कास्की क्षेत्र नम्बर दुईको उप निर्वाचन र विद्या भट्टराई

आइतवार, अशोज ५, २०७६

loading...

- सीता ओझा



- सीता ओझा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकार पदमा बहाल रहेकै बेला एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परि वि. स. २०७५ फागुन १५ गते उनी सहित ७ जनाको ताप्लेजुङमा उनको निधन भयो । उक्त अकल्पनीय, अप्रत्याशित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति भयो । यस्तो घटनाको गहिरो दु:ख र शोक घडीमा धैर्य गर्न आव्हान गर्दै सरकारले दिवङ्गत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्‍यो । सरकारले १ दिनको शोक बिदा गर्दै पोखराको देवीघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्‍यो । उनी नेकपाका निकै लोकप्रिय, कामकाजी युवा नेताको रूपमा चिनिन्थे । रविन्द्र अधिकारी कास्कीबाट लगातार र निकै चुनौती पूर्ण अवस्थामा निर्वाचन जित्ने जनप्रतिनिधिमा परेका थिए । उनी दिवङ्गत भएपछि अहिले कास्कीको दुई नम्बर क्षेत्र प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको छ महिना भइसक्यो । देशका अन्य भागमा पनि विभिन्न कारणले रिक्त भएका पदहरू पूरा गर्न सरकारले निर्वाचनको तिथि मिति पनि तोकिसकेको अवस्था छ । यस्ता निर्वाचनहरू कुनै कारणले रिक्त हुने अवस्था बाहेक पाँच वर्षमा एक पटक मात्रै हुने व्यवस्था छ । रिक्त अन्य क्षेत्र जस्तै कास्कीको क्षेत्र नम्बर दुई अहिले त्यही रिक्तताको पूर्तिका लागि निकै चर्चामा रहेको देखिन्छ ।

वि. स. २०४६ सालपछिको नेपाली राजनीतिमा मौलाएका अनेकौँ गैरराजनीतिक प्रचलन मध्येको एउटा प्रचलन पतिको निधनपछि पत्नीलाई राजनीतिक उत्तराधिकारी जस्तै गरी राजनीतिमा प्रवेश गर्ने /गराउने प्रचलन देखिन्छ । यस्तो प्रचलन विशेषगरि दलको प्रभाव त्यो क्षेत्रबाट नहटोस् अथवा पहिलेको जीतलाई फेरि पनि कायम गर्न सकियोस् भन्ने मनसाय सहित प्रयोगमा आउने गरेको देखिन्छ । त्यस्तै अर्को कारण दिवङ्गत भएको जनप्रतिनिधिको निकटता आफूबाट टाढा नहोस् भन्ने आम मतदाताको भावनात्मक मनसाय पनि हो । तेस्रो आफ्ना पति या परिवारको सदस्यले गरेको राजनीतिभित्रको लगाव र निरन्तरतालाई बचाई राख्ने प्रयत्न पनि हुनसक्छ । यस्ता अनेकौँ कारणहरूले अहिले कास्कीको क्षेत्र नम्बर दुई सबैको नजिक, सरोकार र चासो भित्र परेर अनेकौँ चर्चा परिचर्चामा पुगेको छ।

अघिल्लो अवधिका केही वर्ष पश्चात् नेपालको राजनीतिभित्र राजनीति अपराधी करण निकै मज्जाले मौलाएको छ । हिजोको निष्ठा, त्याग र जनजीविकाका भावनात्मक कुरा विस्तारै दन्त्यकथा जस्तो गरी हराउँदै छन् । राजनीति भित्र मौलाएको आत्मकेन्द्रीत सोचले नेतृत्वमा नै अवसरवाद हाबी भएको कुरा अनेकौँ खुला कार्यक्रमका प्रवचन, भाषण, वक्तव्य आदिमा छरपस्ट भएका अभिव्यक्तले छर्लङ्ग भएको छ । त्यही कुरा राजनीतिक दलको तल्लो संरचनासम्म हाबी भएको कुरा हिजो निर्वाचनको सन्दर्भमा अनेकौँ रूपमा असन्तुष्टि पोख्ने क्रममा देखियो । पहिलेको मत, कार्यकर्ताहरूको प्रभाव र जनआधारले नै जित्ने निश्चित भएको अवस्थामा पनि कतिपय ठाउँमा निर्वाचन परिणाम सोचे भन्दा फरक आयो /अथवा हारियो । त्यस हार भित्र प्रतिपक्षी या विपक्षीको मतको कारणले हारेको होइन । त्यो हारभित्र राजनीतिक दलको अन्तरघात नै पहिलो कारण बनेको थियो । अन्तरघातभित्र भिजेको गुटबन्दीको फेर पनि हो भन्दा फरक नपर्ने अवस्था थियो र अझै छ ।

यसरी निर्वाचनमा हुने घात, अन्तर घातको संस्कृति बहुदलीय प्रणालीमा नौलो होइन नै भन्नू पर्ने हुन्छ । किनकी यस्ता निर्वाचनमा विशेष गरी निर्वाचनको परिणाम आफ्नो पक्षमा तान्न /उभ्याउन विभिन्न प्रकृतिका शक्ति प्रदर्शन, घरदैलो कार्यक्रम, झन्डा, ब्यानर, यातायातका साधन, यातायातको लागि तेल, परिचालित कार्यकर्ताको लागि खाना, खाजा आदिको त उम्मेदवारले नै व्यवस्थापन गर्नु पर्ने हुन्छ । हिजो भूमिगत राजनीति गरेर पूर्णकालीन भएका नेताहरूले जीविकोपार्जनको लागि प्रतिबन्ध हटेपछि खास व्यापार, व्यवसाय अथवा कुनै पेसा अपनाएको पनि देखिन्न । भए पनि छोटो समयमा करोडौँको आम्दानी हुने त्यस्तो पेसा पनि त नेपालमा खास छँदै छैन तर पनि सबै दलका नेतृत्वहरूको जीवनशैली र निर्वाचनमा हुने र भएको खर्च सुन्दा कसरी आम्दानी भयो होला भनेर अत्यास लाग्ने अवस्था छ ।

यस्तो अपारदर्शी प्रणालीले राजनीति दलका कार्यकर्ता भन्दा मतदातालाई नजिक गराउँछ । मतदाता नजिक गराउने कुरा त ठिकै हो । यस्तो प्रणालीले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउँछ । तर निर्वाचनमा हुने र भएको खर्च बिर्सेर जनतामुखी हुनका लागि नै उम्मेदवारहरूले त्यतिको पैसा खर्च गरेका हुन् त ? प्रत्येक निर्वाचनमा यसै गरी खर्च गर्न सक्ने ल्यागतको आम्दानीको श्रोत के हो ? यस्तो महँगो निर्वाचन प्रणाली धानिरहने अवस्थामा किन बनिरहेको छ ? भन्ने कुरा अहिलेको विशेष चासोको विषय हो । हेर्दा नदेखिने तर बस्दा उठ्नै नसकिने गरी डामिने यस्तो भड्किलो निर्वाचन प्रणालीले प्रत्यक्ष निर्वाचनमा महिला, दलित, अपाङ्ग लगायतका समावेशीकरण भित्रका समूहले प्रत्यक्ष निर्वाचनमा भाग लिन सक्छन् या सक्दैनन् ? सोचनीय विषय छ ।

यस्तै विसङ्गति भित्र्याएको अनेकौँ राजनीतिक वृत्त मध्येको एउटा क्षेत्र हो कास्कीको क्षेत्र दुई । यस क्षेत्रको निर्वाचनको उम्मेदवारको नामहरू मध्ये सामाजिक सञ्जालमा पहिलो दर्जामा विद्या भट्टराईको नाम देखिएको छ । विद्या भट्टराईको नाम आउनुको पछाडि रविन्द्र अधिकारीको नाम जोडिएर आएको छ । उनी अहिले पिडामा नै रहेको अवस्थाका बारेमा सबै विज्ञ छन् तर त्यो विषय उनीहरूको लागि प्राथमिकतामा पर्दैन । जे जस्तो अवस्था रहे/भए पनि भट्टराईले निर्वाचनमा होमिनै पर्छ भन्ने एकोहोरो समर्थन देखाएको देखिन्छ । सामाजिक सञ्जालको प्रयोग गर्ने साच्चिकै कास्की क्षेत्र नम्बर दुईका मतदाता हुन या होइन भन्ने विषय यहाँ खास हेरिएको देखिन्न । अर्को कुरा यदि विद्या नै त्यो निर्वाचनमा जाने हो भने निर्वाचन प्रचारप्रसारमा उनीसँग प्रशस्त पैसा चाहिन्छ । निर्वाचन अहिले उम्मेदवार तय गर्ने पाटीले तर निर्वाचन व्यहोर्नुपर्ने पाटीले होइन व्यक्तिको भएको छ । त्यसको लागि प्रमुख श्रोत निर्वाचनको लागि चाहिने करोडौँको श्रोत उनले कसरी प्राप्त गर्ने ? चुनौती पूर्ण र नैतिक प्रश्न यहाँ नेर देखिन्छ । जीवनको चौतारीमा एक्लै घोत्लिएर जिउने सहारा खोजिरहेकी एकल महिलाले निर्वाचनमा करोडौँ जुटाउने कुरा निकै गम्भीर र पहुँच बाहिरको विषय होइन र !

हिजोको राजनीति विरासतबाट अलगिएर क्षमता अभिवृद्धि र परिवारको व्यवस्थापन गर्दै उप-प्राध्यापक पेसामा रमाएर बसेकी विद्या भट्टराईले आफू सामेल रहेकै क्षेत्रबाट राजनीतिलाई सघाउन सक्ने धेरै बौद्धिक कामहरू पनि त छन् नि । ती विषयमा किन चर्चा हुन सकिरहेको छैन ? यी र यस्ता विषयमा सोच्न सक्ने हो भने आवश्यकता अनुसार जिम्मेवारी दिएर सेवामा पारदर्शिता र चुस्त दुरुस्त बनाउने तिर पनि त धेरै ठाउँ थिए होलान् नि ।

सांस्कृतिक रूपले विघटनको अवस्थामा पुगेको दलीय प्रणाली र त्यसका निष्क्रिय संरचनाहरूले निर्वाचन परिणाम पक्षमा आउँदा पनि खास दैनिक भेटघाट र सामाजिक समारोहमा सरिक हुने बाहेक अरू ठोस कार्य गर्न सकिने अवस्था देखिन्न । उप-प्राध्यापन पेसाबाट राजीनामा दिएर उप निर्वाचनमा जाने अनि तीन वर्षपछि फेरि घात, अन्तरघातको राजनीतिले भित्र र बाहिर बनाएर छेक्ने र सक्ने दलीय संस्कारले छिया-छिया भएको अवस्थामा फेरि विकृतिको सिकार हुनुपर्ने अवस्थाको नआउला भन्न पनि त सकिन्न । अहिलेसम्म त्यो पक्षबाट चर्चा परिचर्चा भएको सुनिएको छैन । अहिलेसम्म नसुन्नु भनेको फेरि पनि निरीह भएर बाच्नु हो भन्दा फरक पर्दैन ।

नेपालको दलीय राजनीति र त्यस भित्र रमाउने नेता कार्यकर्ता पानीमा डुबेर पखालिने र दूधकुण्डको रवाफमा निदाउने संस्कृति भित्र छिरिसकेको अवस्था छ । सिङ्गो पाटीपङ्क्ति पद, पैसा, मद र मस्तानामा डुबेको बेला सरल, इमानदार, मेहनती र सज्जन मानिसहरू एक, दुई राजनीति भित्र छिर्दैमा राजनीति सङ्ल्याउन सकिन्छ र ! एक पटक त निर्वाचन जिताउन पाटीले लगानी गर्ला तर अर्को पटक निर्धो भएर, हिनताले गलेर राजनीति बिसाउने र दल र नेतालाई गाली गरेर हिँड्ने अवस्था बन्यो भने त्यो भन्दा दुखद अरू के हुन्छ र ! त्यसैले माथि उठाएका जस्ता अनेकौँ विषयहरूमा व्यक्ति (आफू) भएर सोची, विचारी, भविष्यतिर हेरेर मात्रै निर्णय गर्नु उत्तम हुन्छ कि ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata