कर्मशील भावनासँग जोडिएकी इन्दिरा र उनको समाज सेवा

शुक्रबार, फाल्गुन २, २०७६

loading...

- सीता ओझा



 इन्दिरा शर्मा वि. स. २०२६ असार १६ गते मोरङको सिज्वा वडा ७ को सामान्य परिवारमा जन्मिएकी थिइन् । उनका पिता रामप्रसाद र आमा बुधमाया पोखरेलका दस सन्तान इन्दिरा साहिँली छोरी हुन् । रामप्रसाद र बुधमायाका दस सन्तान जन्मिएका थिए । ती मध्ये आठ छोरीको जन्मपछि दुई छोरा पनि जन्मिएका थिए । हरेक घरपरिवार भित्रका हरेक सदस्यको दिमागमा रहेको छोराछोरी बिच विभेदको मनोवैज्ञानिक पछौटे चिन्तनको छिटा इन्दिराको परिवारमा पनि परेको देखिन्छ । त्यसैले त रामप्रसाद र बुधमायाले छोराको आसमा ८ छोरी जन्माइ रहे । यसरी छोरा कुर्दा रामप्रसाद र बुधमायाको परिवार ठुलो भयो । सामान्य खेती किसानीको धान्न निकै दुख भयो । छोरीहरूलाई भन्दा छोराहरूलाई पढाउनु पर्ने ठानेँ । छोरीहरूको सामान्य बिहेवारि गरेर व्यवहारबाट उम्कने बाहेक शिक्षादीक्षा र व्यवसायीक बनाउनेतिर खास चासो नै देखाएनन् ।

इन्दिराको विवाह इलाम जिल्लाको शान्तिपूर सिरिसे बस्ने मधुसूदन र सावित्राका कान्छा छोरासँग वि.स. २०५३ को फाल्गुन महिनामा भयो । मधुसूदन र सावित्राका दुई छोरा र तीन छोरी सहित पाँच सन्तान थिए । वि.स. २०१९ साल कार्तिक महिनामा जन्मेका गोपालकृष्ण वि स २०३८ तिरबाटै प्रहरी पेसामा प्रवेश गरेका थिए । विवाह गरेको तीन वर्षपछि जेठो छोरो दुर्गा जन्मियो । परिवारमा खुसीयाली छायो । दोस्रो सन्तान वि.स. २०४८ सालमा छोरा सरोज जन्मियो । उनीहरूलाई छोरीको असाध्यै रहर थियो र तेस्रो सन्तान पाउने निर्णय गरे । वि.स. २०५० सालमा मनोज तेस्रो सन्तान पनि छोरा नै जन्मियो छोरीको रहर मेटिएन । तर पनि आफूले जे पाइयो त्यसैमा खुसी हुनुपर्छ भनेर गोपाल र इन्दिरा त्यसैमा रमाए । आफ्नो घर आँगनमा कलकलाउदा तामाका टुसा जस्तो रहर लाग्दा सन्तान खेल्दा गोपाल र इन्दिरालाई आफ्नो घर स्वर्ग जस्तै लाग्थ्यो । आफ्नो जोडीलाई संसारको नमुना जोडीको रूपमा ठान्थे ।

प्रहरी सेवामा प्रवेश गरेदेखि गोपालकृष्ण राष्ट्र र जनसेवाप्रति निकै बफादार भएर कामकाजमा लाग्ने बानी थियो । त्यहीँ स्वभावको कारण उनी देशको विभिन्न दुर्गम ठाउँमा जान हिच्किचाएनन् । आफ्नो जागिरको केही समयपछि देशमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध बहुदलीय व्यवस्थाको पक्षमा दलहरूले सङ्घर्ष गरे । वि स २०४६ सालको फाल्गुन ७ गतेदेखि दलहरूले सुरु गरेको जन आन्दोलनले वि.स. २०४६ चैत्र २६ गतेको आधाराततिरबाट बहुदलीय शासन व्यवस्था अङ्गीकार गर्‍यो । चारैतिर स्वतन्त्रताको आभास भयो । मानिसहरूले आफ्नो भावनालाई खुल्ला रूपमा राख्ने वातावरण बन्दै थियो । राज्यसत्ता समाल्ने र प्रतिपक्षमा रहेका दलहरू भित्र सत्ता र शक्तिको होडबाजी चल्यो । सरकार सञ्चालन गर्न जनताले बहुमत दिएको दल भित्रको गुटबन्दीले दुरुपयोगले दलीय व्यवस्थाभित्र अराजनीतिक गतिविधि बढ्यो । सरकार ढाल्ने र टिकाउने दाउपेचले प्रतिनिधि सभाका सदस्यहरूको किनबेच र सुरा,सुन्दरीको प्रयोगले समेत हुन पुग्यो । यस्तो अराजनीतिक गतिविधिले समाजमा अराजकता फैलियो । वि.स. २०४६ सालको आन्दोलनमा समावेश भएको वाम गठबन्धनको एउटा दल जनआन्दोलन कै क्रममा जनआन्दोलन धोका हो भन्दै बाहिरी सकेको थियो । पछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल मशाल पनि संसदीय राजनीति धोका हो भन्दै बाहिरियो । यसरी बाहिरिएको मशाल विभिन्न स साना कम्युनिस्ट पाटीहरूलाई एकीकृत गर्दै वि.स. २०५१ सालमा आफ्ना ५१ सूत्रीय माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिँदै पूरा नभए सशस्त्र सङ्घर्ष गर्ने चेतावनी दिए । त्यस बेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा थिए । देउवाले उनीहरूका मागको खासै वास्ता गरेनन् । परिणाम पछिल्लो अवधिमा नेपाल कम्युनिस्ट पाटी माओवादी सशस्त्र जनयुद्धको घोषणा गर्दै भूमिगत भयो । यसरी भूमिगत भएको कम्युनिस्ट पाटीले बिस्तारै जन स्तरमा आफ्ना सञ्जालहरू निर्माण गर्दै जनता समस्याको सम्बोधन गर्ने र आफ्ना गतिविधि देखाउन थाल्यो । त्यही क्रममा वि.स. २०५३ सालमा स्याङ्जाको वालिङमा माओवादीले प्रहरी चौकीमा आक्रमण गरे । त्यही आक्रमणमा माओवादीतिरको सशस्त्र आन्दोलनको छर्राले गोपालकृष्णको टाउकोमा लाग्यो र घाइते भए । त्यही छर्राको चोटपछि विस्तारै गोपालकृष्ण ओछ्यान परे । छर्रा लागेकोपछि वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भयो तर खासै सुधार देखिएन ।

इन्दिराले पतिको उपचारमा र स्वास्थ्यमा सुधार नदेखिएपछि आफ्नै खर्चमा भारतको एपोलो दिल्ली र भेलोरसम्म उपचारार्थ लगिन् तर त्यहाँ पनि खासै सुधार नदेखिएकोले डाक्टरहरूले घरैमा राख्ने र मन परेको खानेकुरा खानदिने सल्ला दिए । डाक्टरको सल्लाहलाई शिरोपर गर्दै इन्दिराले आफ्ना पतिलाई आफ्नै घर झापा राजगढ गाउँ पालिका वडा नम्बर ६ मै लिएर आइन् । आफूले जाने र बुझेको घरायसी उपचार र स्नेहपूर्वक स्याहार सुसार गरिन् तर केही लागेन । बिरामी परेको दुई वर्ष पछि गोपाकृष्णले इन्दिरा र सन्तान मात्रै होइन संसार नै छोडी दिए ।

हरेक घरपरिवार भित्रका हरेक पुस्तामा परिवार भित्र नयाँ पारिवारिक संरचना निर्माण हुन्छ । प्राकृतिक नियम अनुसार मधुसूदन सावित्रा र रामप्रसाद, बुधमायाको परिवारभित्रका सबै सन्तानहरूले नयाँ पारिवारिक संरचना निर्माण गरे । इन्दिरा र गोपालेले पनि आफ्नो परिवार बनाउने क्रममा आफूसँग जोडिएका अग्रज र कनिष्ठहरूसँगको कर्तव्यबोधबाट कहिल्यै पछि हटेनन् । पारिवारिक मान ,मर्यादा र कर्तव्य गर्दा गर्दै गोपालकृष्णको निधनपछि गोपालकृष्णका दाइले इन्दिरालाई विभिन्न यातना दिन थाले । इन्दिराका नाबालक छोराहरू सहित पतिको शोकमा काजकिरियाको समयदेखि नै जेठाजुले बुहारीलाई मानवीय र शारीरिक यातना दिन थाले र भाइको आर्जनमा दावी गर्दै जिल्ला अदालत इलाममा उजुरी दिएका रहेछन् । पतिको शोकमा डुबेकी इन्दिराले पतिको बर्सँदिन नभई जेठाजुले अदालतमा हालेको मुद्दाको प्रतिवादी दिन पर्‍यो । नाबालक सन्तानको हेरचाह गर्दै घरपरिवारको सम्बन्ध बलियो बनाउन पटकपटक उनी आफ्नो मुलघर इलाम गइन तर घरपरिवारमा प्रवेश पाइनन् । त्यस्ता यातनाहरू विवाहपछि पनि व्यहोरेकी थिइन तर त्यस बेला पतिको साथ र भावनात्मक स्पर्श र सहयोग भएकोले सबै बिर्सन्थिन् । पछि पनि इन्दिराले त्यही भावनात्मक सम्बन्धलाई बचाइ राख्न चाहन्थिन् । तर त्यो सम्भव भएन,  परिवारले इन्दिराको भावनात्मक पक्षलाई बुझ्न चाहेनन् मात्रै सम्पत्ति हत्याउने, भतिजाहरू र बुहारीलाई घरबाट लखेट्ने दाउमा बुहारीको सुत्ने ओछ्यानमा पिसाब फेर्ने, दिशा हाली दिने, खाना खान लागेको भागमा खकारेर थुकिदिने लगायतका हर्कत गरिरहे । उनका यस्ता निकृष्ट काममा जेठाजुले आफ्नी आमाको साथ र सहयोग लिने गर्थे । देउरानीलाई अमानवीय व्यवहार गरेको देखेर जेठाजुकी पत्नीले ( जेठानी दिदीले )इन्दिरालाई थोरै आश्रय दिएकी थिइन् । त्यो सहयोगको बदलामा जेठानीले सौता उपहार पाइन साथै सन्तानबाट अलग्गिएर घर छोड्नु पर्‍यो ।

पतिको निधनले शोकाकुल भएकी बुहारीलाई सान्त्वना दिएर साथ दिनुको सट्टा बुहारी पोइला गई भन्दै भाइको सम्पत्ति हक दाबी गर्दै जेठाजुले इन्दिरालाई इलाम जिल्ला अदालतमा अंश मुद्दा हाले । काजकिरिया पछि घर गएकी इन्दिरालाई सिनु (मासु ) खानेकी छोरी भन्दै छोइछिटो र अपमान गरियो । बिस्तार कुटपिट, गालीगलौज, खाना पस्केको थालमा थुक्ने, बस्ने सुत्ने ठाउँमा दिशा पिसाब गरिदिने लगायतका यातना दिँदै घरबाट निकालियो । सहनै नसक्ने यातना दिएर निकालेकी इन्दिरालाई छिमेकीले बाँस दिए । छिमेकीको सहारा लिएर अंश हक त छ नि भन्दै दाबी गरेकी इन्दिरालाई जेठाजु र सासुले छिमेकीको बात लगाए । यस्तो अपमानित भएर बाँच्नु भन्दा मर्नु धेरै उत्तम भन्दै धेरै पटक आत्महत्या गर्न खोजिन । तर नराम्रो गर्नेसँगै जोडिएर राम्रो गर्नेहरू पनि निस्कँदा रहेछन् भने जस्तै गाउँभरिका र अन्य आफन्तले मर्न दिएनन् ।

बिस्तारै उनी पति पत्नी भएर जोडेको घर झापाको राजगढ नै फर्किन् । समय बिताउनका लागि साथी र बाच्न र खानका लागि भारतबाट विभिन्न सामान नेपाल ल्याएर बेच्न थालिन् । काम खोज्दै भौँतारिने इन्दिरा रुँदारुँदै सयौँ रात भोकै निदाउँथिन । भोकभोकै सुतेको थाहा पाएर गाउँलेहरूले सुत्केरी महिलालाई स्याहारसुसार गर्ने, लुगा धुने, भाडा माझ्ने काम खोजी दिन्थे । बिस्तारै बिस्तारै ज्यालादारी आदिको काम पनि छोडिनन् । यस्तैबाट आएको थोरै आम्दानीले आफू र छोराहरूलाई हुर्काउँदै नियमित आम्दानी हुने काम खोज्ने क्रममा फौतारिन्थिन् । काम सानो ठुलो, राम्रो या नराम्रो हुँदैन भन्दै पाएजति सबै काम गर्दै जीविकोपार्जन गर्न थालिन् ।

आफ्ना पतिले नेपाल प्रहरीमा सेवा गरेको र द्वन्द्वरत पक्षमा महिला लडाकुहरू पनि भर्ती भएको विविध कारणले नेपाल प्रहरीले महिला प्रहरी भर्ना गर्ने नीति बनायो । त्यही नीतिमा टेकेर प्रहरी सेवामा प्रवेश गरेपछि दुख पाएको कारण देश विदेश हेर्ने मौका मिल्यो । प्रहरी सेवामा काम गर्दै जाँदा अनेकौँ समस्या समाधान गर्न र न्याय निसाफको कुरा बुझिन् । यसरी काम गर्दै दिनचर्या बित्दै थियो । एक्कासि वि.स. २०५६ मा कान्छो छोरा मनोजको टाउकोमा अलि समस्या देखियो । हतारिँदै भारतको सिलिगुढी चाङको लगिन । उपचारमा खासै सुधार भएन र धरानको घोपा क्याम्पमा उपचार गराउँदा गराउँदै निधन भयो । कान्छोको निधनको पन्ध्रौँ दिनमा माहिलो छोरो सरोजको निधन भयो । एकल महिला,पतिको बिछोडको पीडा बिर्सन नपाइ पिडामाथि पीडा थपियो, समालिन गाह्रो भयो। अलिअलि समालिन कोसिस गर्दै जीवन धानिरहेकी आमाले पुन एक वर्षको बिचमा जेठो छोरो दुर्गालाई पनि सदाका लागि बिदा गर्नुदुर्गालाई पनि गुमाउन पर्‍यो । जीवनमा प्रेम र विश्वासले जोडेको भावनात्मक सम्बन्धका सबैले छोडेर बाँकी जीवन एक्लै र बिरक्तिएर बिताउनु पर्ने ठाउँमा पुगेकी इन्दिराले आफूलाई सयौँ पटक भावनाको डोरीले बाँधिन । यही क्रममा उनलाई पनि टाउकोमा समस्या देखियो । एकपछि अर्को विपतकी सिकार भएकी इन्दिराले सपनीमा भए पनि पति र सन्तानको सहयोगको आसले सयौँ रात रोइन कराइन तर पनि कठोर मन बनाएर गुजाराको नदीको जाँगर तर्ने उपायहरू खोज्न छोडिनन्

समालिन ठाउँ बनाउने क्रममा बिस्तारै सामाजिक कामतिर मन गयो । सामाजिक काम गर्ने क्रममा विभिन्न सङ्घसंस्थामा काम गर्दै अघि बढ्ने क्रममा राउटे उत्थान,प्रगति नेपाल घट्टे कुलो, महिला जागरण टोखा, दियालो नेपाल लगायत सङ्घ संस्थामा बसेर काम गर्दै गइन् । सामाजिक सङ्घ संस्थाभित्रको अपारदर्शिता र पारिश्रमिकमा रहेको दोहोर श्रेस्ता राख्ने प्रचलनले समाज सेवा नहुने ठहर गरेकी शर्माले आफ्नै संस्थामार्फत विशुद्ध समाजसेवा गर्ने मनसायले वि स २०७४गोपाल गौरी दिगो विकास प्रतिष्ठान गठन गरिन् ।

आफ्ना बितेका पति गोपाल र गौरी – वि.स. २०७२ को भूकम्पको विपत्तको बेला विपत्तमा परेका जनतालाई सहयोग गर्दै उनी रामेछाप पुगेकी थिइन् । एक दिन बिहानै टोलाउँदै एकान्तबाट उत्तरतिर हेरिरहेकी इन्दिराले एकाएक कञ्चन हिमाल टल्किरहेको देखिन् । हिमालको सुन्दरताले इन्दिराको मन तानिरह्यो । त्यही हिमालमा पति र सन्तान देखिन । एकान्त भएकोले मन खोलेर रुँदै आफ्ना पतिलाई जोडेर त्यस हिमालसँग जोड्दै गोपालगौरी नाम बनाइन । विकासका कामहरू दिगो हुनुपर्छ नत्र समाजसेवा पनि टिक्दैन भन्ने ठानेर गोपाल गौरीसँग दिगो विकास थपेर गोपाल गौरी दिगो प्रतिष्ठान बनाउने कल्पना गरिन् र काममा फर्किन ।

यसरी भावविह्वल हुँदै फर्केकी इन्दिराले संस्था बनाएपछि एकल, भूकम्प पीडित,पाडी पीडित, अशक्त,अति न्यून आए भएका ,श्रीमान् वैदेशिक रोजगारमा गएका र अपाङ्ग महिलाहरूलाई विभिन्न सीप मूलक तालिमहरू सिकाउँदै गइन् । काम सिकाएर मात्रै रहेनछ भन्ने कुरा पनि उनलाई समय र कामले सिकायो । बिस्तारै उनले थोरै थोरै लगानी पनि गर्न थालिन् । सीप सिकेका महिलालाई काम दिने र उत्पादित सामान बजारमा बिक्री गर्ने क्रम सुरु भयो । बजारसँग सम्बन्ध बढेपछि हजारौँ सामानको आवश्यकता पर्‍यो । त्यो आवश्यकता पुर्‍याउनै पर्छ भन्ने अठोटले बजारमा उनका सामानको पहुँच बढ्दै गयो । अहिले इन्दिराले २० जनालाई स्वरोजगार बनाएकी छन् । सीपमूलक तालिममा ढाका बुन्ने, सिलाई कटाइ, क्रिष्टल माला, जुत्ता र व्याग ,जाडो गर्मीको विभिन्न पोसाक,बेड कभर,सिरक आदि बनाउने र विक्रिवितरण गर्ने गर्छिन् । उने खानेकुरामा बेकरीको अनेकौँ परिकार र वातावरणलाई जोगाएर फोहोर या अनावश्यक सामग्रीहरूबाट व्यवसायीक तालिम दिने र बजारको व्यवस्थापन गर्ने कार्य पनि गर्दै आएकी छन् । अहिले गोपाल गौरी दिगो विकास प्रतिष्ठानको कार्यालय काठमाडौँको गंगबु,झापाको शिव सतासी र इलामको रौँ गाउँ पालीका काम विस्तार गरेको अवस्था छ ।

अहिले झापाको शिव सतासीमा महिलाहरूले होजिहारीको उत्पादनमा बीस महिलाहरू ,इलामको गोलाखर्कमा रहेको अनाथालयमा पन्ध्र जना अनाथ बालबालिका धरानको चतारामा भक्तजन आश्रम सञ्चालनमा छन् । अहिलेसम्म उनले आर्जन गरेको सम्पतिलाई बिक्री गर्दै समाजसेवा गरिरहेकी इन्दिराले अहिलेसम्म लगभग तीन करोड भन्दा माथि आफ्नो संस्थालाई दिई सकिन् । अहिले काठमाडौँको कागेश्वरी मनहरा वडा नम्बर एकमा लगभग चार रोपनी जग्गा नगरपालिकाले दिएर स्वआर्जनको लगभग तीन करोडको अनाथ ,असक्त स्वरोजगार आश्रमको डिपिआर तयार भइसकेको छ । यसै वर्षको वैशाख महिलाबाट काम अगाडि बढाउने उनको उद्देश्य रहेको छ । उनीसँग ढाकाको तान अहिले निरन्तर उत्पादनमा रहेका छन् । यही क्रममा बाह्र वटा असहायहरूलाई गरिखान दिइन् । सिलाइ मेसिन राखेर अहिले पनि बिस महिलाहरूले तयारी कपडा बनाउने काम पाइरहेका छन् । मलाई यस्ती कर्मशील भावनासँग जोडिएकी महिलाको जीवनको कथा लेख्ने मौका मिलेकोमा निकै गौरवान्वित भएको महसुस भइरहेको छ । इन्दिराका कर्मशील भावनाले सयौँलाई डोर्‍याउन सकोस् । शुभकामना !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments