चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीलाई खुला पत्र

सोमवार, असार ४, २०७५

loading...

- रमेश हतुवाली



- रमेश हतुवाली

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू,

सर्व प्रथम घनिष्ट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको तयारीमा रहनु भएका तपाईलाई हार्दिक बधाई तथा सफल एवम् उपलब्धि मुलक भ्रमणको लागि अग्रिम शुभकामना ।

नेपालको राजनीति इतिहासमै जनताद्वारा निर्वाचित सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको हैसियतमा तपाईले भव्य रुपमा सम्पन्न गर्नुहुने यस पटकको चीन भ्रमण नेपाल–चीन सम्बन्धको आधुनिक मियो बन्न सफल हुने कुरामा आम नेपाली जनता विश्वस्त छन् ।

भ्रमणको सिलसिलामा चीनसँग उर्जा, कृषि, रेल्वे लगायतका क्षेत्रमा सम्झौता हुने कुरा सञ्चार माध्यमहरुमा आईरहेका छन् । त्यतिमात्र नभएर यस अघि तपाईले चीन भ्रमणका क्रममा गर्नु भएका सहमती र सम्झौताहरुको कार्यान्वयनको विषयमा समेत छलफल हुने निश्चित छ । उल्लेखित कुराहरु वाहेक पनि अन्य केही महत्वपूर्ण विषयहरु छन् जसले चीनसँगको नेपालको सम्बन्धलाई आपसी हितमा केन्द्रित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । तिनै विषयबारे प्रधानमन्त्रीज्यूको ध्यान आकृष्ट पार्ने प्रयास गर्दैछु ।

१. भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा वेल्ट एण्ड रोड महापरियोजनाको कार्यान्वयनमा नेपालको भूमिका बारे चिनिया पक्षबाट आउन सक्ने जिज्ञासालाई सम्बोधन गर्न नेपाली पक्ष सवल हुनु आवश्यक देखिन्छ । किनकी उर्जा, कृषि, रेल्वे लगायतका क्षेत्रमा हुने सहयोग सम्बन्धि सम्झौता र तिनीहरुको कार्यान्वयन तथा स्थायीत्व यसै महापरियोजनासँग सम्बन्धित छन् ।

२. बुढीगण्डकी जलविद्युत परियोजनाबाट चिनिया कम्पनीलाई हटाए लगत्तै चिनिया सञ्चार माध्यमहरुले यस विषयलाई उच्च महत्वका साथ प्रचारप्रसार गर्दै चीन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए । छिमेकी देशको हैसियतमा नेपालको जलविद्युत विकासमा चीन तथा भारत दुवै सरकारको सहभागीता स्वाभाविक मानिएता पनि पछिल्लो समयमा नेपालको जलभण्डारमा भारतीयहरुको मात्र पकड भएको स्पष्ट देखिएको परिपेक्ष्यमा नेपालको स्वाधिनता र स्वतन्त्रतासँगै समृद्धिको प्रश्न समेत गाँसिएर आउने यस्ता विषयहरुमा नेपाल सरकारले चनाखो रुपमा प्रस्तुत हुनु आवश्क देखिन्छ ।

३. विगतमा चीन सरकारको सहयोगमा निर्मित ट्रली बस, बाँसवारी छालाजुत्ता उद्योग, हेटौडा कपडा उद्योग, भृकुटी कागज कारखाना, हरिसिद्धी टायल उद्योग, हिमाल सिमेन्ट उद्योग जस्ता परियोजनाहरु राजनीतिक चलखेल र सरकारी अक्षमताका कारण तपाईकै आँखा अगाडी नै बन्द भए । अहिले फेरि तपाईको नेतृत्वमा नेपाल सरकारको टोली थप सहयोगको अपेक्षा गर्दै चीन प्रस्तान गर्दैछ । मलाई पूर्ण विश्वास छ, माथि प्रस्तुत गरिएका परियोजनाहरुको बारेमा गम्भिरता पूर्वक विचार गर्दै तपाईले नयाँ सम्झौताहरुमा हस्ताक्षर गर्नु हुनेछ ।

४. भ्रमणको अवसरमा नेपाल–चीन पर्यटन प्रवद्र्धन सम्बन्धि विषयमा वार्ता गर्नु उपयुक्त देखिन्छ । वार्ताको कार्यतालिकामा यस विषयले प्रवेश पाएको छ छैन त्यो प्रधानमन्त्रीज्यूलाई नै जानकारी हुने कुरो हो । पछिल्लो समय चिनिया जनताको आर्थिक हैसियत उक्सिएसँगै उनीहरुमा विदेश भ्रमण गर्ने लहर बढेको प्रस्ट देखिन्छ । नेपाल चिनिया पर्यटकहरुको आकर्षक गन्तव्य भएता पनि पर्यटन प्रवद्र्धनको लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा हामी पछि परिरहेका छौं । नेपालको पर्यटन क्षेत्रको विकास मार्फत नेपाली जनताको जीवनस्तर उकास्न चीन सरकारको सहयोग माग्न नहच्किन समेत आग्रह गर्दछु । त्यस्का लागि केही सुझावका वँुदाहरु प्रस्तुत गर्दैछु ।

चीनसँग सहयोग माग्नु पर्ने विषयहरु

क. पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि विषय अध्ययनको लागि नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति माग ।

ख. नेपालका पर्यटकीय क्षेत्रहरुको बारेमा व्यापक प्रचार प्रसारको लागि चिनिया सञ्चार माध्यमहरुसँगको सहकार्य । आज पनि करोडौं चिनियाहरु भगवान शाक्यमुनी बुद्धको जन्मभूमि नेपाल हो भन्ने विषयमा अनभिज्ञ छन् ।

ग. पर्यटन क्षेत्रको व्यवस्थापन, भौतिक पूर्वाधार विकास र पर्यावरण संरक्षण तथा दिगोपनको लागि चिनिया तथा नेपाली पर्यटन व्यवसायीहरु माझ अनुभवको आदानप्रदान ।

घ. सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा सञ्चालन आदि ।
नेपाल सरकारले आफै गर्नुपर्ने

क. हाल हातले लेखेर दिँदै आएको सत्यजुगे सैलीको नेपाली भिषाको सट्टामा मेसिनबाट प्रिन्ट गरिएको भिषा दिनुपर्ने । जुन आकर्षक र इज्जतीलो देखिनेछ ।

ख. अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पासपोर्टमा हान्ने छापको न्यूनगुणस्तरको कारण मसि लत्पत्तिन्दा पासपोर्ट नै कुरुप देखिन्छ । त्यसलाई तु सुधार गर्नु आवश्यक छ ।

ग. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित यात्रु प्रतिक्षालयमा प्रयोगमा रहेका साउन्ड सिस्टम, मोनिटर, कुर्सि, वाईफाई र शौचालयहरुको सरसफाई तथा गुणस्तरवृद्धिमा अहिले नै ध्यान दिनु आवश्यक छ ।
अन्तमा पुनः एक पटक तपाईको उपलब्धिमुलक चीन भ्रमणको लागि अग्रिम शुभकामना ।

 रमेश हतुवाली  
चाईना वेस्ट नर्मल युनिभरसिटी
नान्छोङ, सछुवान, चीनमा 
४ असार, २०७५ ।

1099 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank