‘बेश्या’सँग बिताएको साँझ

शनिबार, मंसिर ११, २०७३

loading...

- प्रकाश आङदेम्बे



होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन।

हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टिभी हेर्छु। र्स्पोटस, एएक्सएन र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम। यसो बेला–बेलामा बाहिर निस्केर तल बाटोतिर हेर्छु । त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क। पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु। केहीक्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन।
ब्याग खोतल्छु र डाइरी निकाल्छु। केही लेख्न खोज्छु अहँ फुर्दैन। त्यसलाई पनि थन्क्याउँछु। केही नभएपछि आफ्नो पुरानो गजल सङ्ग्रह ‘यात्रामा कतै निस्कँदा प्रायः बोक्छु’ निकाल्छु र त्यति मज्जा नलागे पनि पढ्छु। यो होटल धेरै तवरबाट चर्चित रहेछ। सबै सुबिधाहरूको ब्यवस्था छ। भनेको अर्डर तुरून्त पूरा हुन्छ। यी भन्दा छुट्टै बिषय पनि छ यहाँ। त्यो हो समाजले नामाकरण गरेको बेश्याहरूको मुख्य थलो। चर्चित भनाउँदा व्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका भलाद्मीदेखि धर्मका पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म सबै–सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ १५–२० जना युवतीहरू राखिएका छन्। कम उमेरकादेखि लिएर अर्ध उमेरसम्मका पनि छन्। ५० देखि ५,०००।– सम्म विविध मूल्यका ।

समय दिनको दुई बजेको हुँदो हो। दुई जना युवतीहरू बिनाअनुमति मेरो रूममा पसे।
“एक्लै हुनुहुन्छ ?” एउटीले सोधिन्।
“जोडी छैनन् ” मेरो भनाई ।
“मिलाउँदा भै हाल्छ नि” सुझाव।
“आवश्यक छैन” प्रतिक्रिया। त्यसपछी केहीक्षण मौनता।
“पत्रिका पढदा हुन्छ ?” थोरै समयपछी एउटीको जिज्ञासा।
“किन नहुनु” मेरो भनाइ।
मलाई थाहा छ होटलको चापभन्दा उनीहरू धेरै छन्। त्यसैले सकेसम्म ग्राहक फकाएर रकम जम्मा गर्नु उनीहरूको पोलिसी हो। मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र हो भन्ने म बुझछ्। मेरो प्रतिक्रिया केही नरहेपछि एउटी थपक्क उठेर बाहिर जान्छिन्। अर्की बसी रहन्छिन्।
“तिम्रो नाम के हो ?” सोध्छु।
“निलिमा” एक क्षण सोचेर बोल्छिन्।
“आहा ! जस्तो काम त्यस्तै नाम” भन्छु।
“बिल्ला गर्नु भएको” पत्रिकाबाट नजर हटाएर आँखा फार्दै भन्छिन्।
“के को बिल्ला गर्नु” म सफाया दिन्छु।
“यस्तो धन्दा गर्छ भनेर गिज्याउनु भएको हो तपाईंले, म राम्ररी बुछु” दुःखेसो पोख्छिन्।

“मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र। आफ्नै जस्तो सम्झी रा’छु” कुटनीति प्रयोग गर्छु।

मेरो सम्वादले उनलाई केही भएजस्तो लाग्यो। उनी खट्पट् गर्न लागिन्। अनुहारमा एक्कासी बर्षा यामको पहाडको मौसम झैँ परिवर्तन झल्कियो।
“तिम्रो हातमा यो के भा’को ?” उनको पाखुरामा भएको घाउको खाटो देखाएर सोध्छु। “यो सबै किन तँपाईलाई भन्नु” उनी मप्रति शङ्का ओकल्छिन्।
“मैले तिमीलाई आफ्नो जस्तै सम्झेर पो सोधेको त” भनें।
उनी एक क्षण मौन साथै गम्भीर भइन्।

“म अहिले जान्छु ल” यति भनेर उनले मेरो गजल सङ्ग्रह समेत हातमा लिएर फुत्त उठिन् र ओरालो झरिन्। मैले प्रतिवाद गर्न सार्न्दभिक ठानिन।

निलिमा बाहिरिएपछि म पनि केहीक्षणको लागि ओरालो झरेँ। त्यो होटलको दोस्रो र तेस्रो तला अलि अँध्यारो देखिन्छ वा अँध्यारो देखियोस भन्ने उद्देश्यले निर्माण भएको लाग्छ। प्रायः त्यहाँ दिउँसै पनि यौन क्रियाकलाप हुँदोरहेछ। सिँढी ओहोर दोहोर गर्ने क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए पनि केहीभने अवश्य थाहा लाग्छ। यौन क्रियाकलाप हुनुअघिका गाइँगुई। अर्मयादित चुम्बनबाट उछिट्टिएका आवाजहरू मात्र हैन स–साना प्वालबाट दृश्य समेत बेला–बेला देख्न सकिन्छ, भित्र बत्ति निभाएको छैन र चिहायो भने।

एकघण्टा पछि नास्ता तलै गरेर फ्रेश भै म उकालो चढ्दै थिएँ। हेटौंडाको एउटा केटाले प्वालबाट यौनकार्य गरेको देखेपछि फोटो खिचेछ।

त्यसपछि समय निकै तनावग्रस्त भयो। यौनकार्यमा संलग्न युवालाई बाहिर निकालेर सबैले झपारियो। “के गर्नु जर्बजस्ती हैन, होटलवालाई पैसा तिरेर सहमतिमा हो क्यारे” भनेर त्यो युवक त्यहाँबाट फरार भयो। भित्र हेरेँ कुनामा निलिमा लुकेर बसिरहेकी थिइन्। अनुहार शिरकले छोपे पनि मैले उनको हातमा भएको घाउको खोटबाट चिनेँ प्रष्ट।
“ल–ल साथी हो जाउँके यस्तै हो” भनेर सबैलाई भनेँ। क्रमशः भीड पनि पातलियो। होटलवालालाई ‘अली मर्यादाको ख्याल गर’ भनेर सम्झाएँ।

“के गर्ने सर ?” त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि, मेवा पनि क्यारे, धन्दा त गर्नै पर्‍यो। फेरि जबरजस्ती पनि हैन क्यारे, स्वेच्छाले आउनेलाई त दिनै पर्‍यो क्यारे।” भनेर होटलवाला आफ्नो दारी मुसार्दै ओरालो लाग्यो। म मास्तिर रूममा लागेँ।

यो घटनाले मलाई केही सोच्न बाध्य गरायो। यो पेशामा खराब को हो भनेर। यौन कार्यमा लाग्ने नारीहरू या यसमा सङ्लग्न पुरुषहरू। या त यस धन्दाका सञ्चालकहरू या फेरि यसकार्यलाई अपराध ठान्ने समाज। या त यस्ता बिषयलाई प्रोपोगान्डा मच्चाउने लेखक, पत्रकारहरू। के नारी मात्र बेश्या बन्न सम्भव छ ?
के बिनापुरूष नारीमात्रको उपस्थितिले यस्तो हुन्छ ? कतै हाम्रै समाजको सङ्कीर्ण दृष्टि कारणले यो घटना अपराध त भएको हैन ? यावत कुराहरू सोचेँ। अनि लाग्यो निलिमा अब म कहाँ आउँदिनन्। यस्तै के–के सोच्दै गर्दा अचानक ढोका ढक्ढकियो। उठेर ढोका खोलेँ। थाहा भयो निलिमा रहेछिन्। मैले बिना कुनै बहाना उनलाई भित्र आउने इशारा गरेँ। उनी आइन् र बसिन्। समय दिनको साढेचार बजेको थियो।

“अघिको घटनाले तपार्इंलाई मप्रति घृणा जाग्यो होला हगि ?” बस्दा–बस्दै सोधिन्। “कुन घटना ? मलाई त केही पनि थाहा छैन” अन्जान भइटोपलेँ।
“जहाँ तपार्इंले मलाई चिनेर त्यो हल्ला साम्य गराइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो।” प्रसङ्ग सम्झाइन्।

तीन छक्क परेँ म। कस्तो इज्जत ? देह सबैलाई सुम्पिन्छिन् ता पनि इज्जतको सवाल। उसोभए इज्जत कहाँ हुन्छ मान्छेको ? घोरिन्छु।
“किन नबोल्नु भा’को ?” ध्यान तोडिन्।
“त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन” बोलेँ।
“मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नु भएको हो तपाईंले” खोतलिन्।
“हैन हैन” भनेँ।

“के गर्नु यस्तो त जहिले हुन्छ। आ छाड्दिऊँ यस्ता कुरा बरू साँच्चै यो किताब तपाईले लेख्नु भएको रहेछ, फोटोबाट चिनेँ, हजुरको नाम प्रकाश रहेछ नि” अचानक उनी आफैले प्रसङ्ग मोडिन्।
“अ हँ हैन त” छल्ने प्रयास गरेँ।

“फोटो तपार्इंकै छ, नाम तपाईंकै छ त” विवरण बताइन्।
“मेरो कपाल लामो छ, यो फोटोवालको कपाल छोटो छ” झुक्याउने प्रयास गरेँ।
“बरू हामी जस्तो खराब मान्छेलाई बताउँदा इज्जत जान्छ भन्नुस् न” दह्रै उत्तर फर्काइन्।

अब भने मैले यथार्थ बताउनै पर्ने भयो। उसलाई अरूले गरेभन्दा अलग व्यवहार गर्नैपर्ने भयो। नत्र प्रत्येकपुरुष उनको नजरमा समान (यौन पिशासु) मात्र हुासब्थ्यो।

“मैले तिमीलाई खराब सम्झेकै छैन आफै त्यस्तो कुरा सम्झन्छौ।”
“अनि किन ढाँट्नु हुन्छ त” भनिन्।
“हैन के भन्छौ भनेर नि” यति भनि सक्ता नसक्ता मैले पुनः सोधेँ।
“अनि किताब कस्तो लाग्यो त” मेरो जिज्ञासा।
“राम्रो लाग्यो, सबै पढेर सिध्याएँ, अनि पहिलोपटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न पाएँ” उनले आफ्नो कुरा भनिन्।
“एउटा कुरा सोधुँ ?” भनेँ।
“हुन्छ” टाउको हल्लाइन् ।

“तिमी मान्छे त राम्री छ्यौ, बुझकी छौ, फेरि किन यस्तो काम गर्छौ ?” सम्झाए जस्तो गरेँ।
“यसको बिस्तृत कथा भन्न यहाँ सम्भव छैन” अन्कनाइन्।
“उसो भए कहाँ सम्भव छ त ?” कोट्याएँ कुरा।
यदी मलाई विश्वास गर्नु हुन्छ र यो कथा जान्न चाहानु हुन्छ भने आज साँझ तपाई मसँग एक ठाउँ हिँड्नोस्, म बताउँछु, तर तपार्इंलाई अप्ठयारो लाग्दैन भने मात्र।” बिनावहाना नहिच्किचाई केहीक्षण सोचेर प्रस्ताव राखिन्। विकल्पको समेत ठाउँ छाडेर।
“हुन्छ” केहीबेर सोचेर मैलै भनेँ। त्यसपछि उनी भरै भेटौँ ल भनेर तल झरिन्। यसपटक उनको अनुहारमा थोरै खुशीको चमक देखा पर्यो।

साँझ पर्‍यो। समारोहमा गएका साथीभाइहरू सबै फर्र्किए रुममा। निलिमा होटल मालिकले ग्राहक थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर बिदा लिइन्। लगभग साँझ ७ बजेतिर उनी आइन् र जाउँ भनिन्। एकक्षणमा आउने निधोका साथ म साथीहरूबाट बिदा भएँ। साथीहरू “ल, ल दह्रो गरी चित्त बुझाएर आइज” भन्दै थिए मलाई। मैले हैन भनिरहन सार्न्दभिक ठानिन।

“सर माल त सोलिट छ क्यारे” हिँड्नुअघि होटलवालले आँखा झम्काएर मलाई जिस्कायो। मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ। होटलबाट निस्केपछि उनले रिक्सा रोकिन् र चढाइन्। रिक्सामा बसेपछि उनले आफ्नो मुहार सलले पूरै ढाकेकी छिन्। लाग्छ उनी मुसलमान महिला हुन्। रिक्सा दक्षिणतिर लाग्यो। मनमा भने थोरै त्रास पनि पैदा भयो। पहिलो पटक समाजले नामाङ्करण गरेको बेश्यासँग म हिँडिरहेछु यतिबेला।

रात अँध्यारो छ। भैरहवातिरबाट आएका गाडिको लाइट बेला–बेलामा हामी तिर पर्दा उनी अनुहार निहुर्‍याउँछिन्। हुन त मैले उनीसँग गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख गर्दा पनि हुने तर उनको बसोबासको सवाल भएकोले मैले उल्लेख गरिन। लगभग १५ मिनेटपछि एउटा खोलाको बगरमा अवस्थित बाक्लो झुप्रा बस्तीमा पुग्यौँ। हल्ला–खल्ला छ त्यहाँ। सायद सुकुम्बासी बस्ती हुनु पर्छ मेरो नजरमा। त्यसो त नहुन पनि सक्छ कारण रातको कुरो हो दृष्टिभ्रम पनि हुनसक्छ। सो ठाउँमा हल्ला, आपसी झगडाहरू प्रशस्त सुनिन्छन्। “सर यतै आउनोस् न” उनले मलाई भनिन्।

“ए भै हाल्छ नि” मैले सहजता पस्केँ।
यतिबेलासम्ममा उनले चेप बाटो हिँडाएर एउटा झुपडीमा पुर्‍याइन्, ढोका खोलीवरि कुपी जलाएर मलाई बोलाइन्। म सरासर भित्र पसेँ। हतार–हतार उनले एउटा खाटबाट छरिएका लुगाहरू उठाउँदै तन्ना मिलाएर राखिन्। मैले अनुमान गरेँ त्यो उनी बस्ने घर रहेछ भनेर। खरको टाटीले बारेको झुपडी। त्यसलाई दुई कोठामा विभाजन गरिएको छ। हामी पहिलो कोठामा छौँ। दोस्रोकोठा बन्द छ। पहिलो कोठाको एक कुनामा चुला छ। नमाझएका भाडाकुँडाहरू छरिएका छन्। बिहानै हतारमा हिँड्दा नभ्याई छाडेको हुनुपर्छ सायद। त्यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर म आफैँमा अचम्म परेँ। मैले स्थिति अन्दाज लाउनै सकिन। म बस्दा–बस्दै उनले ती भाडाँकुडाँ माझेर ल्याइन्। अनि हतार–हतार आगो सल्काउन थालिन्।

“केही दुःख नगर है” उनले केही पकाउन लागेको बुझेर म सम्झाउँछु।
“सर जीवनमा राम्रो काम त गरिन तर आज भाग्यले राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ केही गर्न नपाए पनि हजुरलाई यसो दुःख–सुख एकछाक खाना खुवाउन पाए मेरो जीवन धन्य हुन्छ कि भन्ने सोचमा छु। कृपया नाइ नभनी दिनुहोला” उनले हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन्। उनको यो शब्दलाई नाइ भन्न पनि सकिन, ल भन्न पनि सकिन। मात्र म मौन बसेँ। संकालुमन बोकेर।
“सर चिया पिउनुहोस् ल” चिया बनाएर मेरोसामु राख्दै भनिन्।

“हुन्छ–हुन्छ” मैले भनेँ। चिया पिउनुभन्दा पनि मेरो ध्यान भने अरूतिर नै छ।
“निलिमा बरू गफ चाँही गरौँ न” प्रस्ताव राखेँ।
“भै हाल्छ नि सर” उनले भनिन्।
“गफ गर्नुभन्दा पहिला खाना चाहिँ खानै पर्छ क्या सर” उनले थप अडान राखिन्। मैले नकार्न उचित ठानिन। घडी हेरेँ साँझको ७ः४५ भएको छ। दश बजेभन्दा अगावै पुग्नु छ होटल। नत्र गेटमा ताल्चा लाग्छ। यस्तै क्रममा चार पाँच पुरूषहरू पनि आउँदै फर्के।
“हाताहाती हुन्छ हौ, किन नमानेको” निलिमालाई भन्थे। बुझेँ उधारोमा पनि काम चलाउँदी रहिछिन् उनी।
“आज हुँदैन भनेपछि हुँदैन” निलिमा भन्थिन् र पठाउँथिन्। म बुझ्छु ती आउनेहरू ग्राहक हुन निलिमाका ।
“सर माइन्ड नगर्नु ल, के गर्नु यस्तै छ” उनी मलाई अप्ठ्यारो पर्‍यो कि भनेर सम्झाउँछिन्। म प्रतिक्रियास्वरूप मुस्कानमात्र फ्याँक्छु।
यत्तिकैमा उनको बन्दकोठाबाट आवाज आउँछ अचम्मको। मान्छेको जस्तो पनि जनावारको जस्तो पनि। दुईतीन पटकको आवाजले मलाई कता–कता भित्री त्रास र जिज्ञासा पैदा गरायो।

“निलिमा के को आवाज हो यो” सोधेँ।
“ए‘यो आवाज। हजुरलाई सबै भन्छु , पहिला खाना खाउँ” यति भनेर उनले खाना पस्की र मेरो सामु राखि दिई। मलाई भने झन शङ्काले घेर्‍यो।
“अनि तिमीलाई चाहिँ खोई त” मैले भने।
“म एकक्षणमा खान्छु सर, पहिला तपार्इं लिनुहोस न” उनले बताइन्।
कता–कता शङ्का लागे पनि उनको अगाडि आफूलाई आदर्श बनाउनको निम्ति मैले खाना खाएँ। मानवीय अह्मले पनि कहिलेकाही त अप्ठ्यारोवाटोमा गुजार्दो रहेछ।

“ल सर यस्तै भयो है” उनले भनिन्।

“अति मिठो लाग्यो मलाई त” जसोतसो औपचारिकता बताएँ। सम्झेँ अघि होटलमा मसँग एकक्षण बिदा मागेर उनी सपिङ गर्न गएकी रहेछिन्। खानाको साथमा च्याउको तरकारी, काभ्राको अचार, खुवाइन्। खाना खाई सिध्याएपछि केहीबेर आराम गरेँ खाटमै ढल्केर। त्यसपछि उनले आवाज आइरहेको बन्द कोठाको ढोका खोलिन्। ढोका खोल्नासाथ नमिठो गन्ध आयो। मैले शङ्का गरे पक्कै कुनै बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ। नभन्दै उनले कुपी पनि सल्काइन्। कुपीको उज्यालोले बिस्तारै कोठाको अँध्यारो हट्दै गयो। बस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो, म छक्क परेँ। डर पनि लाग्यो। त्यहाँभित्रको दृश्य देखेर। त्यहाँ एउटा बालक थियो। जसलाई सिक्रीले बाँधिएको थियो। अघिको अपरिचित आवाज त्यही बालकको रहेछ। दृश्य देखेपछि म बोल्नै सकिन। शङ्का र अनुमानका बिचारहरू मभित्र सागरको लहरभन्दा धेरै र उँचो भएर आयो।

“मैले केही बुझन नि निलिमा” भनेँ।

“म बुझाउँछु सर” हिक्क‘हिक्क‘श्वासलाई बसमा राख्दै उनले भन्न सुरू गरिन्।
“मेरो वास्तविक नाम शान्ती हो सर। मेरो घर मकवानपुर जिल्लामा पर्छ। मलाई थाहा छ त्यसबेला हाम्रो घरमा एउटा लाहुरे जस्तो मान्छे आयो इन्डियाबाट। ऊ लगभग हप्दादिन जति बस्यो। उसले आमा–बासँग विवाह गर्ने भनेर मेरो हात माग्यो। छोरी कसरी पन्छाउने भनेर सोचिरहेको बखतमा सम्भावना भएर आयो त्यो युवक मेरो आमाबाकोलागि। मलाई एकशब्द पनि नसोधी त्यो अपरिचित युवकसँग जबर्जस्ती विवाह गरिदिनु भयो। कति रोएँ कराएँ तर अहँ वहाँहरूले मेरो बिन्ती सुन्नु भएन।

विवाह गरेपछि त्यो युवकले मलाई साह्रै माया गर्‍यो केहीदिन। त्यतिबेला म १३ बर्षको थिएँ। विवाह गरेको हप्ता दशदिनपछि त्यो युवकले घर जाने भनेर आमाबासँग बिदा माग्यो। आमाबा, साथीसङ्गी, गाउँघर छाडेर जानु पर्दा म कति रोएँ–रोएँ। तर जानु बाहेक मसँग अरू विकल्प थिएन। त्यो युवकले मलाई इन्डियाको वानरहाट भन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो। उसको नाम हर्क रहेछ त्यहीँ थाहा भयो। इन्डिया पुगेपछि अचानक उसको व्यवहारमा परिवर्तन आयो।

नेपालमा गरेको उसको मायाममता सबै देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ। मलाई त्यसले गर्नुसम्म जबर्जस्ती गर्‍यो। म कति चिच्याएँ तर उसले मेरो मुख छोपेर मेरो इच्छा विपरित मलाई लुछ्यो। “मसँग बस्ने विचार छ भने चुप लाग हैन भने हल्ला गर। तँलाई यतिको लागि त तेरो बाउआमासँग किनेर ल्याएको नि” भनेर हप्काउँथ्यो। आफू बेचिएको कुरा विश्वाससम्म गर्न सकिन। पछि–पछि त कुट्न पनि थाल्यो। मैले यसरी कैयौँ रात आफू बलात्कृत भएर बाँच्न बिवश भएँ। पिडा र चोटको त कुरा नै नगरौँ। सायद तीन महिना पछिको समय हुँदो हो, मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ। त्यसपछि त झन कुटे पनि गाली गरेपनि उसकै माया लाग्न थाल्यो। पेटमा बच्चा छ भन्ने जानकारी गराएँ उसलाई तर ऊ खुसी हुनुको सट्टा अति आक्रोशित भएर आयो। त्यो बच्चा फाल्नु पर्छ भन्न थाल्यो। मलाई चुटाइको बजार पस्कियो। मैले त्यो नासो बचाउनको लागी उसलाई हैन भनेर टारेँ।

एकदिन अचानक उसले मलाई नाटकीय रुपमा माया गर्‍यो। नयाँ कपडा, मिठा–मिठा खाने कुराहरू ल्याएर आफै बनाएर खुवायो। मैले अनुमान लाउनै सकिन उसले के गर्न लाग्यो भनेर। एक मनले उनको मन फर्किएछ भनेर दङ्ग परेँ। त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले मलाई कलकत्ता लिएर गयो। एकरात रेलको यात्रापछि हामी कलकत्ता पुग्यौँ। सियालद भन्ने रेलजक्सनमा उत्रियौँ। उसले मेरो दिदीको घर छ जाऊँ भन्यो। त्यसपछि जक्सनबाट मोलाली,चाँदनीचोक हुँदै एकदम भीडभाड भएको ठाउँमा लिएर गयो। लाग्छ त्यो जग्गा झुपरपट्टि हुनुपर्छ। त्यहाँ अति मान्छेहरूको घुइँचो थियो। सबै मातेका, मुखभरी पान चपाएका पुरूषहरू मात्र देखिन्थे। बाटोहरू सबै–सबै थुकेर रातै रगत पोखिएको टाटो जस्तै देखिन्थ्यो। आइमाईहरू छिटपुट मात्र नजर पर्थे। दिउँसै पनि त्यो स्थान अँध्यारो लाग्थ्यो कारण त्यो जग्गा बिशाल पुलमुनिको थियो। मलाई मनमनै डर चाहिँ अति लागिरहेथ्यो। तै पनि उसको भर थियो। “नई मुर्गा आई” भनेर त्यहाँका मान्छेहरू भन्थे। म भाषा बुझ्दिनथेँ । १५–२० मिनेट पछि चेपै–चेप हिँडेर हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ। त्यहाँभित्र उसले मलाई लिएर गयो। कोठामा एउटी मोटी आइमाई बसि रहेकी थिइन्। हामीलाई देख्ने बित्तिकै “आऊ–आऊ, त राम्ररी आयौ” भनेर भन्यो। त्यसपछि हामीलाई “ल आराम गर” भनेर छुट्टै कोठामा लिएर गयो। मलाई कोठामा राखेर “एक छिन है, म दिदीसँग गफ गरेर आउँछु” भनेर ऊ बाहिर निस्कियो। एक घण्टा बित्यो, दुई घण्टा बित्यो, तर अहँ ऊ आएन। निकै बेरपछि एउटा भुसतिघ्रे कालेपुरूषसँग अघिकी मोटी दिदी भने आइन। “ल यो साहबलाई तिमी चित्त बुझाऊ” भनेर भन्यो। त्यो भुसतिघ्रे वंगाली मुसुमुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो। “दिदी भाइ खोइ त ?” भनेर मैले सोधेँ। “अरे छोकरी, म तेरो दिदी हैन। तँलाई अघिको केटाले १० हजारमा बेचेर चल्यो। तैँले अब धन्दा सुरू गर्नुपर्छ बुझस्” भनेर भन्यो। मैले आफु बेश्यालयमा पुगेको वास्तविकता थाहा पाएँ।

कयौँ पटक गुहार मागेँ। रोएँ, कराएँ, प्रतिवाद गर्न चाहेँ तर सब असम्भव। आत्महत्या गर्न पनि कैयौँ पटक सोचेँ तर उनीहरूको पलपलको निगरानीका बावजूद र मेरो पेटको बच्चाको कारण सम्भव भएन। हप्तादिनसम्म त हरसम्भव प्रयास गरेँ। सट्टामा प्रत्येक दिन कोर्रा, भुत्ल्याई, खाइयो। जबसम्म आफू राजी भइन तबसम्म भोकै राखे। अन्ततः विवश भएर बाँच्नको लागि आफूलाई जिउँदो लाश बनाइ बेश्या बनाउन बाध्य भएँ। बिरामी, बिसञ्चो केही पनि भन्न पाइन्न रहेछ त्यहाँ। उनीहरूको खटन मान्नै पर्ने। दिनमा कम्तिमा आठ दश जनाभन्दा बढीसँग सम्पर्क राख्नु पर्ने। यतिसम्म कि अरुलाई त महिनावारी हुदाँ पनि धर हुन्नथ्यो। रक्सी खाएर, पान खाएर, मनपरी गर्दै, बोल्दै, आउँथे र आफूखुशी गर्थे। मानेन भने चुरोट वा अर्थोकले पोल्थे। तँपाईले सोध्नु भएको मेरो पाखुराको घाउ पनि त्यस्तै घटनाको चिनो हो।”

थप प्रसङ्गलाई अघि बढाइन् “त्यहाँ पुगेको दुई महिनापछि म दुइज्यूकी छु भन्ने कुरा त्यहाँको मालिक्नीले थाहा पाइन्। त्यो थाहा पाउने बित्तीकै “मेरो साँवा घाटा लाग्यो रे” भन्दै मलाई मरणाशन्न हुने गरी चुट्यो। अन्तमा डाक्टर बोलाएर मेरो पेट खुलाउन भन्यो तर डाक्टरले यो कुनै हालतले सम्भव नहुने बतायो। त्यसपछि मलाई अति मानसिक र शारिरिक यातना दिएर त्यहाँबाट निकाल्यो।

त्यहाँबाट भारतीय प्रहरीको सहयोगले म पुनः वानरहाट फर्किएँ र हर्कलाई खोजेँ तर पाउन सकिन। दुईतीन महिना अघिनै उसले त्यो ठाउँ छाडेको कुरा बताए सबैले। त्यसपछि म आफ्नो माइतघर फर्किएँ, बाटो–बाटोमा शरीर बेच्दै र लुछाउँदै। भारत र नेपालका प्रहरीले पनि सहयोगको सट्टा मेरो ज्यान लुछे। माइतघरमा तीनचार महिना बसेँ। त्यतिन्जेलसम्ममा यो पनि जन्मियो। सुरूका दिन त गाउँमा राम्रै गरी बिताएँ। पछि आमा बाबालाई आफ्नो सम्पूर्ण यथार्थ बताएँ। मेरो कहानी थाहा पाएपछि अचानक बाबा–आमाको, घरपरिवारको र क्रमशः छरछिमेको म प्रतिको धारणा बद्लियो। “बेश्या भएर पो आएछ यो त यसलाई गाउँमा राख्नु हुँदैन लोदर लाग्छ” भनेर सबैले भन्न थाले। बाटो हिँड्ने, वल्लो गाउँ, पल्लो गाउँ, सबैतिरकाले मलाई हेर्न आउँथे। एकदिन समाज बस्यो र “कि यसलाई यहाँबाट खेद् कि आफू गाउँ निकाला हु” भनेर मेरा परिवारलाई अप्ठ्यारोमा पार्‍यो। त्यसपछि म आफैँ यसलाई बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ।

अनि म नेपालगञ्ज गएँ। काम खोजेँ, बाँच्ने अन्यत्र मेसो खोजेँ तर पाउन सकिन। अन्ततः यो बच्चाको लागि भए पनि मैले आफुले आफ्नो शरीर बेच्न बाध्य हुनुपर्‍र्यो, सुत्केरी भएको महिना दिन देखिनै। लगभग छ महिनापछि अलि अलि पैसा कमियो। त्यो पैसाले सानो घुम्तीपसल खोलेँ नेपालगञ्जमा नै। साथै त्यो बदनामी पेशा छाड्ने निधो गरेँ। एक महिनाजस्तो के भएको थियो अचानक एकदिन एउटा पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न खोज्यो मैले अस्विकार गरेँ। त्यसको भोलिपल्ट एउटा अखवारमा चर्चित बेश्याले घुम्ती पसल थाल्यो भन्ने शीर्षकमा समाचार छापियो। त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने, घृणा गर्ने र बस्नै नदिने भन्न थाले।

मेरो पसलमा कोही पनि केही किन्न आउन छाडे। घुम्तीको मालिकले पनि घुम्ती नदिने भन्न थाल्यो। अन्तत हिँड्न करै लाग्यो। त्यहाँबाट हिँडेपछि पोखरा, धरान, बिर्तामोड, बिरगञ्ज, बिराटनगर, काठमाडौ, हेटौंडा, भैरहवा सबै–सबै ठाउँमा यही पेशामा हिँड्न बाध्य भएँ। जहाँ गए पनि मैले यो मेरो मुटुलाई फाल्न सकिन। कारण मलाई त्यो अकल्पनीय नर्कबाट यसैले मुक्ती दिलाएको थियो। म यहाँ (बुटवल) आएको तीनमहिना जति भयो। यो अहिले पाँच बर्षको भयो।” आफ्नो कहानी बताउँदा–बताउँदै उसको आँखाबाट आँशुको नहर बग्न थाल्यो। आसुँ नपुछी उनले पुनः भन्न थालिन्।
“यो जन्मदाँ रामै्र थियो सर तर जब यो तीनवर्ष पुग्यो बाँच्नको लागि घृणित कार्य गर्ने बेलामा यसले थाहा नपाओस र कतै देखेर आमा शब्दप्रति घृणा नजागोस भनेर निद्रा लाग्ने औषधी खुवाउन बाध्य भएँ। लगातार औषधीको असरले गर्दा यो अपाङ्ग हुन पुग्यो। साँपे हुनपुग्यो । तर पनि मैले यसलाई माया मार्न सकिन। दुनियाँले वेश्या भने पनि आमा न परें। अनि आफुले पनि मृत्युसँग सम्झौता गर्न सकिन।” उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ–भत्काएछ आँखाबाट भावनाले हामफालेपछि थाहा लाग्यो।

प्रसङ्ग जोड्दै भनिन्।
“सर पहिलो पटक कसैले मेरो जवानीभन्दा पनि मर्मलाई बुने कोशिस गर्‍यो। देवता छ कि छैन थाहा छैन तर हजुर मेरो नजरमा देवतासमान हुनुभयो। अन्तमा म एउटा कुरा भन्न चाहान्छु”
“भनन” भनें।

“आफैसँग पनि लुकाएको आफ्नै टर्रोकथा खै कसरी हजुरलाई सुनाए आफैलाई थाहा छैन हुनत यो कथाको पात्र म आफै भए पनि म यो मर्म सुन्न लायकको मान्छे होइन। हजुरलाई दुःख विसाएँ माफ पाउँ है।”। कुराको मेलो सारिन। “सर नारी जातिलाई पनि पुरूष सरह एक वा सो भन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न सक्तिन तर सत्य कुरो कुनै पनि नारीलाई बेश्या बन्ने रहर हुँदैन” यति भनेर उनले कुरा टुङ्ग्याइन्। समबेदना र मायाले थाम्दैन रहेछ। साँझ छिप्पिन लागेकाले मैले उनीसँग बिदा मागेँ। उनले पनि अब केही उल्झन् नगरी मलाई बाटोसम्म पुर्‍याउन आइन् र हात जोड्दै भनिन्।
“सर फेरि भेट हुन्छ कि हुँदैन तर नर्बिसनु होला है”
“भै हाल्छ नि किन नहुनु” म यति भनेर उनीसँग टाढा भएँ। रिक्सा लाग्यो उकालो। निकैमाथि पुगेर फर्की हेरेँ। गाडीको उज्यालोले देखेँ, उनी त्यहीँ उभिई रहेकी थिइन् हात हल्लाउँदै। निलिमाको कहानी सुनेर होटल पुग्दा साढे नौ बजेको थियो। “एक्लै भ्याएर आइस् होइन ?” साथीहरूले गिज्याए।

भोलिपल्टको बिहान उनलाई होटलमा हेरेँ तर अहँ देखिन। होटलवालालाई सोध्दा “हिजो तँपाईसँग गएको आकी छैन क्यारे” भन्यो। आज म पनि झापा फर्किने दिन। फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर उनी बस्ने ठाउँ गएँ रिक्सामा। त्यहाँ जाँदा त्यो घरमा ताल्चा लगाएको थियो। छेउको एउटा दाइलाई सोधेँ। उनी राती नै त्यहाँबाट अन्यत्र सरिन तर कहाँ भन्ने थाहा भएन भन्ने कुरा थाहा भयो।
“यो घर उनको आफ्नै होइन र” प्रश्न गरेँ।
“कहाँ हुनु नि, भाडामा बस्थिन् नि, तीन महिनादेखि” जानकारी आयो।
गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्कें।
तीन बर्षपछि।
२०६३–७–७ गतेको बिहान आज। भाइटिकाको दिन। टेलिफोनको घण्टी बज्यो। उठाएँ। मैले हेलो भनि नसकी स्वर गुञ्जियो निलिमाको। तीनवर्ष भो यसरी उनले मलाई भाइटिकामा फोन गरेकी। भनिन् “सर नमस्कार, आज भाइटिकाको दिन। हजुरको याद आयो र फोन गरेकी। म कहाँछु कृपया नसोध्नु होला। बस आज भाइटिकाको दिन हो त्यसैले माइतिलाई सम्झेकी हुँ। हजुर कहाँ आउने मन त नभएको होइन तर मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग लगाउन सक्छ त्यसैले आउन असम्भव छ ।

लाग्छ संस्कारले मानेको माइतिभन्दा मनले मानेको माइति उच्च र वास्तविक हुन्छ। यो अभागी चेलीले दुईमुठ्ठी सास भइञ्जेल अरूबेला नगरे नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे। पक्कै झर्को मान्नु हुन्न होला।”
उनले नभने’नि कलर आइडिमा पोखराको कोड प्रष्ट देखियो।
“बच्चालाई कस्तो छ ?” प्रश्न गरेँ ।
“५ महिनाअघि बिरगन्जमा मृत्यु भयो। ‘‘छाडौँ सर यी कुराहरू यस्तै हो अहिले फोन राखेँ है।” मैले हुन्छ भन्न नपाई उनले फोन राखिन् तर फोन राख्न अघि उनको भक्कानीएको स्वर भने मैले प्रष्टसँग सुनेँ।
मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन हुँदोरहेछ। निलिमाको कथा देखेपछि थाहा भयो। म आज पनि सोच्छु, यति ठूलो संसारले किन लुकाउन सकेन निलिमाको त्यतिसानो बाध्यात्मक कथा र व्यथा । सभार

3136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv