निर्मला हत्याकाण्डका नखुलेका पाटा !

शुक्रबार, भदौ १५, २०७५

loading...

- - खेम भण्डारी



- - खेम भण्डारी

लगभग ३० वर्षे पत्रकारिता जीवनमा मैले हजारौ लेख लेखें तर आत्मकेन्द्रीत लेख आधा दर्जन पनि छैनन् मेरा । आज यो लेख भने म आफूलाई केन्द्रमा राखेर लेख्ने जमर्को गर्दैछु । यसबाट मेरा पाठकहरुलाई खस्रो लाग्न सक्छ तर मैले सुरुदेखि नै निर्मला हत्याकाण्ड नियालिरहेको, यसबारेमा कलम चलाएको र निर्मलालाई न्यायका लागि अभियानकर्ताकै भूमिका गरेकोले पनि यो हत्याकाण्डका नखुलेका केही पाटा आत्मकेन्द्रीत भएर लेख्दा सजिलो हुन भएकोले यो दुस्साहस गरेको हुँ । आत्मकेन्द्रीत हुँदा सलल बग्ने अभिव्यक्तिले निर्मला हत्याकाण्डका केही गुप्त पाटा र पृष्ठभूमि बुझ्न उच्चस्तरीय छानविन समितिलाई समेत सहयोग पुग्ने मेरो बुझाई छ ।

मैले स्थानीय पत्रकारका रुपमा आफ्नो जीवनका करिब २० वर्ष महेन्द्रनगरमैं खर्चेको छु । पत्रकारले समाजका लागि काम गर्नुपर्छ भन्ने मूलमन्त्रमा मेरो समग्र करिअर आधारित छ । समाजलाई समनुन्नत बनाउन पारदर्शीता, सुशासन र सुरक्षित समाज आवश्यक शर्त हुन् भन्ने मेरो बुझाई हो । पत्रकार न कसैको माइक्रोफोन हो, न ऐना बोकेर फगत प्रतिछाँया देखाउने मजदूर हो, बरु पत्रकार समुन्नत समाज निर्माणका लागि आवश्यक सुशासन र पारदर्शीतालाई सुनिश्चित बनाउने अभियानको ‘एक्टिभिस्ट’ हो भन्ने दर्शनबाट म क्रियाशील रहेको छु । पत्रकारमा शिक्षा, ज्ञान, विवेकलगायतका अत्यावश्यक तत्व त चाहिन्छ नै निर्भिकता र घटनाको निरपेक्ष विश्लेषणको क्षमता पनि आवश्यक हुन्छ भन्ने मेरो ठहर छ ।

निर्मला हत्याकाण्ड कञ्चनपुर प्रहरीको बदनियतको पहिलो उदाहरण होइन । इतिहासमा कञ्चनपुर प्रहरीका अधिकारीहरुले बदनियतपूर्ण काम गर्दा सयौं अपराधीले उन्मुक्ति पाएका छन् । कञ्चनपुर प्रहरीको प्रमुख भएर आएपछि एसपी डिल्लीराज विष्टको करिब नौ महिनाको कार्यकालमा पनि हत्याकै अरु दुई घटनामा प्रहरीले न्यायको हत्या गरेको साक्षी हुँ म ।

निर्मला हत्याकाण्डको पृष्ठभूमिमा एसपी विष्टको नेतृत्वमा जेजस्ता नाटक मञ्चन गरियो र मैले मेरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् ती मुद्दाहरुको उठान गर्दासमेत समाज प्रतिक्रियाविहिन भएको देखेर प्रहरीले निर्मला हत्याकाण्डलाई पनि सामसुम पारिदिने दुस्साहस गरेको मेरो बुझाई छ । ती दुई हत्याकाण्डमा समाजले हलुका आवाजले पनि विरोध गरिदिएको भए निर्मला हत्याकाण्ड दबाउन एसपी विष्ट र उनको टीमलाई दुस्साहस प्राप्त हुने थिएन ।

एसपी विष्ट र मेरो सम्बन्ध
२०६२/०६३ सालमा राजा ज्ञानेन्द्रको शासनकालमा म थुनिँदा एसपी विष्ट कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक थिए । दिउँसो घाम ताप्न मलाई बाहिर राख्ने गरिन्थ्यो । त्यही घाम तपाईको क्रममा मेरो उनीसँग परिचय भएको हो । तर, भारतमा म पढेको कलेजबाट नै उनले पढेको सुनको हुँ । सायद उनी मभन्दा दुई–तीन ब्याच सिनियर थिए । 

राजा ज्ञानेन्द्रविरुद्धको आन्दोलन सफल भएपछि उनीसँग मेरो कहिल्यै भेट भएन । उनी कञ्चनपुरको प्रहरी प्रमुख भएर आएपछि एकदुई पटक फोनमा कुरा भयो तर केही सार्वजनिक कार्यक्रममा बाहेक उनीसँग मेरो भेटघाट भएन । मेरो स्वभावअनुसार मैले यी नौ महिनामा उनीसँग बसेर चियासमेत पिएको छैन । उनी मलाई साथी हो भन्दा रहेछन्, त्यसमा मेरो कुनै आपत्ति रहेन ।

उनले जिल्लाको सुरक्षा व्यवस्था हातमा लिएपछि भने क्रमशः उनीसँग मेरो मतभेद बढ्दै गयो । कुनै पनि जिम्मेवार निकायले गैरजिम्मेवार काम गरे रिस उठने मेरो स्वभाव छ । विष्टको नेतृत्वमा कञ्चनपुर प्रहरीले सूचना अवरुद्ध गर्ने, घटना तोडमरोड गर्ने गरिरहेका थियो । हत्याकाण्डमा समेत तल्लो दर्जामा उत्रेर काम गर्न थालेपछि उनीसँग मेरो संघर्ष बढ्दै गयो ।

विशेष गरी असारको तेस्रो साता विद्युत लाइन विस्तार गर्ने क्रममा ठेकेदारको लापरवाहीले एक मजदूरको मृत्यु हुँदा र असारकै अन्तिम साता भीमदत्त नगरपालिका–११ भुजेलाका एक गरिब जोताहा किसान नैनराम सार्की 
मारिंदा प्रहरीले जसरी निर्लज्जता प्रदर्शन गरी दोषी उम्कायो त्यसपछि म एसपी विष्ट शतप्रतिशत गलत नियतका प्रहरी अधिकारी हुन् भन्ने निष्कर्षमा पुगें । ती दुई हत्याकाण्डमा मैले चलाएको कलम र उठाएको आवाजले पनि काम नगर्दा १५ दिन नबित्दै निर्मलाको बलात्कारपछि हत्या भयो ।

विद्युत ठेकेदारका मजदुर कञ्चनपुरको देखतभूली निवासी शिवराज राना र भुजेलाका नैनराम सार्कीको हत्याको अनुसन्धानका क्रममा फोनबाट मेरो एसपी विष्टसँग सम्पर्क भइरहन्थ्यो र मैले उनलाई न्यायपूर्ण तरिकाले काम गर्न अनुरोध गर्दथें । तर, उनले मीठा कुरा गर्दै ती दुई हत्याकाण्ड दबाएनन् मात्रै अभियुक्त करार गरी मुद्दा चलाउनुपर्ने व्यक्तिहरुलाई सहजै उन्मुक्ति दिलाए ।

निर्मला हत्याकाण्डको सन्दर्भमा पनि मेरो एसपीविष्टसँग सम्वाद कायम थियो । उनले गरिब, असहाय र निर्दोषलाई कसरी फासउन सक्छन् भन्ने कुराको मोटामोटी अनुमान मलाई भइसकेको थियो । त्यसैले मैले चक्रदेव वडूलाई फसाउन खोज्दा जोखिमै मोलेर चर्चामा ल्याएँ । चक्रदेव अत्यन्त निर्धन परिवारका पहुँच नभएका युवक हुन् । उनको आवाज दवाउन सजिलो हुन्छ भनेर नै उनलाई फसाउने प्रपञ्च गरिएको थियो । त्यसअघि नेगी थरका युवकलाई पनि प्रहरीले फसाउन खोजेको थियो तर सकेन ।

चक्रदेवलाई फसाउन नसकेपछि एसपी विष्ट अर्को निसहाय, पहुँच नभएको गरिब सिकार खोज्दैछन् भन्ने आशंका भइरहेकै बेला उनले दिलिप विष्टलाई वास्तविक अपराधी झैं प्रस्तुत गरे । यसपटक उनलाई दिलिपको आपराधिक पृष्ठभूमिले पनि साथ दिएको थियो । अर्कोतिर, संयोग नै भनुँ, दिलिप मेरो ससुरालीपट्टीका टाढाका नातेदार पनि हुन् । दिलिपलाई सार्वजनिक गरेपछि मैले टेक्स्ट म्यासेजबाट यस कुराको जानकारी दिंदै दिलिपको आफन्तका हैसियतले मैले उसको बयान सुन्न पाउने जिकिर गरें, उनले कुनै प्रतिक्रिया देखाएनन् । दिलिपको कोही छैन भन्ने ठानेका उनले जब म नै उसको सम्बन्धी भएको थाहा पाए त्यसपछि झस्केका केही कनिष्ट प्रहरी अधिकृतहरुले बताएका छन् ।

दिलिपलाई सार्वजनिक गर्नुभन्दा पहिले उनले मलाई आफ्नो पक्षमा पार्न धेरै प्रयास गरेका थिए । मेरो राम्रो सम्बन्ध रहेका केही व्यक्तिसँग पनि उनले हारगुहार गरेका थिए । स्थानीय वासिन्दा र मेरो छिमेकी टोलवासी भएकाले मैले आफ्ना दुईवटा फेसबुक स्टाटस डिलिज गर्दै सदाशयता देखाएँ ।

ती स्टाटस डिलिट गरेपछि मैले एसएमएसबाटै उनलाई अनुरोध गरें – म तपाईलाई सहयोग गर्न तयार छु, कृपया जनताको चाहना पूरा गर्नुहोला । सँगै मैले अर्को सल्लाह पनि दिएँ – तपाई स्थानीय वासिन्दा हो सरुवा माग्नु राम्रो हुनेछ, जनताले तपाईलाई मान्नेछन् । उनले ‘धन्यवाद म तपाईलाई पनि सहयोग गरुँला’ भनेर प्रतित्यूत्तर दिए । मलाई उनको यो सब व्यवहारले आश्चर्यचकित बनाएको थियो । उनी घटनालाई बंग्याउँदैछन् भन्ने मेरो आशंका विश्वासमा परिणत भइसकेको थियो ।

यसरी उत्साहित बने विष्ट !
महेन्द्रनगरका स्थानीय वासिन्दा भएकाले एसपी विष्ट यहाँ बलियो सामाजिक धरातलमा उभिएका थिए । त्यसको फाइदा लिंदै उनले विभिन्न घटनामा अतिरञ्जित भूमिका गर्न थाले । हामीले थाहा नपाएका दर्जनौं घटना हुन सक्छन् । तर, शिवराज राना र नैनसिंह सार्कीको हत्याकाण्डमा निर्लज्जताको हद पार गर्न उनी सफल 
भए । त्यहाँबाटै उनले जे गरे पनि हुन्छ भन्ने ठाने । म र मेरा सञ्चारमाध्यमले न्वारानको बल लगाएर पनि शिव राज र नैनराम प्रकरण आफ्नो स्वार्थ अनुसार मोड्न र दबाउन सफल भएपछि एसपी विष्टले निर्मला हत्याकाण्ड पनि त्यसै गरी दबाउन सकिन्छ भन्ने ठानेकै हुन् । विभागमा नतानिंदासम्म उनमा त्यो दम्भ देखिन्थ्यो । साउन ६ गते जिल्ला प्रशासन कार्यालयको सर्वदलीय–सर्वपक्षीय बैठकमा उनको प्रस्तुति देखेर मलाई उनीप्रति दया पनि लागेको थियो ।

के हो शिवराज काण्ड ?
भीमदत्त नगरपालिका–३ तिलकपुरमा विद्युतलाइन विस्तार गर्ने ठेक्का लिएका ठेकेदारले वर्षभरि काम गरेनन् । असारको तेस्रो साता मात्रै काम सुरु भयो, बिल भुक्तानीका लागि । त्यो लाइन अर्को प्रसारण लाइनसँगै टाँसेर तान्नुपर्ने थियो । त्यो काम गर्न सटडाउन लिनैपर्ने थियो । तर, म्याद गुजार्न लागेको ठेकेदारका लागि प्राधिकरणले घण्टौं सटडाउन दिने कुरै भएन, ठेकेदारले पनि सटडाउन मागेनन् । असार १७ गते प्रसारण लाइनमा करेन्ट बगिरहेको थियो, पानी परिरहेको थियो, जमिन र गाडिने सबै पोल भिजेका थिए । जोखिमपूर्ण काममा लागेका मजदूरलाई सटडाउन नलिइएको भन्ने थाहा थिएन । पोल गाड्दा अचानक पोलले प्रसारण लाइन छोयो र पाँच मजदूर घाइते भए । तीमध्ये शिवराज रानाको घटनास्थलमैं मृत्यु भयो ।

ठेकेदारलाई हत्याको अभियोग बन्ने यो प्रकरणमा एसपी विष्ट र डिएसपी ज्ञानबहादुर सेठीले बलमिच्याई गरेर सामान्य दुर्घटनाको रुप दिए । बीमा रकममैं प्रहरीले पीडित प्रहरीलाई मनायो । मैले यसको चर्को विरोध गरें तर कसैले दवाव सिर्जना गर्न आवश्यक ठानेन । नागरिक समाजका नेता र अधिकारवादीहरुलाई त यो घटना सामसुम भइसक्दा पनि थाहा भएन ।

नैनराम काण्ड पनि रहस्यमयी !
नैनराम काण्ड पनि रहस्यमयी शिवराज काण्डमा प्रहरीले ठेकेदारलाई उन्मुक्ति दिएको एक साता नपुग्दै असार २६ गते भुजेलामा नैराम सार्कीको टाउको फुटेर गिदी बाहिर आएको शव फेला पर्‍यो । घटनास्थलमा कुनै किसिमको सवारी साधन गुडेको संकेत पनि थिएन तर शव पाइएको केही घण्टामैं प्रहरी प्रवक्ता डिएसी सेठीले ट्रिप्परले किचेर नैनरामको मृत्यु भएको घोष्णा गरे । आश्चर्यको कुरा त के भने सेठीले त्यस्तो दावी गर्दा न नैनरामको पोष्टमार्टम रिपोर्ट आएको थियो, न त अनुसन्धान टोली नै गठन गरिएको थियो ।

हत्यामा नैनरामले जोत्ने जग्गाका धनी टिका सार्कीको हात भएको नैनरामका आफन्तले दावी गर्दै किटानी जाहेरी दिने प्रयास गरे तर एसपी विष्टले अनेक बाहना गरी जाहेरी लिएनन् । टिका सार्की पाँच बिगाहा जमिनका मालिक हुन् र अविवाहित उनले नैनरामकी पत्निलाई तीन महिना भारतमा लगेर फर्केका थिए । भारतबाट फर्केपछि पनि नैनरामले आफ्नी पत्नि देख्न पाएनन्, लुकाएर राखियो । नाबालक छोराछोरीको विचल्ली हुने भएपछि नैनराम आफ्नी पत्निलाई फिर्ता लैजान टिकाको घर जाने गर्थे तर टिकाले उनलाई धम्क्याएर, धेरै पटक त कुटेर फर्काउने गरेका थिए । त्यो क्रम चलिरहँदा नैनराम मृत अवस्थामा फेला परेका थिए ।

नैनरामको प्रकरणमा एसपी विष्ट र डिएसपी सेठीले गरेको बलमिच्याई देखेर आश्चर्यचकित भएँ । दुर्भाग्य त के भने यस प्रकरणमा कथित दलित अधिकारवादी समेत मौन रहे । लगातार समाचार, टिप्पणी, फेसबुक स्टाटसमार्फत् मैले नैनरामलाई न्यायका लागि हार गुहार गर्दा कसैले गम्भीरताका साथ लिएन । पछि प्रहरीले भुजेलाकै एक ट्रिप्पर चालकको टाउकोमा दोष थुपारेर प्रकरण रफादफा गर्‍यो ।

नैनरामका आफन्त र उनका लागि बोल्नेहरुलाई प्रहरीले धम्क्याउँदा उनीहरुले केही समय महेन्द्रनगरबाट गायब रहनुपर्ने अवस्था आयो ।

निर्मला प्रकरण र एसपी विष्ट निर्मला हत्याकाण्डमा एसपी विष्ट र उनको टिमले किन सर्वस्व गुमाउने शैलीमा अडान लिदैछ भन्ने जिज्ञाषा बढ्दै जाँदा आन्दोलनको अवस्था बनेको हो । लामो समय प्रहरी सेवामा विताएका अनुभवी अधिकारीहरुले आन्दोलन चर्कदासमेत त्यो अडान छोडेनन् । यसबाट आफ्नो करिअर र सामाजिक प्रतिष्ठाभन्दा अर्को कुनै ठूलो कुरा जोगाउन एसपी विष्टले त्यो अडान लिएका भन्ने अनुमान गर्न कठिन छैन ।

निर्मला हत्याकाण्डबाट सबैभन्दा 
धेरै क्षति एसपी विष्टलाई भएको छ तर डिएसपी सेठी, सीआइबी डिएसपी अंगुर जीसी पनि किन उनको सती जान तयार देखिए भन्ने रहस्य अनुत्तरित छ ।

निर्मलाको हत्यापछि शव ठेगान लगाउन जुन तरिका प्रयोग गरिएको थियो, त्यसले हत्याकाण्डमा अपराध अनुसन्धान सम्बन्धी जानकार व्यक्ति संलग्न रहेको संकेत दिएको थियो । प्रमाणहरु नष्ट गर्नका लागि सुविचारित योजना कार्यान्वयन गरिएको थियो । सामान्य अपराधीले हतारमा योजनावद्ध तरिकाले काम गर्दैन भन्ने बुझाईका आधारमा निर्मलाको बलात्का र हत्यामा नभए पनि शव ठेगान लगाउने काममा अपराध अनुसन्धानमा पोख्त व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको हो ।

निर्मला हत्याकाण्डमा एसपी विष्टको संलग्नता बारे एकिन भन्न सकिने कुरै होइन । तर, उनले लिएको अडान र देखाएको व्यवहारले उनी शंकाको घेरामा आएका हुन् ।

रोशनी र अनिता मात्रै होइनन् सूत्र
अनिता र रोशनी बमबाहेक निर्मला हत्याकाण्डमा अरु सूत्र पनि उपलब्ध छन् । सीआइबीका डिएसपी अंगुर जीसी, डिएसपी ज्ञानबहादुर सेठी, सीआइबी टिमका अन्य सदस्य, सीआइबीको सहयोगमा खटिएका स्थानीय प्रहरी अधिकृतहरु पनि अनुसन्धानका सूत्र हुन् । उनीहरुलाई हत्याबारे सब थाहा भइसकेको हुनुपर्छ किनभने एसपी विष्टको योजनामा उनीहरु चलेका हुन् ।

तर, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले एसपी विष्टबाहेक अरुलाई निलम्बन समेत गरेको छैन । यसबाट अनुसन्धान प्रक्रिया प्रभावित हुने मात्रै देखिंदैन वास्तविक हत्यारा नै चिन्हित हुन नसक्ने खतरा उत्पन्न भएको छ । एसपी विष्टसँगै जिल्ला प्रहरी कार्यालयका सबै अधिकृत र अनुसन्धानमा संलग्न सबै जुनियर अधिकृत तथा सीआइबीको सिंगो टोलीलाई थुनामा राखेर अनुसन्धान गर्नु जरुरी छ । अन्यथा उच्चस्तरीय छानविन समितिलाई पनि ‘हात लागी शून्य’ नहोला भन्न सकिन्न । भण्डारीको यो लेख मानसखण्डबाट लिइएको हो । 

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank