म, मेरी आमा र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आइतवार, फाल्गुन २५, २०७६

loading...

- सीता ओझा



आदरणीय आमा
नमस्कार

सधैँ झैँ हरेक वर्ष आउने अन्तर्राष्ट्रिय श्रमिक दिवसको उज्यालोमा रमाउने म र मेरो दिनचर्या भित्र यसपटक मैले यो पत्रमार्फत आमा तिमीलाई सम्झन पुगेँ । आमा ! तिमी जन्मदाको समय, मलाई तिमीले जन्माउँदाको समय र अहिलेको समयमा देखिएको परिवर्तन, तिमीले र मैले प्राप्त गरेका अधिकार, स्वतन्त्रता साथै हाम्रो परिचय, पहिचान र स्थानमानमा निकै अन्तर आएको छ ।

यसरी आएका अन्तरहरूका बारेमा तिमी कति जानकार छौ ? त्यो त म भन्न सक्दिन तर महिलाले गरिखाने कुरासँग जोडिएको छोराछोरीबिच नागरिकतामा समानताको कानुन, घरपरिवार, समाजमा महिलाको स्थान, मान, भूमिका, पहिचान र पैतृक सम्पत्तिमा छोराछोरीबिच समान स्वामित्वसँग जोडिएको हकको कुरा मैले तिमीबाटै सिकेँ ! त्यही हकको कुरा अहिले राज्यले संविधानमार्फत सबै छोराछोरीका लागि विभिन्न माध्यमबाट लागू गर्ने गराउने कार्य गर्दै छ ।

आमा तिमीले महिलाको अधिकारको राष्ट्रिय र अन्तर्राष्ट्रिय आन्दोलन नबुझे पनि तिमीले तिम्रो समयमा अस्तित्व रक्षाका लागि देखाएको स्वाभिमान र घरपरिवारभित्र न्याय, समानता र सह अस्तित्व खोजेको कुरासँग आज भन्दा एक सय दश वर्ष अघि स्थापना भएको महिला उत्सवको अवसरमा उठाएका मागहरूसँग तिम्रा अडानहरूले मेल खाएको देखिन्छ ।

त्यहीँ दिन ( अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ) को स्थापनाको महत्त्वका बारेमा हामी अहिले पनि चर्चा गर्दै छौ । तिमी जस्तै अझै अग्रज विश्वकै महिला आन्दोलनकी अन्तर्राष्ट्रिय हजुरआमाहरूले गरेको विद्रोह र गरिबीको विरुद्ध चलाएको रोटीको माग, भ्रातृत्व, समानता, पुरुषहरूको ज्यादतीको विरोध, मतदान सहित चुन्ने चुनिने हक, ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ सहित समान ज्यालाको हकको दाबी सहित सन १९०९ सिकागो सहरमा कलकारखानाको काम ठप गरेर गरिएको लाखौँ महिलाहरूको प्रदर्शनको सत्य कथाहरू आजको महिला माहात्म्यको रूपमा सुन्ने, बुझ्ने र सुनाउने गर्दै छौ ।

मार्च महिनाको आठ तारिकमा शुरु गरिएको त्यो विद्रोहमा महिला र पुरुषबिच सबै काम कुरा र व्यवहारमा समानताको माग राखेर प्रदर्शन गरिएको थियो । त्यो न्यायपूर्ण आन्दोलनमा त्यस बेलाको अमेरिकी सरकारले अनाहकमा दमन गर्‍यो । त्यस ज्यादतीमा तीस हजारभन्दा माथिको सङ्ख्यामा महिलाहरू अङ्ग भङ्ग र घाइते भए । सयौँ महिलाहरूले सहादत प्राप्त गरे । त्यस अत्याचारको विरोध गर्दै जर्मनकी आन्दोलनकी नेता क्लारा हजुरआमाले त्यस दिनलाई महिलाहरूको स्वतन्त्रताको दिनको रूपमा घोषणा गरिन् । त्यस घोषणालाई बिस्तारै अन्य समाजवादी देशहरूले पनि समर्थन गरे र सन् १९१० को आठ मार्चको दिन विश्वका धेरै देशहरूमा महिलाहरूले यो स्वतन्त्रता उत्सव मनाए । त्यही उत्सवको दिनपछि हरेक वर्ष आठ मार्च महिलाको स्वतन्त्र अस्तित्वको खोजिको दिन बन्न पुग्यो ।

आमा ! हामी कहाँ पनि त्यसै बेला सबै महिलाहरूले अधिकार बुझ्न सकेको भए सायद ” अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस “अथवा त्यो उत्सवको महत्त्व स्वस्थानीको कथा जस्तै गरेर महिलाहरूले मनाउने गर्थे होला । कुनै राजा महाराजाको पुरुषार्थको कथा बनेर साहित्यमा अभिलेखीकरण हुन्थ्यो होला । अर्को मर्दाङ्गको साहित्यिक बिम्बले समाजमा महिलामाथि अनेकौँ शोषण थोपर्थ्यो होला । त्यसो नभए पनि अधिकार, स्वाभिमान, स्थान र मान बुझ्नेहरूको लागि यो निकै महत्त्व राख्ने उत्सवको रूपमा विश्वभर स्थापित भयो ।

आमा ! यो महिलाको उत्सव नेपालमा मनाउन थालेको पनि अहिले अठसट्ठी वर्ष पुगेछ । नेपालमा यस उत्सवको चर्चा वि.स. २००८ सालमा भएको रहेछ । यसको महत्त्वको चर्चा गर्दै महिलाको हकहित र अधिकार सहित महिलाको आर्थिक सामाजिक हैसियत माथि उठाउने अभियान सञ्चालन गर्ने उद्देश्य राखेर कामक्षादेविको नेतृत्वमा महिला सङ्घ नै गठन भएको इतिहास छ । त्यसपछि विभिन्न समयमा विभिन्न नाममा यश उत्सवलाई मनाइरहे । पञ्चायतकामा राज्य पक्षका महिलाले नारी दिवस भनेर मनाए भने भूमिगत राजनीतिक दलका महिलाहरूले महिलाको स्वतन्त्रता र राजनीतिक स्वतन्त्रतालाई जोडेर मनाइ रहे । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व वि.स. २०४६ पछि अझै बढ्यो । नेपालको सन्दर्भमा ०४६ पछि महिलाको सहभागिताको कुरा जोडियो । सशस्त्र आन्दोलनको समयमा आठ मार्चको सन्दर्भलाई फरक ढङ्गले मनाउन थालियो । संविधान र कानुनमा रहेको सङ्कुचित अवधारणालाई वृहत् बनाउँदै उत्पीडन विरुद्ध र सहभागिताको विषयलाई जोडेर समाज रूपान्तरणको अभियानका सञ्चालन गर्न सके मात्रै महिलाको समानता हुन्छ भन्ने निष्कर्ष माओवादी सङ्घर्षले निकाल्यो ।

हाम्रो देशमा पनि योगमाया, दिव्या कोइराला,रे वन्त कुमारी, पुन्यप्रभा, साहना, साधना, मङ्गला, स्नेहलता, मोतीदेवी, नानीमैया, शान्ता जस्ता हजुरआमाले महिलाको हक अधिकारको विषयमा लडे । त्यसमध्ये चुन्न चुनिन पाउने, पढ्न, लेख्न, सङ्गठन गर्न, बहुविवाह, बाल विवाह, अनमेल विवाह, घरेलु हिंसा,बोक्सी लगायत अन्य अन्धविश्वासको कारण हुने र गरिने हिंसा विरुद्ध, कुटपिट, हेलाँ-होचो, यौनदुराचार विरुद्ध, निषेध र नियन्त्रण विरुद्ध ऐन, कानुन पैतृक सम्पत्तिमा छोरा र छोरी बिच समान हकको व्यवस्था पनि गरिसके ।

आमा तिमी भन्थ्यौ नि ! मैले पाएका तिमी सन्तानहरू सबै बाबुको थर लेख्ने प्रचलन कसरी तोड्ने ? अब त्यही लडाइँ अलिकति बाँकी छ । तर यी सब व्यवस्था गरेका प्रावधानहरूको कार्यन्वयन गर्ने कुरा चाहिँ निकै चुनौतीपूर्ण रहेको देखिन्छ । यी र यस्ता अनेकौँ विषयमा तिमी जस्तै उमेरका अनेकौँ आमाहरू र तिम्री छोरी जस्तै धेरै छोरीहरू अझै लडिरहेका छन् । विभिन्न समय र परिस्थिति पार गर्दै विभिन्न जिम्मेवारीमा स्वयम सेवकको भूमिका निर्वाह गरेको पनि आठ दसक नाघिसकेको छ । अनेकौँ उतारचढाव पार गर्दै ६२/६३ को आन्दोलन पश्चात् छोरीको पैतृक अंश हकमा जोडियो । राज्यका सम्पूर्ण संरचनामा तेत्तिस प्रतिशतको सहभागिताको कुरासँग पचास प्रतिशमा, सक्रिय, गुणस्तरीय सहभागिता र निर्णायक पदीय जिम्मेवारीमा आलोपालो सम्मका प्रावधानहरू बनिसकेको अवस्था छ । तर पनि आमा गाउँ घरमा आइमाई, कार्यालयमा हाकिमनी, विद्यालयमा मिस या मेडम अथवा मास्टरनी भन्न छोडेका छैनन् । यस्तो प्रस्तुति पछौटे सोच मात्रै होइन रूपान्तरणको बाधक चिन्तन र पुस्तागत समस्या पनि हो । कार्यस्थलमा यस्ता चुनौतीहरू व्यहोरी रहँदा म सानो हुँदा तिमीले मलाई भनेका कुराहरू सम्झने गर्छु ।

” दुनियाँको कुरा छोडि दे,
” उनीहरू गाउँदै बजाउँदै हिडि रहन्छन्,
” उनीहरूको कामै त्यही हो,
” तँ तेरो काम गर तिनीहरूको चिन्ता नगर !”
” साथ रहुन्जेल मात्रै साथी खोज्नु ,
” साथ नभएको बेला एक्लै हिँड्नु !”
” रूप र रङ भन्दा ज्ञान र गुणतिर लाग्नु ! ”
” रूपले भन्दा सीपले बचाउँछ ! ”
” शिक्षाले हरेकलाई मान्छे बनाउँछ !”
” माछालाई हान्ने बल्छी अरूलाई नहान्नु ,आफैँ परिन्छ ! ”
” पासो थाप्नु भन्दा अन्तै बस्नु बेस ”
आफूलाई कसैसँग तुलना नगर्नु ! “

जस्ता बहु उपयोगी अनेकौँ शिल्पले मलाई कुँदिरहन्थ्यो । अहिले मलाई हैन संसारका सबै महिलाले त्यही कुरा आफूमा भर्न खोजिरहेको देख्दा तिमी कति अघि रहिछौ जस्तो लाग्यो र पुनः सम्झने मौका मिल्यौ । अनेकौँ व्यस्तताबिच यो अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भको सत्य कथालाई यो पत्र मार्फत लेखी तिमीलाई पठाउन पाएकोमा सारै खुसी लागेको छ ।

आमा ! तिमीले हिजो स्वस्थानी पढे जस्तै गरी अब यो कथासँग तिम्रो जीवनका कयौँ पीडा र भोगाइहरूलाई घोलेर समाज रूपान्तरणको नयाँ कथा बनाएर तिम्रो समाजका सयौँ नाति नातिनीहरूलाई सुनाउने छौ भन्ने विश्वासले यो पत्र तिमीलाई पठाएकी छु । मेरो यो पत्र संसारका सम्पूर्ण मानवजातीहरूसगँ जोडिएकी तिमी र तिमी जस्तै सम्पूर्ण आमा हजुरआमालाई शुभकामना सन्देशको रूपमा पठाएकी हुँ । तिमी र मसँग जोडिएका सबैलाई एकसय दसौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा प्रगति र अग्रगमनको धेरै धेरै शुभकामना !

🌹🌹
तिम्री छोरी
सीता

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments