लैंगिकतामा मेरो प्रतिविम्व !

शनिबार, असार ६, २०७७

loading...

- आरुश रावल



आफ्नो अस्तित्वको पहिचान के भन्ने प्रश्नको उत्तर खोज्नु प्रत्येक नागरिकको नैतिक जिम्वेवारी तथा कर्तव्य हो । परिचयको क्रममा आउने शब्दावलीको अर्थ लगाउने हो भने ति नितान्त व्यक्तिगत छन भनेर भन्न सकिने अवस्था देखिदैन । म मेरो परिवारको लागी छोरा (वंश धान्ने) उतराधिकारी हुन सक्छु, भने विश्वविधालयको लागी एक विधार्थी तथा अझ निकट गएर परिचय खोज्ने हो भने शिक्षकको लागि शिष्य !

 मलाई लाग्दैन कि मैले पाएको नाममा मेरो पहिचान मात्रै लुप्त छ भनेर । मैले विरासतमा पाएको नाम सँगै जोडिएर आउने “बहादुर” जसको खास भाव तथा अर्थ लगाउनसम्म सकेको छैन मैले । मेरा पुर्खाले गरेको बलिदान, त्याग तथा संघर्षबाट कमाएको उपहार स्वरुप पाएको महान पदवीको हकदार सम्झिनु बाहेक अरु केहि विकल्प देख्दिन ।  गधापच्चिसे उमेर काटेको जिम्मेवारीको बिडो थामी सक्नुपर्ने बयस्क युवा हुँ म । सानो छँदा मैले खेल्ने खेलौनादेखि लगाउने मेरो कपडासम्ममा बढो धाक थियो मलाई किनभने छोरा मान्छेले खेल्ने खेल भनेकै साहसिक, वीर, योद्धा जस्ता चरित्रका हुने तथा लगाउने कपडाहरुले पनी त्यसमा थप उर्जा थपिरहने भने छोरीले चाहिँ बिनम्रता, शालिनता, र घर व्यवहार समाल्ने, तथा सजाउने जस्ता खेल तथा पहिरन हुने, जसले त्यो बालमनोविज्ञानलाई नै सिमित घेराबन्दीमा बाँध्न आधारभुमि सिर्जना गरेको देखिन्छ ।

हिजो खेल्दै आएको खेल आज खेल्न छोडिएको छ ।  तर आज आएर मैले खेल्ने खेल, मैले लगाउने कपडा जस्ता यावत कुरा त निकट भविष्यमा लड्ने युद्ध (लैंगिक हिसां) का ठुला हतियार सावित भएका छन । जसलाई हाम्रो पुस्ताले जोगाउनै पर्ने सम्पति विरासतको रुपमा दिइएका छन । आजको दिनमा यस्ता पैतृक सम्पतिलाई विभिन्न नामले परिभाषित गर्ने गरेको पाइन्छ । जसलाई पितृसत्ता, पितृसत्तात्मक सोचजस्ता नामाकरणद्धारा सम्वोधन गर्ने गरेको पाईन्छ । आजको प्रत्येक नेपाली समाजमा हुर्कने बालक देखि वृद्धसम्म सबैको मनोविज्ञानलाई यसरी निमार्ण गरिएको छ कि स्वयम व्यक्तिलाई पनि लाग्दैन कि मेरो बाेल्ने बाेलीका प्रत्येक शब्दावली वा गर्ने व्यबहारमा विभेद छ भनेर जसका कुनै निर्दिष्ट नियम तथा योजना छैन्न तर समाजमा स्वस्र्फुत, समान गतिशिल रुपमा चलाइमान रहेको पाउन सकिन्छ ।

मेरो नामको माध्यमबाट होस वा मैले खेल्ने खेल तथा खेलौनाको माध्यमबाट होस ।जसरी भएपनी आजको दिनमा मेरा हरेक व्यवहारबाट विभेद छर्लङ्ग छल्किरहेको छ । सानोमा एक बालक अँध्यारो देखि डराएर बाबा मलाई अँध्यारो देखि डर लाग्छ भन्दा छोरा मान्छे भएर डराउनु हुन्न भनेर सिकाईएकै कारणले मात्रै हिजोको बालक आजको पुरुषार्थ, क्षमतावान, संरक्षक युवाको रुपमा विकास भएको छ । यो त प्रतिनिधि उदाहरण मात्रै हो । जसलाई सबैले सजिलै बुझ्न तथा अर्थ लगाउन सक्छन ।

अर्को कुरा धर्म, जात तथा जातियता । अहिलेसम्म मलाई मेरो धर्मको बारेमा कुनै विशेष औपचारिक ज्ञान छेैन । तर पनि हिन्दु धर्म तथा वर्ण व्यवस्था अनुसार गर्नुपर्ने विभिन्न धार्मिक कर्मकाण्डमा सहभागी हुनु मेरो जिम्वेवारी र बाध्यता जस्तै बनेका छन । प्रत्येक वर्षको जनै पुर्णिमामा जनै फेर्नु, कपाल खौरिनु, दुःख सुखमा आँखाबाट आँसु नखसाली दृढ साहस देखाउनु, खेतबारीमा काम गर्दा खेत जोत्नु जस्ता यावत कार्यहरु जुन मैले छोरा भएकै आधारमा विरासतमा पाएका उपहार हुन जस्तो लाग्छ मलाई ।

हरेक समाज र सँस्कृतिका आ-आफ्नै मुल्य तथा मान्यता रहेका छन । जहाँ लैंगिकतालाई नै आधार मानेर कतिपय महिला र पुरुषहरुका गतिविधीहरु प्रतिबन्धित छन । जस्तै नेपाली समाज र सँस्कृतिमा अहिले पनि महिलाहरुलाई हलो जोत्न, लाश बाेक्न तथा अन्त्यष्टिमा भाग लिन अनुमति छैन, (ज्ञानु क्षेत्री, २००३) । अच्चम लाग्छ किनभने बिना त्याग, बलिदान र संघर्ष सजिलै बिना मुल्य मैले पाउने उपहारको कारण के रहेछ भनेर ? किनभने विगत लामो समय देखि छोरीहरुले त्यसैको लागि गरेको संर्घष, तथा बलिदान के का लागी र जसको समाजमा यत्रो महत्व किन ? जस्ता यावत प्रश्नहरु एकैसाथ दिमागमा आउँछन तर त्यसको प्रतिउत्तरमा दिमाग शुन्य हुन्छ । किनभने त्यसको पालनकर्तालाई उत्तर खोज्ने आवश्यकता नै हुँदैन ।

जन्मने बितिकै उपहार स्वरुप पाएको माथिल्लो जातले मलाई मात्रै होइन सबै पुरुष जातलाई सर्वेसर्वा तुल्याएको छ । मैले प्रतिनिधत्व गर्दै आएको समाज जाति व्यवस्थामा आधारीत समाज हो । जहाँ एक जातको व्यक्ति सर्वश्रेष्ठ् रहेको हुन्छ भने त्यहि समाजको अर्को व्यक्ति निच तल्लो तहको ठहरिन्छ । माथिल्लो जातको व्यक्तिले तल्लो जातको महिला तथा छोरीहरुलाई प्रयोग गर्ने वस्तुको रुपमा लिने गरेको पाईन्छ । महिलाहरुलाई सामाजिक रुपमा दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेका अनगिन्ती उदाहरण भेटाउन सकिन्छ । जस्तै, पैतृक सम्पतिमा महिलाको हक स्थापित गर्न नसकिनु, छोरीहरुलाई अर्काको नासोको रुपमा बुझिनु, आमा बुबाको काजक्रियामा महिलाको सहभागीतालाई सामाजिक रुपमा बन्देज गरिनु, इत्यादी । महिलाहरुको बोल्ने शैली, हिड्ने तरिका, गरिने व्यवहार इत्यादी सवैमा लैंगिकताको प्रतिविम्व देखिन्छ । जसले महिलाहरुलाई सिमित घेराबन्दिमा बाँध्ने गरेको पाईन्छ । जुन व्यवहार जो कसैलाई पनी असामान्य ठहरिन्छ । जस्तै बच्चा जन्माउँदा वा जन्मिनुमा पनि पितृसत्तात्मक सोच हावी भएको कुरा नेपाली समाजमा तिव्र गतिमा बढिरहेको भ्रुणहत्या, तथा मातृ मृत्युदर जस्ता घटनाहरुवाट स्पस्ट हुन्छ ।

नेपालमा जन्मिने प्रत्येक छोरीले विभिन्न समयमा विभिन्न अग्नि परिक्षा पार गर्दै अगाडि बढ्नु पर्ने अवस्था देखिन्छ । मैले मेरो जीवनकालमा देखे भोगेका विभिन्न प्रतिनिधि घटनाहरु रहेका छन । जसलाई मैले पनि जानी नजानी मलजल गरिरहेको तथा संरक्षकत्व प्रदान गरी रहेको छु । हरेक समाजमा लैंगिक विभेदको मुल जराको रुपमा पितृसत्तात्मक सोच नै रहेको छ । जसमध्येका दुई महत्वपुर्ण घटनाहरुलाई निम्नानुसार प्रस्तुत गर्दछु:

(क) सामान्य रुपमा केटा केटीसंँगै खाँदा, बस्दा केटाले नै पैसा तिर्नुपर्छ भन्ने मनोवृति हाम्रो समाजमा प्रयाप्त भेटाउन सकिन्छ । एक दिन म नेपाल ल क्याम्पसको गार्डेनमा बसेर मोबाइल चलाईरहेको थिए । एकाएक हामीसँगै पढ्ने साथी नाताले म बहिनी बोलाउने गर्थे । उहाँ आउनु भयो र विगत र वर्तमानका बारेमा वार्तालाप सुरु भयो । केहि समय पछि बहिनले दाई खाजा खान जाऔं न भन्नुभयो म सँग त्यति धेरै पैसा थिएन । तर पनी जानैपर्ने बाध्यता जस्तै भइसकेको थियो । खाजा खाने ठाँउमा गएर खाजा अर्डर गर्ने बेला मलाई के खाने खाने भईराखेको बेलामा बहिनीले म चिकेन मःम खान्छु, दाई के खाने भन्दा हतार हतारमा सोच्न नै नपाई म पनी त्यहि भने त्यो दिनको लगभग आदी घण्टाको बसाई यति लामो र भयानक थियो जसको बारेमा सम्झिँदा आजपनि झस्किन्छु म । खाजा कति बेला आयो र खाइयो भन्ने सवालमा मलाई पनि थाहा छैन ।

जब बिल तिर्नु पर्ने समय आयो ठिक त्यहि समयमा पछाडीवाट आवाज आउँछ दाई पैसा मैले दिइसके । मेरो त खुट्टा मुनीको माटो खसकियो । म छोरा मान्छे भएर पनी खाजा खाएको बिल तिर्न नसक्दा त्यो दिन भरि नै म आफुले आफलाई छोरा हुनुमा पनि लज्जावोध भयो । सामान्य रुपमा यो नगण्य घटना थियो तर त्यसले मेरो पुरुष मानसिकतामा यसरी दबाब दियो कि म आफै नै आफ्नो नजरमा तल झरेको महशुस भयो । यसै प्रसंगमा मैले कतै पढेको याद आयो । जसमा किशोरकिशोरीको जोडी डेटिङ जाँदा पैसा केटाले नै तिर्नु पर्छ भन्ने ठानिन्छ । जबकि दुबै जनाकाको गोजी खर्च उतिकै हुन्छ । अनि छक्क पर्छौं किन केटाहरुले आफ्ना आमाबुबाबाट धेरै पैसा चोरिरहेका छन भनेर, (अदिचि, २०७४) । मन हलुका भयो र भने केटा र केटिलाई पुरुषत्व र पैसासँग नजोडेर किन हुर्काउन सकिदैन । जबसम्म छोरा र छोरी भन्ने मनस्थितिलाई त्यो बाल मनोविज्ञानवाट चिरेर निकाल्न सकिदैन तबसम्म समाजमा महिला र पुरुषबीचको समानता कायम गर्न सकिने देखिदैन ।

(ख) हाम्रो जस्तो अतिकम विकसित देशहरुमा मुख्यगरि युवा वर्गले भोग्नु पर्ने समस्या भनेकै वेरोजगारी हो । कुन परिवेशमा कसलाई कतिको भार पर्दछ भन्नेकुरा फरक हो तर त्यसको परिणाम प्रायः समान हुन्छ । मेरो परिवेशमा कुरा गर्ने हो भने आज भोली मैले सामना गर्नुपर्ने प्रश्न भनेको नै के गर्दैछौ ? जागीर खाइसक्यौ ? जस्ता यावत प्रश्नहरु जसको उत्तर म सँग छैन तर यो प्रश्न गराईको पछाडी रहेको पितृसत्तात्मक सोच नै मुख्य हो जस्तो लाग्छ । यहि सँग सम्वन्धित एउटा सामान्य तर फरक चरित्रको तमाम युवाहरुले सामना गर्नुपर्ने घटना छन जसमध्येको एक प्रतिनिधि घटना निम्नानुसार विस्तार गर्दछु ।

गत २०७६ को दशैं मनाउन घर गएको बखत प्रायः हामीसँगै पढ्ने तथा खेल्ने साथीहरुले जागिर खाईसकेक थिए । म पढाइकाे लागि भनेर काठमाडाैं गएको पनि ४/५ वर्ष भईसकेको थियो । त्यसैले पनी प्रायः सबैले जागीर खाएको कुरा गर्नु स्वभाविक होला । तर म छोरा मान्छे भएकै आधारमा जागीर खाईसक्नु पर्ने भन्ने मान्यताले मलाई थप दबाब दिइनु वा पितृसत्तात्मक सोच हाबी भएको भन्नु सिवाय अरु केहि लाग्दैन । मलाई सोधिने प्रश्नको कुनै ठोस उत्तर मसँग थिएन । किनभने म वर्तमानसम्म कुनै पेशा तथा व्यवसायमा संलग्न भईसकेको छैन ।

तर म माथि तेर्साइने प्रश्नले मलाई पुरुष भएकै आधारमा गरिने दबाबले मलाई हतोत्साहित गर्नु शिवाय केहि देखिदैन । यसै सन्दर्भमा  एउटा महत्वपुर्ण घटना याद आउँछ।  शिल्भा स्कुलमा पढ्दा सबै भन्दा राम्रो (गणीत) ग्रेड प्राप्त गर्ने विधार्थी थिए । उनि एक महिला हुन भन्ने कुरामा कहिल्यै ध्यान दिएको थिइनन् । यधपी कतिपय व्यवसायहरु “मदार्नी” थिए । उनले तेह्र वर्षको उमेरमा आफ्नो आमा र उनका साथीहरुको अगाडी “म इन्जिनियर बन्ने” निर्णय खुल्लम खुल्ला घोषणा गरे । सँगैको आमाको साथीले तपाई किन सरकारी कर्मचारी बन्नु हुन्न ? जो पछि तपाई जस्तो जवान महिलाको लागी बढि उपयुक्त हुनसक्छ, किनभने यदि तपाईले राम्रो ठाँउमा जागीर पाउनु भयो भने त्यहिको कार्यकारी मध्ये एक जनाले तपाईसँग विवाह गर्न भन्ने छन।  तपाईले सपनामा देखेको जीवन पाउनुहेछ (शिल्भा, २०१८) । यसबाट के बुझ्न सकिन्छ भने छोरामान्छे बाहेक छोरीलाई पनि विभिन्न किसिमका दबाब सिर्जना गर्ने वा दिने गरिन्छ ।

तर अहिलेको सन्दर्भमा  म छोरा मान्छे भएकै आधारमा राम्रो जागिर खानुपर्ने त्यसपछि मात्रै राम्रो केटा केटिसँग विवाह हुने, सामाजिक रुपमा प्रतिष्ठित भईने, कमाएर ल्याउने जिम्वेवारी छोराको हुने भने छोरीले घर व्यवहार सम्हाल्ने जस्ता हुने गर्दछन । यी लगायतका मान्यताका कारणले पनि आज माथिल्लो तहको उच्च शिक्षा भन्दापनि निश्चित तह पछि जागिर खानुपर्ने जस्ता बाध्यताका कारण हाम्रो जस्ता कम विकसित देशहरुमा उच्च शिक्षामा युवाको सहभागितामा गिरावट आएको पाईन्छ । यी र यस्ता प्रशस्त घटनाहरु छन । जसले मानिस भएर जन्मिनुमा नै सन्देह गर्नु पर्ने अवस्थाको सिर्जना गराउँछ । त्यसमा पनि छोरी मान्छे भएर जन्मीनु कुन जन्मको सराप थियो । जो आज मैले चुकाउनु परेको छ, अपमानित हुन परेको छ, भन्ने जस्ता अनगिन्ती सवाल उठाउनु बाध्य बनाएको पाईन्छ ।

माथि उल्लेखित घटनाहरु प्रतिनिधि घटनाहरु मात्रै हुन जसले नेपालको समग्र परिस्थितिको प्रतिनिधित्व गर्न सक्दैनन । तर यी घटनाको प्रकृति र क्षेत्र फरक फरक भएता पनि नेपालको सामाजिक साँस्कृतिक परिवेशमा महिलाहरुले भोग्नु परेका लैंगिक हिंसाहरुलाई समेट्ने प्रयास गरेको छ । आज पनि कतिपय आमाले छोरा नजन्माएकै आधारमा घरवार विहिन हुनु परेको, छोरा जन्माएपछि मात्रै आमाले घरको सदस्यको स्थायित्व प्राप्त गर्ने गरेको, तथा सामाजिक सम्मान प्राप्त गर्ने प्रमुख आधार नै छोरा जन्माउनु पर्ने जस्ता विविध बाध्यताबाट छोराको महत्व कति रहेछ भनेर  बुझ्न सकिन्छ ।

सन् १९९१ मा श्रम विभागले एउटा कानुन ल्यायो जसमा एकल महिलाले खाडी मुलुकमा गर्ने यात्रालाई गैरकानुनी तुल्याई दियो । त्यसैगरी सुरक्षाको सवाल भन्दै ३० वर्ष भन्दा कम उमेरका महिलालाई मध्य पुर्वका देशहरुमा काम गर्न जानबाट बन्चित गरिने कुरा प्रकाशमा आएको थियो । यस्ता क्रियाकलापमा नेपाली चलीबेटी, दिदी,बहिनीको सुरक्षाका खातिर यो कार्य अगाडी बढाएको तर्क प्रस्तुत गरेको थियो । जसले महिलालाई पुरुषहरुको सुरक्षाको आवश्यकता पर्ने कमजाेर, निरिह प्राणीको रुपमा बुझ्ने प्रयत्न गरेको प्रस्ट्याउँछ । भन्ने जोशिको तर्क छ (जोशि, २००७) । कतिपय अवस्थामा राज्य सन्यत्रले नै महिलाहरुलाई कम्जोर बनाइदै पो छ कि भन्ने कुराको सन्देह माथि उल्लेखित काुनुनी प्रबन्धले संकेत गरेको देखिन्छ ।

विगत केहि समयदेखि भईरहेका मानवता विरोधि गतिविधिहरुले शंकाको भाव सिर्जना गरिरहेका छन । जसमा विकासको शिखर चुम्न सफल भएको राष्ट्र अमेरिका होस वा विकासको गतिमा पाईला चाल्दै गरेको नेपाल नै किन नहोस । प्रत्येक दिन घर व्यवहार तथा समाजमा हुने घटनाहरुले त्यसको पुष्टि गरिरहेका हुन्छन । तर सतहमा कमै देखिने घटनाले पराकाष्ठा नाघि सकेको तथ्य रुकुम घटनामा प्रष्ट रुपमा देख्न सकिन्छ । यस्ता अमानविय क्रियाकलाप न्यनिकरणको लागि बनेका नीति तथा ऐन, नियमहरु सस्ता र फितला देखिएका छन । आम जनसमुदायमा कानुनी व्यवस्था प्रति अपनत्वको भाव पैदा गराउने कानुनी राज्यमा मानिस मानिस बीचको विभेदलाई सम्वोधन गर्ने सामाजिक संस्कारले जरा गाडी रहेसम्म कानुनको शासनको अनुभति जनताले गरेका छन भन्नेमा सन्देह रहि रहन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments