प्रचण्डलाई एक विद्यार्थीको खुलापत्र

बिहिबार, साउन १९, २०७४

loading...


आदरणिय प्रचण्ड ज्यू, ।

म रामपुर कृषि क्याम्पसको खण्डहर जस्तो सगरमाथा होस्टेलबाट यहाँलाई पत्र लेखिरहेको छु । यो पत्र लेख्दै गर्दा आज भन्दा २० बर्ष पहिला जनताले भोगेको असमानता र पीडालाई महशुस गरेर एक युवकले जनविद्रोहको तयारी गरेको, रामपुर क्याम्पसका होस्टल र कक्षाकोठाहरूमा विवेचना गरेको काल्पनिक दृष्य मेरो मस्तिष्कमा नाचिरहेका छन्। रामपुर क्याम्पस देखि उठेको युवक आजको प्रचण्डको रूपमा स्थापित हुनु वास्तवमै अद्भुत् र प्रेरणादायि छ।

म तपाईलाई अत्यन्तै सम्मान गर्छु र प्रेरणाकोरूपमा लिन्छु तर आजको दिनमा यहाँ रामपुरमा भैरहेका गतिविधिले मेरो मनमा केहि प्रश्न उठेका छन् र तिनको जवाफ आजको प्रचण्डले फेरि त्यहि २० वर्ष पुरानो युवकको रूपमा रामपुर क्याम्पसको सगरमाथा होस्टलमा बस्ने आफ्नो भाईलाई दिनुपर्छ भन्ने ठान्छु। स्वादिला विलासि राजनैतिक शब्दभन्दा आम नेपालीले बुझ्ने सिधा ईमान्दार जवाफको आशा गरेको छु। अझ भन्दा मलाई जवाफ पनि चाहिदैन, बस तपाईले मेरो कुरालाई ईमान्दारीतापूर्वक सोचिदिए पनि पुग्छ।

प्राईभेट क्याम्पसको सम्बन्धनको विषयलाई लिएर हिजो रामपुर क्याम्पसमा वृहत प्रदर्शन भयो। सम्बन्धन दिनु उचित अनुचित यो वैचारिक नितिगत बहसका विषय होलान् म यसमा खासै जान चाहिन। तर यसैको विरोधको क्रममा माओवादि सम्बद्द अखिल क्रान्तिकारीले जुन स्तरका गतिबिधि गर्यो, त्यो म जिवनभर बिर्सन सक्दिन। करोडौँको लगानिमा निर्माण गरिएको नयाँ भवनको प्राङ्गढमा टायर बालियो, ढुङ्गा हानेर सिसा फुटाईयो, ढोका फोरेर आगो लगाईयो। लाखौँको क्षति भयो। डिन कार्यालयमा पनि टायर बालियो।

तोडफोड गर्नु भन्दा पहिले मेरा साथीहरूले हातमा मसाल लिएर राकेँ जुलुस निकाले। नाराबाजी गरे। भिडमा संङ्लग्न नभए पनि छेउमा बसेर हेरिरहेको मेरो मनमा एक प्रकारको चिसो पस्यो, मन अधिर भयो र मुटुको चाल बढ्न थाल्यो। हिजोसम्म सङ्गै खाने सुत्ने गरेका साथिभाई अर्कै ग्रहबाट आएका परजीवि जस्ता लाग्न थाले। एक प्रकारको डर पनि लाग्यो र चिन्ता पनि जागृत भएर आयो। घरबाट हिड्ने बेलामा बाले राम्ररी पढेस, बहिनि सानै छे, त्यसको जिम्मा पनि तेरै हो, तलाईँ पढाउँदाको ऋण छ, बुझेकै छस् भनेर आखाँ भरि आसु लिएको सम्झिए। चक्कर लाग्यो, वाकवाकि भयो, उकुसमुकुस भएर आयो। साथीहरू प्रतिको मोह भङ्ग भयो, पद्दति प्रतिको विश्वास समाप्त भयो र तपाईलाई सम्झिए प्रचण्ड ज्यू । आज भन्दा करिब २ वर्ष अघि रामपुर आएर तपाईले यो क्रान्तिकारीको अखडा हो भनेर भाषण गरेको सम्झिए।

क्याम्पसमा भएको क्षतिको त पूर्ति होला, पूर्निर्माण होला तर के म जस्ता विद्यार्थिलाई परेको मनोवैज्ञानिक असर र उग्र प्रदर्शन गर्ने मेरा साथीभाईमा जागेको उदण्डताको समाधान होला तरु मेलै देखिरहेको थिए, आगो बाल्ने भिडमा राम्रो अङ्क ल्याउनेहरू पनि थिए। भोली उनिहरू जिल्लामा हाकिम भएर जान्छन्। आम नागरिकले तिनिहरूबाट कस्तो न्यायको आशा गर्नेरु जनयुद्दले नेपालमा गणतन्त्र ल्याउन सहायता त गर्यो तर कस्तो सामाजिक आचारणको विकास गरेछ आज बुझ्दै छु र झस्कदै छु। हिजोसम्म कुनै राजनितिक संगठन नजानेका विद्यार्थिहरू आज उग्र भएर क्याम्पस जस्तो मन्दिर स्वरूप साझा सम्पतिमा आगजनी गर्न थाले।

आफूलाई क्रान्तिकारी भएकोमा निडर महसुस गर्न थाले। निडर हुनु राम्रो होला तर त्यो निडरतामा जिम्मेवारीता र दायित्व बोध पटक्कै थिएन। कस्तो सामाजिक आचारण स्थापित गर्नु भएछ तपाईहरूले। विदेशमा मेरा समकक्षिहरू प्रयोगशालामा अनुसन्धान गरिरहेका छन। तर हामी टायर बालिरहेका छौँ, सार्वजनिक सम्पत्तिमा आगो लगाईरहेका छौँ। म गरिब किसान परिवारबाट आएको हुँ। म आझै पनि बिहान साझँ ट्युसन पढाएर खर्च धानिरहेको छु। सधैको बन्दले ४ बर्षे कोर्ष ५ बर्षे हुने देखियो। मेरो समय हजुरको जस्तो महत्त्वपूर्ण नहोला तर म छिट्टै जागिर खएर पहिलो कमाई बाको हातमा राखिदिन चहान्छु।

मेरा बा, आमा र बहिनीलाई अझ एक बर्ष बढि दुख दिन चहान्न। यहाँले सधै रामपुर क्याम्पसलाई आफ्नो पकड क्षेत्र भन्नुहुन्छ, त मेरो अनुरोध यहाँलाई तपाईले यहाँका आफ्ना कार्यकर्तालाई सत्य मार्ग देखाएर पढाईलेखाई हुने निश्चित गराईदिनु पर्ने भयो। परिवर्तनको लागि धेरै सहिद भए, धेरैले त्याग गरे भन्नुहोला तर मेरो समय मेरो बाको उमेर सँग जोडिएको छ। म सहिद भएर होईन जिवित रहेर देशको विकास गर्न चहान्छु। तपाईले जस्तो जनयुद्द गर्ने सहास नभए पनि रामपुरका क्रान्तिकारीहरूको डरका बाबजुत यहाँलाई पत्र लेख्ने सहास गरेको छु। धन्यवाद।

रामपुर क्याम्पसको सगरमाथा होस्टलबाट
(पत्र बहाकको चहाना अनुसार उनको नाम र परिचय गोप्य राखिएको छ) ।

1062 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank