ट्राफिक दाई फाल्दिनुस् छातीको क्यामेरा

loading...

बुधबार, मंसिर २९, २०७३

- जनार्जन पौडेल



जबसम्म त्रिपुरेश्वरमा सवारी नियम उलंघन गरेको चालकलाई कलंकी नपुग्दै पक्रिन सक्ने संयन्त्र बन्दैन तवसम्म छाती ÷छातीमा क्यामेरा भिर्नु अनि बाटोमा दर्जनौ डमी ट्राफिक राख्नुको कुनै अर्थ रहन्न ।

बिहान सात बजेको थियो । म माईतीघर मण्डला नजिकबाट मोटरसाईकलमा अनामनगर जाँदै थिएँ । मेरो आँखा एक्कासी ट्राफिकको डमी ट्राफिक भएतिर पुगे जहाँबाट लाइनै तीनवटा मोटरसाइकलले युटर्न गरेर बाटो काटेर अगाडी गए । एक त त्यो ठाउँमा युटर्न निषेधको बोर्ड राखिएको छ त्यसमाथि पनि त्यत्रो ट्राफिक प्रहरीको लमतन्त परेको स्ट्याचुले उनीहरुलाई हेरिरहेको थियो । तर पनि ती चालकहरुले टेरेनन नियम उलंघन गरेरै छोडे ।  रिसले मेरो जिउ नै सिरिङ भयो । तर, के गर्ने कसलाई रिस पोख्ने मैंले ?

हुनत मलाई त्यो डमी ट्राफिक राखेको दिन देखि नै त्यसको प्रयोग र उपादेयताको बारेमा सन्देह थियो । तर, आज त्यो दृश्य देखेपछि भने मेरो सन्देह यथार्थमा परिणत भयो ।

यतिखेर अनामनगरबाट भद्रकाली जानेबाटो नजिक राखिएको त्यो डमी ट्राफिकघाम पानीले पुरै खुइलिएर निरीह जस्तो बनेर उभिएको छ । म सधै त्यहि बाटो हिड्ने हुनाले दिनको दुई पटक त्यो स्ट्याचुको दर्शन नगरी मलाई धरै छैन । केही समयअघि सम्म त्यसको खुट्टामुनि एउटा व्याट्री पनि राखिन्थ्यो । त्यो किन राखिन्थ्यो मलाई थाहा छैन, तर हिजोआज भने त्यो व्याट्री त्यहाँ देखिन्न । मेरो अन्दाजमा हिजोआज त्यस डमी ट्राफिकलाई राती ट्राफिक प्रहरी कार्यालयमा लगेर थन्क्याइदैन ।

यो त भयो ट्राफिक प्रहरीले हजारौ मुल्यमा खरिद गरेर ल्याएको स्ट्याचुको कथा । हुनत साँच्चिकै ट्राफिकलाई चालकले नटेरेर हैरान बनाएको अवस्थामा स्ट्याचुलाई कसले टेर्ने ? त्यो पनि सँधै एकै स्थानमा तेस्र्याएर राखेपछि मान्छेले थाहा पाएर पनि नटेर्ने नै भए ।

अव डमी ट्राफिको कथालाई एकै छिन थाँती राखेर छातीको क्यामेराको कुरा गरौं । केही महिनाअघि मात्र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि छातीमा राख्ने क्यामेरा झिकाएको थियो । छातीको क्यामेरा पनि त्यतिखेर निकै चर्चित बनेको थियो । विशेष गरि लेन मिच्ने सवारी चालकलाई प्रमाणको रुपमा देखाउनलाई झिकाइएको रे यो छातीको क्यामेरा । यो क्यामेरा पनि कति झिकाइएको छ के कति स्थानमा ट्राफिकको हातमा छ त्यसको यकिन डाटा मलाई थाहा छैन । तर, मैले भने यो छातीको क्यामेरा त्यहि अनामनगर त्रिपुरेश्वर थापाथलीका ट्राफिक दिदीहरुको छातीमा मात्र देखेको छु ।

यो छातीको क्यामेराको कथा झन चाखलाग्दो छ । नेपालका सवारी चालक कति सम्म बलिया रहेछन त । उनीहरुले ट्राफिक नियम उलंघन गरेको प्रमाणीत गर्न ट्राफिकलाई क्यामेरा नै चाहियो । त्यसमा पनि जारिवानाको कुरा आएपछि हामी तिर्दैनौ भनेर बन्द हड्ताल नै गर्छन । पहिलो कुरा त ट्राफिक प्रहरीले यदि चालकलाई सजाय गर्न सक्दैन भने त्यो भन्दा निरीह कुरा के भयो ? तिनले किन लगाउने ट्राफिकको बर्दी ? दोश्रो कुरा यदि उनीहरुले अनावश्यक चालकलाई दुख दिने काम गरेका भए उनीहरु नै जानुन । तर चालकले सार्वजनिक सडकमा सवारी चलाएपछि सरकारले बनाएको नियम पालना गर्नुपर्छ यो नियम पालना गर्न लगाउने काम ट्राफिक प्रहरीको हो ।

आजको दुनिया प्रविधीको हो । सन्सारले प्रविधीमा यति धेरै फड्को मारिसक्यो तर दुर्भाग्य नै भन्नु पर्छ हामी भने छातीमा क्यामेरा भिरेर हिंड्दैछौ । र यसैलाई अत्याधुनिक प्रविधी भनेर ढोल पिटाउछौ । सिसि क्यामेरकाले निगरानी गर्न छाडेर छातीको क्यामेरामा अल्झिनु भनेको हत्केलालाई सूर्यले छेक्न खोज्नु सरह हैन र ? नेपाल सरकारसँग हरेक थोक गर्न पैसा पुग्छ मुख्य मुख्य सडकमा सिसि क्यामेर फिट गर्न पुग्दैन । अबको जमाना छातीमा क्यामेरा लिएर लाइन लाइनमा तेर्सिने होइन अवत त्रिपुरेश्वरमा नियम उलंघन गरेको चालकलाई कलंकी नपुग्दै समातेर सजायको भागिदार बनाउन सक्नुपर्छ । अन्यथा यस्तो खालको व्यवस्थापनलाई ट्राफिक व्यवस्थापन भन्न मिल्दैन ।  

हामीमध्ये धेरैले विदेश गएर देखेका छौ । जहाँ दुर्घटना भएको २ मिनेटभित्र प्रहरी आइपुग्छ,सवारी नियम उलंघन गरेर सवारी साधन चलाएमा घरमै गएर ट्राफिकले समात्छ । त्यो सब हाम्रो देशमा लागु किन नगर्ने ? अवको युग भनेको धेरै भन्दा धेरै अत्याधुनिक र लेटेस्ट प्रविधिको प्रयोग गर्ने युग हो ।

सडकमा भेडा बाख्रा हेरेजस्तो गरेर ट्राफिक छोडेर मात्र हुन्न ट्राफिक प्रहरीलाई समय सुहाउँदो ,शिप र प्रविधीयुक्त बनाउनु पर्दछ ।

पहिला भन्दा धेरै ट्राफिक व्यवस्थापन राम्रो भएको ट्राफिक प्रहरीले बताइरहँदा म उनीहरुलाई च्यालेञ्जका साथ भन्न सक्छु केही पनि भएको छैन । यदि, हो भने बेलुकी ५ बजेको समयमा टेकुबाट थापाथली निस्कन किन एक घण्टा भन्दा बढी समय लाग्छ ?

तसर्थ ट्राफिक प्रहरीले ल्याएको डमी ट्राफिक र छातीको क्यामेरा दुबै ट्राफिक व्यवस्थापनमा पुराना र फेल भएका साधन हुन अवको विकल्प भनेको चोक चोकमा सिसि क्यामेर राखेर कन्ट्रोल रुममा राखेर हेर्ने कुन गाडीले नियम उलंघन गर्छ ‘अन द स्पोट’ समातेर कारबाही गर्ने हो ।

811 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom