ब्राह्मण ज्वाइँ

शनिबार, पुस २१, २०७५

loading...

अर्जुन थापा

मेरी छोरीले घरको झ्यालबाट बाटोमा त्यो केटालाई हेरेकै भरमा मनको ढोका उघारिसकिछ । हुन त घरअगाडि बाटो भएर जाँदा नदेखेको त मैले पनि कहाँ हुँ र ? तर पनि छोरीले उसलाई नै मन पराइसकेकी कुरा मलाई कहाँ थाहा थियो ।

आज भन्यो, भोलि भन्दाभन्दै घरमै आयो केटा, तपाईंकी छोरीसँग विवाह गर्छु भनेर । झट्ट हेर्दा साँच्चीकै अति नै आकर्षक नै लागेको थियो । कति मीठो बोली, विचार गरेर बोल्ने । त्यो पहिलो भेट थियो हाम्रो ।

अरूभन्दा पनि एउटै छोरी, त्यसमा कुनै दिन केही पिर लिनु परेन– कुनै केटासँग सम्बन्धित कुरामा । यही पहिलो पटक थियो छोरीले मसँग यो केटाको बारेमा खुलेर कुरा गरेको । अब त केटासँग पनि कुरा भइसकेको अवस्थामा मलाई पनि धेरै कुरा मन परिसकेको थियो ।

हुन त योभन्दा पनि पहिला छोरीको लागि विवाहको प्रस्ताव लिएर मान्छेबाट कुरा नआएका त होइनन् तर पनि छोरीले यसैलाई मनबाटै मन पराएकीले गर्दा मैले पनि केही भन्न सकिनँ ।

रातभरि निद्रा लागेन, सम्झेँ आफूले— यो लोग्ने भयो मेरो आजदेखि “चाहे बाध्यताले नै किन नहोस्” भनेको दिनदेखि भोगेका दुःखकष्टहरू फेरि एकएक गरेर सर्सर्ती सम्झेँ । हो, छोरीले जस्तै मैले पनि त्यसरी नै मनमा कसैलाई सुटुक्क स्थान दिएकी थिएँ र त्यसको सजाय आजको दिनसम्म भोग्दै छु । त्यसरी नै कतै मेरी छोरीले पनि भोग्नुपर्‍यो भने के गर्ली भनेर झन् शरीर नै एक पटक सिरिङ्ग भयो । त्यो एक क्षण मनले केके मात्र सोचिनँ होला त । तर कहाँ हुन्छ र नि अहिलेको जमानामा पनि त्यस्तो । मेरो त पुरानो समय, त्यसमा पनि गाउँकी अनपढ थिएँ । केही गर्ने आँट थिएन तर मैले जति दुःख पाए तापनि यी दुई छोराछोरीलाई राम्रै पढाएकै छु । केही परेको खण्डमा लड्न सक्ने क्षमतावान् बनाएकी छु । सानैबाट मेरो भन्न मिल्ने जति दुःख बताएकी छु र देखेका पनि छन् ।
भगवान मलाई जेजस्तो सजाय दियौ, पहिला र अझै दिइराखेका छौ, ती म सबै सहन्छु तर यी दुई जनालाई चाहिँ कहिल्यै कन्जुस नगर सुख दिनलाई ।

बिहान उठ्दा जिउ भारी भइराखेको छ । सायद, रातमा अनिद्राको कारण होला । केही गर्ने जाँगर छैन आज मेरो, “मनमा छोरीको बिदाइ गर्ने कुराले मन पिरोलिराखेको छ ।”

अर्कोतर्फ हुनेवाला ज्वाइँलाई सम्झिन्छु, मनमा खुसी लागेर पनि आउँछ । अब मैले आफ्नो ज्वाइँ भन्ने दिन आयो । ज्वाइँ भन्ने शब्दले पनि मनमा कति शीतलता ल्याउँदो रहेछ । हिजोअस्तिसम्म कोही थिएन न अहिलेसम्म देखेकी नै थिएँ तर आज कति प्यारो लाग्न थालिसकेछ ।

समय कति बलवान् छ, हिजोसम्म केटामान्छे देख्नेबित्तिकै लुक्ने छोरी आज यही केटा पाए बिहे गर्छु भन्छे । हिजै जस्तो लाग्छ, जन्म दिएको, जस्तै दुःख परे तापनि यी बच्चाहरूलाई सकेको मिठो खान दिएर, लाउन दिएर ठूलो पारेको । अब कसरी चटक्क माया मारेर यसको बिहे गर्दिने होला । धत् यही कुरा सोच्दासोच्दै आज दिन बितेछ । दिमागमा कुरा खेल्न पनि मात्र बहाना चाहिन्छ । हिजोसम्म एउटा कुरा थियो आजबाट अर्को थप्यो ।

“मम्मी, मम्मी ऊ त कुरा पक्का गर्न पर्सि नै आउँछु भन्दैछ । म के भनूँ ?”

मन चीसो भयो छोरीको कुरा सुनेर । झनक्क रिस पनि उठ्यो, एकचोटि त भनिदिएँ मैले, “के बच्चाको दुलाहादुलही खेलेको हो र ? यति सजिलै कुरा पक्का गर्नलाई भनेर !”

अँध्यारी भएर भित्र गई छोरी । यो माया भनेको पनि अनौठो छ ।

जे भए तापनि एकपटक लोग्नेलाई सोध्नुपर्‍यो । छोरा सानै भए तापनि सल्लाह गर्नु नै पर्‍यो । जे भए तापनि अबको जिम्मेवारी त यही भाइले नै धान्ने हो । हामीपछिको माइती भनेर आउने यही भाइकहाँ नै हो ।

नभन्दै छोरीको कुरा छिन्ने दिन पनि आयो । सायद केटाका मामामाइजू आएका थिए । आए सबै कुरा भयो र मैले पनि राख्न पर्ने कुरा राखेँ । मनमा भएका शङ्काहरू पनि समाप्त भए र टीका लगाउने दिन पक्का भयो । फेरि आजको रात नसुती काट्ने अर्को बहाना भयो मलाई ।

हो, युवतीहरूले यस्तै बेला आफ्नो लोग्ने खोज्ने रहेछन् । शारीरिक भोक मेटाउनलाई मात्र लोग्ने चाहिन्छ भन्ने पक्षमा म कहिल्यै छैन । लोग्ने भनेको हरेक क्षण साथमा होस्, सधैँ मैले भन्नुभन्दा पनि पहिले नै मेरो हात समातेर म छु भनिदियोस् । झैझगडा भनेको आफ्नो ठाउँमा छ तर जब एकअर्कालाई पर्दा अगाडि पाउनुको जो आनन्द छ, त्यो कहाँ पैसाले तुलना गर्न मिल्छ र नि । अहिले मैले लोग्ने विदेशमा छ भनेर चित्त बुझाए तापनि वास्तविक त ऊ नेपालमा नै भए तापनि मेरो आँसु भिज्ने त सिरानी नै हुन्थ्यो ।

नेपालमा नै हुँदा पनि ऊ मसँगसँगै भएको आभाष कहिले पो भयो र नि अहिले विदेशमा छ भनेर चित्त बुझाउनु ।

धेरै पटक मलाई भएको छ कि कुनै एकान्तमा गएर डाँको छोडीछोडी रुनलाई र आज फेरि त्यही गर्न मन भइराखेको छ । आँखा वरिपरि मात्र छोरी र अब हुनेवाला ज्वाइँ मात्र घुमिराखेका छन् र मनमा फेरि अनेकौँ शङ्काहरू । मन्दिरको घण्ट बजेको झट्ट कानमा पर्‍यो । बत्ती बालेर हेरेको बिहानको ४ः३० बजिसकेछ । धत्तेरी आजको रात पनि यही फाल्तु कुरामा खेर फालेछु जस्तो लाग्यो ।

ज्वाइँ छोरीलाई सँगै उभ्याएर माला लगाइदिँदा मनमा कति आनन्द लाग्ने । वर्षौंदेखिको रहर आज पूरा पनि भयो र आजबाट छोरी अर्काको हातमा सुम्पिदिएँ वा भनौँ टीका लगाएर पक्का भयो आजबाट । माला लगाउँदा धपक्क बलेका मेरा ज्वाइँ । सबैले ज्वाइँको तारिफ गरेको सुन्दा पनि आनन्द लागिराख्यो । बाहुन केटा भएर क्षेत्रीकी छोरीसँग बिहे गर्नु, पक्कै पनि केटा असल नै हुुनुपर्छ ।

मैले पहिले नै सबै कुरा स्पष्ट गरिदिएकी छु छोरीको बारेमा । “मबाट दिनसक्ने संस्कार दिएकी छु । सबै गुण छ छोरीमा मात्र अलिक बढी रिसाउँछे” त्यही हो अवगुण यसको भनेर ।

“दुई हात जोडेर हजुरकी छोरीलाई हातहातैमा राखेर पाल्ने छु” भनेका थिए ।

मान्छे र परिवार हेर्दा छोरीले सधैँ सुखी नै भएर बस्ने छे त्यो घरमा भन्नेमा म ढुक्क छु पनि । अरूभन्दा पनि छोरी खुसी छे मात्र केटाले माया गरिदिए अब मलाई चाहियो र नै के र ।

अब बिस्तारै विवाहको तयारी पनि गर्नुपर्‍यो । जहाँसम्म लाग्छ दाइजोचाहिँ केही माग्दैनन् र नमागे तापनि मेरो औकातअनुसार सकेको दिन्छु । एउटै छोरी त हो मेरो पनि । अब अलिअलि भएको पैसाले सामानहरू किन्दै गर्नुपर्‍यो पछि पुगेन भने यही घर बैङ्कमा राखेर अरू सामान किन्नुपर्ला ।

वैशाख २९ गते विवाहको दिन तोकियो । मनमा फेरि एक प्रकारको डर उत्पन्न भएर आयो । अब दुई महिना मात्र त बाँकी छ नि छोरी घर बस्नलाई । आजको दिनसम्म केही काम नलगाई हुर्काएकी छोरी त्यहाँ गएर गर्न पो सक्छे कि सक्दिनँ । परिवार पनि धेरै, यहाँ दुई–तीन जना भएर बसेको, एकै पटक सात–आठ जनामा कसरी गर्ली यसले, अब अर्को पीर थपियो फेरि मलाई ।

बिस्तारै केटाहरूबाट अलिक किचकिच हुन थाल्यो, परिवारका साथै आफन्तहरूसमेतलाई सामानहरू दिनुपर्ने कुरामा । ठीकै छ, सामानहरू सबैलाई दिँदैमा छोरीलाई राम्रो हुन्छ भने केही छैन ।

अर्को कुरा, छोरी र ज्वाइँको अहिलेदेखि नै खटपट पर्न सुरु भयो । रातभर छोरी रोएर बस्न थाली । हे भगवान ! भयो के त सोध्दा, केही होइन भन्छे । के कुरामा दुई जनाबीच ठाकठुक परिराखेको छ मलाई पत्तो छैन । विवाह हुन हप्तादिन मात्र पनि छैन । अहिलेदेखि यस्तो छ भने भोलि के हुने होला त ?

मैले छोरीलाई राम्ररी भनेको पनि छु, तँ केही पीर नगर् अझै केही बिग्रेको छैन, टीका मात्र लगाएको हो । तँलाई चित्त बुझ्दैन भने छोड्नु नै राम्रो हो । जिन्दगीभर रुनुभन्दा अहिले नै रुनु ठीक भन्दा ‘त्यस्तो केही होइन’ मात्र भनी ।

अब मलाई फेरि छोरीज्वाइँबीचको कुराले पिरोल्न थालिसकेको थियो । यसबीचमा दुवैसँग सोधेको पनि थिएँ तर कसैबाट सन्तुष्टिपूर्ण उत्तर पाइराखेको थिइनँ । सोचेँ, छोरीले भाग्यमा यही केटाबाट राम्रो हुन लेखेको रहेछ भने जसरी पनि राम्रो हुन्छ होइन भने हुँदैन ।
छोरीलाई आजबाट बिदा गरिदिएँ । हरेक बाबुआमालाई यस्तै असह्य पीडा हुँदो हो छोरीलाई बिदाइ गर्दाको क्षण ।

‘सधैँ तिम्रो मुखबाट मम्मी म धेरै खुसी छु —भनेको मात्र सुनिरहनु पाऊँ भगवान ।’

कन्यादान गरिरहँदा पनि मेरो आँखा ज्वाइँमा मात्र नै थियो । कति राम्रो देखिएको दौरासुरुवालमा, भगवान हजुरले विष्णु भगवानलाई ज्वाइँका रूपमा मलाई पठाइदिनुभयो भनेर खुसी पनि थिएँ ।

आज छोरी पठाएको पनि हप्ता दिन भइसक्यो तर घर अझै शून्य भइराखेको छ । के गरिराखेकी होली उसले घरमा । जे होस् मलाई यो विश्वास छ, आजसम्म मैले दिएको संस्कारअनुसार मेरो नाकचाहिँ काट्ने छैन भन्ने ।

बिचरी नयाँ घर नयाँ चलनले होला अलिक खिस्रिक्क परिछे ।

“नानी, सबै राम्रो त छ नि, कस्ता छन् सासूससुरा, नन्दहरू, अरू आफन्तहरू ।” भनेर प्रश्न गरेँ ।

“सबै राम्रो छ ।” भनेर सुन्दा मन अलिक शान्त भयो ।

आमाबाबुलाई आफ्ना सन्तान जहाँ भए तापनि सधैँ खुसी भएको देख्न र सुन्न पाए अब के नै चाहियो र नि ? आज बैङ्कबाट फोन आयो, ब्याज समयमा नै तिर्नू भनेर । कस्तो भुलेछु, घर धितो राखेर पैसा निकालेको ब्याज तिर्नलाई । आफूसँग भएका केही गहना बोकेर बैङ्कमा धितो राखी ब्याज तिर्नुपर्ला । अनि बिस्तारै अलिअलि जम्मा भएको भए विदेशबाट पठाऊ भन्नुपर्ला ।

जुन दिनको लागि म कुरिराखेको थिएँ । आज आएर पूरा पनि भयो, “मम्मी हजुर हजुरआमा बन्नेवाला” भनेर छोरीले भन्दा आँखाबाट खुसीका आँसु थामिइराखेको थिएन ।

जो मान्छेको आफ्नो भन्ने कोही नहुँदा, श्रीमान्को आफन्त त के थर र गोत्रसमेत थाहा नहुने म र आज यो कुरा सुन्दा लाग्यो, आज मभन्दा खुसी सायद अरू कोही छैन । भएका मेरा सबै एक क्षणका दुःखहरू गायब भएजस्तो लाग्यो । अब बिस्तारै मेरो पनि आफ्नो भन्ने मान्छे बढ्दै जानेछ भनेर ।

हस्पिटलको बेडमा छटपटाइराखेकी थिई छोरी । आफूलाई चाहिँ जे जन्मिए तापनि राम्ररी जन्मिदिएदेखि हुन्थ्यो भइराखेको थियो ।

“बधाई छ तपाईंकी छोरी भयो ।” भनेर नर्सले भन्दा ज्वाइँले मुख अँध्यारो पारेको झलझली सम्झन्छु ।

उनका आमाबाबुका प्रतिक्रियाहरू अझै भुलेको छैन । मैले जे शङ्काहरू गरेको थिएँ ती सब बिस्तारै त्यसपछिका समयमा देखिँदै गए । जसलाई विष्णु भगवान सम्झेको थिएँ अब बिस्तारै राक्षसी रूपमा देखा पर्न थालेका थिए ।

ससुरालीमा आएको बेलासमेत स्वास्नीलाई “के धाक लगाउँछेस् ? के छ तिमीहरूको र धाक लगाउने ? माग्नेका परिवार कहाँबाट म फसेँ भन्दै ।” चुटेको नीलडाम मैले नदेखेको कहाँ हो र तर पनि सधैँ छोरीले बोक्सीले चुसेको डाम भन्दै लुकाउँदा, होला भनेर विश्वास गरेँ ।

अब त कुनै डर र लाज थिएन स्वास्नी कुट्न । यसमा ज्वाइँको साथ ज्वाइँकै परिवार दिने गर्थे ।

ससुरा विदेश, काठमाडौँमा घर, चार जनाको सानो परिवार देखेर बिहे गरेको रे आफ्नो भविष्य राम्रो हुन्छ कि भन्ने लोभमा । होइन, मबाट सकेको दिएको नै थिएँ । के थिए र मेरी छोरी त्यो घरमा विवाह गरेर जाँदा तिनीहरूको ? तर पनि आजसम्म सहेर मेरो घर हो भनी बसिराखी छोरी । एक छाक खानलाई समेत अरूको मुख ताक्नुपर्ने, त्यसमा परिवारको कटुवचन सुन्नु बेग्लै ।

जब आफ्नो लोग्ने नै मूकदर्शक हुन्छ भने अरूबाट आशा गर्नु नै के ?

छोरीलाई सुत्केरीमा तेल घस्ने आइमाईले नै भनी, “दिदी, छोरीलाई सारै गाह्रो छ । छोरीलाई खानका लागि कसैको केही मतलब छैन, त्यहाँ बिचरी बच्चीको पनि बिजोग छ ।”

उनीहरू आफैँले पठाए एघार दिनको सुत्केरी बुहारीलाई । जेठो छोराको पहिलो सन्तान थिई यो नातिनी तर खोइ केही मतलब छैन कसैलाई । मान्छे गोरो र राम्रो देखिँदैमा मन पनि सफा हुँदो रहेनछ भन्ने अब बल्ल सङ्गत गरेपछि थाहा भयो । ल सम्पत्तिका लागि छोरीसँग विवाह नै गरे तापनि अब त विवाह भयो । त्यसमा सकेको सबै जनाहरूलाई दिनुपर्ने दिएकै थिए र अझै व्यवहार गर्दै छु भने, एक प्रकारको माया हुन्छ नि जस्तै भए तापनि आफ्नी श्रीमतीको र छोरीको ।

अब बिस्तारै मसँग नै आएर छोरीका गुनासाहरू गर्ने, छोरीलाई हातपात गर्ने भइसकेका थिए ।

मेरो भाग्य पनि कस्तो ! सानामा जति सुख पाएँ पाएँ त्यसपछि बाउले सौतेनी आमा ल्याएदेखि दुःखहन्डर खान थालेको, खोइ अझै कम भएन । लोग्नेबाट जति दुःख पाए पनि भगवानसँग यही प्रार्थना थियो कि मेरी छोरीले चाहिँ ती कुनै पनि दुःख भोग्नु नपरोस् भनेर तर झन् बढी भोग्नुपर्ला जस्तो देख्न थालिसकेकी थिएँ ।

“भिखारीका सन्तान, माग्नेका सन्तान, तेरी आमा, बाउ र भाइको कुनै औकात छैन ।” आदि भन्नु भनेको अब ज्वाइँका लागि साधारण बन्दै गएको थियो । कुनै समयको हिसाब हुँदैनथ्यो, फोन गरेर हजुरकी छोरीले यो गरी, त्यो गरी भनेर कुरा लगाउन । बिचरा भाइ दौडेर जान्थ्यो कुरा मिलाउन ।

यो छोरा पनि अभागी रहेछ । सानैदेखि बाबुआमाको झगडा देख्यो र अब आएर दिदीभिनाजुको । कस्तो लाग्दो हो यसलाई पनि ।

नन्द, देवरहरूको आफूले सकेको गरेर आफैँले केटा र केटी खोजी सबैको बिहे गर्दी छोरीले तर आज उनीहरू नै यसका दुस्मन भएका छन् । होइन, मान्छे भएर यतिविघ्न मतलबी पनि हुन सक्छन् र ? के अब मान्छेमा दयामाया भन्ने सबै मरिसकेको हो त ?
कति रहर लाग्छ मलाई पनि छोरीज्वाइँ हाँसीखुसी भएर मिलेर बसेको हेर्न । एउटै सानी छोरी छ, त्यसलाई अब कसरी हुर्काएर राम्रो शिक्षादीक्षा दिने भन्ने, त्यो ज्वाइँलाई पटक्कै छैन । होइन, स्वास्नी मन नपरे तापनि छोरी त आफ्नो हो नि तर पनि किन मतलबी आफ्नै सन्तानसँग पनि ?

झन् अब त डिभोर्स चाहियो भनेर हिँड्न थालेका छन् रे । तँ आजै निक्ली, अब तसँग एक क्षण पनि सँगै बस्न सक्दिनँ भनेर घरमा अचाक्ली गर्न थाले भनेर बल्ल भन्न थाली छोरीले मलाई ।

अब गर्ने के मैले ? कति रहरले छोरीज्वाइँको राम्रो होला भनेर घर बैङ्कमा राखेर बिहे गरिदिएकी ।

“हजुरकी छोरीलाई कुनै दुःख दिन्नँ ।” भनेर हात जोडेका मान्छे नै डिभोर्स खोज्दै छन् आज । कतै कुनै दिन छोरीज्वाइँ घुम्न गएको, बाहिर खान गएको र स्वास्नीलाई भनेर केही दिएको यो तेह्र–चौध वर्षमा मैले देखेकी र सुनेकी छैन । शरीरभरि नीलडामबाहेक आजसम्म ज्वाइँले छोरीलाई माया दिएको थाहा छैन ।

भन्न त मलाई समेत धेरै भनेका छन् ज्वाइँले । एउटा आमासरह हुन्छ सासू पनि तर कुनै लाज र डर नमानी मलाई भनेका र मलाई गरेको व्यवहार सम्झ्यो भने आजै छोरीलाई छोड्दे त्यो लोग्ने भनूँ जस्तो लाग्छ तर पनि आवेशमा आएर केही गर्नु भएन ।
जस्तो गरिबका छोरीहरूलाई पनि आफ्नो बाबुआमाले राम्रो नै गरेर ठूलो पारेका हुन्छन् । कसैले पनि यो चाहँदैनन्, उनीहरूले दुःख पाऊन् भन्ने ।

रातदिन लोग्नेको भनाइ, पिटाइ खाएर हातभरि लोग्नेले चिमोटेर बसेका नीलडाम छोरीको देख्नुपर्दा एउटा आमालाई कति पीडा हुन्छ, त्यो मलाई थाहा छ ।

आफूले पाएको पीडा त भिन्दै छ । त्यसमा छोरीको घरबाट पाएको दुःख सम्झिँदा रात छर्लङ्ग नसुती कैयौँ रात बिताएकी छु । होइन के कुरामा घमन्ड गर्ने त्यस केटाले ? के एउटा लोग्ने हुनु र छोरीको बाबु मात्र हुनु सबै थोक हो र ? एउटी केटीलाई बिहे गरेर ल्याएको आज तेह्र–चौध वर्षमा केचाहिँ दिन सक्यो र छोरीले खुसीले यिनलाई लोग्ने भन्ने ?

जब लोग्ने भनेर आफूले चाहेको बेला दुःखसुखको कुरा गर्न नपाउने । लोग्नेले पनि सरसल्लाह गरिदेओस्, कहिलेकाहीँ नजिक आएर श्रीमतीलाई पनि सोधिदेओस् के छ तेरो मनको कुरा भनेर तर कुनै दिन छैन । मेरा आमाबाबु भाइबहिनी र ज्वाइँहरूलाई तैँले माया गरिनस् मात्र भनेर ठोसिरहनु के सही होला र ? हो, गल्ती हुन्छ जोबाट पनि तर यस्ता एकअर्काका गल्तीहरूलाई आपसमा बसेर मिलाउनु त कहाँ हो श्रीमतीलाई मात्र दोष दिँदा मान्छे हो कति दिन सहने ?

स्वास्नीको शरीरसँग खेल्ने अधिकारचाहिँ लोग्नेलाई मात्र हुन्छ रे, तर यसमा के स्वास्नीले इच्छा व्यक्त गर्दा त्यो उत्ताउली हुन्छे ? अनि हुन पनि के भनेर यस्तालाई छोरीले लोग्ने भन्नु ?

एउटै छोरी त्यसमा अब त हुर्किसकी नि ! नौमा पढ्ने भनेको सानो होइन नि तर सबैको रिस त्यही बच्चीलाई पोखेर पिट्नु कहाँसम्मको निर्दयी बाबु हो ! अनि कसरी त्यही बच्चीले बाबु भनेर गर्व गर्ने ?

के बच्चीले मलाई जन्म देऊ भनेर उनलाई गुन लगाएको छु, पढाएको छु भन्नलाई । हरेकका बाबुआमाले आफ्ना बालबच्चालाई गर्नुपर्ने कर्तव्य हो यो । ती बच्ची, मेरी नातिनीलाई कपाल भुत्ल्याउँदा, पिट्दा के उसको नजरमा बाबुप्रतिको माया रहन्छ होला र ? आफ्नै आमालाई आँखाअगाडि बाबुले पिट्दा, अफिसबाट ढिला हुँदा तेरो मामु केटासँग घुम्न गइहोली भनेर भन्दा के सोच्ली यस बच्चीले भनेर कहिले विचार गरे यिनले ?

छोरीज्वाइँको अफिस छ, सानी नातिनीलाई गाह्रो हुन्छ भनेर प्रत्येक दिन जान्थेँ छोरीको घर । न जाडो न हिउँद न वर्षा अटुट धाएँ । आफ्नो घरको काम, बूढी भएकी आमालाई सबै मिलाएर हतारहतार जान्थे ।

कुनै दिन त्यो मान्छेको मुखबाट “हजुरलाई गाह्रो भयो होला भनेर निस्केन ।”

बेलुका घर फर्कन राति हुँदासम्म “म घर छोड्दिन्छु भनेनन् ।” आरामले ढोका थुनेर बस्थे ।

जे भए तापनि म सासु थिएँ र म किन र कसका लागि त्यहाँ गएकी छु भन्ने, यिनले कहिल्यै सोचेनन् ।

हुँदाहुँदा “बैठक कोठामा बस्न हुँदैन” भन्दे भनेर नोकरलाई भन्न लगाउँथे तर पनि कुनै दिन केही भनिनँ । बाटाभरि रुँदै आउँथेँ तर कुनै दिन केही भनिनँ छोरीलाई समेत । विष्णु भगवान सम्झेर सधैँ पूजा गरेँ, आखिरमा पाएँ के त ?

आफ्नो सानी छोरीलाई त्यो पनि आफन्तले कुदृष्टि लगाउँदा सानी नातिनीले नै रुँदै भन्दा समेत उल्टै तिमीहरू आमाछोरी नै उस्तै भएर हो भन्ने मान्छेलाई म कसरी ज्वाइँ भनूँ ? एक वचन यिनले नातिनीलाई सम्झाउन सके कि पीर नगर म छु भनेर ? कसरी हुन्छ म मिलाउँछु भनेर भन्ने कि उल्टै आफन्तको ढाकछोप गरेर छोरी र स्वास्नीलाई गाली गर्ने ?

तेह्र वर्षपछि फेरि एक पटक बाबु बन्ने मौका मिलेको बेला खुसी हुने कि यो तेरो पेटमा भएको बच्चा मेरो होइन अर्कैको हो भनेर भन्दा अनि त्यस्तो पशुलाई कसरी लोग्ने भन्छे छोरीले ? स्वास्नीसँग सुतुन्जेल चाहिँ होस् नहुने जब बच्चा हुने बेला मेरो होइन भन्नु, त्योभन्दा नामर्द केटा अरू को होला ?

हरेक पटक छोरीलाई नै गाली गरेँ, सम्झाएँ, सधैँ छोरीलाई नै “जे भए तापनि लोग्ने हो । उनी जस्तो भए तापनि त राम्रो बन ।” भनिरहेँ तर कति दिन ? एक दिन होइन, दुई दिन होइन, सधैँ झगडा, न कहिल्यै माया पाएकी छे लोग्ने भनेर ।

तेह्र–चौध वर्ष भनेको धेरै हुन्छ, त्यो पनि मलाई थाहा छ तर पनि केही गर्न सक्दिनँ म । छोरीको लागि म आमा भएर बस छोरीको दुःख सुनिरहनुसिवाय ।

छोरी रुँदै भन्छे, “मम्मी के पाएँ मैले आज सब सहेर ? सधैँ तपाईंले भन्नुहुन्थ्यो– नानी सह भनेर तर आज पाए के त ?”

“चारैतिर हेर्छु, सबै साथीभाइहरू कति खुसी छन् । म सधैँ लोग्ने भएर पनि एक्लै छु । मेरो मनको पीडा बुझ्ने कसले ? बिस्तारै उमेर बढ्दै छ । भोलि छोरी पनि विवाह गरेर गएपछि को छ र मेरो आफ्नो भन्ने ?”

“लोग्नेलाई हेर्‍यो कहिले यो घरबाट निस्केर जाली र म ढुक्कले अर्को पैसावाल केटीसँग बिहे गरुँला भनेर बसेको छ ।”

“माइतीमा आऊँ यहाँ झन् तपाईंहरूलाई गाह्रो छ ।”

“एउटै भाइ, उसको पनि आफ्नै पीडा छ । बिहे भएको दुई वर्षमै सबै लथालिङ्ग छ झन् अहिले काम पनि छैन । उमेर भयो यसको पनि केही टुङ्गो भएको छैन ।”

“बाबुको ताल देख्नेबित्तिकै बरु नभएदेखि सुख पाइन्छ जस्तो लाग्छ ।”

“त्यसैले तपाईंहरूका आउँदा झन् मन अशान्ति हुन्छ । कस्तो अभागी रहेछु म । माइतीको मात्र राम्रो भएको भए आज मलाई घरमा यस्तो विघ्न हेप्न र पेल्न सक्ने थिएनन् तर सब थाहा पाएर नै झन्झन् पेलेका हुन् ।”

“बरु पैला नै तपाईंहरू, छोरी र समाज कसैको केयर नगरी अर्कैसँग हिँडेको भए आज म धेरै खुसी हुन्थेँ होला तर आज म नितान्त एक्ली भएकी छु । कोही छैन मेरो अहिले, मेरो मनको कुरा बुझ्ने ?”

“लोग्ने छ तर अब यस्तो लाग्छ बरु मरेको भए म आनन्दले बस्न सक्थेँ जस्तो लाग्छ । के पाएँ योसँग बिहे गरेर ? के दिएको छ र यसले आजसम्म मलाई ?”

“बिहे गरेर गएको दिनबाट यसको भनाइ, कुटाइ, त्यसमा यसको परिवारले मलाई गरेको अत्याचार, नन्दहरूका जगेडा लुगा, बचेका खाना त्यो पनि वचन लगाइदिन्थेँ । सधैँ उनीहरूको कुरामा सही थापेमा लाग्ने खुसी । के मेरो इच्छा चाहनाचाहिँ केही होइन ? के म कमैया हुँ र यिनीहरूको लातमुक्का, भनाइ खाएर पनि सधैँ दाँत देखाएर बसिरहन ? लोग्ने भनेर बोल्न नपाइने । केही सोध्न नपाइने, भने यसलाई के आधारमा लोग्ने भनूँ म ?”

“के म मान्छे होइन ? के मेरो पनि इच्छा चाहना बुझ्ने काम लोग्नेको होइन ?”

“उसलाई मन भएको बेला जे पनि गर्न पाउने । तर स्वास्नीको पनि मन होला भनेर यसले बुझ्दैन भने म किन यसलाई लोग्ने भनूँ ?”

“बिहे अगाडि हात जोडेको, तिमीलाई कुनै दुःख दिन्नँ । तिम्रो हरेक इच्छालाई पूरा गर्छु, भनेको त मलाई के थाहा थियो र पैसाको लागि मात्र यी कसम र नाटक गरेको रहेछ भन्ने ? यसको असली रूप त हप्तादिन पनि नबित्दै मेरो सामु प्रकट भइसकेको थियो ।”

“गाउँबाट आएकाहरू काठमाडौँकी केटी बिहे गर्न पाए आरामले बसेर खान पाइन्छ भन्ने थियो, जुन कुरा पूरा नभएपछि त दानव रूपमा प्रकट भइहाल्यो नि ।”

“होइन लोग्ने त यस्तो भयो भयो परिवार सबै नै अरूको पाए मोज गरौँला भन्ने ।”

“एउटी आइमाई भएर अर्की आइमाईको पीडा बुझ्न नसक्नु त्यस्तालाई मान्छे भन्दिनँ म ।”

“त्यो घरको भाउजू थिएँ म तर पनि आफ्नै नन्दहरूले अड्कलेको खाना खानुपर्ने । उनीहरूका पुराना लुगाले चित्त बुझाउनुपर्ने । अझ त्यसमा उनीहरूको रिस र भनाइको हिसाब जोड्न नै बाँकी छ ।”

“आजसम्म लोग्नेले दिएको भनेर यो शरीरमा केही परेको छैन । न छोरीलाई थाहा छ न मलाई मात्र तीन जना भएर कतै घुम्न गएको ।”

“सधैँ उसलाई र उसको परिवारलाई जिउजिउ गरिराख्यो भने खुसी हुने, होइन भने कि मलाई कुट्ने कि छोरीलाई । नामर्द भन्छु यस्तो केटालाई म ।”

“घरमा लक्काजवान काम गर्ने केटा छ तर केही मतलब छैन लोग्नेलाई । कसको अगाडि स्वास्नीलाई कसरी बोल्नुपर्छ केही थाहा छैन । काम गर्ने केटाले मलाई पिट्न आउँदासम्म केही बोल्दैन लोग्ने । किनकि त्यो काम गर्ने केटाले बाहिर नोकरी गरेर कमाएको पैसा राख्न दिएकोले गर्दा चुइँक्क बोल्न सक्दैन । उल्टै तैँले केही भन्न पाउँदिनस् त्यो केटालाई, बिचरा थाकेर आएको हुन्छ रे । के मचाहिँ दिनभरि सुतेर बसेको हुन्छु र घरमा ? बिहान उठी घरमा काम गरेपछि मात्र अफिस जान्छु । फेरि घरमा आएर सबै मैले नै गर्नुपर्छ । अझ केही काम नलगा त्यसलाई भन्नु कति उचित होला ? कि लोग्ने भनाउँदोले सहयोग गर्नुपर्‍यो, ऊचाहिँ बिहान म अफिस जाँदा पनि लम्पसार सुतिराखेको हुन्छ । बेलुका घर फर्कंदा पनि सुतिराखेको नै हुन्छ । अझ कोठामा छिर्न पाएको छैन, दुर्गन्धले कोठा छिर्न पनि बान्ता होला जस्तो हुन्छ भने मैले कसरी गरिराखेको छु त्यो मलाई थाहा छ ।”

“के घमन्ड गर्ने लोग्नेले कोठामा हेर्‍यो— सबै ससुरालीले दिएको सामानहरू, बोक्नेदेखि चढ्ने साधनसम्म तपाईंहरूले दिएकै बोकेको र चढेको छ भने अझै तेरो भिखारी माइती, तेरी आमालाई मेरो पाप लाग्छ र तिनीहरूले रगतका आँसु बगाउनुपर्छ भन्दा समेत मैले सुनिरहनुपर्छ । आमा, तपाईंले यिनीहरूलाई के मात्र गर्नुभएन र ! तर यस्ता बैगुनीहरूलाई बालुवामा पानी हालेसरह भयो ।”

“यस्ता लोग्नेकी स्वास्नी हुनुभन्दा बरु कसैको दासी भएर बस्नु मनमा शान्त त हुन्छ ।”

“के मागेको थिएँ र तिनीहरूसँग ! आजसम्म माया र मीठो बोली देऊ, अरू मलाई केही चाहिँदैन । म गर्छु सबै हाम्रो भविष्यका लागि ।”

“अब छोरी बिस्तारै ठूली हुँदै छ । हाम्रो रातदिनको झगडाले उसको दिमागमा पनि असर गर्न थालिसक्यो । अब हामी मिलेर अगाडि बढ्नुपर्छ । कसरी हुन्छ हाम्रो भविष्य बनाउनुपर्छ मात्र त भनेकी थिएँ ।”

“अरू को, तँसँग म बस्ने, तेरो अनुहार देख्यो भने वाक्क लाग्छ । अब मबाट तँलाई राम्रो हुन्छ भन्ने आशा मारे हुन्छ– यही हो तपाईंको ज्वाइँको मुखमा दिनरात !”

“के म खेलौना हुँ ? के मेरो इच्छाचाहिँ केही होइन ? मैले मेरा इच्छा तथा सपनाहरू जो यस लोग्नेको साथमा देखेकी थिएँ ती सबलाई जलाइसकेकी छु । अब मलाई उसले बोलेका–गरेका हरेक क्रियाकलाप नाटक लाग्छन् ।”

“उसले मेरा शरीरलाई खेलाइरहँदा पनि मलाई अब कुनै अनुभव नै हुँदैन । मैले योसँग बसुन्जेल उसले चाहेको बेला आफूलाई पस्कनुपर्छ । आफूलाई मारेर पनि आफूलाई बलात्कृत भइरहेको हेरिरहेर सही रहनुसिवाय अरू के नै गर्न सक्छु र ?”

“तपाईंहरूले भनेको नानी सहनुपर्छ, त केटी मान्छे हो, छोरीको लागि भए पनि कुराहरू सम्झिँदै अब मैले बाँकी जीवन आफूलाई प्रत्येक दिन मारेर पनि बाँच्नुपर्छ ।”

आज म आमा भएर पनि केही निर्णय दिन सकिनँ, बस छोरीको व्यथा लाटी भएर सुनिरहेँ । भगवान तिमी साँच्चिकै रहेनछौ ! छोरी आज रुँदै आफ्नो पीडा आमालाई पोखिरहँदा पनि अँगालो हालेर छोड्दे, त्यो घर, के म छैन र तेरो, भनेर भन्न सकिनँ ।
आज मलाई आफैँदेखि घृणा लागिराखेको छ । कति कमजोर भइछु म आज । आफ्नै सन्तानलाई परेको पीडालाई म आमा भएर केही गर्न सकिराखेको थिइनँ । भगवान किन मलाई नै सधैँ दुःख दिन्छौ ?

सधैँ हजुरलाई माने आफूले सकेको गरेँ । आजसम्म कुनै गरिब दिनदुखीलाई हेला गरिनँ । तर आज यो उमेरसम्म पनि सधैँ विभिन्न दुःख दिइराख्यौ ।

के बिगारेका थिए र मेरा छोराछोरीले तिम्रो ? कसैलाई केही छुद्र वचन बोलेनन् । कसैको पेट काटेर आफ्नो पोल्टा भरेनन् । हामी सधैँ एकचित्त भएर हजुरकै भक्तिमा लागेका नै थियौ भने हामीलाई नै किन भगवान ?

हेर के बिगारेकी थिई, यसले तिम्रो र आज यो अवस्थामा पुर्‍यायौ ? के अब भगवान भन्ने छैनन् त ? के अबदेखि हामीले यही विश्वास गरे भयो त ? होइन भने किन भगवान कति लाचार बनाइदिएका छौ मलाई ? मैले चाहेर पनि केही गर्न सकिराखेकी छैन छोराछोरीका लागि भगवान ? अब पनि तिमीले चमत्कार देखाउन सकेनौ भने धेरै ढिला भइसक्नेछ, प्रभु दया गर । बरु सबै पीडाहरू मलाई देऊ, तर अब यी दुई जनाको अनुहारमा खुसी देऊ भगवान खुसी । साहित्यसंग्रहबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank