नेपाली टोपीको इतिहास

सोमवार, पुस १७, २०७४

loading...


गुवाहाटी, असमका मेरा शिष्य एकदेव अधिकारीले एक दिन मलाई नेपाली ढाका टोपीको इतिहास सोधे। मेरो यो अनुसन्धान त्यसै खुल्दुलीको फल हो। कमलमणि दीक्षित एकातिर सबभन्दा धेरै नेपाली भाषाका पुस्तक -३४ हजार जति) को सङ्ग्रहालय -मदन पुरस्कार पुस्तकालय) का हर्ताकर्ता हुन्, अर्कातिर नेपालको सबभन्दा धनी संस्कृतिको खानी काठमाडौं उपत्यकाका रैथाने हुन्। दीक्षितको तेस्रो विशेषता, उनी बाबुराम आचार्यले सुरु गरेको अनि ईश्वर बराल र सूर्यविक्रम ज्ञवालीले टेवा दिएको नेपाली साहित्यको तुलनात्मक पाठपरक समालोचनाका समसामयिक शिखर पुरुष हुन्, उनको चौथो विशेषता, उनी तीन चार पुस्तादेखि राणा दरबारसित आबद्ध मणि खलकका हुन्, उनको पाँचौंं विशेषताअनुसार उनी बनारस र कोलकातामा लामो समयसम्म बसेका र व्यवसाय गरेका मान्छे हुन्। कमलदीक्षितको छैटौं विशेषताअनुसार उनी देखीजान्ने, सुनीजान्ने, पढीजान्ने, गुनीजान्ने, घुमीजान्ने आदि अनेक लक्षणले सिंगार्न पनि सुहाउने व्यक्ति भएकाले मैले नेपाली टोपीको इतिहास सोध्ने मेरो यो अनुसन्धान उनैबाट सुरु गर्ने विचार गरें। यो लेख कमल दीक्षितसँगको त्यसै कुराकानीका सूचनाको परिणाम हो।

काठमाडौं उपत्यकाभित्र नेपाली ढाकाको चलन धेरैपछि -जुद्धशमशेरका पालामा) मात्र सुरु भएको रहेछ। कमल दीक्षितको अड्कलअनुसार सम्भवतः ढाकाको चलन पाल्पाबाट काठमाडौंमा आएको हो अनि पाल्पामा चाहिँ बङ्गालबाट आयो होला। यसरी ढाकाको साइनो आजको बङ्गलादेशको राजधानीको नाउँ -ढाका) सित पनि जोडिएको रहेछ। आरसी मजुमदारको बंगालको इतिहास का आधारमा भारतीय इतिहास कोश का लेखक सच्चिदानन्द भट्टाचार्य -१९७६ई) अनुसार बंगालमा सेनहरूले एघारौं शताब्दीको अन्त्यदेखि १३ औं शताब्दीको प्रारम्भसम्म राज्य गरे।

बख्तियार खिल्जीका छोरा इख्तियार खिल्जीको आक्रमण -१२०२ई) ले बंगालबाट सेन वंश विस्थापित भयो। क्यारमका गोटीझैं कुनै शक्तिशाली राजवंश एउटा केन्द्रबाट विस्थापित भएपछि त्यसले त्यस केन्द्रका छेउछाउमा धक्का दिन्छ र छिमेकीलाई विस्थापित गरेर आप\mनो नयाँ केन्द्र बनाउँछ। यसरी बंगालका पाल र सेनहरू इतिहासका विभिन्न चरणका धक्काले विस्थापित हुँदै नेपालसम्म पनि आइपुगे। चौधौं शताब्दीमा जुम्लाको खस राजवंशको पतन भएपछि पृथ्वी मल्लका रजौटाहरू बेग्लाबेग्लै टुक्रे राज्यका राजा भए। मुकुन्द सेन सम्भवतः पहिले खस राजाहरूकै रजौटा थिए।

मुकुन्द सेनले पाल्पामा सेन वंशको बलियो जगहाले। सम्भवतः ढाकाको संस्कृति सेनहरूसँगै पाल्पा आइपुग्यो। आप\mना काका रणोद्दीप सिंहको हत्या गरेपछि श्री ३ भएका वीरशमशेरले आप\mना भाइ खड्गशमशेरलाई पाल्पा धपाएका थिए। खड्गशमशेर पाल्पा धपाइएपछि राणा दरबारको ओहोरदोहोरले पाल्पा र काठमाडौंको सांस्कृतिक आदानप्रदान बढ्दै गयो। त्यसै ऐतिहासिक कारणले पाल्पाबाट काठमाडौंमा ढाकाको चलन पसेछ। भारत र पाकिस्तान नछुट्टिउन्जेल ढाका पनि बंगालकै एउटा सहर थियो भन्ने कुरो इतिहासको सामान्य ज्ञान भएका सबैलाई थाहा भएकै कुरो हो।

कमलदीक्षितको भनाइअनुसार राणाका रानीहरूले दुई पत्र मलमलले ढाकेको ढाकाको चोलो लगाउँथे र पछ्यौरा पनि ओढ्थे। सम्भवतः पाल्पामा धपाइएका खड्गशमशेरकी रानी र उनको पाल्पा दरबारका महिलाहरूमा यो चलन पहिले बस्यो। पछि त ठूला व्यापारीका पत्नीहरूले पनि ढाकाको चोलो लगाउँथे र ढाकाको पछ्यौरा ओढ्थे। उनीहरूले लगाएको त्यो वस्त्र पुरानो भएपछि मात्र त्यो ढाकाको कपडाबाट सर्वसाधारणले लगाउने टोपी बनाइन्थ्यो। यसरी सक्कली ढाकाको टोपीको संस्कृतिचाहिँ राणा दरबारको परिणाम रहेछ। त्यस्तो टोपी काठमाडौंको केलटोलमा मात्र पाइन्थ्यो भन्ने दीक्षितको सूचना छ।

नेपाली टोपीको चलनचाहिँ त्योभन्दा पुरानो हो। फोटोमा रणबहादुर शाहले लगाएजस्तो टोपीको बान्की कैलाश पर्वतको प्रभाव हो भन्ने योगी नरहरिनाथको विचार थियो अरे। भाद्गाउँले -भक्तपुरे) टोपीको बान्की यस्तै टोपीसित झन्डै मिल्छ। डेभिड क्रिस्चियन -१९९८ ईः१२८) को हिस्ट्री अफ रसिया, सेन्ट्रल एसिया एन्ड मंगोलिया अनुसार इसापूर्व आठौं शताब्दी -भारतीय उपमहाद्वीपमा अथर्व वेद र शतपथ ब्राह्मण को रचना भई रहेको बेला) देखि युरेसियाका घाँसे चउरमा घोडामाथि चढेर लडाइँ गर्ने शकहरू चुच्चे टोपी लगाउँथे। मानव जातिको इतिहासमा सबभन्दा पहिले घोडा चढेर लडाइँ गर्न जान्ने जाति पनि त्यही शक नै हो। ऋग्वेदमा पनि घोडाको रथमा जोत्ने, हलो जोत्ने, अश्वमेध यज्ञ गर्ने आदि उपयोग भए पनि पिठ्युँमै चढ्ने सवारीका रूपमा घोडाको उपयोग गरिएको पाइँदैन। हिमालको दक्षिणतिर शकहरूभन्दा खसहरू छिट्टै पसेका भए पनि खसहरू पनि शकहरूकै गोती -वा एउटा समूहका सदस्य) हुन्। शक र खसहरू आधारभूत रूपले इरानी -आर्य) हरूकै बगाल हुन्। त्यसैले नरहरिनाथले जे भने पनि खसहरूले लगाउने गरेको टोपी शकहरूकै टोपीको विकसित रूप हुन सक्छ।

दीक्षितजीको भनाइअनुसार भानुभक्त अथवा मोतीराम भट्टले लगाएजस्तो कार्चोपी भरेको टोपी राणाकालमा सुब्बा वा त्योभन्दा ठूला पदाधिकारीले मात्र लगाउन पाउँथे। फुर्को भएको त्यस्तो टोपी टर्कीबाट नेपालमा आएको हो। काठमाडौंका केही मुसलमानहरूले त्यस्तो टोपी लगाएको त दीक्षितले पनि देखेका थिए अरे। टर्कीको अग्लो टोपी काठमाडौंमा होचो बनाइयो र फुर्काका ठाउँमा डल्लो हालियो। तुर्कीहरूले दिल्लीमा शासन गर्न थालेको १३ औं शताब्दीमा मात्र हो। यस्तो तुर्केली टोपी दक्षिण एसियामा १३ औं शताब्दीभन्दा अगाडिको हुन सक्तैन तर दीक्षितको भनाइअनुसार नेपालमा मुसलमानहरू १५ औं शताब्दीका राजा रत्नमल्लले काश्मीरबाट झकिाएका हुन्।

त्यो तुर्केली टोपीमा सिल -माछोजस्तै) को छाला सिल स्किन ले मोरिन्थ्यो अरे। टर्कीबाट आएको त्यस टोपीलाई नेपाली उच्चारणले सिलिक्सन -वासिल्किन) टोपी भन्थ्यो अरे। यो सिल्किन शब्दको रेसमसँग केही साइनो छैन। यसरी नेपाली टोपी तीन बान्कीमा पाइए ः कैलाश पर्वतजस्तो, ढाकाको र कार्चोपी भरेको। सारांशमा नेपाली टोपी मुसलमानहरूको प्रभाव रहेछ। लबेदा -लवादा) सुरुवाल -सलवार) पनि नाउँबाटै नेपालीहरूलाई इस्लामिक संस्कृतिको देन हो।

कमल दीक्षितले भर्खरै मजलिस घरबाट भन्ने उनकै स्तम्भमा काठमाडौं उपत्यकामा मुसलमानहरू काठमाडौंका राजा रत्न मल्ल -१५ औं शताब्दी) का पालामा काश्मीरबाट झकिाइएका हुन् र तिनीहरू तिब्बतको बाटो नेपाल आएका हुन् भन्ने सूचना दिएका छन्। त्यसै लेखमा उनलेनेपाली सधवा महिलाहरूले लगाउने चुरा र पोते पनि मुसलमानहरूकै सांस्कृतिक प्रभाव हो भन्ने कुरो पनि लेखेका छन्। अहिले पनि चुरा र पोतेको व्यवसाय मुसलमान व्यापारीहरूले नै गर्छन्। माथिको सूचना र विश्लेषणका आधारमा नेपाली टोपीको साइनो बङ्गलादेशको राजधानी ढाकासित, काश्मीरसित, टर्की, सेन र पाल्पासित जोडिने रहेछ र अनेक ऐतिहासिक घटनासित जोडिएर नेपाली जातिको चिनारीको आधार बन्न पुगेको रहेछ।  कोसेलीबाट साभार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata