प्रहरी जीवनको आफ्नै कथा र व्यथा

शुक्रबार, पुस ११, २०७६

loading...

- उमेश प्रसाद अवस्थी (आदर्श)



झट्ट हेर्दा त सजिलो र साह्रै लोभ अनि माया लाग्दो देखिन्छ । तर भित्र त्यति नै जटिल छ,त्यो प्रहरी हो जो आत्मसम्मानका लागी नभई आफ्नो देश र जनताको स्वाभिमानका लागी र सुशासनको प्रत्याभूति जनतालाई दिलाउन तथा देश र जनतालाई आतंकित बन्नबाट आफ्नो ज्यानको बाजी लगाएर पनि बचाउन रात दिन लागी परेको हुन्छ ।सबैको नजर त्यो व्यक्तिमा परिरहेको हुन्छ । जुन व्यक्ति अरू भन्दा फरकै देखिएको हुन्छ । चाहे त्यो बाहिरी देखावटी रूपमा होस् या त्यो भित्री रूपमा होस् । हेर्दा त समाज तथा अन्य मानिसहरूको नजरमा प्रहरी पनि फरकै देखिन्छ होला तर वास्तविकतामा गहिरिएर हेर्ने हो भने प्रहरी वास्तवमा फरक नै हुन्छ ।

अब यहाँ केही लेख्ने कुराको सुरुवात गर्दा यसको पछाडि प्रश्नवाचक चिन्ह त अवश्य नै आउने छ । अब यहाँबाट शुरु भयो “प्रहरीलाई बिहान उठ्ने समयदेखी बेलुकी सुत्ने बेलासम्ममा एक न एक पटक सबैले सम्झेकै हुन्छ । जब-जब समस्या आइलाग्छ तब-तब प्रहरी भन्ने शब्द सबैको मुखबाट आउने गर्छ । सामान्य समस्या देखी ठुला-ठुला समस्यासम्म, घरमा हुने श्रीमान् श्रीमतीको झगडा देखी ठुला-ठुला भद्रभलादमीहरुले निम्त्याउने समस्या र देशको सीमा नाका मिचिँदाको अवस्थासम्म सबैले प्रहरीलाई नै खोजी रहेका हुन्छन् । एकातिर सरकारी संस्थाको समस्या होस् या गैर सरकारी संस्थाको समस्या होस् सबैले खोज्ने बाटो प्रहरी नै रहेछ भने अर्कातिर राजनीतिक दलका झन्डा भित्र समेत प्रहरीलाई मुछ्न खोज्दा रहेछन् ।”‌

धेरै जसो अग्रपङ्क्तिमा बसेका व्यक्तिहरूलाई नै थाहा रहेनछ कि नेपाल प्रहरीको पार्टी सिङ्गो देश हो देश भित्र बसोबास गर्ने सबै नागरिक पार्टीका सदस्य हुन र त्यो पार्टीको झन्डा दाहिने तिर नेपालको चन्द्र सूर्य अंकित र बायाँतिर प्रहरी सङ्गठनको धानको बाला भित्र खुकुरी डण्डाक्रस मनोग्राम अंकित झन्डा बोकेको हुन्छ भनेर किन बुझ्दैनन् ? कि नेपाल प्रहरी सङ्गठनमा आबद्ध जुनसुकै दर्जाको व्यक्तिले पनि देश र जनताको जिउधनको रक्षा गर्नको लागी कसम खाएर लागेका हुन्छन् भनेर । जुनसुकै व्यक्तिले पनि कार्य सम्पादनको सिलसिलामा नेपाल प्रहरी सङ्गठन भित्रका सदस्यहरूलाई हेर्ने नजर राजनीतिक ढङ्गबाट हुँदो रहेछ । नेपाल प्रहरी सङ्गठनमा आबद्ध सदस्यहरू जो सुकैले पनि देश र जनताको लागी काम गर्ने गर्दछन् यसकारण नेपाल प्रहरी सङ्गठनमा आबद्ध सदस्यहरूलाई राजनीतिक ढङ्गबाट बुझ्नु सरासर गलत हो ।

देशको उपल्लो तहमा रहेका व्यक्तिहरूले समेत प्रहरीलाई राजनीतिक ढङ्गबाट हेर्ने गर्दा रहेछन् अब हामी सबैले बुझ्नु जरुरी छ किनकि प्रहरी सेवाको औचित्य अनि महत्त्व सँगै प्रहरी सङ्गठनको समग्रमा आवश्यकताको बारेमा समेत सबैले एकपटक अध्ययन गर्नुपर्ने देखिन्छ । धेरै टाढाको कुरा नगरौँ २०७२ सालमा गएको महाभूकम्पको कुरा मात्र गर्दा मेरो आङ नै सिरिङ्ग भएर आउँछ । प्रहरी पनि मान्छे हो प्रहरीको पनि त घरपरिवार हुन्छ होला पनि प्रहरीको लगाव यस्तो हुन्छ ।

जब २०७२ सालमा महाभूकम्प गयो काठमाडौँ उपत्यका लगायत त्यसका आसपासका केही ठाँउहरू सिन्धुपाल्चोक, गोरखा लगायतका विभिन्न जिल्लाहरूमा मानवीय क्षति ठुलो मात्रामा भयो करिब साढे आठ हजार मानिसको लास एकै चिहान भएको थियो । त्यति बेला घरमा मरेकी आफ्नी श्रीमती र मरेकी आमाको मुख सम्म पनि नहेरि एकमुठी सास भएसम्म अर्काकी श्रीमती र आमालाई बचाउनका निमित्त पानीको घुट्को सम्म पनि नपिई पानीको प्यासले प्याक-प्याक भएर बचाउन हिँडेको पनि प्रहरी नै हो ।

२०७५ सालमा बारा लगायतका प्रदेश नम्बर २ का केही जिल्लामा आएको हुरी बतासका कारण पनि करिब ३८ जनाले ज्यान गुमाए आफ्नो घरको छानो उडाई लग्दा समेत जनतालाई बचाउनका लागी खटिएको नेपाल प्रहरीको समस्या कसले बुझिदेला ? अरबौँको सरकारी महल र सरकारी सम्पत्ति बचाउनका साथै नागरिकको जिउधनको सुरक्षा गर्न सडकको पेटीमा रात बिताउने पनि त्यही प्रहरी हो । देशको स्वाभिमान बचाउन र विदेशी हस्तक्षेप बाट आफ्नो राष्ट्रलाई बचाउनका लागी सिमानाकामा कटबासको भरमा सुसज्जित हातहतियार सँग लडेर आफ्नो ज्यानको बाजी लगाउने पनि त्यही प्रहरी हो जसको लागी हामी हरिहर गौतमलाई सम्झन सक्छौ ।

आफ्नो बस्ने छानो पनि नहुँदा पौषको चिसोमा जस्ताको चिस्यान र जेठको प्रचण्ड गर्मीमा समेत जस्ताको तापमा सुत्न बाध्य भएर पनि आफ्ना देशका जनताको मुहारमा खुसी छाएको हेर्न चाहने पनि त्यही प्रहरी हो । सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट बचाउन देखी भ्रष्टाचार नियन्त्रण गर्नसम्म पनि लागी पर्ने त्यही प्रहरी हो त्यस कारण प्रहरी सेवालाई बुझेर देशको सुशासनलाई प्रभावकारी बनाउनमा सबैले जोड दिनु आवश्यक छ । देशको सुशासनलाई प्रभावकारी रूपले सञ्चालन गर्ने सकेमा मात्र समुन्नत तरिकाले देशको विकास हुने देखिन्छ ।

उमेश प्रसाद अवस्थी (आदर्श)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments