पुस्तकमा डुबेर मृत्युवरण गर्ने कवि शेली

सोमवार, अशोज २३, २०७४

loading...


प्रेम र क्रान्तिलाई अगाध प्रेम गर्ने कविमा शेलीको नाम पहिलो नम्बरमा आउँछ । समाजको आर्थिक शोषण, अन्याय, अत्याचार र उत्पीडनको तीखो विरोध गरेर कवितामा लामा ओकल्ने शेलीका यी कविताका हरफले सहजै चिनाइदिन्छ । उनी श्रमिक जनगणका कवि थिए कि चुसिखाने लुटीखाने धनाढ्य सामन्तवर्गका ।

छर्छौ तिमी, बाली उठाउने अर्कै छ
कमाउछौ तिमी, पैशा थुपार्ने अर्कै छ
बनाउँछौ तिमी, हतियार झिर्ने अर्कै छ
छर बिऊ, तर अत्याचारीलाई बाली उठाउन नदेऊ
कमाऊ पैशा, तर फटाहालाई थुपार्न नदेऊ
बुन लुगा, तर अल्छेलाई लाउन नदेऊ
बनाऊ हतियार, तर आफ्नै रक्षाका लागि लेऊ ।

यस कविताले विश्व जनिन पीडालाई वाणी दिएको छ । वास्तवमा जसले बाली फलाउँछ, ऊ त्यसको स्वामी बन्न सकेको छैन । उत्पादन गर्ने, निर्माण र सिर्जना गर्नेहरू ठगिएका छन्, चुसिएका छन् । आफ्नो हक–अधिकारबाट बञ्चित पारिएका छन् । यो विभेदकारी शोषणको राजलाई तोड्न आम श्रमिक वर्गलाई उनी यसरी विद्रोहको चेतना दिन्छन्–

निद्रा धेरै भयो, अब सिंहझैँ भई
जित्नै नसकिने संख्यामा उठ
शीतका थोपाझैँ झटकारेर फाल
तिमीहरू धेरै छौ, अत्याचारी थोरै छन् ।

शेली जीवनको वसन्त चाहन्थे । मुटु कपाउँने चिसो स्याँठहरू हिउँदलाई हृदयबाटै घृणा गर्थे । अन्यायमा टिकेको राजलाई ठण्डीयुक्त हिउँदको उपमा दिएर वसन्तलाई क्रान्तिपछिको सुन्दर समाजव्यवस्थाको रूपमा परिभाषित गरेका थिए । त्यसैले हर्दम्य उनी वसन्तको आह्वनमा कविता सिर्जना गर्थे । एउटा सुन्दर कवितामा उनले भनेका छन्–

ए बतास !
आज हिउँद छ भन्दैमा
के वसन्त टाढा छ र ?

यस्ता बेजोड कविता लेख्ने कवि पर्शी विस शेलीको जन्म सन् १७९२मा बेलायतमा भएको थियो । उनी पुस्तक पढ्न पाएपछि संसारै बिर्सिन्थे । खेलप्रति उनको पटक्कै रुचि थिएन । ईटनमा पढ्दा उनको लागि कलेजका पाठ्यपुस्तक केटाकेटीका खेलौना बराबर पनि थिएनन् । रातदिन पुस्तकमा डुब्नु नै उनको निम्ति असीम आनन्दको विषय थियो । साथीहरूले उनको स्वभाव देखेर शेली बौलाहा हो, यसरी खिसीट्युरी गर्थे । अक्सफोर्ड विश्वविद्यालयमा पढ्न थालेपछि ‘नास्तिक मतको खाँचो’ शीर्षकमा निवन्ध लेखेर छपाएपछि उनलाई पढ्न नदिएर विश्वविद्यालयबाटै निस्काशन गरियो ।

सुरुदेखि नै आफ्नो विद्रोही स्वभावलाई प्रखर रूपमा पोख्तै अगाडि बढेका शेली आफ्नै पीताको नियन्त्रण र कठोर अनुशासनमा समेत बाँधिन सकेनन् । प्रेमका स्वादे शेलीले सानो उमेरदेखि नै युवतीहरूलाई प्रेमपाशमा पार्न थाले, एकपछि अर्को प्रेमको नशाले गर्दा सुरुमा प्रेम गरेर विवाह गरेकी पत्नीले आत्महत्या समेत गरिन् । उनको आत्महत्याको दुईचारदिनमै आफूले मन परेकी सुन्दरीसँग विवाहबन्धनमा बाँधिएर उनले प्रेमको इतिहासमा अर्को कीर्तिमान खडा गरे ।

आफ्ना अनेकौँ उत्कृष्ट कृतिहरू विश्वसाहित्यलाई अर्पण गरेर तीस वर्षको छोटो उमेरमा उनी संसारबाट बिदा भए । उनको मृत्यु पनि आफैंमा कारुणिक दृश्यले भरिपूर्ण छ । उनी जीवनको पछिल्लो समयमा समुद्रको किनारमा घर लिएर बसेका थिए । उनी पौडिन जान्दैनथे, त्यसैले समुद्रमा नौकाविहार गर्नको लागि एउटा डुङ्गा किनेका थिए । उनी कतिसम्म एकसुरे भावनामा बग्थे भने डुङ्गामा चढेर किताबको संसारमा हराउँथे । म समुद्रमा डुङ्गामा तैरिरहेको छु भन्ने कुरा पनि भुल्थे ।

पढ्न भनेपछि हुरुक्क हुने शेली एकदिन अचानक समुद्रमा डुङ्गासँगै घप्लक्क डुबे । त्यो दिन डरलाग्दो सामुद्रिक आँधी आएको थियो । भुँवरीमा डुङ्गा घोप्टिएको दश दिनपछि उनको लाश किनारामा तैरिएको अवस्थामा फेला पर्यो । लाशको कोटका गोजीहरूमा एकातर्फ ग्रिसका महान् नाटककार सोफोकिल्जका कृतिहरू अर्कोतिर कोट्सका कविताका ग्रन्थहरू थिए ।

बाइरन लगायतका अन्य कवि साथीहरूले उनको लाशको दाहसंस्कार गरे । त्यो बेला पनि बाइरन यति भावुक भए कि आफ्नो साथीको निधनमा चित्तामा झण्डै झण्डै हाम्फालेर आत्मदाह गरेका थिए । तीस वर्षको उमेरमा विश्व साहित्यमा एउटा बेजोड चमत्कार गरेर मर्ने यी कविको जीवनबाट धेरै धेरै कुरा सिक्न सकिन्छ ।

364 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank