आफ्नै कथा, आफ्नै व्यथा 

आइतवार, मंसिर १६, २०७५

loading...

- पिपला खड्का



- पिपला खड्का

सबैका जीवनमा आ आफ्ना कथा,बेथा र वेदना हुन्छन् । पीडा र वेदना नभएका मानिस सायदै भेटिएलान । हरेक मानिसका स्वभाव अनुसार पिडाहरु कसैले व्यक्त गर्छन त कसैले मनमनै राख्ने गर्छन् । भगवान गौतम बुद्धले भनेका छन् । संसारमा दुख छ । दुखको कारण छ । त्यसकोे निवारण पनि छ ।

तर म भगवान गौतम बुद्धको उक्त बाणीमा सहमत हुन सकिरहेकी छैन । हाल म सुदुरपश्चिमको विकट जिल्लाबाट राजधानी काठमाडौंमा अध्ययनको सिलसिलामा रहेकी छु । विगतमा कसैले दुख पिडा र बेदनाका बारेमा केही कुरा ब्यक्त गर्दा मलाई कथा जस्तो लाग्थ्यो । मैले वि.स. २०७० सालमा अछामको नन्देश्वरी माविबाट एसएलसी दिएँ । त्यो बेलामा बाल्यकाल रमाइलो वित्दै थियो । दिन वित्दै गए म उच्च शिक्षा हासिल गर्नका लागी राजधानी प्रवेश गरे । त्यसपछि मेरो जीवनमा संघर्षका दिनहरु सुरु भए ।

वि.स. २०७३ साल पौष महिनामा मेरो कालो दिन सुरु भयो । जुन दिन मलाई यो संसारमा पाइला टेकाउन सफल मेरो भगवानले संसार छोड्नु भयो । आमा विरामी भएर उपचारका लागि अछामबाट काठमाडौं ल्यायौं । लिभर सिरोसिसको समस्याले ग्रस्त आमाको उपचारका लागि राजधानीका विभिन्न हस्पीटलमा लग्यौं । करिब एक बर्षको उपचार पश्चात  आमाको स्वास्थ्यमा कुनै सुधार नभए पछि भगवानको प्यारो बनेरै छोड्नु भयो । मलाई त्यो दिनको याद छ । विरामी अबस्थामा थला परेकी मेरी आमाले भन्नु हुन्थ्यो,लाट्या (लाटी ) मलाई केही पनि हुँदैन ।

म दाई भाउजुसँग बस्थें । आमाचाहीं केही दिनदेखी दिदीको घरमा बस्नु हुन्थ्यो । म कलेज जानु पूर्व सधैं बाबालाई फोन गरेर आमाको अबस्थाको बारेमा बुझ्ने गर्थें । बुबा पनि आमाको स्वास्थ्य अबस्थाको बारेमा मलाई ठिकै रहेको खबर गर्नुहुन्थ्यो ।

सधैं जस्तो त्यो दिन पनि बाबालाई फोन गरें । बाबा, आमालाई कस्तो छ ? बाबाले भन्नु भयो । छोरी आज तेरो आमालाई ठिकै छ । थोरै खाना पनि खाएकी छ । चिन्ता नगर भन्नु भयो । म आमालाई अलि सन्चो भएको खबरले खुसी भए । साँझको चार बजेको समय थियो । म केमसी स्कुलबाट भाईलाई लिएर कोठामा गएँ । कलेजको ड्रेस चेन्ज गर्न नपाउँदै भिनाजुले फोन गर्दै भन्नु भयो पिपला तिमी कहाँ छाै ? आमालाई गाह्रो भयो रे, म तिमीलाई लिन आउँदै छु । शंखमुल चोकमा आइराख भन्दै फोन राख्नु भयो । भिनाजुको कुरा सुनेर मेरो मुटु, काँप्न थाल्यो ।

म हतारिंदैं शंखमुल चोक पुगें । आमालाई गाह्रो भएको खबर पाउने वित्तिकै भाउजु र भाई पनि म सँगै आउनु भयो । त्यो दिन असाध्यै जाम भएकाले हामी ढिलो गरि नागरिक अस्पताल पुग्यौं । हामी गएको ट्याक्सी र उताबाट आमालाई ल्याएको ट्याक्सी एक साथ अस्पताल पुग्यो । मेरो दिदी र बाबा रुँदै हुनुहुन्थ्यो, मलाई डर लाग्यो । आमालाई कतै ! म हतारिदैं ट्याक्सीबाट झरें र आमालाई लिएर आएको ट्याक्सी तर्फ बढें । रुँदै आमा आमा आमा भनेर पटक पटक बोलाए । मेरो आमा बोल्नु भएन । सधैं रुँदा नरोउ लाट्या भन्ने मेरी आमा त्यो दिन केही पनि बोल्नु भएन ।

मैले आमालाई ओढाएर राखेको ब्लाङकेट झिकें । त्यस पछि मेरो होस हवास हरायो । बाँकी आमाको अन्तिम श्वास र अनुहार नदेखेरै म विछिप्त भएँ । अझैं पनि आमाको आकृती मेरो मानसपटलमा जस्ताको तस्तै आर्इरहेकाे छ । धेरै धेरै सम्झना मेरी आमालाई ।

452 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank