हाम्रो प्रबृत्ति र देशको समृद्धि !

बिहिबार, फाल्गुन २३, २०७५

loading...

- मीनप्रसाद जैशी



- मीनप्रसाद जैशी

हिजो आज समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानसँगै देशको समृद्धिको कुरा निकै जोडतोडका साथ यत्रतत्र सर्वत्र चलिरहँदा के हामी देश समृद्ध बनाउन खोजिरहेका छौ ? वा हामी सबैले आफ्नो तर्फवाट देश समृद्धिको अभियानमा साथ दिईरहेका छौं ? वा अबको  पुस्तालाई दुःखी, गरिब  होइन  सुखी र समृद्ध नेपालीको पुस्तामा रुपान्तरण गर्न चाहेकै हो त ? यी र यस्तै यावत प्रश्नहरुले बिहान उठे देखि बेलुकी सुत्ने बेला यो देशको एक नागरीक हुनुको नाताले आफै भित्र उत्तर खोजिरहेका हुन्छन् । देशको मुल नीति भनेको राजनीति नै हो । यसैका आधारमा देश चलिरहेको हुन्छ । त्यसैले सबैभन्दा पहिले देशको राजनीतिको मुहान सफा र सहि दिशामा हुनुपर्छ। यसका साथै राजनीतिज्ञहरु नैतिकवान, योग्य, ईमान्दार र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देश र जनताको भलो चिताउने गरी दुरदर्शिताका साथ काममा समर्पित हुनु पर्दछ भन्ने कुरामा सायद कसैको पनि विमती हुन सक्दैन र हुनु हुँदैन ।

एउटा राजनेता मात्रै असल, ईमान्दार र दुरदर्शी भयो भने सिङ्गो मुलुकले आफ्नो इतिहास बदल्न सक्छ ।  जुन कुरा मलेसियाका प्रधानमन्त्री महाथिर, सिङ्गापुरका राष्ट्रपति लिक्वान, चीनका राष्ट्रपति सि जिन पिङ लगायतका राजनेताहरुले प्रमाणित गरि सकेका छन् ।  हाम्रा महामहिम राजनीतिज्ञहरुले राम्ररी वुझ्नु पर्दछ र आकाशको जुनलाई सुन बनाएर तिम्रो आँगनमा झार्दिन्छौं भन्ने जस्ता झुटको भाषणले न त समाजबाद आँउछ न त समृद्धि आउँछ ।  यस्ता झुट भाषण हैन अब ईमान्दारीताका साथ स्पष्ट योजनाका साथ काम गर्न शुरु गर्नु पर्छ । यसो भनिरहँदा के देशको समृद्धिका लागि राजनीति र राजनीतिज्ञ मात्रै प्रयाप्त वा सबथोक हुन् त ? के हामी नागरीकको कुनै भूमिका नै हुँदैन ।  हाम्रो कुनै जिम्मेवारी र कर्तव्य नै छैन त ? एक चोटी सोच्नु पर्ने, बहस र छलफल गर्नुपर्ने बेला आएको छ । देशमा भईरहेका गतिविधिहरुलाई नियाल्ने हो भने हामी आम नागरीकले पनि कहि न कहि आफ्नो जिम्मेवारी सही तरीकाले पुरा नगरी अर्कोलाई दोष थुपारी उम्कीने प्रवृतिको पछि लागेर देशको समृद्धि खोजिरहँदा कतै निम रोपेर आँप फलाउने आशा गरिरहेका त छैनौं ? भन्ने प्रश्न हाम्रा लागि प्रतिप्रश्नको रुपमा तेर्सिएको अवस्था छ।

एउटा राष्ट्रसेवक कर्मचारीलाई नागरीकले प्रत्याभुत गर्ने गरी सेवा प्रवाह गर्न, भ्रष्टाचार मुक्त प्रशासन संचालन गर्न , शिक्षकलाई अफ्नो ज्ञान सिप र अनुभवको अधिकतम उपयोग गरी अध्ययन अध्यापन गराई शैक्षिक गुणस्तर सुधार गर्न सबैकाे आआफ्नै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।  त्यस्तै विद्यार्थीले तोकेको विषयवस्तुमा ज्ञान हाँसिल गर्न  प्रहरीलाई देश र जनताको सुरक्षा गर्न, वकिललाई झुट्टा मुद्दाको वकालत नगरी न्याय र सत्यलाई समर्थन गरी सुव्यबस्थित समाज निर्माण गर्न लाग्नु पर्छ । अदालतका न्यायधिशले नागरीकलाई छिटो र सत्य तथ्यका आधारमा न्याय दिन, डाक्टरलाई बिरामीको सही उपचार गरी सेवा प्रभावह गर्नु पर्छ ।

साथै  उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर छली नगरी राज्यलाई नियमानुसारको कर तिर्न र नागरीकलाई गुणस्तरयुक्त तोकेको मापदण्ड अनुसारको वस्तु उत्पादन तथा बिक्री गरी उपभोक्ता सम्म पुर्याउन, निर्माण व्यवसायीलाई स्टीमेट अनुसार तोकेको मापदण्ड वमोजिमको पुर्वाधार निर्माण गर्न, यातायात व्यवसायीलाई तोकेको भाडादरमा गुणस्तरीय सेवा पुर्याउन, बैंक तथा वित्तिय संस्थाहरुलाई तोकेको नियमको परिधि भित्र रही सेवा ग्राहीलाई सेवा पुर्याउनु पर्छ । त्यस्तै राज्यकाे चाैथाै अग मानिने पत्रकारलाई सत्य तथ्य समाचार प्रकाशन तथा प्रसारण गरि सहि सुचना सम्प्रेषण गर्नु पर्छ ।  विकास निर्माणका काम संचालनका लागि गठन गरिने उपभोक्ता समितिलाई मापदण्ड अनुसारको गुणस्तर कायम हुने गरी काम गर्न, कृषकलाई व्यवसायीक खेती गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न राज्यले उचित लगानी लगाउनु पर्छ ।  नागरीकले सेवा लिए वापत घुस लिने दिने परिपाटीमा राज्यले कडाइ गर्न अाबस्यक देखिन्छ । जताततै फोहोर नगर्न तथा नफाल्न, राज्यले तोकेको नीति नियमको पालना गर्न, सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालन गर्न, नेता तथा उच्च अधिकारीको भनसुन तथा सोर्स लगायर कुनै काम नगर्न नगराउन, चौतारीमा फाल्तु गफ गरी समय नबिताउन ,जुवातास तथा अन्य कुलतमा नलागी उक्त समय सिर्जनशिल काम तथा उत्पादनशिल क्षेत्रमा युवा जनशक्ती परिचालन गर्न अावस्यक छ । उचित  योग्यता , क्षमता र दक्षताकाे अाधारमा युवालार्इ राेजगार दिन सकेमा  राज्यले लाभ हासिल गर्न सक्छ ।  समाजमा हुने विभिन्न गतिविधिहरुलाई सहि र गलत छुट्टयाई समर्थन र विरोध गर्न सचेत नागरिकले अाफ्नाे भूमिका  निर्नाह गर्न अावस्यक छ ।

घरेलु हिंसा तथा बलात्कारजन्य घटनाहरुबाट टाढै बस्न, देशका लागी फेसबुकका वालहरुमा खोजिए जस्तै उपयुक्त र उत्कृष्ट नेता छनौटका लागि सहि मतदान गर्न, प्रतियोगितामा भाग लिई योग्यता र क्षमताका आधारमा रोजगारीमा प्रवेश गर्न, हामी सबैले एक सभ्य, ईमान्दार, नैतिकवान, लगनशिल र मेहनती नागरीक भई बाँच्नेलगायतका तमाम काम जुन सरकारको नभई हाम्रो आफ्नो जिम्मेवारी हो । जुन काम गर्नका लागि के हामीलाई हाम्रो देशको संविधानले वा कुनै कानूनले रोक  वा बन्देज गरेको छ? के यी कार्य गर्नका लागि राज्यले हामीबाट थप कर लिने गरेको छ ? के हामीले कुनै अतिरिक्त पैसा तिर्नु पर्छ? के यी कार्य नगर्नका लागी हामीलाई कुनै सरकारले बाध्य पारेको छ ? के यी काम गरे वापत हामीले पुलिस चौकीमा थुनिएर कोर्रा खानुपर्छ  ? के यी काम नगर्नु भनी अदालतले अन्तरिम आदेश जारी गरेको कारणले हामी पर्खेर बसिरहेका छौं ? वा यी काम गरे वापत हामीले भोली गएर अन्तराष्ट्रिय अदालतमा मुद्दा खेप्नु पर्ने हुन्छ ? त्यसैले एउटा नागरीकको तर्फबाट देशको समृद्धि खोजिरहँदा आजका दिनमा माथि उल्लेख गरीएका हाम्रा यी तमाम प्रबृत्तिहरु जीवनको एक अभिन्न अंग भएकै कारणले देशको समृद्धिका लागि ऐजेरु बनिरहेका छन् ।

सरकार भनेको कुनै अमुक निकाय वा व्यक्ति हो किनभने जसरी सरकारलाई सवै कुराको दोष थुपारी गर्दा सरकारका सबै कुरा ठिकठाक र हामी मात्रै बेठिक भन्न खोजेको चाँही हैन ।   पाठकलाई सरकारको समर्थन गरेको भन्ने भान नपरोस ।   सरकारलाई टुक्रयाउदै जाने हो भने हामी पनी सरकारको एक अंश हुनुको नाताले हामी आफुले गरेका गतिविधि र क्रियाकलापलाई आँखा चिम्लेर बिर्सिरहेका हुन्छौं । मानौ सरकारले मिडासको कथामा जस्तै हरेक चिज छुने बित्तिकै सुन बनाउन सक्ने वरदान पाए अनुसार समृद्धि ल्याउने वरदान प्राप्त गरेको छ । मात्र उक्त वरदानको प्रयोग गरिरहेको छैन  । हामी उक्त वरदान प्रयोग गर्नका लागि दवाब दिईरहेका छौं ।सरकारको नीतिलाई कार्यान्वयन गर्ने, बजेट खर्च गर्ने, विकास निर्माणको कामलाई अगाडी बढाउने लगायतका साना देखि ठुला कामको कार्यान्वयनको जिम्मा आफ्ना मातहतका सरकारी निकाय तथा संयन्त्रको हो जुन निकायमा सरकारको रुपमा हामी जस्तै आम नागरीकको नै उपस्थिति रहन्छ । यहाँ गफ हैन केवल आफ्नो क्षेत्रमा ईमान्दारीपुर्वक अाफ्नाे जिम्मेवारी पूरा गर्छु भन्ने वित्तिकै सवै कुरा यथावत रहेको अवस्थामा पनि एउटा निष्ठावान व्यक्तिले निभाउने भुमिकाका आधारमा र काम गर्ने शैलीका कारण मात्रै पनि राम्राे परिणाममा र  परिबतर्न अाउनेमा दुइमत छैन् । जसको साँचिकाे रुपमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, तत्कालीन प्रहरी उपरिक्षक अधिकृत रमेश खरेल, डा. उपेन्द्र देवकोटा, डा. गोबिन्द केसी, सिएनएन हिरो पुस्पा बस्नेत, समाजसेवी महावीर पुन जस्ता अदरणीय व्यक्तित्व हुनुहुन्छ भने उक्त व्यक्ति त आखिर तपाई हामी जस्तै नागरीक हुन् जसले आफुलाई भित्रै देखि सहि लागेको र आफुले पुरा गर्न सक्ने जिम्मेवारी ईमान्दारीताका साथ पुरा गरे । यसरी हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी नैतिक ईमानका साथ सवैले पुरा गर्ने हो भने सरकारले छुट्टै ग्रहवाट आएर समृद्धि बाँड्ने र हामीले समृद्धि थाप्ने खालको अवस्थाको छिट्टै अन्त्य हुन्थ्यो होला ।

यो भएन र त्यो भएन भनेर एक छिन अरुलाई बेस्सरी ‌औला ठड्याउदै गर्दा हाम्रा आफ्ना क्रियाकलापहरुलाई विचार गर्ने हो भने भ्रष्टाचार गर्ने हामी (राष्ट्रसेवक कर्मचारी बाहेक कुनै नेता वा मन्त्रीलाई सरकारी ढुकुटी खर्च गर्न चेकमा साईन गर्ने अधिकार छैन), छिट्टै लुटलाट पारेर आफु धनी हुनुपरेको र अरुलाई पनी धनी बनाउनु परेको हामीलाई, सरकारले तोकेको नियम र कानुन नमान्ने हामी, हत्या हिंसा र बलात्कारमा सहभागी हुने हामी, सिण्डीकेट गर्न पाउनु पर्छ भन्दै सडकमा चक्काजाम गर्ने हामी, सरकारलाई कर छल्ने हामी, ट्राफिक नियम पालन नगर्ने हामी, जताततै फोहोर फाल्ने र त्यही फोहोरको दुर्गन्धमा नाक थुन्दै हिड्ने हामी, सडकलाई मिचेर घर बनाउने हामी, घुस खाने पनि हामी र खुवाउने पनी हामी, उपभोक्ता समितिवाट आफ्नै घरको धारा र आफ्नै खेत सिंचाई गर्ने कुलो बनाउदा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गर्ने हामी, जंगल फडानी गरी काठ तस्कर गर्ने हामी, स्कुल कलेजमा पढ्नुको सट्टा आन्दोलन गर्ने र तालाबन्दी गर्ने हामी, नपढ्ने पनि हामी नपढाउने पनी हामी, जाँड रक्सी जस्ता कुलतमा फस्ने पनि हामी फसाउने पनि हामी , डिस्को र क्यासिनो चलाउने पनी हामी अनि धाउने पनी हामी, यौन व्यवसाय गर्ने पनी हामी र गराउने पनी हामी, प्रतिस्पर्धा योग्यता र क्षमतामा हैन भनसुनमा जागिर खान मरिहत्ते गर्ने पनि हामी अनि देशको शैक्षिक क्षेत्रको गुणस्तर खस्कियो भन्दै कराउने अनि उपहार र अनुकम्पामा थापेको अस्थाई, करार र राहत शिक्षकको जागिरमा केही वर्ष बिताएपछि परीक्षा नै नगरीकन स्वत स्थाई हुनका लागि आन्दोलन गर्ने पनि हामी । तसर्थ यस्ता हजारौं क्रियाकलाप जुन सरकारले हैन हामी आफैले गरिरहेका छौं र यो हाम्रो सबैभन्दा ठुलो प्रबृत्ति भनौं वा संस्कृति नै बन्नुका साथै आजका दिनमा मानौं हामीले बाचुञ्जेल यति काम नगरे पछि मृत्यु पश्चात धर्मशाश्त्रमा भनिएको कथित स्वर्ग जाने यानमा चढ्नका लागि न्युनतम मापदण्ड नै नपुगेर नर्कको जीवन भोग्नु पर्ने जस्तो भएको छ।

“मान्छेहरुको आफ्नै चाहना खराब छ, भन्न त भन्दछन् सब जमाना खराब छ” भन्ने डा. कृष्णहरी बरालको गजलमा भनिए जस्तै आफ्ना कर्तुत र गल्तिको ढाकछोप गर्न जमाना खराब वा सरकार खराब वा फलानो खराब भनिदिए पुग्ने भए हामी सब आफै वोक्सी आफै झाँक्रि भएर सरकारलाई गाली गर्दै मानौं आफ्नो सबै पाप पखाल्ने कोसिस गरिरहेका छौं । यसो भन्दै गर्दा हामी यो देशका नागरीकहरु आजको भोली युधिष्ठिर, राम, जिसस, कृष्ण वा बुद्ध जस्ता बन्न त नसकौंला र छिट्टै सत्ययुग पनी नआईहाल्ला तर एउटा असल र ईमान्दार नागरीक हुनुको नाताले हामी सबैले आफ्नो काम ईमान्दारीताका साथ आफैले पुरा गर्यो भने देश आफै बन्छ ।तसर्थ हामि सबैले यत्ति मात्रै जिम्मेवारी पुरा गर्ने हो भने भने देशको समृद्धिका लागि मिडासको कथामा जस्तो छुने बित्तिकै सुन बन्ने वरदान कुरीरहनु पनि नपर्ला ।

यतिबेला अधिकांसले एउटा असल नागरीकको न्युनतम मापदण्ड पुरा गर्न सकिरहेका छैनौं र जे जतिले पुरा गरेका छौं त्यो संख्या हात्तिको मुखमा जिरा जस्तै अत्यन्तै न्युन संख्यामा छ । जब सम्म हामी सबैले आफुलाइ तोकेको जिम्मेवारी वा आफ्नो भागमा परेको जिम्मेवारीलाई लगनशिलताका साथ ईमान्दार र कर्तव्यनिष्ठ भई पुरा गर्ने सामाजिक संस्कृतिको विकास हुँदैन तब सम्म देशको समृद्धिको सपना पनि पुरा हुन सक्दैन । एउटा नैतिकवान नागरीक बन्न र बनाउनका लागि देशले कुनै कानुन बनाई रहनु पर्दैन यो त केबल हाम्रो आफ्नो नैतिकता, आचरण र स्वउत्प्रेरणामा भर पर्ने कुरा हो जुन हामी हुर्केको परिवार, समाज र हाम्रो संस्कृतिमा भर पर्दछ त्यसैले आफ्नो चाहनालाई हैन बरु जमानालाई खराब देख्ने हामी नागरीकले सरकार वा राजनीतिलाई दोष दिई रहँदा हामी आफुले गरेका र गर्नुपर्ने हरेक क्रियाकलाप सही र ईमान्दार तरीकाले गरिरहेका छौं त भन्ने प्रश्नको उत्तर आफै भित्र खोज्न सकेमा यसले हामीलाई समृद्धिको दिशामा अघि बढ्न प्रेरीत गर्ने छ जसको फलस्वरुप देशमा समृद्धिको लहर आफै शुरु हुने कुरा निश्चित छ ।

आजभोली सामाजिक संञ्जाल वा पत्रपत्रिका हेर्दा लाग्छ हामी सबै यो देशको समृद्धिका लागि यति अतुर छौं ।  मानौं पानी बिनाको माछा जस्तै छट्पटाईरहेका छौं ।  हामी जे गर्न पनि तयार छौं ।  जब हामीलाई कुनै कामको जिम्मेवारी प्राप्त हुन्छ ।  हामी आफ्नो नैतिकता र ईमान्दारीतालाई तिलाञ्न्जली दिदै नियम कानुन सबैलाई लात मारेर व्यक्तिगत स्वार्थलाई अधिकतम ध्यान दिई उक्त जिम्मेवारी लाई दिनरात नाफामुलक व्यवसायमा रुपान्तरण गर्ने वाटो पहिल्याएर मात्रै काममा हात हाल्ने गर्छौं र विभिन्न बहानावाजी गर्दै भन्छौ ।  मैले त गर्न खोजेको हो फलानो कारणले हुन सकेन वा यस्तो भयो । यस्तो खालको जिम्मेवारीवाट पन्छिने र अर्कालाई दोष थुपार्ने हाम्रो प्रबृत्तिले देशको समृद्धि कहिल्यै सम्भव हुन सक्दैन र दुनियाँमा हाम्रो जस्तो काम चोर प्रवृत्तिले समृद्धि आएको इतिहास पनि छैन । त्यसैले अरु देशको समृद्धि जेट प्लेन चढेर आउदै गर्दा हाम्रो देशको समृद्धि पनि गधामा चढेर त पक्कै आउला तर जेट प्लेन र गधाको भेट कहाँ, कहिले, कसरी र कुन ठाउँमा हुन्छ होला भन्ने कुराको अनुमान लगाउन भने बडो मुस्किल छ ।

अन्तमा हामी हाम्रा यिनै विभिन्न गलत प्रबृत्ति र संस्कृतिका कारण विकास र समृद्धिको सपना पुरा गर्ने बहानामा समयान्तर सँगै अर्को राज्य व्यवस्थाको खोजि गर्दा गर्दै विभिन्न दर्शन, वाद र पार्टिमा विभाजित भएर लडाई, झगडा, हत्या, हिंसा, आन्दोलन र संघर्ष गरिरहौंला अनि एक अर्का भन्दा बढी राष्ट्रवादी, बढी प्रगतिशिल, विकासवादी र समृद्धवादी देखिने राजनीतिज्ञहरुले पार्टिका नाममा आफ्नो झुटको पसल थापेर व्यापार चम्काईरहनेछन् हामी तिनिहरुले संचालन गरेको व्यापार व्यवसायका असल उपभोक्ता भईरहने छौं र सामाजिक संजालहरुमा आफु बाहेक सबै खत्तम भन्दै गाली गरिरहने छौं अनि एक बेबकुफ नागरीक हुनुको नाताले समृद्धिको सपना देखि रहनेछौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank