म बाँचेर अरूलाई बचाउछु

सोमवार, चैत्र १७, २०७६

loading...


प्रिय मित्र
नित्या

तिमी अहिले कोरोना संक्रमणको आशंकामा सरूवा रोग उपचार केन्द्र टेकुको क्वारेन्टाइनमा भएर उपचार गराइ रहेको कुरा मैले हिजो बेलुकाको समाचारबाट थाहा पाएँ । समाचार सुनेर म स्तब्ध भएँ । एकाएक तिमीले पोर्चुगलबाट फर्कने बेला भनेका कुराहरू सम्झेँ । तिमीले मलाई विदेशबाट फर्केपछि गर्ने तिम्रा योजनाहरू भनिरहदा, मैले तिमीलाई भनेका कुराहरू पनि सम्झेँ । तिमीले फर्कने बितिक्कै भेटघाट र साथीहरूबीच रमाइलो गर्ने, वनभोज जान तयारी गर है भनेर मलाई काम जिम्मा दिएको पनि सम्झेँ । तिमीले राखेका प्रस्तावहरू अहिले त्यति अनुकुल छैनन् , दुई साताको एकान्तवास, विश्वभर देखिएको कोरोनाको त्रासबाट मुक्त भएपछि यी सबै गरौंला भन्दा रिसाएको र मेसेन्जर ब्लक गरेको पनि सम्झें । तर पनि म तिमीसगँ रिसाइन् । धेरै समय बाहिर बस्दाको एकाङ्कीपन हटाउने चाहाना राखेर यसो भन्यो साथीले भनेर लिएँ । तिमीलाई पुन : कोरोना संक्रमण र विश्वमा देखिएको भयावह अवस्थाको कुरा सम्झाएँ ।

“मैले अनावश्यक खर्च नगर, यस्तो महामारी फैलिरहेको बेला जोगिनु पर्छ” भन्दा मलाई उल्टै “कन्जुस्याइँ नगर्, तैले खर्च गर्ने होइन मैले गर्ने हो” भनेर गाली गर्यौं । तिमीले मैले भनेका कुरालाई खास महत्त्व दिएनौं,  सम्पर्क विच्छेद भयौ । तिमीसगँ मिल्ने साथी मध्येको सबैभन्दा निकट म नै थिएँ । तर घर फर्केर पनि सम्पर्कमा नआउदा म तिमीदेखि छक्कै परेको छु । यस्तो दुखद बेलामा म तिम्रो स्वास्थ्य लाभको कुरा बाहेक अरू कुरा भन्न सक्दिन र भन्दिनँ पनि ।

हेर नित्या, सरूवा रोगहरू जस्तै- रूघा, हैजा, प्लेग, फ्लू, मलेरिया, इनफ्लुजा, टिवि जस्ता महामारी फैलाउन सक्ने ,एक व्यक्तिबाट अर्को व्यक्तिमा हावा, बसउठ, लुगा, खानापान, छुवाइ आदिबाट सजिलै सर्ने सरूवा रोगहरू हुन् । यस्ता रोग हामी जो कोहिलाई लागेको या लाग्ने संभावनाहरू हुन्छ र लाग्न सक्छ । यस्तो रोग लागेपछि या लक्षण थाहा पाउने बित्तिकै हामीहरू नजिकको स्वास्थ केन्द्र, अस्पताल जानू पर्छ । त्यहाँ रहेका स्वास्थ्यकर्मी हरूको सहायता लिनु उत्तम विकल्प हो । रोग लागेको कारण लजाउने,डराउने, घिन मान्ने कुराले रोगलाई लुकाइयो भने, आफू त मरिन्छ नै आफुसँग हजारौं हजारलाई स्वाहा पारेको आफुले थाहा पाइन्न । यस्तो गर्नु कानुनि हिसाबले जगन्य अपराध हो भने धार्मिक हिसाबले पाप कर्म हो ।

नित्या, यसरी चाडै फैलने र महामारीको रूप लिने रोगहरू हामी र हाम्रा आफन्तलाई मात्रै होइन हामीलाई औषधीमुलो गर्ने स्वास्थ्यकर्मीहरूमा पनि फैलन सक्ने खतरा त्यति कै हुन्छ । त्यसै कारण उनीहरूले प्रयोग गर्ने, उपकरण र पोशाक नभए सम्म अति आवश्यक पर्दा बाहेक अरू बेला अलि टाढैबाट उपचारसगँ सम्बन्धित कार्य गर्ने गर्छन् । निगरानी गर्ने कुरा मात्रै होइन विरामीले प्रयोग गर्ने सबै कुरा नष्ट गर्ने गरि बनाएका या प्रयोगमा ल्याएका हुन्छन् । यसो गर्नुको प्रमुख उदेश्य रोग नसरोस् भन्ने बाहेक अन्य केही होइनन् । यस्ता आपत्तकालिन अवस्थामा आफू मात्रै होइन आफू जस्ता सयौं, हजारौं बिरामीहरू यस्तो संक्रमणमा परेर अस्पताल आइरहेका हुनसक्छन् । स्वास्थ्यकर्मिले उपचार्थ गएको विरामीले भनेको जस्तो नजिकै रहेर प्रत्यक्ष निगरानी गर्न नसक्ने अवस्था हुन सक्छ । कतिपय अवस्थामा यस्ता सरूवा रोगहरूले छिन मै भयावह रूपमा फैलने र हजारौं हजारलाई सर्न सक्ने खतरापूर्ण अवस्था बन्नसक्छ । चलिरहेका अस्पतालका  नियमित सेवाका कक्षहरूका विस्ताराहरूमा यस्ता सरूवा रोग लागेका विरामीहरूलाई राख्न नहुने हुनसक्छ । यस्तो रोग लागेकाहरूलाई अन्य स्थान या क्षेत्र नै फरक पारेर अस्थायी उपचार कक्ष र गृह निर्माण गर्नु पर्ने हुन सक्छ । यस्तै मध्येको कोरोनाको यो संक्रमण पनि एक हो । यसले अहिलेको मानव विश्वलाई अत्याएको अवस्था छ । त्यसैले अहिले आफुसगँ प्रशस्त नगद, पद, प्रतिष्ठा, मान, पहिचान जे भए पनि सरकारले जे व्यवस्थापन गरेको छ त्यहीँ बसेर उपचार गर्नु या सेवा लिनु नै उत्तम विकल्प हो भन्ने कुरा विश्वका सबै मानव जातीले बुझ्नु पर्छ । यस्ता कुरामा जिद्दी गर्नु, नटेर्नु, रिसाउनु भनेको मुर्खता मात्रै हो । यस्तो मुर्खताले हामी सबैलाई घर बसिबसि पनि सिध्धाउन सक्छ । त्यसैले सरकारले भनेको कुरालाई अक्षरश पालना गर है ! जीवन रहे हामी फेरि भेटौला र सुख दु:ख बाडौंला ।

नित्या,  यस्ता अति छिटो र थाहा नपाइ फैलने सरूवा रोगहरूले कहिलेकाहिँ एकपछि अर्को गर्दै पत्तै नपाइ भयावह अवस्था सृजना गर्ने गर्छ । अहिले कोरोनाको संक्रमणले विश्वलाई ‘तोभा तोभा’ बनाएको छ । विश्वका हजारौं हजार विज्ञ जनशक्ति यसको औषधीको खोज र आविष्कारमा  समय लगाइ रहेका छन् तर अझैसम्म यसको औषधी बन्न सकिरहेको छैन । त्यसैले विश्वका लगभग सबै देशहरूले जनताको सुरक्षाका लागि देशै लकडाउन गरेर जनतालाई स्वत: एकान्तवास बस्न र आफू र आफ्नो परिवारलाई सुरक्षित गर्न अनुरोध गरेको अवस्था छ । यस्तो बेला नागरिकहरूले मुर्ख्याइँ नगरि आफ्नु घरमा बस्नु भनेको उत्तम सुरक्षित हुने विधि हो भन्ने कुरा अंकल आन्टीलाई पनि भन है ।

मित्र, यो सरकारले आव्हान गरेको नागरिक आफै सुरक्षित हुन बनाएको सहज वातावरण पनि हो । यस्तो अति संवेदनशिल कुरालाई रमाइलोमा लिने, जसरी भएपनि घरै पुग्छु भनेर हतारिएर देश विदेशबाट हिड्नु,व्यक्तिगत स्वास्थ्य निगरानीमा बस्न ननखोज्नु, जम्मा भएर तास खेल्नु, हुलहुज्जत गर्नु, स्कुल कलेजले भर्नाको परीक्षा लिने नाममा मानिसको भिड जम्मा गर्नु, कसरी बन्द भएछ भन्दै हेर्न जानू, बोर भयो भनेर साथी भेट्न जानू जस्ता  क्रियाकलाप गैरकानुनी र अपराधीक काममा पर्ने गर्छन् । अवज्ञा र  अटेरीलाई यस्ता कार्यमा नलाग्नु र लाग्न नदिनु, राज्यले सावधानी अपनाएका विषयमा सचेत हुन मोबाइल सम्पर्कमा भनिदिनु है । तिमी नेपाल फर्के पछि सम्पर्कमा आएकाहरू र उनिहरूको सम्पर्क सम्बन्ध भएका सकैलाई कोरोनाको संक्रमण हुन सक्छ । नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न भन्नू है । अनि तिमीसगँ आउने साथीहरू सबैको सत्य तथ्य सुचना स्थानिय सरकारलाई दिन पनि भन्नू है ! यस्तो बेला लुकेर बस्ने होइन है ! नित्या ।

अहिले विश्वका सयौ देशहरू राज्यको तर्फबाट बन्द गरिएको अवस्था छ । यो बन्दले सरकारी कार्यलय मात्रै होइन निजि कलकारखाना र व्यक्ति स्वयम पनि बन्दको चपेटामा परेका छन् । यस्तो बन्दले कतिपयलाई बिहान बेलुकाको गाँस जोहो नभएर दु:ख भएको छ । त्यस्ताको पहिचान गरेर खाने प्रवन्धमा सरकार जुटेको छ । तिमी हामीलाई जस्तै सबैलाई दु:ख भएको छ । गाह्रो साँगुरो परेको छ । तर यसले व्यक्ति र परिवारलाई नै जोगाउन र बचाउन खोजेको हो भन्ने कुरा सर्वसाधारणले बुझ्नु पर्दछ । दुईचार दिन या एक महिनाको बन्दले हामी महामारीबाट बच्न सक्छौ र अरूलाई बचाउन भुमिका खेलिरहेका हुन्छौ भने,यस्तो पुन्य काम घरै बसेर  किन  नगर्ने ? अहिले विश्वमा प्रत्येक दिन एक हजार भन्दा बढी कोरोनाको चपेटाले ज्यान गुमाउनु परेको छ । मरेको लास फ्याक्ने ठाउँ नपाएको यो अवस्थामा लास आफन्तले लैजान्छु भन्दा पनि पाउदैन । त्यसैले भोलि काग ,कुकुर, गिद्दले पनि अछुत बनाउनु भन्दा पहिले नै  सोचौं ! मानवजातीको रक्षाको लागि हामीले थोरै कष्ट सहेर भए पनि दुनियाँलाई बचाऔं । म बाँचे भने मात्रै अरूलाई बचाउन सक्छु भन्ने कुरालाई मनन गरौं !

नित्या, अहिले आफुलाई सन्चो गराउन तिमी उपचारमा केन्द्रीत बन । तिमी सन्चो भएपछि भेटघाट गरौंला । यति भन्दै तिमीसँग बिदा चाहान्छु ।
तिम्रो मित्र
सीता

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments