याएको देखिन्छ  ।

विश्वमा फैलिएका यस्ता भयानक महामारीहरूमा अहिलेको कोरोना संक्रमण, डेङ्गो, प्लेग, स्वाइन फ्लु, बर्ड फ्लु, ब्ल्याक डेथ, विफर, जन्डिस, राइन्डर पेस्ट, मलेरिया, अहिले भारतलाई सताइरहेको चिकनगुन्या, र भर्खरे चिनमा मुसाको कारण देखिएको हान्ता जस्ता सरूवा रोगले कतिपय मानव वंश र सभ्यता  नै समाप्त र लोपोन्मुख जातीमा परेको अनेकौं उदाहरणहरू  छन् ।  यसरी हेर्दा महामारी राम्रो कुरा हुँदै होइन, जसले हजारौं  निर्दोष मानिसको ज्यानै लिन्छ, परिवार विचलित गराउछ  । बाचेकालाई गरेर खान कठिन हुन्छ ।

महामारी मात्रै होइन मानव र प्रकृति कै कारण पर्ने अरू पनि कठिनाइहरू मानिसले आफ्नो जीवनकालमा सहन बाध्य हुनु पर्ने हुन्छ । जस्तै हामीले व्यहोर्नुपरेको वि.स. २०७२ सालको भुकम्प, अष्ट्रेलियाको  भिषण आगलागि, जापान,थाइल्यान्डको सुनामी, अमेरिकी सामुद्रीक  र धुर्विय आँधीबाट भएको धनजन र भौतिक क्षतिको जस्ता विपत्तिहरूको  पुर्ति अझै हुन सकेको छैन । भए पनि विपतको चपेटामा पर्नेले सुखानुभुति गर्नै नपाइ  दुखैदुखमा जीवन लिला समाप्त गर्नु पर्ने अवस्था हामीले धेरै देखेका छौं ।

यस्तै अर्को सुन्दै मन भारी भएर आउने विपत्ति भनेको युद्ध पनि हो । प्राकृतिक रूपमा हुने, भुकम्प, ज्वालामुखिको विष्फोट, आँधीहुरी, चट्याङ, बाढी, पहिरो  जस्ता विपत्तिले विश्वका मानवजातीलाई विभिन्न समयमा निकै चुनौती व्यहोर्नुपर्ने अवस्था आएकै छ । त्यस्तैगरि मानिसकै कारण पनि मक्का मदिनामा हुने मानिसकै भाग दौड र विभिन्न प्रकारका दुर्घटनाको कारण पनि निकै ठूलो  मानविय क्षतिका भएको देखिन्छ । यस्ता आपत्तविपत्तले अनेकौं परिवारभित्र पारिवारिक, सामाजिक, आर्थिक, शारीरिक समस्याहरू जन्मेका छन । यसरी अनायास या कुनै विपत्तिको कारण मानविय जीवनमा पर्ने समस्याले मानिसलाई पिरोल्ने मात्रै होइन,  कतिपय बेला मानिस मानिसकै बोझ बन्नु पर्ने  अवस्था बन्छ । यस्ता विषयहरूका बारेमा हरेक मुलुकले बेलैमा सोच्नुपर्ने र त्यस अनुसारको सम्बोधन गर्नुपर्ने हुन्छ ।

नौ वर्ष अघिदेखि सिरियामा भएको युद्धमा मृत्यु हुनेको संख्या तीन लाख असी हजार पुगेको छ । त्यस युद्धमा एक लाख पन्ध्र हजार युद्धसँग सम्बन्ध नभएका मानिसले ज्यान गुमाउनु परेको तथ्यांक भर्खरै मात्र विभिन्न मानवअधिकारकर्मी अनुगमनकारीहरूले सार्वजनिक गरेका छन् । त्यस युद्धमा बाईस हजार बालबालिका र तेह्र हजार त महिला मात्रै रहेको दावी छ । त्यस्तै शक्ति राष्ट्रका अनेकौं आर्थिक-सामाजिक क्रियाकलाप र त्यससँग जोडिएको विचार, प्रभाव, भू-राजनीति , अर्थ, शक्ति र अन्तरिक्षसगँ जोडिएको पहुँच प्रतिस्पर्धामा आफुलाई अघि देखाउन र प्रभावित बनाउन गरिने अमानवीय दम्भले मानिस-मानिसबीच र राज्य-राज्यबीच देखिने असहिष्णु व्यवहारका कारण अहिले शक्तिशाली राज्य र प्रभावका प्रतिस्पर्धामा शीत युद्ध चलिरहेकै छ । पछिल्लो समय पेट्रोलियम पदार्थसगँ जोडिएर अमेरिका र खाडी मुलुक, विचार र सिद्धान्त जोडिएर दक्षिण कोरिया र अमेरिका, व्यापार, अर्थतन्त्र र आणविक शक्तिसगँ जोडिएर अमेरिका र चीनबीच पनि शीतयुद्ध  चलिरहेको देखिन्छ ।   यस्ता होडबाजीले हरेक मुलुकका नागरिकहरू विच मानसिक रूपमा चिन्ता र दम्भ जन्मन सक्छ । यसरी जन्मिएको चिन्ताले मानिस विस्तारै डिप्रेशनमा जाने या प्रभावशाली बन्न हिंस्रक बन्ने खतरा बढ्ने सम्भावना हुन सक्छ ।

अहिले नेपाल पनि विश्व आतंकको प्रभाव बाहिर छैन । एक महिना अघि चीनमा पढ्न गएका नेपाली युवाको नेपाल आगमनसँगै प्रवेश गरेको कोरोना भाइरसको संक्रमण अहिले तीन पुगेको देखिन्छ । सरकारी श्रोतलाई आधार मान्दा यी सबै संक्रमण हामी कहाँ बाहिरबाट संक्रमित भएर नेपाल भित्रिएका छन् । यस संक्रमण पछि हामीहरूमा मानसिक रूपमा सचेत, मनोवैज्ञानिक रूपमा स्थिर बनाएको छ । यहि अवस्था देखिएको कारण सरकारले होसियारी अपनाउदै देशै ठप्प हुनेगरि लकडाउन गरेको छ । यसले जनजीवनलाई सुरक्षित बनाउदै संक्रमितहरूको पहिचान गर्न र रोगको निदान गरेर आम नागरिकलाई जोगाउन गरिएको हो । यस्तो संवेदनशील विषयमा पनि हामीले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा कतिपयले मज्जाक गरेको त कतिपयले रोगसँग जोडेर अनेकौं भ्रम सृजना गर्न खोजेको देखिन्छ । त्यस्तै यस्तो रोगको प्रकोप नबढोस अथवा महामारी नबोस् भनेर जो जहाँ छ, त्यहीँ सुरक्षित बसेर या रोग लागेमा स्थानीय रूपमै उपचार गरेर बस्नु पर्नेमा विदा जस्तो गरेर हुलका हुल, झोलीतुम्वि बोकेर कोही विमानबाट, कोहि स्थल सवारी र कतिपय पैदलमार्ग प्रयोग गरेर नेपाल भित्रिने कुराले यहाँ भएकाहरू पनि कोरोनाको संक्रमणमा पर्ने खतरा अत्यधिक बढ्यो । यसरी फैलिएको संक्रमणलाई रोक्न स्वस्फूर्त हरेक देशले मानवीय आवागमन रोक्नु पर्ने विषय प्रमुख रहेछ भन्ने शिक्षा लिएको हुनुपर्छ । त्यस्तै हरेक प्राणीले आफ्नालाई नै माया गर्ने हो, आपतकालीन अवस्थामा आफ्नै खोज्ने हो तर रोगको संक्रमण हुनसक्ने देखेपछि आफन्त जहाँ छ त्यहीँ सुरक्षित हुन निर्देशन दिनु पर्ने, साथै सम्बन्धित देशले पनि बाहिरको आवतजावतमा रोक लगाउन सकेको भए यस्तो भयावह अवस्था आउने थिएन ।

अहिले हामी कोभिड -१९ को कारण बन्द कोठाको अथवा बन्द घरको एकान्तवासमा बसेका छौ । एकान्तवासले हामी सबैलाई सुरक्षित हुन मद्दत गर्नेछ । राज्यले प्रवाह गरेको सुचनालाई ग्रहण गर्दै  सुरक्षित हुनु बाहेक हामीसगँ अन्य विकल्प छैन । यहि संक्रमणलाई ध्यानमा राखेर सरकारी अस्पतालहरूका सबै  नियमित सेवाहरू बन्द गरि कोरोनाको संक्रमणसगँ जोडिएको विषयको मात्रै परिक्षण र स्वास्थ्य उपचारलाई प्राथमिकता दिएको अवस्था छ । सबै स्वास्थ्यकर्मीहरू नागरिक सुरक्षाका लागि अहोरात्र खटेका छन् । नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले रातदिन नभनि सेवा दिई रहेको अवस्था छ । यस्तो बेलामा राज्यका तीनवटै सरकारले निम्न विषयमा विशेष सावधानी र व्यवस्थापन गरिदिए नागरिकको जनजीवनलाई धेरै सहयोग पुग्ने थियो  ।

१) अत्यावश्यक वस्तु जस्तै:  खाद्य सामग्री, औषधी, दुध, हरियो र सुख्खा तरकारी, ग्याँस लगायतको टोल टोलमा बिक्रीवितरण हुने या गर्ने वातावरण
२) नियमित एक घण्टा धारामा पानी आउने प्रबन्ध
३) विक्री वितरण प्रणाली कसरी व्यवस्थित र सुरक्षित बनाउने विषयमा नागरिकलाई सहि सुचनाको प्रवाह
४) विक्रेताको समान र सुरक्षाको व्यवस्थाको प्रबन्ध
५) अत्यावश्यक वस्तु खरिद, विक्री तथा वितरणमा भिडभाडको नियन्त्रणका लागि विशेष सावधानी
६)  स्थानीयवासीरूपमा दैनिक ज्यालादारीमा काम गरेर गुजरा चलाउनेहरूको खाद्य अवस्थाको पहिचान र व्यवस्थापन
७)  आम्दानी नहुने, मागेर खाने, अनौपचारिक श्रमिकहरूलाई  खानेकुराको व्यवस्थापन
८) आवश्यक सामाग्रीको उपलब्ध र परेको समस्याको समाधानका लागि सम्पर्क नम्बर
९) आवश्यकता अनुसार नगदको कारोबारका लागि बैंकिङ सेवा
१०) सावधानी र सुरक्षाको लागि  बेला-बेलामा माइकिङ

यस्तो संक्रमण बढ्ने रोग सरकारले ल्याएको होइन र नागरिकलाई पनि संक्रमित हुन मन छैन । यस्तो बेलामा नागरिकहरूले सरकारी नियम नमान्ने, हुलहुज्जत गर्ने, नाक,मुख खुल्लै राखेर हिड्ने, भित्रि चोकहरूमा जम्मा हुने, तास खेल्ने अथवा बन्दको रमाइलो हेर्न जाने कुराले आफैंलाई रोग लाग्ने र अरूलाई रोग सार्ने बाहेक अरू कुरा पाइन्न । त्यस्तै यस्तो भयावह संक्रमणकारी रोगका बारेमा अन्धविश्वास र अफवाह फैलाएर भ्रम सृजना गर्ने कुरा अपराध र पापी कुरा हो भन्ने बुझ्नै पर्छ । यस्ता कुरामा समयमै सचेत बनौं, आफू बाचौं र अरूलाई पनि बचाऔं । सबैलाई निरोगी रहने शुभकामना !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments