बैचारिक स्खलनको बाटोमा नेतृत्व !

आइतवार, पुस १५, २०७५

loading...

- यमराज उपाध्याय तिमिल्सेना



- यमराज उपाध्याय तिमिल्सेना

आचार्य चाणक्यका अनुसार”जब सम्म सुयोग्य युवाहरूले राजनीतिमा सक्रियता देखाउदैनन् तब सम्म अयोग्यहरूले शासन गर्छन् ।” वर्तमान नेपालको सन्दर्भमा उक्त उक्ति समय सान्दर्भिक ठहरिदै गइरहेको देखिन्छ भन्दा अनुपयुक्त नहोला । साँच्चिकै भन्ने हो भने कुनै पनि दलका विद्यार्थी र युवाहरूको अनुहारलाई नियालेर हेर्ने हो भने यो  पूस्ताबाट पनि आस राख्न सकिने अवस्था देखिदैन ।

नेतृत्व लिने/गर्ने भनि होडबाजी गरिरहेका युवा,बिद्यार्थी  पनि झन् भ्रष्ट, बेइमानी र पराया भक्त नै बढी देखिन्छन् ।  सुयोग्य छैनन्  भन्न खोजिएको होइन तर त्यो समूह धेरै सानो छ ।  त्यो समूहको आवाज सम्बन्धित ब्यक्ति या निकायमा पुग्दैन । पुगिहाले पनि नेतृत्वले सुन्नै चाहादैनन् ।  सुनिहाले पनि राम्रोसँग सुन्दैनन् ।  राम्रैसँग सुनिहाले भने पनि आफ्ना भक्तहरूको चङ्गुलबाट उम्किन सक्दैनन्,घेरा तोड्नै सक्दैनन् । जनताको शासन जनताले नै गर्नु पर्छ भन्ने विचार,मान्यता बोकेर राजनीती सुरू गरेको पहिलो पुस्ताले राणा,पञ्चायत र बिस्तारै संबैधानिक राजालाई पनि एका देशको कथा बनाएर धर्ती बाट बिदा भएर गए।

 वास्तविक लोभ लालच नगरेरै गए भन्दा अनुपयुक्त नहोला किनकि पाउनु भन्दा त्यो पुस्ताले धेरै चिज गुमाएको थियो । अहिले त्यै बिचारलाई आत्मसात गर्दै आन्दोलनमा होमिएको दोस्रो पूस्ताले प्रजातन्त्र र गणतन्त्र पछाडी एक छ्त्र केन्द्रिय नेतृत्व गरिरहेको छ । पटक पटक दल फेरिए पनि  राज्य संचालन त्यै पुस्ताले गरिरहेका छन् ।  जुन दल राजनीतिक पार्टीका भए पनि उनिहरू सबैको मानसिकता एउटै किसिमको छ ।  त्यसैको सिको गर्दै पछि लागेको तेस्रो पुस्ताका अधिकाँस नेताहरूले पनि सत्ताको स्वाद चाखिसकेका छन् । यो अथवा त्यो दलले भन्ने कुरा छैन किनकी जुनसुकै दल भित्र रहेका व्यक्तिले केही न केही जिम्मेवारी लिएर राज्य सञ्चालन गर्ने निकायमा पुगेकै हुन् ।  अधिकांशले आशा राखेकै व्यक्तिहरूबाट जनचाहना अनुरूप कार्यहरू भएका पनि हुन्  कतिले चाहेर पनि गर्न सकेनन् ।  किन सकेनन् भने नेतृत्वको दवाब थेक्न सकेनन् वा क्षमता प्रदर्शन गर्न सकेनन् ।   किनकी ती पनि त्यही नेतृत्वको फेर समाएर सम्बन्धित स्थानमा पुगेका हुनाले । फेरि आज हुर्कदै गरेको चौथो पुस्ता झनै गुट मात्रै होइन महा गुटमा तल्लिन रहेको देखिन्छ  ।

व्यक्ति विशेषलाई वरिष्ठ र प्रभावशाली बनाई आशा भरोसा उनीहरुकै छ भनी घोषित गर्दै पार्टी र नेतृत्व भन्दा माथी राख्ने गरेका छन् ।  नेतृत्व हाँक्दै गर्दा पार्टी भित्र राज्य सञ्चालनका विषयमा समस्या समाधान कसरी सुधार गर्न सक्छन् प्रश्न खडा भइरहेको छ ।  जसरी वैचारिक र सैद्धान्तिक  हिसाबमा नै तल झरेका देखिन्छन् ।
राजनीतिको उद्देश्य जनताको सेवा गर्नु हुन्छ ! जनतालाई शान्ति, सुरक्षा अमनचयन कायम गर्ने, सहज,सम्मानजनक र स्वतन्त्रता पूर्वक जीवन यापन गराउने र सन्तुष्टि दिलाउन अवलम्बन गरिने नीति “राजनीति” हो ।

प्लेटो, एरिस्टोटल, हिगल, कान्ट, फायरबाख,अब्राहम लिङ्कन र गान्धी हुँदै मार्क्स सम्मका र नेपाली राजनितिका सिद्धान्तकार वि.पि.कोइराला र मदन भण्डारी सम्मका चिन्तकहरूले आफ्नो चिन्तनको केन्द्रबिन्दु जनताका सेवा,सुविधा र सन्तुष्टिलाई बनाएका हुन् । राजनीतिमा जति पनि दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रमको कुरा गरिन्छ ती सबैको अन्तिम लक्ष्य हेरियो भने जनता अर्थात् मानिसलाई सेवा/सुविधा उपलब्ध गराउने बिन्दुमै पुगेर टुङ्गिएको देखिन्छ ।

कसैको वैयक्तिक महत्वाकाङ्क्षा पूरा गर्न संसारमा कदाकदा सत्ता कब्जाका घटना नहुने होइनन्,(उदाहरणका लागि २०१५ नेपालको पहिलो जननिर्वाचित वि.पी.कोइराला नेतृत्वको सरकार राजा महेन्द्रको अति महत्त्वकाङ्क्षाले कब्जा गरेको थियो ।  ) श्रोतको साधन राज्यलाई ठानेर नाम, दाम र सानका लागि सत्तालाई दुरुपयोग गर्नेहरूको कथालाई अपवाद मान्ने हो भने राज्यसत्ता जनताको सर्वोपरि हितका निमित्त गठन भएको संस्था हो ।  सिद्धान्त त एउटा वाहाना मात्र हो । जो संस्थागत रूपमा अगाडि बढोस् भन्नाका लागि एकीकृत ढाँचा तयार पारिएको माध्यम हो तर आजभोलि राजनीति गर्नेहरू सेवाको भावले होइन कमाउने मानसिकता राखी दल भित्र आवद्ध भएका छन्,जो व्यापारी ,उद्दोगपती, लखपति ठेकेदार, भू.पू कर्मचारी, सुकिला मुकिलाहरू मात्र छन्, इमान्दार कार्यकर्तालाई रोजि रोटिकै जोहो गर्न धौ धौ परेको छ भने जो नेतृत्वकै वरिपरि घुमिरहेका स्तुति गान गरिरहने राम्रो होस् या नराम्रो होस् नेतृत्वले गरेको कार्यलाई शिरोपर गर्ने ताकी दीर्घकालीन असर पर्ला भन्ने कुराको ख्यालै नगर्ने  पार्टिका हजारौं लफङ्गा हरिलण्ठु बेरोजगार कार्यकर्ताहरू विलासिपूर्ण दिनचर्या विताइरहेका छन् आशिर्वादले !

जसको आयश्रोत केही देखिदैन । ब्यापार व्यबसाय छैन भने त्यसलाइ नीतिगत भ्रष्टाचार भन्न मिल्ने कि नमिल्ने ? खोजिनिती हुनुपर्छ कि पर्दैन ? त्यसको जिम्मा कसले लिने नेतृत्वले लिनु पर्छ कि पर्दैन ? तिनीहरुको जीवन शैली राणा,राजा महाराजका भाईभारदारका छोरा नातिका जस्तै छ ।  शान र शौकातले आलिसान महलमा, महँगो रेष्टुरेन्ट र बारमा मोज गरि बसेका हुन्छन् ।  हिजोका शाषकहरूले देखाएको रवाफ झैं आजका हाम्रा जनप्रतिनिधिले भनौं या नेतृत्वले देखाएका छन् ।

जनप्रतिनिधिहरूले पनि धरातल बिर्सिदै गएका छन् । आखिर जनतालाई फरक अनुभव के भएको छ र ? यस्ता प्रवृत्तिका मानसिक भएका राजनीतिक दलहरूबाट र तिनका असल र खराब छुट्याउन नसक्ने कार्यकर्ताहरू बाट सर्वसाधारण जनताका आम सरोकारका विषयहरू सहजै सल्टिन्छन् ठान्नु दिवास्वप्न देख्नु मात्र हो । किनभने हिजो निरङ्कुश राणा,राजाहरूले भाई भारदार, नातागोतालाई सम्पन्न बनाए जस्तै आज त्यही कुरा पार्टिका आसेपासे र कार्यकर्तामा मात्र सिमित हुँदै गएको छ । अनि कसरी राज्य छ भनि सर्वसाधारण जनताले अनुभूति गर्न सक्छन् ।  उदाहरण प्रशस्तै देखिन्छन्, राज्यबाट दोहोरो सुबिधा लिन नपाइने स्थानिय नियमावलीको प्रावधान हुँदाहुँदै युवा भनाउँदा कतिपय स्थानिय प्रतिनिधिहरू लाजै नमानी पैसा चुपचापले लिइरहेका र खाइरहेका छन् ।  तिनैबाट  हामिले आशा राख्नु कतिको उचित होला तिनीहरुले राम्रो गर्छन् भनेर कसरी भन्न सकिन्छ ।  केवल कमाउने एक व्यवसायका रूपमा राजनीति लाई लिएका देखिन्छन् ।

ती संगठनहरू मात्र बलिया र दीर्घकालीन हुन्छन् जुन संगठनमा भविस्य उज्ज्वल देखिने सुयोग्य युवाहरूको जमात देखिन्छ । समाजले पनि नेतृत्व गर्ने  व्यक्तिका हरेक कार्य शैलिहरू नियाली रहेको हुन्छ । जनता/मतदाताले आफ्नो नेतृत्व चुनिसके पछि उसका क्रियाकलाप पनि अनुकरणीय भएको हेर्न चाहान्छन् । नेतृत्वको  जीवनशैली सादा,सरल,आदर्श र आम जनताका लागि मार्ग निर्देश गर्न सक्ने हुनुपर्दछ । तर अहिलेको नेतृत्व सिद्धान्तमुखि होइन सुबिधा भोगी भएको छ योगदानमुखि  होइन योगफलमुखी भएको कुरा नकार्न सकिँदैन त्यसैले जुनसुकै पार्टिमा हेर्दा सिद्धान्तनिष्ठहरूलाई पार्टिमा टिक्न गाह्रो भइरहेको अवस्था देखिदै आइरहेको छ । त्यसले गर्दा इमान्दार कार्यकर्ताको इमानदारी र लगनशीलतामा स्खलन आउँछ ,जनताको आशा भरोसा विश्वास र आस्था टुट्छ अनि नेता नेता रहँदैन ।

पार्टिमा देखिएको असन्तोष विचार भन्दा व्यक्ति र संगठन भन्दा गुट हाबी भएको देखिन्छ ।  लोकतान्त्रिक दलभित्र अनेक थरी विचार हुन्छन्  र गुट र उपगुट हुन्छन् ।  ति गुटहरू  लोकतान्त्रिक राज्य पद्धति भित्रको सुन्दरता पनि मानिन्छ ।   गुट र उपगुुठमा रहेर आफ्नो पार्टिको धर्म बिर्सनु हुदैन पार्टी रहे पो गुट नत्र के को गुट ? त्यसैले गर्दा पार्टिको सिद्धान्त भन्दा व्यक्ति केन्द्रित गुटले जनताको हित गर्न सकिदैन समाजलाई अग्रगामी दिशामा बढाउनको लागि योजना तर्जुमा गर्न पट्टी भन्दा गुट बचाउन तिर लाग्छ त्यसैले पहिले आफू सुध्रिनु अपरिहार्य छ ।

आफूले गरेका कार्यले जनता कार्यकर्ता र स्वयम् पार्टिलाई नै कति हानी पूर्‍याएको छ भन्ने कुराको हेक्का राख्नु पर्दछ। स्पष्ट विचार,दृष्टिकोण पार्टी र जनताप्रती माया ममता इमान्दारीता र समर्पण भाव सहजै अरूको मन जित्न सक्ने विश्वास दिलाउन सक्ने पार्टिको विचार दर्शन र सिद्धान्तको ज्ञान भएको, जनसमुहमा आधारित संगठन निर्माण गर्दै कार्यकर्ता र जनताको सुख दु:खमा साथ दिने सहयोगि हुन् भन्ने भान पार्नु जरूरी हुन्छ । तर वर्तमान नेता/नेतृत्व पूर्खाले गरेका कार्यको गौरबमा मात्र गौरवान्वित हुने गर्दछ ताकि पितृ तर्पणले मात्र पितृ मुक्त हुदैनन् त्यसका लागि पूत्र (सन्तान )सुयोग्य हुनुपर्दछ भन्ने कुराको हेक्का राखेको पाइदैन । जनताका तत्कालीन आवस्यकता लाई सम्बोधन गर्न सक्ने गतिशील समाज बदलिँदो परिस्थिति लाई  मध्यनजर गर्दै समयानुकूल नीति  र कार्यक्रम ल्याउन सक्नु पर्छ  स्वस्थ, सक्षम र दृढ इच्छा शक्ति भएको कर्म गर्न सक्ने आदर्श नेतृत्व स्थापित गर्न सक्नु पर्छ ।

 आजभोलि नेता र बिचौलिया छुट्याउन गाह्रो छ ।  सुबिधापूर्ण जीवनशैली र आशंकापूर्ण आचरणले जनताको जनविश्वास हाँसिल गर्न सकिँदैन । अपराध र अपराधीकरणमा वृद्धि भएको छ । शान्ति सुरक्षाको स्थिति एकदमै नाजुक बनेको भ्रष्टाचार मौलाएको छ आदि इत्यादि कार्यहरू धिमा गतिमा गइरहेका छन्  । यो सबै नेतृत्वमा देखापरेको वैचारिक स्खलन मान्न सकिन्छ किनभने हिजो सर्वसाधारण किसान मजदुर र विपन्न वर्गबाट राज्यसत्ता माथि धावा बोलेको अनेकौं हण्डर व्यहोरेको प्रत्यक्ष रूपमा गाँस वास र कपासको जोहो गर्न कति अफ्ठेरो हुन्छ, दु:ख व्यहोर्नु पर्छ ।  भोगेको र व्यहोरेको वर्ग आज एकाएक एलिट वर्गमा रूपान्तरण हुँदै गएको छ यो भन्दा बिडम्बना के हुन जान्छ ।

अन्तमा: पार्टीको वैचारिक धरातल के हो,सिद्धान्त के हो के र कस्कालागी किन राजनीति गरेका थियौं भन्ने कुराको हेक्का नराखी सिमित व्यक्तिहरूको कोटरिमा मात्र रमाउने पद्धतिको विकास हुँदै गइरहेको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि हरेक कुराहरू सहजीकरण हुँदै जानू पर्ने हो किनकि अब नेपाली जनताले कसैका विरूद्ध औंला ठड्याउन आन्दोलन गर्नु पर्ने स्थित छैन । आफैले चुनेको जनप्रतिनिधि सरकार छ तर विडम्बना पछिल्लो समयमा अनुशासनहीनता र अराजकता नेपालीको नयाँ संस्कृति बन्न खोज्दै छन् । सुशासन भन्ने कहिँ कतै देखिदैन,भ्रष्टाचार र कमिसनको खेल झनै बढ्दो छ ।

लगानीका निम्ति उपयुक्त वातावरण बन्नुको सट्टा दिनप्रतिदिन लगानीको प्रतिकूल स्थिति बन्दै छ, वैदेशिक रोजगार घट्नुको सट्टा दिनानुदिन बढ्दो क्रममा छ । शिक्षा,स्वास्थ क्षेत्रमा माफियाको चलखेल भनिसक्नु छैन,विकृति मौलाउँदो छ, शिक्षित र दक्ष युवाहरू निरासिएर स्वदेशमा भविष्य नदेखेर पलाएन हुने अवस्था विकराल रूपमा बढ्दो मात्रामा छ । सत्य कुरा स्पष्ट बोल्नुको साटो जिम्मेवार व्यक्तिहरू उल्टो कुरा गरेर गैरजिम्मेवार र जनभावना विरूद्द्को बाटो हिँडिरहेका छन् ।

जिम्मेवार व्यक्तिहरू सत्य अस्वीकार गर्न सकिरहेका छैनन् तर नकारात्मक धारणा प्रकट गरिरहेका छन्, अझैँ सम्म पनि पराधिनताको मानसिकताबाट पछि हट्न सकिरहेको देखिदैन् त्यसैले राजतन्त्र, लोकतन्त्र/प्रजातन्त्र या संघीय गणतन्त्र जुनसुकै तन्त्र आए पनि जुनसुकै व्यवस्थामा देश गए पनि शासक र प्रशासकहरू इमानदार, देशभक्त र दूरदर्शी भइदिएनन् भने समृद्धिको द्वार खुल्न सम्भव हुँदोरहेनछ र देशले आर्थिक उन्नतिको दिशातर्फ अघि बढ्न सक्दो रहेनछ भन्ने कुराको सहजै अनुभव गर्न सकिन्छ । त्यसैले जनभावना अनुसारका कामकाजहरू भएनन् भने राष्ट्रहरू द्वन्दमा फस्ने खतरा उत्तिकै रहनदेखेजनताहरूमा निरास र आक्रोश बढ्छ आफैले निर्वाचित गरेका प्रतिनिधि/नेतृत्व माथी जाई लाग्न बाध्य हुन्छन् भन्ने कुरा इतिहासले देखाउँदछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank