लकडाउन डायरी !

बिहिबार, बैशाख ४, २०७७

loading...

- भूपेन्द्र शाह



भनिन्छ, जीवन अनुभवको शास्त्र हो । मानव जीवन भनेकै सिकाइको एक स्वरुप हो । सिक्नका लागि हरबखत गुरुको आवश्यकता पर्दैन । मानवरुपी यात्रामा अनेकौं आरोह र अवरोहसँगै केहि न केहि नयाँ विषयवस्तुको ज्ञान हासिल गरिरहेका हुन्छौं । जीवन एक भोगाई अनेक हो । हामीले भोगेका कुराहरु जिन्दगीमा अमिट छाप बन्ने गर्छन ।

म यति बेला अत्यन्त व्यस्त सहर मानिने संघीय राजधानी काठमाडौंमा छु। यति बेला विश्वमा कोरोना महामारीको सन्त्रास बढिरहेको छ । सरकारले कोरोना कहरको प्रभाव न्यूनिकरण गर्न लकडाउन प्रक्रिया अपनाएको पनि करिब महिना दिन पुग्न थाल्यो । लकडाउनका कारण सडक सुनसान छन । शान्तिपूर्ण वातावरण छ । तर मनमा अनेकौं कुराहरुले डेरा जमाएको छ । अनेकौं उद्धेश्यका साथ शहर छिरेकाहरु आ-आफ्नो जन्मभूमी प्रस्थान गरिसकेका छन । त कोहि बन्दी बनिरहेका छन । वल्लो,पल्लो कोठामा बस्नेहरु पनि सावधानीका साथ मुखमा मास्क लगाएर अनुहार छोपीरहेका छन ।

यति ठूलाे सहरका मान्छेहरु कसरी गुम्सीन सकेका होलान ? गाडीको कोलाहल पनि छैन । सार्वजनिक यातायातका खलासीहरुको याद आइरहन्छ । कोचाकोच गरेर मान्छे ओसार्ने ती खलासी डाइभरहरु यति बेला के गर्दै होलान ? कलेजका साथीहरु यति बेला के गरिरहेका होलान ? चिया पिउने बहानामा भए पनि साथीहरुसँग भेटघाट भइरहन्थ्यो । आज भोली सिमित साथीहरु मात्र सम्झी रहनु हुन्छ । तर केहि साथीहरु घर गएका छन । उनीहरु पनि उतै घरायसी काम धन्दामा व्यस्त होलान कि भन्ने सोच  मनमा आइरहन्छ ।

वसन्त ऋतुले सबैतीर हरियाली छाएको छ ।फूलहरुको मधुमास छ । व्यस्त सहरमा केहि चराचुरुङ्गी आज भोली मान्छेहरुलाई जिस्काइरहेको अनुभुती भइरहेको छ । कोरोना सन्त्रास बढेसँगै यहाँ मान्छेहरू तर्सिएर हिडिरहेका छन । मानौं उनीहरु एक अर्कालाई फरक ग्रहबाट आएका जीवात्मा हुन कि भन्ने भान मान्छेहरुमा देखिन्छ । तनको दुरी मात्र हैन मनको दुरी समेत बढदै छ । एकले अर्कालाई देखेर तर्सिनु पर्ने अवस्था सिर्जना हुँदा लाग्छ । मान्छे सामाजिक हो कि एकल हो भन्ने प्रश्न खडा भएको छ । बन्दाबन्दीको जीवनलाई कसैले जेल जीवनसँग गाँसेका छन । विश्वमा प्रविधि र विज्ञानलाई समेत चुनौती दिइरहेको कोरोना भाइरसले मान्छेलाई पाषण युग तर्फ त धकेल्दै छैन  ?  मान्छेको अन्तिम लडाई भनेको उसको स्वतन्त्रता सँग रहेको छ ।मान्छेले स्वतन्त्राका लागि भन्दै अनेकौं कालखण्डमा व्यवस्था परिवर्तन गरेका थिए । तर यी सब कुरा अहिले छायाँमा परेका छन । स्वतन्त्रताको नाममा खासै केहि गर्न नसके पनि मैले पनि चर्काे आवाजमा कराउन त सक्थें नि । तर अहिले म पनि कराउन नसक्ने गरि कोठा भित्र बन्दी बनिरहेको छु ।

अहिलेको सहारा भनेको मेरो लागि यहि इन्टरनेट छ । एक थान मोबाइल छ । जसबाट म यति सम्म चिच्याउन सकिरहेको छु । झ्याल,ढोका बन्द गरेर यहि कोठामा बस्दाबस्दै मन बरालिएको छ । सृजनशिलतामा शुन्यता जस्तै भइसकेको छ । बन्दी हुनु भनेको के रहेछ भन्ने कुरा आफैलाई ज्ञात हुँदैछ । यहि नेट इन्टरनेट नभए अहिलेको मान्छे कस्तो हुन्थ्यो होला भन्ने कुराले मानसपटलमा प्रश्न गर्छ । भैरव अर्यालले भने झैं भगवान मानवको सृष्टि गरेका ब्रह्माको प्रयोगशाला कस्तो होला ? आदिम मानवको ठाउँमा कतै नयाँ आधुनिक प्रविधिको मानव तयार गर्न ब्रह्माले यो सब त गरेका छैनन् ? यो विचित्रको समस्याबाट गुज्रन पनि त यहाँ तह तहमा प्रश्न उब्जिरहेका छन् ।

जीवनमा अनेकौँ परिस्थितिको सामना गर्दै हरेक मोडमा परीक्षामा उर्तिण भएको यो मानव जातीले के कसरी पार पाउला ? विज्ञान र प्रविधि माथि चुनौती दिदैं आएको लकडाउन बज्रपातबाट मुक्ति हुन के यसरी गुम्सिएर बस्नु उचित हो त ? हैन अब आफै खाेजी गर्दै वैज्ञानिक बन्न मन छ । विज्ञान र प्रविधिलाई चुनौती दिने महामारीबाट मुक्ति पाउन लकडाउनकाे जन्जिर तोडेर हिमालय पर्वत पुग्दै ब्रह्माको प्रयोगशाला अनुसन्धान गर्न मन छ । लकडाउन डायरीमा हरेक कुरा टिपोट र अभिलेख राख्न मन छ । हरेक मानवको मनमा शान्ति अनि अनुहारमा कान्ति भर्न मन छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments