आफ्नै भुमरीमा रुमलिएको ओली सरकार !

शनिबार, जेष्ठ ३१, २०७७

loading...

- तेज बिक्रम देवकोटा



सरकार नागरिकको अभिभावक हो ।त्यसैले त भनिन्छ सरकार नागरिकको लागि “कोक्रो देखि चिहान सम्म ” उपस्थित हुनुपर्छ ।तर नागरिकलाई न विगतका सरकार हुन न वर्तमानका नै । जनताको स्वास्थ्य ,रोजगारी, शिक्षा ,विकास निर्माण लगायत झन् अहिलेको महामारीको समयमा गरिब ज्याला मजदुरी गरेर आफ्नो पेट पाल्ने मजदुर वर्गलाई संविधानको धारा-३६ मा भएको ” खाद्य सम्बन्धी हक ” र धारा ३७ को “आवासको हक ” समेत सरकारले सुनिश्चित गर्न नसकी दैनिक काठमाडौँमा ज्याला मजदुरी गरेर खाने र सडक पेटीमा बाँस भएका प्रतिनिधि पात्र सूर्य बहादुर तामाङ किर्तिपुरमा मृत अवस्थामा भेटिनुले सरकार नागरिक प्रति उदासीन भएको सिद्ध गर्दैन र सरकार ?

संविधानको धारा ३५ मा किन “स्वास्थ्य सम्बन्धी हक “लेखिएको होला ? प्रधानमन्त्री लगायत उहाँका मन्त्रीहरूलाई भ्रष्टाचार गरेको १० अर्वको झुटो हिसाब कसरी मिलाउने भन्नेमा बढी चिन्ता छ । उता नागरिक भने क्वारेनटाइनका नाममा भैँसी गोठ र टहरामा बस्न विवश छन् । पिसिआर चेक नभएकोले काेराेना संक्रमितहरू दिन प्रतिदिन भयावहकाे रूपमा अघि बढिरहेकाे छ ।नागरिकहरू ज्युँदाे हुँदा नभइ  मृत्यु पछि पिसिआर चेक जाँच भई रिपोर्ट थाहा हुनुले सरकार जनताको स्वास्थ्य प्रति यस्तो विश्वव्यापी महामारीमा खेलबाड गरेको छर्लङ्गै छ ।प्रधानमन्त्री  ओली अहिले जनतालाई द्रुतगतिमा पिसिआर चेकजाँच गर्ननिर्देशन दिनुकाे सट्टा आफै चिकित्सककाे रूपमा प्रस्तुत हुँदै अदुवा,लसुन,प्याज,बेसार,ढिँडोका साथै हिमालको चिसो हावा र पानी खाएकोले नेपालीको अन्तरनिहित क्षमता बढी भएको कारण कोरोनाले असर नगर्ने दाबी गरिरहेका छन । साथै पिसिआर चेक जाँच बाट भाग्न रिसर्च विहीन झुटो जवाफ संसदबाट सार्वजनिक गर्छन ।   कहिले भाइरोलजिष्ट बनी चीनको भन्दा भारत तर्फको भाइरस खतरा भनी छिमेकी चिढाउने अभिव्यक्ति दिँदै हिँडिरहेका छन  ।

 १० वर्षे जनयुद्ध गरेका गृहमन्त्री रामबहादुर थापा बादल ” रुकुम सोतीको जातीय विभेदको नर सङ्हार ” का पीडितलाई न्याय दिलाउनको सट्टा अमेरिकी प्रहरीद्वारा मारिएका ” जर्ज फ्लोयड “को  ” रेसिजम ” घटनासँग जोडेर जातियता अमेरिका जस्तो देशमा त रहेछ भने नेपालमा हुनु कुनै नौलो नभएको मूर्खतापूर्ण जवाफ दिदै छन्। १० वर्षे जनयुद्ध लडाइ जातीय समानता ,निष्पक्षता ,अन्याय अत्याचारका विरुद्ध चर्का नारा बाेक्दै गृहमन्त्रीकाे कुर्सीमा बिराजमान  कमरेड बादलबाट आकाशमा रहेको कालो बादलकै अभिव्यक्ति आउनु देश र जनताको लागि  दुर्भाग्यपूर्ण हाे ।

एडोल्फ हिट्लरले कुखुराका प्वाँख उखेलेर फालेपछि अन्तमा फेरि मकैका दाना देखाउँदा कुखुरा हिट्लरको जघन्य अपराध बिर्सिएर हिट्लरले देखाएका मकैका दाना तिर गएकाे कथावस्तु जस्तै नेपालका शासक वर्गहरूले जनता माझ भ्रम सिर्जना गरेका छन ।  जस्तै : निर्मला बलात्कार तथा हत्याकाण्ड , ३३ किलाे सुन काण्ड , बालुवाटार स्थित ललिता निवास काण्ड , गुठी विधेयक काण्ड , गोकुल काण्ड , होली वाइन काण्ड , यति होल्डिङ काण्ड , मिडिया काउन्सिल विधेयक काण्ड ,सभामुख काण्ड , मेलम्ची ठेकेदार काण्ड र सिन्डिकेट काण्ड आदि हुँदा हुँदै पनि हिट्लरले कुखुरालाई गरेको अपराध जस्तै गरी मकैका दाना को लोभ देखाएर फेरि २०७२ सालको भारतको नाकाबन्दीको समयमा खोक्रो नाङ्गो राष्ट्रवाद देखाइ चुनाव जिते त्यसै गरी अहिले कालापानी , लिपुलेक र लिम्पियाधुराको नयाँ नक्सा सार्वजनिक हुनु स्वागत योग्य तर प्रधानमन्त्रीको नियति हेर्दा नयाँ नक्सा सार्वजनिक हुनु चुनाव जित्नको लागि हिट्लरले कुखुरालाई देखाएका मकैका दाना पो हुन कि ?

किमार्थ हैन भने चुनाव अगावै भारतसँग द्विपक्षीय ठोस वार्ता गरी नेपाली भूमि कब्जा गरी बसेका भारतीय सेना फिर्ता गरी नेपालको भूमि नेपालको अधीनमा आउनु पर्छ । अन्यथा नयाँ नक्सा जनतालाई देखाएको हात्तीका दाँत भन्दा केही हुन सक्दैन ।

सरकार पिसिआर चेकजाँच बढाउ ,कमिसनको खेलबाट टाढा बस  ।  दश अर्वको एक-एक पारदर्शिता हिसाब किताब देऊ , सोतीको जातीय नरसंहारका पीडितलाई न्याय देऊ ,नेपाली नागरिक जो जहाँ भएनी अप्ठ्यारोमा परेकालाई उद्धार गर , लकडाउनले थिलथिलो भएका जनतामा करकाे ढाडस नदेऊ प्रधानमन्त्री ज्यू तिम्रो सरकार विरुद्ध जनता आक्रान्त भई सडकमा ओर्लिसके अझ पनि सोचेनौ भने तिम्रो सिंहदरबार को सिंहासन कोरोना महामारी सँगै जाने सुनिश्चित जस्तै देखिन्छ ।

जनताले प्रचण्ड बहुमत दिएर सिंहदबारमा सुम्पिदा ओली सरकार आफ्नै भुमरीमा रुमलिएनु भनेको दुर्भाग्यपूर्ण हुनेछ । तसर्थ जनमतको कदर गर्दै जनताका जायज मागहरु सम्बोधन गर्नु ओली सरकारको लागि फाइदा नै हुनेछ । बालुवाटार र सिंहदरबार भित्र झुम्मिने, भगवान गणेशले जस्तै सत्ता पेरिफेरीमा रहि परिक्रममा गर्नेहरु भन्दा तपाई र तपाईको पार्टी प्रति विश्वासमा मतदान गर्नेहरु तपाईको नजर पर्न नसक्नु स्वयम तपाई र पार्टीको लागि समेत घातक हुन जान्छ । तसर्थ उखान टुक्का मार्फत साँगुरो घेरामा नभई खुला आकाश रमाउने चेष्टा गर्नु नै उचित र न्यायपूर्ण हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments