सावधानीका सबै उपाय अपनाई सुरक्षित रह्यौं !

सोमवार, चैत्र २४, २०७६

loading...

- माधव अर्याल



यति बेला विश्व कोरोना भाइरस (कोभिड- १९) महामारीको भयावह अवस्थाबाट गुज्रिरहेको छ । यो महामारीले विश्व मानव समाज प्रभावित भएका छ । लाखौँ मानिस संक्रमित भएका छन् र सङ्क्रमित मध्ये झन्डै ७०,००० को मृत्यु भइसकेको छ । यो तथ्याङ्कलाई हेर्ने हो भने दैनन्दिन सङ्क्रमित हुनेको सङ्ख्या अझै तीव्र गतिमा बढ्ने आकलन गर्न सकिन्छ । यस्तो विकराल अवस्थाबाट विदेशमा रहनुभएका नेपालीहरूमा अकल्पनीय प्रभावहरू देखिन थालेको छ । अति प्रभावित देशहरूमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई यो महामारीबाट सुरक्षित रहनको लागि अपनाउनुपर्ने सावधानीका सबै उपाय अपनाई सुरक्षित रहन आग्रह गर्दछु । नेपालमा पनि महामारीको प्रभाव दैनन्दिन बढ्दो क्रममा रहेको छ । सङ्क्रमणलाई बढ्न नदिन सरकारको तर्फबाट हर सम्भव प्रयत्नहरू भएका छन् र त्यो क्रम जारी छ र केही कामहरूको सन्दर्भमा प्रश्नहरू उठेका छन् र समयक्रममा उठेका विषयहरूको उचित सम्बोधन हुनुपर्छ र हुने नै छ । यो महामारीबाट कम क्षति हुनेगरि जोगिनको लागि सरकारले गरेको निर्णय र निर्देशनलाई इमानदारिता साथ पालना गर्नुपर्दछ ।

१) प्रदेश र स्थानीय सरकारहरूले आफ्नो भूमिकालाई बढाउँदै हुनुहुन्छ, तर यो भूमिमा स्वतःस्फूर्त मात्र नभई केन्द्र सरकारले गरेको निर्णय र निर्देशन अनुसार योजनाबद्ध र प्रभावकारी तवरले परिचालन हुनुपर्दछ । यो वेला सबै तहका सरकार र त्यसको नेतृत्वले आफूलाई अब्बल साबित गर्ने अवसर पनि हो ।

२) यो विषम परिस्थितिमा अग्र मोर्चामा खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरूको मनोबललाई उच्च बनाई राख्नुपर्छ । अहिलेको चुनौतीको सामना गनेँ भूगोलको कमान्डर भनेको वहाँहरू नै हो ।

३) यो चुनौतीको सामना गर्न सबै राजनीतिक शक्तिहरू दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले अगाडि सारेको योजनाहरूलाई साथ दिने र सहयोग गर्ने अहिलेको सबैको दायित्व हो । न कि बेमौसमी विषय उछालेर परिस्थितिलाई भड्काएर धमिलो पानीमा माछा मार्ने खालको अभिव्यक्ति र भूमिकाले त्यसता दल र नेताको छविलाई धुमिल मात्र पार्नेछ । यो वेलामा सरकारले, क्रियाशील राजनीतिक पार्टीहरू, नागरिक समाज र विपदसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरूबाट आवश्यकता अनुसार सल्लाह सुझाव लिने र त्यसको उचित सम्बोधन गर्नु पर्दछ ।

४) विपद्को अवस्थामा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ । आधिकारिक धारणालाई सकारात्मक तवरले सम्प्रेषित गर्दा नै सञ्चार माध्यमको गरिमा र विश्वसनीयता रहन्छ । अदृश्य शक्तिको योजनामा, असामान्य अवस्थाको फाइदा उठाएर सरकारलाई कमजोर बनाउने गरी प्रसारण हुने समाचारले सरकारलाई मात्र हैन यो वेला देशलाई नै कमजोर बनाउँछ भने हप्तौँ दिनदेखि बन्दा बन्दीको कठिन जीवन गुजारिरहेका आम जन समुदायलाई निरुत्साहित पार्दछ यस तर्फ सचेत रहनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीको ध्यान जानुपर्दछ ।

५) दैनिक ज्यालादारी र शारीरिक श्रमबाट जीवन यापन गरिरहेका आम श्रमिक, विपन्न वर्ग र समुदायको जीवन रक्षाको लागि तथ्याङ्क सङ्कलन, राहत प्याकेजको घोषणा गर्ने र प्रदेश र स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, समूह र व्यक्तिगत तवरबाट राहत वितरण सुरु भएको देखिन्छ । विपद्को वेलामा सहयोगी मनहरू देखिनु राम्रो हो, वहाँहरूलाई प्रोत्साहित गर्ने, उत्प्रेरित गर्ने अरूहरूलाई पनि यो अभियानमा आकर्षित गर्नुपर्दछ । अनियमितता हुन नदिन विशेष सजगता अपनाउँदै लक्षित समुदाय सम्म पुग्ने गरी सङ्कलन र वितरणमा एकद्वार प्रणाली अपनाउने काम कडाइका साथ लागू गर्नु पर्दछ ।

६) लकडाउन शुरु भएपछिको यति लामो समयसम्म पनि भारतीय भूमिमा काम गरिरहेका नेपालीहरू आउने क्रम जारी छ । यसले सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई बढाएको छ । छिमेकी मुलुकमा ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका न्यून वेतनवाला श्रमिकहरू जीवन जीवनको भिख माग्दै आफ्नो देश आउन खोज्दा प्रवेश गर्न नदिने कुरा मानवीय रूपमा त्यति जायज हुन्न । यो वेलामा मानवीय पक्ष सँगसँगै सम्भावित सङ्क्रमणको पक्षलाई ख्याल गरिनुपर्छ । यसको लागि तत्काल भारत सरकारसँग द्विपक्षीय छलफल गरेर त्यहीँ नै सुरक्षित बसोबास गर्ने व्यवस्था गर्ने, सिमानामा आइसकेका हरूलाई न्यूनतम सुविधा सहितको क्वारेन्टाइनमा अनिवार्य बस्ने व्यवस्था गर्ने र आवागमनमा पूर्ण रोक लगाउनु पर्दछ । यस्तो असामान्य अवस्थामा पनि सिमानामा जुनसुकै बेला पनि भिड देखिने कुरा नियामक निकायलाई सुहाउँदो विषय हुनु हुन्न ।

७) शहरी क्षेत्रमा अति आवश्यक वस्तुको खरिद गर्ने समय, कतै बिहान कतै बेलुकाको छोटो अवधिको लागि तोकेको भन्ने छ । छोटो समयको लागि मात्र खुल्ला गर्दा त्यही बेलामा मानिसहरूको भीड जम्मा हुने, जसको कारण सङ्क्रमणको जोखिम बढ्ने देखिँदैछ, यसलाई पुनर्विचार गरी एकरूपता ल्याउन पर्दछ । औषधि, खाद्यान्न, पानी, दूध र दूधजन्य पदार्थ र तरकारी पसलहरू स्वास्थ्य सम्बन्धी मापदण्ड भित्र रहेर विक्रि वितरण गर्न पाउने गरी स्थानीय सरकारको निर्णय र वडा कार्यालयको नियन्त्रणमा रहने गरी दिनभरि नै खोल्न पाउने र उपभोक्ताहरूले सामाजिक दुरी कायम गरेर किन्न पाउने व्यवस्था गर्नुपर्दछ । यसरी खोल्न दिँदा अवस्था असामान्य हो भन्ने बुझिने गरी जनचेतना मूलक सन्देश प्रवाह गर्ने र प्रभावकारी अनुगमन वडा कार्यालय र स्थानीय प्रहरीबाट गर्ने गरी व्यवस्था गर्नुपर्दछ ।

८) यस महामारीबाट आफू पनि जोगिने अरूलाई पनि जोगाउने एक मात्र उपाय भनेको सरकारले जारी गरेको सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डलाई प्रत्येक नागरिकले आत्मसाथ गरेर नै हो । अति सम्पन्न भनिएका देशहरूले समेत आज यही विधि र तरिकालाई कडाइका साथ अवलम्बन गरिरहेका छन् ।

अन्तमा : २०७४ सालको आम निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै उठाएका र समयक्रममा परिमार्जित हुँदै आएका जनपक्षीय मुद्दाहरूलाई अनुमोदन गरी केन्द्र र ६ वटा प्रदेशमा झन्डै प्रतिपक्ष विहिन अवस्थामा सरकार सञ्चालन गर्ने र प्रदेश नं. २ मा सबैभन्दा ठुलो पार्टी बन्ने अवसर प्रदान गरेको छ भने झन्डै ६० प्रतिशत स्थानीय तह नेकपाको नेतृत्वमा रहेको छ । पार्टी कस्तो भन्ने कुराको अभिव्यक्ति निर्वाचित भएका जनप्रतिनिधिहरूको भूमिकामा निर्भर रहन्छ । उनीहरू मार्फत नै पार्टीले अगाडि सारेका मुद्दाहरूलाई कार्यान्वयन गर्ने हो र पार्टीले त्यसलाई सहयोग गर्ने हो । दिवङ्गत नेताहरू र हजारौँ सहिदहरूको जीवनदान, अग्रज नेताहरूको जीवनभरको योगदान, १० औँ लाख नेता तथा कार्यकर्ताहरूको अहोरात्रको खटाई र लाखौँ जनताको अपार मायाबाट अहिलेको उपलब्धि प्राप्त भएको हो । यो पङ्क्तिलाई उत्साहित बनाइराख्न, आम नेपालीको आसा एवं भरोसाको केन्द्रको रूपमा सरकार र पार्टीलाई नेतृत्व गरिरहनुभएको नेता कमरेडहरूले केही कमी कमजोरीका बाबजुद भूमिका निर्वाह गर्नुभएको छ । निर्णय प्रक्रियामा पारदर्शिता, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको कार्यशैली र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता कुरा सार्वजनिक नेतृत्वमा रहनुभएका सबैले अवलम्बन गर्नुपर्ने कुरा हो । जीवन त अस्थायी हो भने पद प्रतिष्ठा चौतारीको बिसौनी जस्तै हो। अवसरहरू सीमित अवधिको लागि मात्र हुन्छ । त्यसैले अहिलेको विषम परिस्थितिमा केन्द्र, प्रदेश र स्थानीय तहको सार्वजनिक जिम्मेवारीको अवसरमा रहनुभएका सम्पूर्ण कमरेडहरूले आम जनता र पार्टीको शिर उच्च हुने भूमिकाको अपेक्षा गरेको छ ।

माधव अर्याल

केन्द्रीय सदस्य ,नेकपा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments