छिमेकी बदल्न सकिदैन, छिमेकीको बानी बदलाैं

मङ्लबार, मंसिर ३, २०७६

loading...

- निरज आचार्य



नेपालको पश्चिम सिमाना महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्पियाधुरा हो । काली (कुुटीयांक्ति) नदी लिम्पियाधुराबाटै बगेर आउँछ भन्ने कुरामा कुनै भ्रम छैन । नेपालसँग भएका सन्धि सम्झौता, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरो तिरानका रेकर्डहरु र जलविज्ञानको आधार समेतले लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपालको सीमा नदी हो भन्ने कुरा स्पष्ट छ।

भारत सरकारले केही साता अगाडि जारी गरेकाे भारती नयाँ नक्सामा नेपाली भूभागलाई भारततर्फ पारी एकपक्षीय रुपमा नक्सा प्रकाशन गरेपछि भारत सृजित नेपालको पश्चिम सिमाना समस्या विवादका रुपमा सतहमा आएको छ । यस विवादले नेपालले आफूसँग भएका तथ्य तथ्यांक र प्रमाणहरुका आधारमा आफ्नो दावी प्रस्तुत गर्ने र स्थायी समाधान खोज्ने बाटो खुलेको छ । यसका लागि नेपाल सरकारले अबिलम्ब निम्न बमोजिम तयारीका कामहरु गर्नुपर्दछ ।

१. प्रविधिक तयारी: नेपाल भारतकाबीच सीमा सम्बन्धी भएका सन्धि सम्झौताहरु, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरोतिरानका रेकर्डहरुका आधारमा नेपालको नक्सा प्रकाशन गर्ने ।

२. प्रशासनिक तयारी: नेपाल सरकारका प्रशासनिक ईकाईहरु सीमा क्षेत्रमा व्यवस्थित गर्ने । सशस्त्र प्रहरी बल, नेपाली सेनाको युनिटहरु अबिलम्ब सीमा क्षेत्रमा राख्ने । दशगजा क्षेत्रभित्र रहेको भारतीय सुरक्षा फौजलाई दसगजा बाहिर हटाउने । तिंकरमा भन्सार र सीमा कार्यालयहरु स्थापना गरी अबिलम्ब सञ्चालनमा ल्याउनु पर्दछ ।

३. राजनीतिक र कूटनीतिक तहको कामः भारतका तर्फबाट नेपालको विभिन्न स्थानमा दशकौंदेखि सीमा मिचिदै आइरहेको छ । मुलत: यो भारतको हेपाह र मिचाह प्रवृत्ति हो । सीमा सम्बन्धी प्राविधिक विषयहरु र भारतीय नियतसँग सम्बन्धित विषयहरु खालि कार्माचारीको तहबाट छलफल गरेर समाधान सम्भव छैन । राजनीतिक उच्च तहबाट गम्भीर पहल लिन विलम्ब गर्नु हुँदैन । हामी भौगोलिक हिसाबले छिमेकी त बदल्न सक्दैनौं तर छिमेकीको बानी बदलाैं !

नेपाल सरकारले त्यस क्षेत्रको भौतिक पूर्वाधारको विकासमा समेत व्यवस्था गरेको छ । मिति २०७६ कार्तिक २५ गते दार्चुलाका सांसद गणेश ठगुन्नाले उपप्रधान तथा रक्षामन्त्रीसमक्ष पेश गरेको मागले प्रष्ट गर्दछ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.१ छाङ्गरु र तिंकरका जनता दार्चुला सदरमुकाम आउने बाटाे नभएकाले भारत सरकारसँग अनुमति लिई भारतको बाटो भएर आफ्नो जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता कायम छ ।

व्यास गाउँपालिकाको वडा नं. १ छाङ्गरुबाट वडा नं. २ दुम्लिङ्गसम्म घोडेटो बाटोसम्म खोलिदिएको खण्डमा भारतको अनुमति लिएर प्रशासनिक काम र बजारका लागि जिल्ला सदरमुकाम आउने समस्याबाट यस क्षेत्रका जनता मुक्त हुनेछन । मोटर बाटो बन्न समय लाग्ला तर घोडेटो बाटो बनाउने काम नेपाल सरकारले अविलम्ब शुरू गरोस् ।

नेपाल सरकारले आफ्नो प्रविधिक, प्रशासनिक र राजनीतिक तयारीका साथ कूटनीतिक पहल गरोस्, सीमा समस्या समाधान गर्न सम्भव छ ।   सरकारले सीमा अतिक्रमणका विषयमा तत्काल कुटनीतिक पहल अपनाउँदै सीमा सुरक्षा गर्नु पर्दछ । विगत लामो समय देखी सुस्ताबासीले भोग्दै आएको दुख पीडाका बारेमा सरकारले मलमपट्टी गर्न पछि पर्नु हुँदैन ।

हाम्रो दुई तिहाइको सरकारलाई यो प्रक्रिया अघि बढाउनका लागि आन्तरिक समस्या छैन । राष्ट्रियताको विषयमा सरकार मात्रै नभएर प्रतिपक्षीदलहरु पनि एक जुट हुनु आवश्यक देखिन्छ । वीर पूर्खाहरुको बलिदानी र संघर्षबाट आर्जित नेपाली भूमी एक इन्च पनि गुम्न दिनु हुँदैन । विश्वभर नेपालीहरुको वीर गौरवगाथाको साख जोगाउन पर्ने देखिन्छ । नेपालको विषयमा हाल अन्तरराष्ट्रिय रुपमा चर्चापरिर्चा चलिरहको सन्दर्भमा भारतको हेपाहा प्रवृत्तिको अन्त्य गर्नका लागि कुटनीतिक पहल गरिनुपर्छ । 

हामी इतिहास कालखण्ड हेर्ने हाे भने पनि कसैको औपनिवेशमा बसेका छैनौं । पूर्वपश्चिम सीमाना खास गरि दक्षिणी सिमानामा नेपाली सेना  राख्दै भूमीको रक्षा गरिनु पर्दछ । अन्तराष्ट्रिय सन्धि सम्झौता एकलौटी रुपमा उलंघन गर्ने अधिकार कसैलाई प नि छैन । तसर्थ यो भूमीमा कसैको आँखा लाग्न नदिन सरकराले तत्काल  पहल गरोस ।   

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata