म हाँसे !

आइतवार, बैशाख २२, २०७६

loading...

- राजु झल्लु प्रसाद



- राजु झल्लु प्रसाद

आज विश्व हाँसो दिवस । भारतीय डक्टर मदान कटारिया पहलमा सन् १९९८ देखि यो दिवस मनाउन थालिएको रहेछ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन सकिन्छ भन्ने उनको ध्येय रहेछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई पनि छ ।

मैले आफूलाई नियाले । पछिल्लोपटक म कहिले हासेँ ? के कारणले हासेँ ? म यतै कतै हराए ।

***
ऐना अगाडि उभिएर मुस्कुराउन मलाई मनपर्छ । अझ यसो भनौं ऐना अगाडि उभिएपछी मात्रै म मुस्कुराउन सक्छु । अझ यसो भनौं, ऐनामा आफूलाई छुस्स देखे मात्रै पनि म मुस्कुराइहाल्छू । रुमको ४×५ इन्च फ्रेमको ऐना हेरेर म सबैभन्दा धेरै पटक मुस्कुराएको छु । बाथरुमको ऐनामा दाँत माझ्दामाझ्दै, मुख धुँदाधुँदै, नुहाउँदानुहाउँदै पनि मैले आफ्नो ओठ तन्काएको छु । अफिसको बाथरुम भित्र छिरेर, शहरका बिजनेश मलहरुका बाथरुम भित्र छिरेर म थुप्रै पटक मुस्कुराउँछु । सार्वजनिक यातायातका केभिन सीटमा बसी ओर्लिने ठाउँ नआउँदासम्म साइड ग्लासमा पटक पटक नियालीरहने बानी मेरो अझै पनि छ । शहरका थिएटरका ट्वाइलेटका ऐनाहरुले पनि म मुस्कुराएको देखेका छन् ।

मोबाइलको फ्रन्ट क्यामराले पनि मलाई मुस्कुराउँदो अवस्थामा प्राय पाएका छन् । क्याफेको पारदर्शी सिसाहरु, बन्द गरि राखिएको ल्यापटप र टिभीका कालो स्कृनहरु, भात खाने बेलाका थालहरु आदि इत्यादिमा पनि म आफ्नो अनुहार मुस्कुराएकै पाउँछु । प्रियसीका आँखाहरुमा, टौदह र कमलपोखरीको पानीको स्थिर सतहहरु, रक्सीका छच्ल्किदो ग्लासहरुमा पनि म आफूलाई मुस्कुराइरहेकै अवस्थामा भेट्ने गर्छु ।

यस्तै फुर्सदमा हुँदा, क्रोममा डाउनलोड गरि राखिएका आर्टिकलहरु नहुँदा, झोलामा रहेका पुस्तकहरु पढिहालौं झै नलाग्दा, कसैलाई कुरिरहँदा, या कुनै एक चिया पसलमा दिनहुुँ चिया पिउने बानी हुँदा म सवप्रथम मोबाइल समाउँछु । र, सुइँसुइँ ग्यालरी नै ओपन गर्छु । फोटो ग्यालरी अतीतको सँगालो हो । मेरो ग्यालरीमा मेरो नहासेँको फोटोहरु उत्ति रहेनछन् । भन्न मिल्छ, म हासेँको मात्रै फोटो खिच्दो रहेछु । मुस्कुराएर मात्रै फोटो खिच्दो रहेछु । ग्य्लारीका फोटोहरुमा मेरो ओठ तन्किएको छ, छ । मलाई लाग्छ पनि फोटो खिच्दा पनि नहासेँ कहिले हास्ने? हो पनि, फोटो खिच्दा पनि नहासेँ कहिले हास्ने ? यसैकारण ग्यालरी हसिँलो छ मेरो । हसमुख छ । हासिरहेको छ ।

मैले पर्समा बोकी हिडेको मतदाता नामावली, स्टुडेन्ट आइडी कार्ड, बाघ भैरव फोटो स्टुडियोमा खिचेको पासपोर्ट साइज फोटोहरुमा पनि मैलेँ दाँत देखाउन भ्याएको रहेछु । यति सम्म कि मैले आफ्नो कोठामा फ्रेम गरि राखेको फोटोमा पनि ओठ तन्काएर दाँत देखाएकै रहेछु ।

र, यसबाहेक पनि त म थुप्रैपटक थुप्रै स्थानहरुमा हासेँको छु/मुस्कुराएको छु/दाँत देखाएको छु/ओठ तन्काएको छु । परिस्थिति जुन सुकै होस्, मनस्थिति जस्तो सुकै होस्, ऐना अगाडि, क्यामरा अगाडि, प्रियसीको अगाँलोमा, तरुनीहरुको पछाडि म मुस्कुराउँदो रहेछु । र, यसबाहेक यो पट्ट्यार लाग्दो जिवनमा लखतरान भइ हिंड्दा म कहाँ हासेको छु र ?

म मिमि नेपालको पेज स्क्रोल गर्दिन, कपिल शर्मा शो हेर्ने फुर्सद मिलाउन सक्दिन, साथीभाइसँग बसी उनीहरुको जोक्समा आफू उड्न भ्याउदिन, ममिबुबाको आखाँमा असल छोरा बनेर दिल फुलाएर एक्लै मुस्कुराउन सकेको छैन । भनेपछी यी सब गर्न सक्दो हुँ त मलाई ऐना, क्यामरा या फोटो ग्यालरीको आवश्यकता खड्किने नै थिएन् होला ।

पुरानो स्कुल सम्झेर, खेत खलियान र बाख्रा गोठालोको दिनहरु सम्झेर भने मलाई बल्ल यतिखेर हासोँ लाग्छ । तर थकाइले चुरचुर भएर भात र ओछ्यान खोजिरहने मैले दिनमा एकपटक पनि अतीतका दिनहरु सम्झी मुस्काराएको छैन् । अतीतले सधै मलाई गति छाडेको, हेल्चेक्राइ गरेको, अल्छी गरेको, अराजक बनेको र दुख पाएको मात्रै सम्झनाहरु दिन्छ । यी यस्ता सम्झनाहरुले मेरो ओठमुख मात्रै सुकाए । ओठमुख फुकाउन सकेनन् ।

हुन त मैले कुनै जनावर हासेँको देखेको छैन् । बगाली बाख्राले काले पाठो पाउँदा चीत्कार गरेको सुनेको छु । तर त्यै पाठोको चन्चलता देखेर उ गलल हासेको मैले देखेको छैन् । भैसी हासेको, कुखुरा हासेको, कुकुर हासेको, मकै चोरी खाइरहेको बादँर हासेको, अहँ मैले जनावर हासेको देखेको छैन् । मान्छेसँग छ, हास्ने गुण, हास्ने स्वभाव । मलाई यस्तै लाग्छ । जनावर पनि हास्दा हुन् तर हामी मान्छेले झै नहास्दा हुन् । यसैले उनिहरुको हासो मलाई हासो लाग्दैन । बोटविरुवा पनि मुस्कुराउँदा हुन तर उनीहरुमो मुस्कुराहट पनि मुस्कुराहट लाग्दैन् ।

म धेरै पर पुगे क्यार । म आफैमा फर्किन्छु ।

मलाई थाहा छैन कति चोटि म ठूलो स्वरले गललल् हासे ?
कति चोटि मुसुक्क हासे?
कति चोटि खुसुक्क हासे ?
कति चोटि हास्न मात्रै खोजे ?
कति चोटि हास्न मात्रै सके ?

मेरो ममि भन्नुहुन्छ, “तेरो ओठ ठुलो छ । तलाइँ हासेको सुहाउँछ ।” ठुलो निधार भएका मजदुरहरु पनि देख्ने गर्छु म । ठूलो निधार उनीहरुको लागि अभिसाप भएको छ । नाम्लो अड्डिन्छ सजिल’री, बस् त्यत्ती न हो ।

हासेँ भने पो म हासेँको सुहाउँदो हो ?

***
मैले माथि कतै प्रश्न गरेको थिए । “पछिल्लोपटक म कहिले हासेँ ? के कारणले हासेँ ?”

म भर्खरै हासेँ । यो लेख हासिँहासिँ लेखे । यसैले हासेँ । … म हासेँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank