महिनावारी बारे खुलेर बहस गरौं

शुक्रबार, जेष्ठ १६, २०७७

loading...


सामान्यतया महिनावारी बाह्रदेखि तेह्र वर्षसम्मको उमेर देखी शुरू हुने गर्छ  । यो समयमा सबै जसो युवतीहरूमा महिनावारी हुने गर्छ। महिनावारीलाई हाम्रो गाउँले ठेट भाषामा छुई, पर सर्नु, पाखा लाग्नु आदि भाषामा सम्बोधन गरिन्छ। हामी सबैले बुझेको कुरो हो । महिनावारी हरेक महिलाको मासिक चक्र हो।  जो महिना दिन बिराएर हुने गर्छ।विश्व समाजले “मे २८” अर्थात् “जेठ १५” लाई महिनावारी दिवस घोषणा गरेको छ र यसलाई विश्व भर नै महत्त्वपूर्ण दिनको रूपमा मनाउने गर्दछ। तर यसरी विश्व समाजमा यसलाई महत्त्वपूर्ण दिनको रूपमा मनाइ रहँदा हाम्रो नेपाली समाजमा भने महिनावारी सजाय र श्राप जस्तै भएर जरा गाडेको छ। हामी विश्वको नै पुर्वीया समाजमा बस्छौ, जसलाई प्रकाशको आगमन हुने ठाउँ मानिन्छ। आज पश्चिममाहरु विज्ञान र प्रविधिको हिसाबमा हामी भन्दा कयाैं अघि पुगिसके।हामी आफूलाई  पूर्वीय भन्छौ, तर हाम्रो सोच हाम्रो व्यवहार कयौँ कोष पछाडि नै छ। भन्ने हो भने हामीमा हुनु पर्ने जसरी विकास भएकै छैन।

महिनावारी जस्तो संवेदनशील विषय पनि हाम्रो लागि उपहास झैँ बनेको छ।चाहे परिवार जति नै शिक्षित, दीक्षित किन नहोस् । तर महिनावारी र महिलाका समस्यालाई गम्भीरताका साथ सोच्नुपर्ने विषयमा जहिल्यै पछाडि नै रहन्छ।जति नै पढेलेखेका परिवार हुन् । महिनावारीका बारेमा खुलेर कुरा गर्नै मान्दैनन्।यही डरले कि “उनीहरूलाई लाज हुन्छ रे, उनीहरूको इज्जतमा दाग लाग्छ रे ! उनीहरूको सो कल्ड समाजले राम्रो मान्दैन रे” ! यस्तो समाज देख्दा यही भन्न मन लाग्छ वा रे !  शिक्षित वर्गहरू !! विश्वको पश्चिमा समाज जति जति अगाडि बढ्दै छ ।  हाम्रो पश्चिमा समाज त्यतै नि रोग, भोग र अन्धविश्वासको खाडलमा गाडिँदै छ। महिनावारीको समस्याले ग्रस्त र र चर्चाकाे विषय बनिरहने  मध्य पश्चिम र सुदूरपश्चिम कै समाजमा हो। तर यसो भन्दै गर्दा सहर र सहरीकरण भएका गाउँमा यो समस्या छैन भन्नू गलत हुन्छ।

म आफू पनि मध्यपश्चिमको समाजलाई प्रतिनिधित्व गर्ने भएकाले त्यहाँको महिनावारीको समयमा महिलाप्रति गरिने व्यवहार प्रति राम्रोसँग अवगत छु। एकातिर महिनावारी जो आफैमा निकै कष्टदायी र पिडादायी हुन्छ। तर अर्कोतर्फ त्यहाँको अन्धविश्वास, देउता रिसाउँछन् र अनिष्ट गर्छन् भन्ने विश्वास जसले गर्दा महिनावारी महिलाका लागि वरदान भए पनि यो समाज लागी श्राप सरि बनेको छ। छाउ गोठमा वर्षेनी ज्यान गुमाउन बाध्य भएका महिलाको कथा एकातिर त छँदै छ । तर महिनावारीको समयमा हुने नमिठो र कहालीलाग्दो व्यवहारले मन झनै कटक्कै खान्छ।भन्छन् नि “मान्छे विषले भन्दा अमानवताको विषले छिटो मर्छ”।यस्तै प्रकारको व्यवहार महिनावारिको समयमा हाम्रो समाजले महिलाप्रति गरिदिन्छ।

सहरमा महिनावारी बारिँदैन।छुवाछुत गरिँदैन जस्तो लाग्थ्यो।काठमाडौँ आएपछि यहाँका केटी साथीसँग हिमचिम बढ्यो साथी बनियो बनाइयो। यसपछि उनीहरूको घर कहिले कसो जान थालियो त्यसै क्रममा एकपल्ट एक जना साथीको घर जाँदा उनी महिनावारि भएकी रहेछिन्। यस्तो बेलामा उनले बारेको देखेर एक पटक फेरि सोच्न बाध्य बनायो माघको चिसो महिनामा पनि चिसो भुईँमा सुत्नुपर्ने हरेक दिन चिसो, तातो, बिरामी केही नभनी नुहाउनु पर्ने घरका अरू सदस्यलाई छुन नहुने छोइहाले सुनपानी छर्कनु पर्ने जस्ता व्यवहार देखेपछि मनमनै सोचे हामी शिक्षित अशिक्षित हुँदैमा केही फरक नपर्ने रहेछ ।  महिनावारीको सवालमा गाउँ सहर केही नहुने रहिछ बस हाम्रो मानसिकताको कुरा रहेछ अनि मानसिकता उहीँ पुरानो ढुङ्गे युगमा अड्केपछि जति नै पढे लेखे पनि सहरमा बसे पनि केही फरक नपर्ने रहेछ।

जब म आफू पहिलो पटक महिनावारी हुँदाका, छाउगोठको कहालीलाग्दो दिनहरूलाई सम्झिन्छु।  आफैलाई आफ्नै माया लागेर आउँछ। विद्यालय जान नपाउनुको पीडा, खेल्नलाई, कुरा गर्नलाई साथीसँग नहुँदाको त्यो क्षण, घरको धुरी हेर्नू हुँदैन।  बाबाको भाइको अनुहार हेर्नू हुँदैन । जस्ता रुढीवादी मान्यता सूर्यको पहिलो किरण पर्नु हुँदैन।  ऐना हेर्नू हुँदैन । दूधजन्य परिकारहरू खानु हुँदैन । यस्तै यस्तै धेरै परम्पराको घेरामा म पनि बाँधिएकी थिए।आफूले यस्तो समाजलाई र समस्यालाई भोगी सकेको भएर होला मलाई लाग्छ मैले भोगेको जस्तो समस्या र व्यवहार मेरा बहिनीहरू भोग्नु हुँदैन । अब आउने कुनै पनि छोरीले भोग्नु हुँदैन।महिनावारिको केही समयपछि मेरा आमाबाबुले यस्तो कुरा महसुस पनि गरेर होला मलाई घरला ल्याउनु भयो र मलाई घरमा नै राख्नु भयो। जुन त्यो समाजको लागि एक प्रकारको विद्रोह नै थियो । यसमा म आफैले पनि विद्रोह गरेकी थिए  । जसको परिणाम आगामी दिनहरूमा मेरा बहिनीहरू यस्तो समस्यालाई भोग्नु परेन यसलाई म मेरा आमाबाबुको सकारात्मक बुझाए नै भन्छु। तर सबै बाबुआमाले यति सजिलै यो कुरा स्वीकार गर्छन् भन्ने छैन ।  न समाजलाई चुनौती नै दिन सक्छन् भन्ने नै छ। किनभने यो समस्या अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेको छ।

सोच्ने हो भने केही हैन महिनावारी, यो त छोरी वयस्क हुनुको र छोरी आमा बन्ने प्रक्रियाको एउटा पाटो हो।तर यो किन हाम्रो समाजको लागि यति अप्रिय छ किन यति बेस्वादिलो छ । यसले हर कसैलाई सोच्न बाध्य बनाउँछ।जबसम्म हामीले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनौ यसलाई घरघरको हिस्सा बनाउँदैनौ।तब सम्म महिनावारी हाम्रो समाजको लागि एउटा यस्तो विष बन्छ । जसले हामीलाई नै बिस्तारै बिस्तारै नष्ट गर्दै जानेछ।कहिलेकाहीँ सोच्छु महिनावारी सम्बन्धी मानसिकतालाई लिएर हामी कहाँ चुक्यौ,हाम्रो समाज किन पछाडि रह्यो । अनि हाम्रो सरकारले किन यो सब टुलुटुलु हेरेर बस्न बाध्य रह्यो।यस्ता सवाल मेरा मात्र हैन मजस्ता कयौँ युवतीका, महिलाका सवाल हुन।

केही समय पहिला सुनेको थिए स्कटल्यान्डको सांसदले राज्यका तर्फबाट महिनावारीका क्रममा महिलाले प्रयोग गर्ने प्याड र टेम्पोन (महिनावारीको रगतलाई योनि मार्गमै भरेर बाहिर निकाली फ्याँक्न मिल्ने साधन) निःशुल्क गर्ने प्रस्ताव पारित गरेको उत्साहजनक खबर आएको थियो ।यो अनुमोदनबाट स्कटिस सांसदले स्यानिटरी प्याड र टेम्पोनलाई अन्य ‘लक्जरी आइटम’ कै हाराहारी कर लगाउने विश्वव्यापी प्रणालीलाई चुनौती मात्रै दिएको थिएन।  स्कटल्यान्ड महिलाको मानव अधिकारको सम्मानका खातिर मर्यादित महिनावारीको नारा व्यवहारमै स्थापित गर्ने पहिलो देशसमेत बनेको थियो। विश्व समाजले आफ्नो देशका युवतीका लागी महिलाका लागि यति संवेदनशील भएर सोचिरहँदा काम गरिरहँदा हाम्रो देशमा हाम्रो समाजमा भने अझै पनि महिनावारीको समय केटीहरू विद्यालय जानबाट वञ्चित छन्।  उहीँ गोठ छाउगोठमा बस्न बाध्य छन्।  देउताको नाममा बलि चढिरहेका छन्।आफ्नैको दुर्व्यवहार सहन बाध्य छन्।यस विषयमा सरकार र सरोकारवाला गम्भीर भएर कहिले सोच्ने होलान् खै ?

अन्तर्राष्ट्रिय जगतमा प्याड र टेम्पोन निःशुल्क हुँदा हाम्रो देशमा प्याडको मूल्य आकासिँदो छ।एउटा केटीको लागि चालिस रुपया  सामान्य प्याडको हिसाब गर्ने हो भने पनि वार्षिक दर तीन हजार पर्न आउँछ । अनि गरिब देशका महिलाले प्याड प्रयोग गर्न सक्ने अवस्था कतिसम्म होला सोच्नै पर्छ। कहिलेकाहीँ सोच्छु ढाल निःशुल्क गर्न सक्ने सरकारले प्याड किन निःशुल्क गर्न किन  नसकेको होला ? यो सवाल मेरो मात्र हैन जस्ता लाखौँ युवतीहरूको हो।

हाम्रो समाजमा पहिलो पटकको महिनावारी मात्र सकसको विषय हैन।यो हरेक पटकको महिनावारीको समयको सकसको विषय हो।तल्लो पेट दुख्नु, ढाड दुख्नु, भोमिट हुनु, हातखुट्टा गल्नु, खान मन नलाग्नु चिढ चिढ हुनु यी हरेक पटक महिनावारी हुँदाका समस्या हुन।अनि यी समस्यालाई हाम्रो समाजले यति हल्का रूपमा लिई दिन्छ कि मानौँ केही भएकै छैन।  केही भएकै हैन।र दुखको कुरो त यो कि यती धेरै मानसिक र शारीरिक पिडाको सामान गर्नु पर्दाको क्षणलाई एक पटक हाम्रो समाजले कहिल्यै गहिरिएर मनन गरिदिँदैन।

सुनिन्छ महिनावारीको सवालमा धेरै नीति नियम   बनेका छन् । बन्दैछ्न्। सरकारले कडा आचार संहिता बनाउँदै छ रे।सरकार तिमीले बनाएका नीति नियम कहिल्यै ती कुनाकन्दराका गाउँ समाजसम्म पुग्ने, कहिले ती आम मान्छेले बुझ्ने बरु सरकार सक्छौ भने जनचेतनामूलक कार्यक्रम चलाऊ प्याड निःशुल्क बनाऊ ।  छोरीहरूलाई विद्यालय जान सक्ने वातावरणको विकास गर ।  वर्षेनी छोरीहरूको ज्यान नजाओस् यसतर्फ सचेत हौ,  र बनायौ यति भन्दै गर्दा यी कुरा सरकारका जिम्मेवारी मात्र हैनन् । हामी सबैका जिम्मेवारी हुन्।त्यसैले तपाई, हामी, “म” सबैले मर्यादित महिनावारीका बारेमा खुलेर कुरा गर्‍यौ समस्यालाई समस्या तर्फ हैन समाधान तर्फ उन्मुख गर्‍यौ र महिनावारी विभेद मुक्त नेपाली समाजको विकास गराैं ।

महिनावारी कुनै पूर्व जन्मकाे पाप हैन । याे अभिसाप हैन । याे नारीहरूकाे बरदान हाे । जसकाे कारण नारीले सृष्टि सृजना गर्छन । बंशपरम्परा कायम गर्छन । यस प्रति छिछि र दुरदुर हैन । यसकाे सम्मान र सहयाेग गराैं । आम नारी, पुरुषहरुबीच महिनावारीबारे खुलर बहस गरौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments